Wednesday, 23 May 2018

अवसर

जमिनैभरी असरल्ल छरिएका छन्-
हाम्रा सौभाग्यहरु
बगरैभरी बग्रेल्ती लडिरहेका छन्-
हिरा/मोतीहरु
जसलाई टिप्न सकिरहेका छैनौं
जसलाई चिन्न सकिरहेका छैनौं
सिर्फ हामीले त देखिरहेका छौं-
माटाका कणहरु
ढुंगाका थानहरु।

हिमालैभरी फैलिएका छन्-
अमूल्य चाँदीका पुञ्जहरु
अनवरत बगिरहेका छन्-
सुनका खोला-नदीहरु
सोहोर्न सकिरहेका छैनौं
भर्न सकिरहेका छैनौं
सिर्फ देखिरहेका छौं-
सेता हिउँका थुप्रा
व्यर्थ बगेका पानी।

भीर,पाखा,कुना,कन्दराहरुमा
डलरहरु चम्किरहेका छन्
औषधिहरु उम्रेका छन्
अमृतहरु रसाइरहेका छन्
तर हामी आँखा चिम्लेर-
यत्रतत्र भौतारिरहेका छौं।

गरा-गरामा झुलिरहेका छन्-
रियाल/धिराम/रिंगेटहरु
तर हामी खोस्टासंग पसिना साटिरहेछौं
डाली-डालीमा फुलिरहेका छन्-
सुनौला अवसरहरु
मग्मगाइरहेका छन्-
अनगिन्ती सुखका वास्नाहरु
तर हामी एकोहोरो भागिरहेका छौं।

हाम्रै देशमा छ-
कामहरुको ताँती
रत्नहरुको खानी
दामहरुको अथाह सागर
हाम्रै पाखुरामा छ-भाग्यरेखा
तर हामी उल्टो दिशामा बगिरहेका छौं।

Tuesday, 22 May 2018

लुकेको छैन

लुकेको छैन कसैको सामू एउटा रहस्य
जत्तिनै दौड,समाधिसम्म,मान्छेको गन्तव्य
भौतिक सुख प्राप्तिको लागि किन हो हतार
असली सुख,पाइन्न कतै,चहारी संसार।

मनको झोली भरिएपछि ऐश्वर्य चाहिन्न
अथाह खानी रहेछ मनै,बाहिर पाइन्न
क्षणिक खुशी बटुल्छ मान्छे,गहना,पैसाले
बढाइदिन्छ अनावश्यक तिर्सना पैसाले।

सम्पत्ति जोड्न अशान्तितिर लम्कन्छ मनुष्य
यसैकारण विनासतर्फ डोर्याउँछ अवश्य
त्यागेर मोह,समृद्धि तर्फ जानुछ अब त
जगत लाई सुन्दर शान्त पार्नुछ अब त।

Sunday, 20 May 2018

प्रेम-परिक्षा

              जिन्दगीको अक्कर बाटोमा हिंड्दै गर्दा एउटी रुपसीसंग भेट हुन्छ।कुराकानीकै शिलशिलामा म उनलाई मनपराउँछु।उनको गफ गर्ने शैली।उनको हिंडाइ।अरु भन्दा पनि शारीरिक बनौट।सबै मन पर्छन्।उनको एकतर्फी मायामा पर्छु।उनको चालडाल/हँसाइ सबै हेर्दा लाग्छ उनी पनि मलाई मनपराउँछिन्।ढिलाइ नगरी म कुरा अगाडि बढाउँछु।
"म तिमीलाई मनपराउन थालेको छु।माया गर्न थालेको छु।"
"तिमी मेरो लागि के-के गर्न सक्छौ?"
"जेपनि गर्न सक्छु।भन,के गरुँ?"
"जे गर्न सक्छौ,आफैं प्रमाणित गरेर देखाउ।"

