Tuesday, 3 April 2018

बेरोजगार-८

सैलुङ डाँडा,नाचेको मेघ,शैलेन्द्र मस्केको
चेर्दुङ लेक,ताँबेले आफ्नो मुस्कान पस्केको
गाइ र भैंसी,भेडा र बाख्रा चरेको चौरमा
कराइदिन्छन् हृदयस्पर्शी,मिठास स्वरमा।

गोठालाहरु गाउँछन् गीत नादिङ भाकामा
तन्नेरीहरु जिस्क्याइकन,जुधाई आँखामा
सुन्दरताको नमूना पेश गरेर सबैले
उछिन्न खोज्छन् प्रतिभाशाली बनेर आफैंले।

गौंथलीहरु चिर्बिर गर्दै ढाक्दछन् गगन
सुसेली मार्दै, गाउँछ गीत,सिरिरी पवन
हरिण,मृग,घोराल नाच्छन् सुरम्य धरामा
मुनाल,डाँफे,ढुकुर,चिबी सुन्दर चरामा।

गुराँस,चाँप,चिमल फूल वनमा फुलेर
यलुङ तिर मग्मगाउने सुवास छरेर
भमरा मात्र होइन मान्छे जरुर लट्ठिन्छन्
अतिथि आए,मान्दैन फिर्न,पल्केर लोभिन्छन्।

एकान्त ठाउँ,बस्तुका साथ,रामे र श्रीमती
अंगालो मारी,प्रेमिका-प्रेमी जस्तो छ पिरती
दुनियाँ भुली,एकअर्कामा डुब्दैछन् चुर्लुम्म
कसैले पनि नदेख्ने गरी गर्दैछन् चु-चुम्म।

बालबालिका कन्दरा बाट लुकेर हेर्दैछन्
देखेर कला,जोइपोइको,खितिती हाँस्दैछन्
आवाज सुनी,केटाकेटीको,छुट्दछन् झस्केर
प-पर सम्म तर्किन्छन् हदै,फरक्क फर्केर।

हतास भई ती केटाकेटी,भयले भाग्दछन्
ती छाती भित्र ढुक्ढुक गर्दै,झाडीमा लुक्दछन्
नजिकै बग्ने खोलाको पानी कुलुलु कराउँछ
कसैको स्वर सुनिन्न अरु,न कोही आउँछ।

लाग्दैछ खल्लो,चुम्बन भंग भएको कारण
निरन्तरता भैदिन्छ पुनः,सुखद चरण
जवान हुन्छन् तिनका मन,सोह्र या सत्र झैं
देखिन्छन् ठ्याक्कै सानीको ओठ,पुष्पको पत्र झैं।

उडेर चुम्छन् पति र पत्नी,मनको गगन
बिछ्याई धरा,बसेका हुन्छन्,तथापि बदन
परेवा जोडी रमेको सरी,रमेर ती ज्यान
चढेर पुग्छन्,अनन्त सम्म,मायाको विमान।

सानीको मन,मौसम सरी,बद्लिन्छ पलमै
चर्किन्छ मुटु,छल्किन्छ अश्रु,आँखामा जलझैं
झल्किन्छ प्रष्ट,मुहार संगै,हिजोको बिषय
कोसिस गर्छ,रामेले बुझ्न,प्यारीको आशय।

                रामे
के भयो सानी,एक्कासी रोयौ,के कुरा बिराएँ
के काज बिग्र्यो,कि चित्त दुख्यो,कि मैले कराएँ
समीप सर,खै पुछिदिन्छु,आँखाको बलेसी
गरेर सुर्ता,उभिंदा सामू,देखिन्छ्यौ अँधेरी।

               सानी
किन हो आज,जिन्दगी पनि,बोझिलो लाग्दैछ
बिदेश जाने कुराले मेरो हृदय गाल्दैछ
पिरती भए,अभावसंगै,बाँचिन्छ सजिलै
बिछोड सोची,मुटुको भित्ता,भत्किन्छ सजिलै।

