मदिरा पिएर कविता लेख्दिन
कविताले नै मलाई पिउँछ
भुँडीमा पुगेर छचल्किन्छु
मथिङ्गल खल्बलिन्छ।
उनलाई कन्ट्रोल गर्न सक्दिन
उनैले मलाई कन्ट्रोल गर्छ
लिमिट गरी-गरी मस्तिष्कसंग दोस्ती गर्छ।
स्वयं हिंडेर उनको भुँडीमा पुग्या हैन
ऊ भित्र पस्ने लाखौं ढोका हुने रहेछन्
ढिंडोको टुक्रा मुखबाट आन्द्रामा पुगेझैं
संघारबाटै चिप्लिएर खसेको हुँ।
अजङ कविताको ब्रम्हाण्डमा
छन्दका रसिला ग्रहहरु
अन्तरिक्षमा फनफनी घुमिरहन्छन्
मिठास लयमा उपग्रहहरु गुञ्जिरहन्छन्
गद्यका ताराहरु टिल्पिलाइरहन्छन्।
कविताको भुँडी जलमग्न हुनेरहेछ
महासागर जत्तिकै अपार/विशाल।
स्विमिङपुलमा पौडेको पाराले-
पार नलाग्ने रहेछ।
सूक्ष्म नशा जस्तै काव्य-पुलहरु -
यत्रतत्र तैरिएका हुन्छन्
जसले निचोडमा पुर्याउन मद्दत गर्छन्।
कविताको एउटा कोषको सागरमा
विभिन्न शब्दका मत्स्यहरु खेलिरहेका
भावका प्रजातिहरु डुलिरहेका
शब्दकोषका गोहीहरु मुख बाइरहेका
व्याकरणका ह्वेलहरु नाचिरहेका
दर्शनका मोतीहरु टल्किरहेका
सुन्दरताका सुनहरु चम्किरहेका हुन्छन्।
मोती टिप्न खोजे सुन फुत्किन्छ
सुन टिप्न खोजे मोती उछिटिन्छ
ह्वेलसंग खेल्न खोजे गोहीले निल्न खोज्छ
एक्लै/रित्तै समेत पौडिन गाह्रो
तमाम अवयव बोकेर निस्किन झन गाह्रो।
बाहिर आउनुपूर्व
उनको पाचन-प्रणालीले पचाउन पनि सक्छ
दिशा भएर मलद्धारबाट-
निष्कासित हुन पनि सक्छु
पिसाब भएर मुत्रद्धारबाट-
तुर्किन पनि सक्छु।
कविताको कुरुक्षेत्रबाट
बाँचेर सकुशल फर्कें भने
उनीसंग पुनःसाक्षात्कार होला
नत्र-भने डाइनोसर जस्तै-
लोप हुने पक्का।
No comments:
Post a Comment