उनले यसो भनिरहँदा ओरालो बाटो आउँछ।निकै अग्ला-अग्ला कन्लाहरु देखिन्छन्।समयले मलाई उनको लागि परिक्षाको वातावरण तयार पारे झैं लाग्छ।
"हेर म तिम्रो लागि के गर्न सक्छु।"
यति भनेर एउटा कान्लाबाट तल हाम्फाल्छु।सफल हुन्छु।मलाई केही हुन्न।सकुशल हुन्छु।मेरो हर्कत देखेर उनी खुशी हुन्छिन्।मुस्कुराउँछिन्।तर परिक्षाको घडी त्यत्तिकै समाप्त हुन्न।
"आहा!तिमी यस्तो पनि गर्न सक्छौ है?अरु के गर्न सक्छौ?"
"अरु पनि गर्न सक्छु।समय आउन देऊ।म प्रमाणित गरेर देखाउँछु।"
मैले खोके अनुसार अर्को अवसर आइरहेको छैन।अवसरको व्यग्र प्रतिक्षामा छु।

                हामीसंगै एउटा ठूलो नदी बगिरहेको छ।सङ्लो/नीलो/सुन्दर नदी।त्यही नदीको दृश्यपान गर्दै हामी झरिरहेका छौं।एक्कासी मलाई शौच लाग्छ।त्यो ठाउँमा घर एउटा पनि नभएकोले शौचालयको छैन।तर थाम्न सक्दिन।एकान्त र सुरक्षित ठाउँ खोज्दै जान्छु।एउटा ठूलो भीर देखिन्छ।माथिबाट तल हेर्छु।छोटो दूरीमै सानो भूभाग देख्छु।त्यहीं गएर शौच गर्ने मनसाय बनाउँछु।उनको आँखा छलेर त्यहाँ हाम्फाल्छु।मलाई नदेखेर उनी तुरुन्तै खोज्दै आइपुग्छिन्।
"हेल्लो!के गर्न लागेको तिमी?शौच गर्ने भनेर?कहाँ यहाँ मिल्छ?खुरुक्क आइहाल।तल एउटा अस्पताल छ।त्यहीँ गएर शौच गरौंला।"
अलिकति फुकालिसकेको पाइन्ट माथि तान्छु।हाम्फाल्न त हाम्फालें तर उक्लिने कसरी?भीर पहिलेको भन्दा भयानक देखिन्छ।तलतिर जाने बाटो छैन।कदंकदाचित खसिहालेमा नदीमा पुगिन्छ।होसहवास गुमाइन्छ।पौडिन पनि आउँदैन।क्रमशः हिम्मत हारिरहेको छु।जसरी पनि माथितिरै उक्लिनु छ।पाइला टेक्ने ठाउँ छैन।तैपनि पाइला बढाउँछु।उनी चुपचाप मलाई हेरिरहेकी छिन्।पहिलेको भन्दा गम्भीर देखिन्छिन्।मुहारमा अँध्यारो पोतिएको छ।
"पक्कै उनी पनि मलाई माया गर्छिन्।"
म मनमनै भन्छु।अलि हिम्मत बढेर आउँछ।हातले भीरमा सुम्सुम्याउँछु।एउटा समाउने ठाउँ भेट्टाउँछु।त्यसैको सहाराले माथि निस्किने प्रयत्न गर्छु।तर त्यो समाउने भाग एकदमै कमजोर रहेछ।भाँच्चिएर तलतिर खस्छ।पत्त्थर नदीमा खसेको आवाज कानसम्म आइपुग्न सकेन।त्यहाँबाट खसेको खण्डमा बाँच्ने सम्भावना अति न्यून छ।आङ सिरिङ-सिरिङ भैरहेछ।