                  रामे
बिचलित् हुनु हुँदैन सानी अप्ठ्यारो स्थितीमा
सहने शक्ति रहनुपर्छ,पियारी तिमीमा
मरणशील मार्गमा जान लागेको होइन
संघर्ष गर्न नसकी यहाँ,भागेको होइन।

             सानी
ओढाली ढिंडो,पकाई सिस्नु,हर्षले खाउँला
जोई र पोइ मिलेर संगै मेलामा धाउँला
कुखुरा,खसी,गाई र भैंसी,बसौंला पालेर
दु:खनै सुख सम्झेर बरु,बाँचौंला हाँसेर।

                  रामे
धनीमानीले गरेको घृणा,सक्दिन सहन
हातमा लाख,नभए सम्म, सकिन्न रहन
कमाए धन,गाउँले कति,बिदेश गएर
इज्जत बढ्छ,आउँदा कोही,सुट्केश बोकेर।

                  सानी
क्षणिक हुन्छ,हुँदैन दिगो,बिदेशी कमाइ
त्यो भन्दा बरु,गरौंला खेती,कोदालो समाइ
हजुरबाट छुटेर अब,जिउन सक्दिन
हरेक दिन आँशुको घुट्का पिउन सक्दिन।

                रामे
नगरी दु:ख,हुँदैन सुख,बुझ न ए सानी
बुझक्की मान्छे,झनक्क किन,भएकी अज्ञानी
जानेकै कुरा,देखेकै कुरा,हेपाहा समाज
स्वदेश छाड्न लागेको त्यसै कहाँ हो म आज?

                 सानी
बुझ्दछु कुरो,राम्ररी मैले,होइन नबुझ्ने
बुझेर मात्र परेली मेरो,भए पो नरुझ्ने
दिमागलाई जसरी हुन्छ,बुझाउन सकिन्छ
यो मन लाई,हजुर भन्नुस्,कसरी सकिन्छ?

                   रामे
काबुमा राख,अस्थिर मन,सकिन्छ अवश्य
आफैंले आफ्नो,त्यो मनलाई,सम्झाउ मनग्य
पुग्ने हो भने,के भई सक्थ्यो,मनले चाहेको
बहकिदिने यो मन लाई,राम्रो हो बारेको।

                   सानी
हजुर बिना,रुखझैं हुन्छु,शिशिर यामको
विजाणु जस्तो,भएको हुन्छु,बिना त्यो घामको
नहुँदा बोट,हालत कस्तो देखिन्छ पहाड
जिन्दगी उस्तै उराठ हुन्छ,देखिन्छ उजाड।

                        रामे
दिलमा आगो लाग्दछ प्यारी,त्यसरी नभन
कुभलो तिम्रो भैदिंदा स्वयं,अंगाल्छु मरन
भएर मात्र,साथमा तिमी,छ मेरो अस्तित्व
म मेरै हैन,जिन्दगी भन्नु,तिम्रो हो स्वामित्व।

                          सानी
त्यसो हो भने,डढेलो किन मनमा सल्कायौ
स्वामीको मन अरब तिर,किन पो ढल्कायौ
पत्थर फ्याँक्दा,तरंग निस्के,शालिन दहमा
वचन फ्याँक्दा,पोखरी बन्यो,आँखाको गहमा।

                       रामे
जान्थें र किन,भएको भए,चन्द्रमा दाहिने
देशमा बस्दा,भाग्यले पनि,उक्लिनै नदिने
बगेको खोला,बोलेको बोली,आउन्न फर्केर
नभई माया,लागेको हैन,त्यत्तिकै तर्केर।

                      सानी
आकाश रुन्छ,तड्पिन्छ धरा,पग्लिन्छ हिमाल
चटक्कै छोडी,आफन्त कोही,गैदिंदा नेपाल
कोइली चरी,गाउँछ गीत,विरही भाकामा
त्यत्तिनै बेला डुबान पर्छ,हृदय आँखामा।

                    रामे
मास्दैन धर्ती,सुक्दैन नदी,खस्दैन आकाश
म रामे जस्तो सामान्य ब्यक्ति,जाँदैमा प्रवास
गतिमा आफ्नै,बहन्छ हावा,चल्नेछ समय
बिछोड हुन्छ,त्यो भन्दा ठूलो,के होला प्रलय।

