Monday, 5 February 2018

भूतघर

          काठमाडौंको एउटा घरमा भूत,पिशाच/अदृश्य आत्माले तर्साउन थाले भनेर अचानक सनसनीपूर्ण हल्ला फैलियो।वरिपरिका छरछिमेक,टोल हुँदै हावासरी चारैतिर फैलियो।रातमा सुनसान हुने तर दिउँसोको समयमा झ्यालका सिसाहरु फुट्ने,भयंकर आवाज सुनिने,रगतका छिटाहरु देखिने,घरमा भएका सरसामानहरु आफसेआफ एक ठाउँबाट अर्को ठाउँमा सर्ने,दराज हल्लिने,चियाको गिलास भुइँबाट उडेर पाखुरामा अडिने जस्ता असामान्य कुराहरु घरका सदस्यहरुको मुखबाट सुनिन थाले।एक दिन हैन,दुई दिन हैन,महिनादिन भैसकेको थियो।विभिन्न संचारकर्मीहरु आएर समाचार संकलन र प्रसारण गरे।त्यसपछि झन सो हल्ला घातक सरुवा रोग जस्तै संसारैभरी फैलियो।मान्छेहरु आश्चर्यचकित भए।यथार्थ तथ्य बुझ्न उत्सुक भए।कौतुहल भए।कतिले पत्याए त कतिले पत्याएनन्।बिस्तृत र व्यापक अध्ययन/अनुसन्धान गर्न छोडेर गरिएको रिपोर्टिङ मित्थ्या या सत्य के थियो भन्ने बिषयमा सबै रनभुल्लमा थिए।

          सबैले त्यो घरलाई भूतघर भनेर चिन्न थाले।दैनिक जसो त्यहाँ पत्रकार,धामीझाँक्री र सर्वसाधारणको भीड हुन थाल्यो।हुन पनि सबैको सामू झ्यालका सिसाहरु झर्याम्म-झर्याम्म फुटिरहेका थिए।धामीझाँक्रीहरु कोहीले भूत-पिशाचको कारण यस्तो भएको जिकिर गरे।कसैले चाहिँ घरको कुलदेवता रिसाएको भनेर हल्ला फिंजाए।सामाजिक सञ्जालमा तस्वीर,भिडियो र विभिन्न टीका-टिप्पणीहरु भाइरल भए।एकाइसौं शताब्दीमा आएर पनि दिउँसै भूत-प्रेत वा आत्माले सताएको कुरा कम त गम्भीर थिएन।

         धामीझाँक्रीहरुले भने समस्याको समाधान गर्न नसकिने खालका अभिव्यक्ति दिए।प्रहरी समेत आएर निगरानी र सुरक्षा बढाए।तर महिनौं हुँदा पनि कुरोको चुरो पत्ता लगाउन कसैले सकेनन्।अन्ततः घरका सदस्यहरुले घर छोड्ने निर्णय गरे।सरकारले उनीहरुलाई खाने-बस्नेको अस्थायी बन्दोबस्त गरे।दिनहरु बित्दै जाँदा उनीहरुको नाममा करोडौंको आर्थिक सहयोग जम्मा भयो।त्यही सहयोगार्थ प्राप्त रकमबाट उनीहरुले एउटा शानदार घर खरिद गरेर त्यही बस्न थाले।उता पुरानो घरको स्थिति कसैलाई अवगत भएन।स्थिति शान्त भयो।भूतघरलाई सबैले बिर्से।

          दिनहरु बित्दै गए।भूत घरको बिषयमा कसैले पनि चासो लिएनन्।एकदिन अचानक भूतघरका पीडित परिवारले नयाँ किनेको घर पनि अरु कसैलाई बेचेर हिंडे।घर बेचेर कहाँ गए भनेर कसैले सोधखोज पनि गरेनन्।
      
            एकदिन साँझपख भूतघरको सामुने पार्किङमा एउटा नयाँ कार देखा पर्यो।त्यो देखेर एकजना छिमेकीले कारको बारेमा बुझ्न खोज्यो।घर बाहिर बसेर निकै बेर टहलिएर बस्यो।उसले झ्यालबाट कुनै छायाँ जस्तो पिलिक्क गरे जस्तो देख्यो।
उसको मुटु ढुक-ढुक भयो।
"भूतले पनि कार लिएर हिंड्न थालेछ।"
"केही महिना शान्त भएको भूत फेरि आएछ।"
"भाग केटा भाग,तँ एक्लै छस्,भूतले सिध्याउँला।"
ऊ एक्लै बर्बरायो।छिटो-छिटो कदम चाल्यो।निकै पर पुगेर पुनः घरलाई फर्केर हेर्यो।त्यतिखेर उसले कुनै भूतलाई नभएर भूतघरकै साहुलाई देख्यो।पाइलामा एक्कासी ब्रेक लाग्यो।उसको हिम्मतको पारो क्रमशः बढ्दै गयो।
"जे पर्ला-पर्ला,आज भूतसंग भेटेरै छाड्छु।"
यति भनेर ऊ फटाफट घरभित्र प्रवेश गर्यो।त्यतिबेला डर उसको साहस देखेर कुलेलाम ठोकिसकेको थियो।नभन्दै घरभित्र सबै सदस्यहरु हाँसी-खुशी रमाइरहेका थिए।
"के हो दाजु!भूत-पिशाचले तर्साउँथ्यो हैन?अहिले कसरी ठिक भो?"-बिना कुनै अभिवादन हतासिएर प्रश्न तेर्स्यायो।
"हो भाइ।पहिले तर्साउँथ्यो।शक्तिशाली तान्त्रिक ल्याएर झारफुक गरेपछि भूत नाथे टाप कसिहाले नि।"
"ए!लौ बधाई छ दाइ र दाइको परिवारलाई!फेरि कुनै भूत-पिशाचको आँखा नलागोस्।म लाग्छु पनि।"
"हैन भाइ,खाना खाएर मात्र जान पाउँछौ।"
दाइले जिद्दी गरेपछि ऊ खाना खाएर विदा भयो।

        त्यसपछि परिवारका सबै सदस्यहरु हर्षले गद-गद भएर गफ गर्न थाले।
"ड्याडी!मान्छेहरू कति मूर्ख है?"
"चुप लाग लाटी!मान्छे मूर्ख भएर त चतुरेहरुले मौकाको फाइदा लुट्न सक्छन्।"
"मूर्ख हुनुको पनि त सीमा हुन्छ नि ड्याडी।"
"धेरै नकराउ न छोरी!नत्र कसरी घरको भूत भाग्छन् त?भित्ताको पनि कान हुन्छ क्या नानी!कति मुश्किलले त घर लिलाम हुनबाट जोगिएको छ।"

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...