                संयमित भएर प्रयास जारिराखें।पूरै जीउले भीरलाई अंकमाल गरेर हातखुट्टा चलाइरहन्छु।झर्न-झर्न खोज्छु,झर्दिन।हात/पाइलाहरु लर्खरिन्छन्।शरीर थर्थर काम्छ।मुटुले ढ्याङ्ग्रो ठोक्दैछ।संयोगबस कसरी-कसरी म उक्लिंदै जान्छु।बाँच्ने आशाको मुना पलाउँदै छ।मुहारमा हर्षका किरणहरु सल्बलाउँछन्।उमंगका तरंगहरु चल्मलाउँछन्।माथि उक्लिन सक्ने सम्भावना बढेको देखेर एक्कासी चिच्याउँछु।
"हेर,म तिम्रो लागि के गर्न सक्छु?यस्तो पनि गर्न सक्छु।"
उनी हाँस्न थाल्छिन्।अनुहारमा बेग्लै चमक देखिन्छ।नभन्दै म माथि उक्लिन्छु।मेरो सफलता/कुशलता देखेर उनी खुरुरु दौडेर मतिरै आउँछिन्।एकैछिनमा उनी मेरो बाहुमा आएर बेरिन्छिन्।उत्साहको कुनै सिमाना रहन्न।म पनि उनलाई जोडले अंगाल्छु।उनलाई प्रश्न तेर्स्याउँछु।
"अब तिम्रो लागि के गरेर देखाउँ?"
"भो अब केही गर्नुपर्दैन।तिमीले प्रमाणित गरेर देखाइसक्यौ।"

               मेरो ज्यान मुश्किलले बचेको छ।वास्तवमा मैले आफू बाँच्नको लागि संघर्ष गरेको हुन्छु।उनको लागि दिइएको परिक्षा हुँदै होइन।यद्यपि समयले मलाई सक्षम बनाउँछ।साथ दिन्छ।उनलाई पाउनमा मेरो भन्दा समयको ठूलो योगदान छ।एक-अर्काको अंगालोबाट अझैसम्म छुट्टिएका छैनौं।तर अझै मलाई उनको नाम र उनलाई मेरो नाम थाहा छैन।

Saturday, 19 May 2018

कपटी प्रतियोगिता

एक पटक हैन,पटकपटक जित्नेछौ
कम्तीमा पनि अर्ध--शतक जित्नेछौ
यदि कपटी प्रतियोगिता भयो भने
तिमीले पक्कै स्वर्ण पदक जित्नेछौ।

Thursday, 17 May 2018

सामूहिक आत्महत्या

केही थान बन्दुकहरु
कुनैबेला शक्तिशाली थिए
खुंखार हिंस्रक थिए
शान्तिको छातीमा सोझिएर
क्षत-विक्षत पारिदिए
रक्तका भेलहरु उर्ले
अश्रुका नदीहरु बगे।

हजारौं चरीहरुको सिउँदो पुछिदिए
बृद्ध मृगहरुका सहारा भाँचिदिए
तन्नेरी हरिणहरुको भविष्य
पिंजडामा कैद गरेर
अन्धकार/अन्यौलग्रस्त पारिदिए
विकासको मेरुदण्ड भाँचिदिए।

उन्मत्त गोलीहरु अनियन्त्रित भई
निर्वाध चलिरहे
कसैले रोक्न सकेनन्
प्यासी गोलीहरु
रक्त नपिई विश्राम लिएनन्।

नालबाट छुटेका राता/ताता गोलीहरु
सिंहदरबार छिरेर
सिंहासनमा बसेदेखि
सत्ताको मदिरामा चुर्लुम्म डुबेर
भ्रष्टचारको वाष्पसंगै स्खलित भए
र सेलाए।

तब बन्दुकहरु गोलीविहीन भए
निरीह भए
बेकामका भए
चराचुरुङ्गी/पशुपंक्षी डराउन छोडे।

समय भन्दा बलवान् कोही रहेनछ
ती खियाले खाएका बन्दुकहरु
पापको प्रायश्चित गर्दै
आफ्नै सिद्धान्तको भीरबाट हाम्फालेर
सामूहिक आत्महत्या गर्दैछन्।