                      सानी
खुकुरी भन्दा धारिलो छुरा मुटुमा चलायौ
नजाती कुरा गरेर आज जिउँदै जलायौ
भागेर खाडी जानुनै पर्ने के छ र कहर
मलाई लाग्छ,बिदेश जाने,रहेछ रहर।

                      रामे
पुनरावृत्ति गरेर वाण,प्रहार नगर
पिउँछु बरु,मलाई देउ,बिषालु जहर
नियाल कान्छी,राम्ररी हाम्रो,आर्थिक अवस्था
थिएन इच्छा,भएको भए,गतिलो व्यवस्था।

                    सानी
रेटेर गला,छिनाइ सास,चितामा जलाई
गैदिनु होला,तामाकोसीमा खरानी बगाई
होइन भने,चाहिन्छ साथ,हमेसा मलाई
धोको छ बस्ने,हजुर सित,रमाई-रमाई।
  
                 दृश्य चित्रण
बाख्राको पाठा मृगझैं नाच्दा,आउँछ आवाज
जसरी खेल्छन्,टुँडिखेलमा सिपाही कवाज
आवाज सुनी,नजर उतै, थालिए मोडिन
रामे र सानी,भैदिए तब,प्रसंग-विहीन।

खितिती गर्दै जोई र पोइ,रमाई हाँस्दछन्
उदास तिनै ओठमा मीठा मुस्कान टाँस्दछन्
समीप परी,कस्सिलो गरी,बाहुली गाँस्दछन्
भएभरमा वेदनाहरु सर्लक्कै मास्दछन्।

चिर्बिर पंक्षी,कराइकन,फर्किन्छन् बासमा
बसाई सर्छ रविले पनि फर्किने आशमा
ताक्दछन् गोठ,गोठाला,बस्तु गोधुली साँझमा
झर्दछन् सबै,स्याउला,पात लिएर साथमा।

दिन र रात,आउँछ-जान्छ,हमेसा यसरी
रोकिन्छ कहाँ,रोकेर पनि,सकिन्न क्यै गरी
चाहन्छे रोक्न,घडीको सूई,बिचरी सानीले
आउँला पल,छोडेर जाने,आँखाको नानीले।

दिनानुदिन रोएर आँसु,सकिन्छ आँखाको
बखत हर,भएर छोरी,चिन्तित बाबाको
उमेर सानो भएर के भो,दिमाग पाको छ
महिना देखि,घरमा बेग्लै सन्नाटा छाको छ।

मिसिंदा अश्रु,सब्जीमा पनि,नमक चर्किन्छ
घाउमा पुनः,नराम्रोसंग,खुर्सानी छर्किन्छ
देखेर रामे,रिसाई सानी,अलग्गै तर्किन्छे
खाटमा सुत्दा त्यो मध्यराती,अन्यत्रै फर्किन्छे।

सम्झाउँ भने सकिए शब्द,निशब्द,निर्जन
सुस्तरी स्पर्श,रामेले गर्छ,चुम्दछ गर्धन
दिनहुँ दिन,प्रकार यस्तै,हर्कत झेल्दछे
बसेर चुप,हातले झ्वाट्ट,पछाडि ठेल्दछे।

ती तीन प्राणी,अबेरसम्म,अनिंदो बसेर
सागर भन्दा गहिरो पीडा,चिन्तामा फसेर
के गरीकन,निकाल्ने मोती,पिंधमा पसेर
मुस्किल पर्छ,बाँचिरहन,खाँचोले डसेर।

चन्द्रमा आफ्नो,देखाई कला,प्रकाश छरेर
खुरुरु हिंड्छ,जसरी बच्चा,क्षितिज झरेर
पोतेर कालो,धरामा ज्यादा,अँधेरी बर्षन्छ
मृगले हग्दा,पातमा शुष्क,मज्जाले तर्सन्छ।

कुकुर भुकी,कराई स्याल,मच्चाउँछ आतंक
कहालीलाग्दो निशामा रुन्छन् कीट र पतंग
पिशाच,भूत,सक्रिय भई,जुलूस देखाउँछन्
मनुष्य सुत्दा,धरती त्यहीं,साम्राज्य भेट्टाउँछन्।

