तोङ्बा,छ्याङ,आराक,सिर्माङ आफैंमा खराब चीज होइन।सदुपयोग र दुरुपयोग के गर्ने भन्नेमा निर्भर रहन्छ।जातले पाएरै हाम्रा पुर्खादेखी अहिलेसम्म पिउँदै आएका छौं।यी चीजहरु मादक पद्धार्थ अवस्य हुन्।नकारात्मक असर नभएको होइन,छ।तर लिमिटले पिउने हो भने मनोरञ्जनको साधन पनि हो।यी मादक पद्धार्थ लाई हामीले चटक्कै त्याग्न सक्ने अवस्था पनि छैन।संस्कृति र परम्परामा जोडिन आएको एउटा अवयब हो।घरेलु छ्याङ,आराक,सिर्माङ नखाने तर बिदेशी रक्सी र बियर खाने चलन बढिरहेको छ।घरेलु लाई बहिस्कार गर्ने तर बिदेशी रक्सीको नशामा लट्ठ भएर सुसंस्कृत समाजको निर्माण कुनै हालतमा हुनसक्दैन।यदि सकिन्छ भने कुनै पनि मादक पद्धार्थको सेवन नगरौं न।सकिन्छ भने जुनसुकै बेला,जहाँ पनि मादक पद्धार्थको सेवन नगरौं न।अनि बन्छ सुसस्कृत समाज।अरुबेला घरमा,भट्टीहरुमा पिएर हिंड्ने तर कुनै चाडबाडमा मनाह गरेर प्रगति हुने केही होइन।बालबच्चाहरुलाई संस्कार सिकाउने त घरमा हो नि।दैनिक रुपमा सिकाउने हो नि।बर्षको एक दिन सिकाएर हुने चीज पक्कै होइन।
अर्को कुरा,लागिसकेको बानी छुटाउन अपर्झट सम्भव पनि छैन।खाएको मुखले खान खोज्छ ।पिएको मुखले पिउन खोज्छ।नामले बुद्ध समाज भएपनि हामीले अहिलेसम्म सिर्माङ पिएरै मनाइरहेका छौ।के अहिलेसम्म हाम्रो बुद्धिमा बिर्को लागेकै हो त?अवश्य होइन।बल्ल बुद्धिको बिर्को खुलेको हो र?त्यो पनि होइन होला।एउटा उदाहरण-अहिलेसम्म धामीझाँक्रीलाई बिश्वास गर्दै आएका छौं नि।बिरामी हुँदा किन पहिले अस्पताल नगएर झारफुक गर्न जान्छौं?एकाइसौं शताब्दीमा झारफुक त अन्धबिश्वास हो नि।हामीलाई राम्ररी थाहा छ।तैपनि हामीले अन्धविश्वास गर्न छोडेका छैनौं भने यो त पिउने चीज भयो।हुन त पिएर को ठूलो भएको छ र?कसले प्रगति गरेको छ र?यस्तै प्रश्नहरु आउन सक्छन्।तर दुर्गति पनि भएको छैन होला।सिर्माङ भन्ने कुरा र घरमा पार्ने कुरा पनि त भएन।हुन त सिर्माङको सट्टा तोङ्बाको बिकल्प छ तर तोङ्बा-तोङ्बै हो,सिर्माङ सिर्माङ नै।सियोको काम फालीले नगरे जस्तै फालीको काम पनि सियोले गर्दैन।
सिर्माङ जस्तो कुरालाई लिएर बहस गर्नु पनि आवश्यक छैन वास्तवमा।यस बिषयमा बहस गर्नु भनेको दुर्घटना निम्त्याउनु मात्र हो।समाजलाई विभाजन गर्नु हो।गुट उपगुटमा विभक्त गर्नु हो।कसरी भन्नुहोला?दुर्घटनाका अनेक रुप र प्रकार हुन्छन्।भनिरहनु नपर्ला।
अर्को कुरा विकासका कामहरु गर्नलाई बर्षको एक दिन पिएको सिर्माङले कसरी छेक्ला र?शेर्पाहरुको सेब्रु र गीतसंगीतलाई कसरी अवरोध गर्ला र?नाच देखाउनेले देखाउँछन्।हेर्नेले हेरेर रम्छन्।गाउनेले गाउँछन्।बरु सकिन्छ भने शेर्पा गीतलाई मात्र प्रोत्साहित गरेर अरु गीतलाई बहिस्कार गरौं न ल्होसारको दिन।
एउटा कुरा।सिर्माङलाई बन्देज गरेर बार राख्न लाउने र किनेर खानेहरुले मनलागी किनेर पिउन सक्ने।यस्तो कुरा पनि कता कता सुन्नमा आएको अवस्था छ।यस्तो गर्नु त झन सरासर गलत कुरा हो।समाजलाई दुई किस्सामा बाँड्ने गम्भीर कदम हो यो।गोजीमा पैसा हुनेले सक्दो किनेर पिई तमास देखाउँछन्।जात्रा हैन अहम देखाउँछन्।ल्होसार नै सिमित पुजीपतिबर्गको जस्तो देखिनेछ।गोजी रित्तो हुनेको लागि त्यो भन्दा अपमानको बिषय अरु के हुनसक्ला?आफ्नो औकात देखाउने ठाउँको रुपमा चिनिनेछ ल्होसार।
अहिलेसम्म जसरी चलेको छ चल्न दिउँ।एउटा सिर्माङ जस्तो सानो कुराले गम्भीर समस्या नआएको देख्न पाउँ।जहाँसम्म सिर्माङ पार्ने पैसा बुद्ध समाजमा संकलन गर्ने कुरा छ,त्यसको लागि त अरु बिकल्प पनि छन् नि।ल्यावाहरुले मात्र उठाउने हैन,सबै सदस्यले उठाउँदा हुन्छ-जतिको दरले पनि।हाम्रा अग्रजहरुले जसरी बुद्ध समाजलाई यो स्थानसम्म ल्याइपुर्याए,त्यसैगरी हामीले यसलाई अगाडि बढाउन सक्नुपर्छ।विवाद खडा गरेर हैन,एकढिक्का भएर।सर्वसहमत ढंगले पाइला अगाडि बढाउनुपर्छ।
अन्तमा-सिर्माङ पिएर समाजमा बिकृती फैलिन्छ जस्तो मलाई लाग्दैन।यसको मतलब सिर्माङ पिएर के के नै प्रगति गर्न सकिन्छ पनि भन्न खोजिएको हैन।अहिलेको परिबेशमा रोङ्वाहरु भन्दा धेरै सजक भैसकेका छौं- यो पिउने मामिलामा।सिर्माङ आफैंमा गलत चीज होइन भनेर भनिसकेको छु।लिमिटमा पिए हानी पक्कै गर्दैन।अर्को एउटा प्रसंग जोड्न चाहें।यलुङको ल्होसारमा पनि जाँडरक्सी बन्देज गरेकै कारण ल्यावाको जिम्मेवारी कसैले लिन चाहेनन् भन्ने कुरा सुन्नमा आयो।यथार्थ चाहिँ थाहा भएन।मैले प्रसंग जोड्न खोजेको किन भने बानी परेको कुरामा परिमाण कम गर्न सकिएला तर त्याग्न सम्भव छैन।जेहोस यस्ता झिनामसिना कुराले समाज भाँड्ने काम नहोस्।
No comments:
Post a Comment