प्रेमवन

भविष्यमा कुनैबेला यस्तो दिन आउनेछ
अश्लीलता संसारमा जताततै छाउनेछ
हुनेछैन रोकतोक,हुनेछैन सिमाना
प्रेमवनमा निर्धक्क डुल्न,चर्न पाउनेछ।

Monday, 14 May 2018

रामबहादुर र बदू

              सूर्य सग्लिरहेको छ।ज्यान पग्लिरहेको छ।वेदना अग्लिरहेको छ।अनकन्टार मरुभूमि।बालुवै बालुवाको जंगल-रेगिस्तान।मानव निर्मित भौतिक संरचनाको अनुपस्थिती।शहर/बजार धेरै दूर।साउदी अरबको एक अविकसित ठाउँ।राजधानीदेखि २१०० किलोमीटरको दूरी।अल्जुफ विमानस्थल देखि ५०० किलोमिटर।ठाउँ-ठाउँमा ऊँठ र भेडीगोठहरु।जहाँ कुनै हरित बोटबिरुवा छैनन्।केवल शुष्क बालुवा।गृष्मयाममा चरा खस्ने गर्मी हुन्छ।हिउँदमा पानी जम्ने जाडो।त्यही रेगिस्तानमा अवस्थित स्थानीय अरबी बदूको जीवनयापन गर्ने माध्यम हुन्छ एउटा ऊँठ-गोठ।त्रिपालबाट निर्मित उक्त गोठमा हुन्छन् जम्मा २५ वटा ऊँठहरु।त्रिपालबाटै निर्मित अर्को सानो गोठ छ जहाँ ऊँठको गोठालो बसोबास गर्छ।गोठालोलाई स्थानीय भाषामा आमेल भन्छन् भने मालिकलाई-कपिल।ती स्थानीय बासिन्दालाई बदू भन्छन् जो निकै गरिब हुन्छन्।सोही गोठमा एकजना ३० बर्षे नेपाली रामबहादुर कार्यरत छ।सुनौलो सपना सजाएर दस बर्ष पहिले मरुभूमिमा पसिनाको सिंचाइ गर्न आएको थियो-ऊ।तर अहिलेसम्म त्यो दलदलबाट उम्किन सकेको छैन।

              भलाकुसारी गर्न र दु:ख-सुख साट्न उसको साथमा अरु कोही छैनन्।साथी भने पनि जे भने पनि ऊँठ नै हुन्।त्यहाँका बालुवा हुन्।कहिलेकाही ऊ आफैंसंग बोल्छ।मानसिक सन्तुलन गुम्ला जस्तो हुन्छ।तर अब उसलाई यही संसार प्यारो लाग्न थालेको छ।शुरुका दिनहरुमा धेरै रोए।गुहार मागे।तर कतैबाट सुनुवाइ भएन।होस पनि कसरी?सुन्ने/नसुन्ने उसका कपिल(मालिक) मात्र त्यहाँ आउँछ।राहदानी र त्यहाँको परिचयपत्र(अकामा) उसलाई दिइएको छैन।भाग्न पनि असम्भव छ।भागिहाले पनि पुलिसको फन्दामा परिन्छ।एकपटक भागेको पनि थियो।तर पुलिसले पक्डेर पुनः मालिकलाई बुझाइदिए।तत्पश्चात उसले भाग्ने आँट गरेको छैन।कपिलले खान/लाउन मात्र दिएका छन्।यहाँ पाइला टेकेदेखि उसले पैसाको मुखसम्म देखेको छैन।महिनाको हिसाबले उसको तलब ५०० रियाल हो।तर कहिल्यै तलब थाप्ने अवसर जुरेको छैन।तलब मागे उल्टै शारीरिक यातना पाइन्छ।

