Friday, 13 April 2018

माझीदाइ

माझीदाइले डुंगा चलाउँदैन
आकांक्षाको तालमा
जिन्दगी चलाउँछ
घरका सदस्यहरुको अक्सिजन खियाउँछ
दाल,भात र तरकारी पकाउँछ।

डुंगा उसको ज्यान हो
ज्यान नचले चुल्हो बल्दैन
अगेनामा बलेको आगोलाई
अभावको आँशुले निभाइदिन्छ
चल्लाहरु भोकै हुन्छन्।

ऊ निम्नवर्गहरुको प्रतिनिधि-पात्र हो
श्रमजीवीहरुको ज्वलन्त नमूना हो
उसको दिनचर्या
गरिबीको गतिलो दसी हो
जसलाई प्रमाणित गर्न
अरु कुनै दसी चाहिन्न।

मीठो सपनाको जाल हान्दा
जालभित्र साना-ठूला माछा पर्दैनन्
बच्चाहरुका कापी,कलम र पुस्तक पर्छन्
फिसको रकमले भरिन्छ।

उसंग ठूलो/नयाँ डुंगा छैन
सानो/पुरानो डुंगा छ
तर त्यसले नयाँ उमंग थपिदिन्छ।

बर्षौंदेखि चलाउँदा-चलाउँदा
डुंगा मक्किसकेको छ
प्वाल पर्न थालिसकेको छ
तर टालटुल गरेर काम चलाइएको छ
उसले डुब्न दिएको छैन
यदि डुबिहालेमा
धेरै जनाको भविष्य डुबानमा पर्नेछ।

अचेल हाम्रो देश पनि
प्वाल परेको डुंगा जस्तै भएको छ
कतिखेर डुब्छ-ठेगान छैन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...