५ महिना गर्भमा बोकेर
प्रसवको पीडा झेलेर
मलाई यो धर्तीमा जन्माएको दिनदेखि
मैले देखिरहेको छैन-मेरो बाबालाई
मेरो बाबा कहाँ हुनुहुन्छ आमा?
चीरनिद्राबाट जागे जस्तै
धुमिल आँखा उघार्दा
जब पहिलो-प्रहर तिमीलाई देखें
मेरो मनमा हिम्मतको सागर उर्लेर आयो
तिम्रै ममताले उठ्न सिकायो
तङ्गृंदै-तङ्गृंदै हिंड्न सिकायो
स्नेहपूर्ण जिब्रोले चाट्दै-चाट्दै
थुतुनोले घचेट्दै फाँजोसम्म पुर्याएर
दूध चुस्न प्रेरित गर्यौ
किन्तु त्यही बखत
मैले मेरो बाबालाई गायब भएको पाएँ
कुन परिबन्दले छेक्यो उहाँलाई
मेरो आगमनको स्वागत गर्न?
रवि-किरणको न्यानो स्पर्श
तिम्रो मीठो चुम्बन
समीरको सुमधुर ध्वनि
दाजु-दिदीहरुको रमाइलो बातचीत
बस,यत्तिनै अनुभूत गर्न सकें मैले
बाबाको स्नेह पाउनै सकिन
उहाँको पदचाप समेत सुन्न सकिन
कुन दुनियाँमा के गर्दै हुनुहुन्थ्यो?
सखा-सखीहरुले प्रहार गर्ने बेला
दु:खका झरीहरु निर्ममतापूर्वक बर्सिंदा
कष्टका मेघले घेरो हाल्दा
खाल्डाखुल्डीहरुमा फस्दा
पत्थरहरुले पाइलामा अवरोध खडा गर्दा
ब्वाँसाले आफ्नो आहारा बनाउन खोज्दा
शत्रुहरुले गिद्धे-नजर लाउँदा
मलाई बचाउन
उर्जा दिन
प्रतिरोध गर्न
किन आउनुभएन?
अप्ठ्यारा परिस्थितीहरुमा
म्या-म्या गर्दै कति चिच्याएँ
आँखाबाट अश्रुधारा बगिनैरह्यो
मेरो क्रन्दन श्रवण गर्न
तिमी बाहेक कोही आएन।
आफ्नो जवानीको भारीलाई
बाख्राहरुको चौतारीमा बिसाएर
प्यास मेटाएर फरार हुने
कस्ता बैमानी बोकाहरु!
कस्ता स्वार्थी बोकाहरु!
भ्रूणलाई गर्भमा बोकेर
जिन्दगीका उकाली-ओरालीहरुमा
भीर र पाखाहरुमा
अक्कर गोरेटाहरुमा
जीवन-मरणको दोसाँधमा
बाख्राहरु अस्तित्वको लडाइँ लड्दा
बोकाहरु पर-बाख्राहरुलाई चुम्मा-चाटी गरिरहेका हुन्छन्।
के गर्भधारण गरेर छोडेपछि जिम्मेवारी पूरा हुन्छ?
जीवन-साथीको सुख-दु:खमा साथ दिनुपर्दैन?
सन्ततिको रेखदेख गर्नुपर्दैन?
बोकाहरुको चर्तिकला देखेपछि
मैले एउटा निर्णय गरें आमा!
जन्मपछि मृत्यु अवश्यम्भावी छ
दीर्घायु नभएपनि
म बोका नभई खसी हुन चाहन्छु
किनकि
म बहुविवाहको खुंखार बिरोधी हुँ
म बाख्राहरुलाई दु:ख दिन चाहन्न।
परन्तु आमा!
एउटा खेदको कुरा,
अचेल मान्छे-जातिमा पनि यस्तै प्रवृति हावी हुँदैछ
लोग्नेमान्छेहरु पनि बोका जस्तै हुन थालेका छन्
के तिनलाई खसी पार्न मिल्दैन?
No comments:
Post a Comment