           उज्ज्वल भविष्यको परिकल्पना गरेर एक लाख रुपियाँ म्यानपावर कम्पनीलाई बुझाई जहाज चढेर आएको थियो ऊ कुनै दिन।तर आजसम्म उसको भविष्य अन्यौलमा छ।अन्धकारमा छ।अल्जुफ विमानस्थल छोडेदेखि बिजुलीबत्तीको अनुहार देखेकै छैन।दिउँसो प्रचण्ड सूर्यको उज्यालो।राती जूनको उज्यालो।अनि धिपधिप बल्ने लालटिनको उज्यालो।पानीको लागि डिजेलबाट चल्ने जेनेरेटरको सहयताले बोरिङ गरी निकालिएको छ।चाहिने बेला जेनेरेटर चलाउनुपर्छ।

               जुलाईको महिना।विहानीले रामबहादुरलाई न्यानो स्वागत गरिसकेको छ।अरुदिन जस्तै आज पनि उसको दिनचर्या शुरु हुन्छ।थकित ज्यानले केही राहत पाएको आभास हुन्छ।तनक्क जिउ तन्काउँदै बाहिर निस्केर धाराको पानीले मुख पखाल्छ।नजिकै राखिएको टुक्रिएको ऐनामा आफूलाई प्रतिबिम्बित गर्छ।मन पनि ऐना जसरी टुक्रिन्छ।दशक अगाडिको रामबहादुर उसले गुमाइसकेको रहेछ।अहिले त उसको सामू तन्नेरीमै अनुहारको छाला चाउरिएको अर्धबैशे आमेल(नोकर) उभिएको छ।मुखमा पसेको नुनिलो पानी(यहाँको पानी नै यस्तै)पिच्च थुक्दै मन अमिलो बनाएर भित्र प्रवेश गर्छ।प्लास्टिकमा पोको पारेर राखिएको दुईटा बासी खबुस(सुख्खा रोटी) निकाल्छ।टिनको बट्टामा प्याक गरिएको रेडीमेट सिमीको झोलसंग क्वाप-क्वाप निल्छ।एकछिन घोत्लिएर सोचनग्न हुन्छ।आमाको हातको तात्तातो खान सम्झिन्छ।तुरुक्क आँसु खसेर खबुसको सतहमै बिलाउँछ।सर्पले भ्यागुतो निल्न नसकेझैं घाँटीमा खबुस अड्किन्छ।बान्ता होला जस्तो हुन्छ।जबर्जस्ती निलेर एक घुट्को पानी पिउँछ।बाँकी खबुसमा सेलरोटीको छवि नाच्न थाल्छ।मनको लड्डु घिउसित खाँदा पेट डम्म भरिन्छ।मैलिएको पुरानो क्याप,झुत्रोमुत्रो कपडा र घुँडासम्म आउने गम्बुट लाएर गोठभित्र छिर्छ।ऊँठहरु घाँसको माग गर्दै आशावादी ध्वनि गुञ्जाउँछन्।अग्ला ऊँठहरुको बीचमा होचो केटो भुइँतिरै हराउँछ।ऊँठहरुको प्यास मेटाउन एउटा ठूलो लाम्चो आकारको फलामे ट्यांकी राखिएको छ।धेरै ऊँठहरुले मुख चोबेर पानी पिएकोले ट्यांकी धुमिल देखिन्छ।ट्यांकीको सरसफाइ गरी नयाँ पानी भर्छ।ती जन्तुहरु पालैपालो ताजा पानी पिई रामबहादुरलाई हेरेर कृतज्ञता व्यक्त गर्छन्।तिनीहरुको भाषा उसले बुझिहाल्छ।ऊ तिनीहरूलाई भरपूर खुशी बनाउने यत्न गर्छ।तत्पश्चात रातभरी हगेर गन्हाउने भैसकेको गोठलाई सफा गर्न थाल्छ।बेल्चाले मलमूत्रलाई उठाएर ठेलगाडामा हाल्छ।ठेल्दै/पेल्दै निकै परसम्म लगेर फाल्छ।निरन्तर दुईघण्टाको कडा परिश्रमपछि गोठ हेर्न/बस्न लायकको हुन्छ ऊँठहरुको लागि।अब फ्रेकफास्टको कार्यक्रम सुचारु हुन्छ।१० वटा टायरका भाँडाहरुमा सुकेको घाँस फाल्दिन्छ।एउटा भाँडामा दुईटा ऊँठहरुले मुख हाल्छन्।क्रमशः खोपिल्टा परेका पेटहरु पोटिला हुँदै आउँछन्।आफूले पालेर स्याहार/सुसार गरेका जन्तुहरु अघाएको देख्दा एउटी आमा आफ्ना सन्तानलाई खुवाएर खुशी भएझैं हुन्छ।निकैबेरसम्म उनीहरुले खाएको दृश्य मन्त्रमुग्ध भएर निहारिरहन्छ।निधारतिर खसेको क्यापलाई माथि सारेर सूर्यनारायण तिर नजर डुलाउँछ।ऊ रेगिस्तानलाई आगोले कराइलाई तताएझैं तताउँछ।चराचुरुङ्गीहरु खुल्ला ठाउँ छोडेर बसाइँ सर्छन्।वायुमण्डल बाफिंदै जान्छ।उसको शरीर बरफ झैं पग्लिन्छ।जमिन क्रमशः रापिंदै जान्छ।बालुवामा अण्डा राखेपनि पाक्छ होला।