भुसुक्कै सुत्छन् ती पात्रहरु,थाहा नै नपाई
नयन खुल्दा,सकेको हुन्छ,बिहानी उदाई
किरण लाली,चुम्दछ धरा,सुनौलो बेलामा
कोदाली लिई,गाउँलेहरु,लाग्दछन् मेलामा।

अचम्म मान्दै,बिगार्दै मुख,हेर्दैछन् तरेर
ती आइमाई,कानमा मुख,बोल्दैछन् लगेर
सानीको सुन,देखेर सबै,हुँदैछ जलन
कानको रीङ,गलाको सिक्री,टल्कन्छन् टलल।

                 पातली
सक्कली हो या नक्कली हो कि,त्यो सिक्री गलाको
सक्कली भए होला ए सानी त्यो कति तोलाको
लाएकी हौली,अवश्य पनि,सापटी लिएर
बजेट थे'न,सुनको सिक्री,लाउन किनेर।

                 सानी
शहर बाट,पतिले मेरो,किनेर ल्याएको
सोचेकीछ्यौ र,कसैको सिक्री,चोरेर ल्याएको?
कसरी हेप्न सकेका बाबै,धनाढ्य नहुँदा
असली सुन,नक्कली हुन्छ,हामीले लाउँदा?

                  उर्मिला
पत्याउनै गाह्रो,सजिलै यति,कमायो कसरी
ज्यामीको काम,गरेर झट्टै,जमायो कसरी
महंगो सुन,हामीले किन्न,छैनौं त सकेका
पहिले देखि गाउँमा यहीँ,जमेर बसेका।

                     शर्मिला
काढेर ऋण,किनेको होला,मलाई लाग्दैछ
बिचरा रामे!दिनहुँ दिन,खाल्डोमा जाक्दैछ
पहुँच भन्दा माथिको कुरा,हुँदैन ताकेर
हुनेछ दिक्क,साहुले भोलि,रकम मागेर।

                   रामे
नचला मुख,नबुझीकन,यथार्थ के भनी
पाएमा मौका,भन्दिने हो र,मुखले जे पनि
बाँसका ठुट्टा होइन होला,हाम्रा नि पाखुरा
च्याख्च्याख गरी कराइदिन्छन्,जसरी च्याखुरा।

                  उर्मिला
पीडा र व्यथा,सबैका हुन्छन्,सबैका बाध्यता
नहुने भन्न,हामीले त्यस्ता,के भन्यौं अन्यथा
सोध्दैमा केही,मिटर माथि,उफ्रिनु पर्दैन
लाएर सुन,भएर ठूलो,फुर्किनु पर्दैन।

                   शर्मिला
जाने हो हामी,खरिद गर्न,बजार भोलिनै
सुनको मूल्य,तोलाको पर्ला,हजार कतिनै
दिनमा केही,बुडाको मेरो,तलब पाउँछ
एउटा सिक्री,सानीको जस्तै,बनाई आउँछु।

                     सानी
कुखुरा,खसी,देखेर कठै दीनको घरमा
पटक्कै निंद आउन्न बरै,धनीको घरमा
नगर सेखी,नलाउ फूर्ति,नदेउ धमास
तिमीले लिने,हामीले लिने,एउटै हो सास।

                   रामे
छोडिदे सानी,छिमेकीसंग,नगर बहस
झगडा गरे,आउँछ फाटो,निम्तिन्छ सकस
यो समाजमा गरिबहरु,चलन हेपिने
कसले बोल्ने,संघर्ष गर्ने,सकिन्छ कहिले?

