Wednesday, 31 January 2018

गणित शिक्षक

      म कार्यरत बिद्यालयको एक कुशल,प्रखर बिद्धान शिक्षक शेखर सर अचानक गयल भयो।बिना कुनै जानकारी त्यसरी एकाएक धेरै दिनसम्म गायब हुँदा शिक्षक-शिक्षिकाहरुले अनेकौं लख काटे।
"सायद जिन्दगीसंग आत्मसमर्पण गरेर अर्को लोकमा छलाङ मारेको होला।"
"कुनै चरीलाई मायाजालमा फसाएर उडाएर लगेको हुनुपर्छ।"
"राहदानी बनाएर सुटुक्कै पलायन भयो कि।"
धेरै टिका-टिप्पणीहरु आए पनि वास्तविकताको जरासम्म कोही पुग्न सकेनन्।यथार्थता कतैबाट उजागर भएन।शेखर सरको अनुपस्थितीमा गणित शिक्षकको अभाव भयो र पदपूर्तिको लागि विभिन्न अखबार र सामाजिक सञ्जालमा बिज्ञापन प्रकाशित गरिए पनि कतैबाट आवेदन आएन।म नि.मा.बि. स्तरको शिक्षकले नै मा.बि.तहसम्म पढाउनुपर्ने भयो।आफ्नो साख जोगाउन रातको १२ बजेसम्म तयारी गरेर बल्ल पढाउँथें।बिडम्बना मलाई काम-चलाउ शिक्षक पो भन्न थाले।
           भाग्यबश एकदिन एउटी सुन्दर युवती जागिर खोज्दै टुप्लुक्क बिद्यालयमा आइपुगिन्।गणित बिषयमै अध्यापन गरेको ३/४ सालको अनुभव रहेछ।शिक्षकको चरम अभावको कारण योग्यता-प्रमाणपत्रको प्रतिलिपी बुझाएको एकै घण्टामा सामान्य औपचारिक अन्तर्वार्ता पश्चात् वि.व्य.स.ले अस्थायी दरबन्दीमा नियुक्त गरे।उनको अध्यापन कला निकै सन्तोषप्रद र चमत्कारिक थियो।अनु मिसको नामले व्यापकरुपमा उनको चर्चा चुलियो।उनको स्वर तेश्रोलिंगीको जस्तो भएपनि शारीरिक सुन्दरता भने कुनै परी,अप्सरा भन्दा कम थिएन।
           एकदिन कुनै काम बिशेषले सबै शिक्षक-शिक्षिकाहरुको योग्यताको सक्कली प्रमाणपत्र र नागरिकताको आवश्यकता पर्यो।सबैले एकदुई दिनमै उपलब्ध गराए।तर अनु मिसले निकै दिनसम्म आनाकानी गरिरहिन्।अनेक बहानामा टारिरहिन्।धेरै दिनसम्म दबाब खेप्नुपर्दा अन्ततः बाध्यताबश प्रमाणपत्र उपलब्ध गराउन करै लाग्यो।उनको नागरिकता र सक्कली प्रमाणपत्र देखेर सबै हैरान भए,जिल्ल परे।एकाएक गायब भएको शेखर सर अनु मिसको प्रमाणपत्रमा फेला पर्यो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...