             तीनवटा ऊँठका बच्चाहरु गोठको एउटा कुनाबाट आमाको दूध चुस्न पाइने आशमा टुलुटुलु हेरिरहेका छन्।सायद प्यासले काकाकुल भएको हुनुपर्छ।उनीहरूको व्याकुलता देखेर रामबहादुरको मन द्रवित हुन्छ।ती आमाहरुको आधा-आधा दूध बाल्टीमा दुहेर बाँकी दूध बच्चाहरूलाई छोड्छ।आमा-बच्चा बीचको ममता र प्रगाढ सम्बन्ध देखेर ऊ भावविह्वल हुन्छ।स्वदेशको आमालाई सम्झेर धुरुधुरु रुन्छ।
"आमा!के गर्दै हुनुहुन्छ?मलाई आशीर्वाद दिनुहोस्।हजुरको आशीषले चाँडै फर्केर आउन सकूँ।"
एकोहोरो विलाप गरिरहन्छ।तर सुनुवाइ हुँदैन।मरुभूमि उसको क्रन्दन श्रवण गरेर गिज्याइरहन्छ।

              बच्चाहरु तृप्त हुन्छन्।पूर्वास्थानमै बाँधिन्छन्।तर गोठालो भने अतृप्त नै हुन्छ।प्यासी नै हुन्छ।मायाको प्यासले छट्पटिन्छ।समय गतिशील छ।यसले पटकपटक उसलाई प्रहार गरिरहन्छ।कहिले उष्ण पवन भएर डढाउँछ।कहिले भूमरी बनेर उलटपुलट बनाउँछ।कहिले आँधीतुफान भएर उथलपुथल मच्चाइदिन्छ।उसको आँखा क्षितिजमा पुग्छ।निकै परबाट रेतीला तुफान(sandstorm)आइरहेको छ।हतोत्साहित हुँदै दूध लिएर आफ्नो कोठातिर प्रस्थान गर्छ।वायुमण्डल धुमिल भैरहेको छ।बालुवाका कणहरु हावाले भित्रसम्म ल्याइरहेछ।