               उर्मिला
नहेरी घाँटी,निलेको हड्डी,अड्किन्छ साथी हो
अधिक भारी,बोकेर ढाड,भाँच्चिन्छ साथी हो
दिएर अर्ती,महान बन्न,होइन खोजेको
कंगाल होला,पाउँदा खेरी,मनले रोजेको।

                       सानी
रहेछ पाप,दु:खीले देख्नु,सपना महान
गरिब-धनी,कसैले पनि,देख्दैनन् समान
अभिशाप हो?दरिद्र भई,धर्तीमा जन्मिनु?
पश्चात मृत्यु,जलन उस्तै,चितामा,सम्झिनु।

            दृश्य चित्रण
आक्रोश देखी,झस्किन्छन् सबै,रहन्छन् मौन भै
काला र नीला मुहार पारी,लाग्दछन् कर्ममै
सानीको सामू बहस गर्न,समर्थ हुँदैनन्
आँटेर कोही,गन्थन गर्न,अगाडि सर्दैनन्।

सकेर मेला,रामे र सानी,पुग्दछन् गृहमा
खाएर खाना,स-परिवार,ढल्दछन् साथमा
झल्झली नाच्छ,आँखामा आई,मेलोको घटना
मनमा च्वास्स,पुग्दछ घोच्न,पीर र वेदना।

          सानी
हजुर हुँदै,दुनियाँ सारा,म माथि खनिन्छन्
असली रुप,मान्छेको गुण,छर्लङ्ग देखिन्छन्
के गर्लान् यदि,हजुर पनि साथमा नहुँदा
मरिन्छ होला,सहँदा खेरी,कल्पेर म रुँदा।

              रामे
आजको जस्तै,हिम्मत राखे,कसैले हेप्दैनन्
पेचिलो बोले,जवाफ दिने,प्रयत्न गर्दैनन्
जानुपर्दैन,मेलापातमा,यदि म गएमा
हरहमेसा,आँगन आफ्नै,घरमा भएमा।

              सानी
एकलकाँटे भएर पनि कसरी बाँचिन्छ
पँधेरो पानी,बेलामा जाने,सामून्ने परिन्छ
मौकामा चौका हानेर वैरी,भैदिन्छन् हर्षित
कसले देख्ने,मद्दत गर्ने,म हुँदा त्रसित।

                रामे
रीसको ज्वाला दन्काएपछि आउने को सामू
धैर्यता राख्नु,सहेर बस्नु,हरेश नखानु
सम्पन्न घर हुनेछ हाम्रो,हुँदैन अभाव
दासीमा राख्ने हुँदैन कोही,दिँदैन दबाब।

          सानी
जिन्दगी एक्लो भैदिन्छ प्यारा,के गरी बाँच्ने हो
आउँछ आँसु,आँखामा सदा,कसरी हाँस्ने हो
महिना केही,शहर जाँदा,पीडित भाकी थें
भान्सामा हुँदा आँसु र भात सं-संगै खाकी थें।

                   रामे
बिछोड पछि मिलन हुन्छ,बस्दिनु पर्खेर
भाग्यले साथ दिएमा पक्कै आउँछु फर्केर
रहर बोकी,होइन जाने,विदेश तर्केर
हियामा मेरो,काँडाले जस्तै,आउँछ चर्केर।

                    सानी
नजानु देव,मायाको खेत,बञ्जर बनाई
पिरती साँच्ने मुटुमा कडा पत्थर सजाई
फलाम बरु पग्लिन्छ होला,त्यो मन पग्लेन
नुनिलो जल,बगिनैरह्यो,नयन सङ्लेन।
  
                     रामे
लाग्ला कि पाप,हे भगवान,मायालु रुवाई
प्रेमको साटो,आँसु नै आँसु,यथेष्ट खुवाई
गरिदे माफ,भएमा गल्ती,निर्मला छोडेर
मायाको बोट हुर्काउने बेला,गैदिंदा मोडेर।

                 निर्मला
हे मेरो बाबा!नलिनु पीर,आमा म सम्हाल्छु
हजुरको माया,हमेसा यही,मुटुमा संगाल्छु
नजाने बाटो,होइन जाने,गएर विदेश
कमाई धन,जिन्दगी हाम्रो,पार्दिनु बिशेष।

                   रामे
मायालु छोरी,बुझ्झकी कति,बहुत छे ज्ञानी
आमा र छोरी रहनु होला,औडाहा नमानी
नगर्नु केही,नजानु कतै,नजानी-नजानी
फन्दामा पार्ला,दुश्मनलाई आफन्त नै ठानी।

                     

              

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...