               उसलाई भोकको कुनै आभास छैन।तर उसले बाँच्नको लागि खानैपर्ने बाध्यता छ।समय हेर्न गोजीबाट चेन चुँडिएको बुच्चे घडी निकाल्छ।मध्यन्हको १२ बजिसकेछ।खानपिनको तयारीमा जुट्छ।उसिनेको चामल बाहेक केही छैन।दाल सकिएको छ।भात पकाएर दूधसंग खान्छ तर दुई गाँस खाएपछि छिर्न मान्दैन।पुनः घरको याद थालभरी छताछुल्ल पोखिन्छ।तुफानले उसको दु:ख/वेदना उडाएर लगे हुन्थ्यो।तर लगेन।बिस्तारै आकाश सफा हुन्छ।घाम झनझन चर्किंदो छ।माटोको गाग्रीमा चिस्याएको पानी दुई मग घुटुघुटु पिउँछ।तर मनको प्यास अझै मेटिँदैन।तातो हावाले भित्रसम्म हानिरहेछ।शरीरमा पसिनाको बाढी आउँछ।छट्पटी बढ्छ।मुटुको गति तेज हुँदै जान्छ।विश्राम गरिरहँदा पनि गर्मीले जुरुक्क उठाएर पछार्दैछ।मानौं उसलाई यमलोकमा यमराजले पापको सजाय दिइरहेछ।तीनघण्टाको समयावधि उसको लागि तीन मास सरह भैदिन्छ।

              थोत्रो घडीले ३ बजाइसकेको अवस्था।मेलोको दोश्रो प्रहर शुरु हुन्छ।ऊँठहरु गोठालोकै बाटो टुलुटुलु हेर्दैछन्।बन्धनबाट मुक्त हुने आश भरिएको हुन्छ आँखा भरी-भरी।सबैलाई गोठ बाहिर निकालेर चरनतिर लैजान्छ।एउटा ऊँठलाई वहन बनाएर पछि-पछि लाग्छ।झार खान भन्दा मरुभूमिमा लम्किन मजा लाग्छ तिनीहरूलाई।नाचेर स्वतन्त्रताको स्वाद चाख्छन्।बिडम्बना गोठालोको जिन्दगी बेस्वादिलो लाग्छ।दिशाविहीन भैदिन्छ।कुहिरोको काग भन्दा बढी गन्तव्यविहीन।अस्ताउँदै गरेको घामले मात्र पूर्व/पश्चिम छुट्टिन्छ।पूर्वतिर एकटकले नजर लाउँछ।
"कहाँ होला मेरो देश?पक्कै त्यतै हुनुपर्छ।कहिले आउँला जहाज चढेर फर्किने दिन?"
एकाएक प्रश्नका गोलीहरु आएर मनको भित्ता छिद्र-छिद्र बनाइदिन्छ।उसले आफ्नो पक्षमा कुनै सकारात्मक उत्तर भेट्टाउँदैन।

            घामले आफ्नो रङ फेर्दैछ।स्थान परिवर्तन गर्दैछ।क्षितिजको लालीले उसलाई गोठतिर फर्कने आदेश दिन्छ।गोठ नजिकै पुगेर ऊँठहरु पुलकित हुन्छन्।बन्धनमा बाँधिनु उनीहरुको नियति नै हो।त्यसैमा उनीहरू खुशी हुन्छन्।रामबहादुरको मनको आकाशमा पनि थोरै खुशीको बिजुली चम्किन्छ।सायद उसलाई पनि नियतिले त्यही बन्धनमा बाँधिनुपर्ने विवशता उपहार दिएको हुनुपर्छ।जसरी बाख्राहरु चरनपछि खोरमा फर्कन लालायित हुन्छन्।ऊ पनि झुपडीमा फर्कन लालायित छ।ऊँठहरु तँछाडमछाड गरेर गोठमा पसिरहेका छन्।

            फेरि पनि घाँसपानी गरेर ऊ आफ्नो गुँडतिर फर्किन्छ।आजको काम सम्पन्न भएकोमा उसको मन चञ्चल भएको छ।चरी जस्तै।जब संघारमा पाइला टेक्छ,ऊ आश्चर्यचकित हुन्छ।एउटी बुर्कावाली युवतीको छवि सामून्ने देखापर्छ।कतै सपना जस्तो।कतै भ्रम जस्तो।यस्तो अनकन्टार मरुभूमिमा कहाँबाट आईन् यिनी?को हुन्?किन भित्र पसेकी छे?कतै किचकन्नी त हैन?प्रष्ट ठम्याउन सकिन्न।भयभीत हुँदै फर्किन खोज्छ।उत्तिनैबेला उसको कानमा परिचित ध्वनि ठोक्किन्छ।
"राम!ताल!।"
उनी अरु।कोही नभएर मालिककै छोरी हुन्छिन्।उनी भनेपछि उसको मनमा अनौठो खालको हर्षको तरंग सल्बलाउँछ।उनको नाम रुक्सा।कान्छी छोरी।अरु छोरीहरु सबै विवाहित।

          रुक्साले लालटिन बाल्छिन्।आफ्नो रुपलाई पनि उस्तै किसिमले चम्काउँछिन्।उनी उसका सबैथोक हुन्।उनी भए अरु केही चाहिन्न।मालिकहरु गैसकेको छनक पाएर रामबहादुर खुरुरु दौडेर उनलाई अंकमाल गर्छ।उनले पनि सहर्ष स्वीकार्छिन्।बिना लाज।बिना संकोच।
"ताल सदिक।अकिल काप्सा!"
बिर्यानी निकालेर दिन्छे।एकहातले रुक्सालाई स्पर्श गर्दै कुखुराको साँप्रा टोक्न थाल्छ।बेला-बेला एकले अर्कालाई स-प्रेम ख्वाउँछन्।खाना भन्दा बढी म्वाइँ खान्छन्।खाना खाएर ८ बजे नै सुत्ने तरखरमा लाग्छन्।तर यिनीहरू सुत्न सक्दैनन्।उठिरहन्छन्/जागिरहन्छन्।सिंगै रात यिनकै बशमा हुन्छ।अँध्यारोमा पनि चम्किरहन्छन्।रात सुत्दैन।जागाराम बस्छ।रात दिन नहोस् भनेर कल्पिरहन्छ।तर रात भन्दा दिन बलियो हुन्छ।जितेरै छाड्छ।दुई पात्रहरु थकित भई विहानीपख मात्र निंदाउँछन्।सुरज निकै माथि निस्केर उनीहरुलाई चियाउँछ।ऊँठहरु भोकले कराउँछन्।लगातारको आवाजले रामबहादुर झसङ्ग हुँदै जुरुक्क उठ्छ।फेरि एकपटक रुक्सालाई सुम्सुम्याउँछ।नित्यकर्म गर्नैपर्छ।मन नलागी-नलागी आफ्नो दैनिकीलाई निरन्तरता दिन्छ।रुक्सा भने शिथिल भएर सुतिरहन्छिन्।

                आज महिना मरेको दिन।तलब आउने दिन।तर तलब आउने आशा छैन उसलाई।किनभने उसले तलब लिइसकेको छ।रुक्साले दिइसकेकीछिन्।एक महिनाको तलब एकैरातमा सुहा।उसले धेरैपटक यस्तै तलब लिइसकेको छ।तर नगद पैसा भने एक रियाल पनि पाएको छैन।परन्तु,रहरले नभई कहरले यस्तै नियति भोग्नुपरेको हो।उसकै कपिलले तलबको साटो छोरी र श्रीमतीका शरीर सुम्पेका हुन्।

                  धेरै बर्ष पहिलेको कुरा।ऊ यहाँ आएर ६ महिना भएको थियो।उसले यहाँको भाषा पनि फरर जान्ने भैसकेको थियो।मालिक आउने बेला प्रत्येक पटक उसले तलब माग्यो।आश्वासन दिए तर तलब दिएनन्।एकरात मालिकले आफ्नी जेठी छोरी छोडेर गए।शुरुमा त फाँसीको सजाय हुने भयले स्पर्शसम्म गरेन।तर केटीनै नजिक आएर उक्साएपछि बाध्यतावश पुंसत्व प्रदर्शन गर्नुपरेको थियो।विहान मालिक आएर पुलिसको जिम्मा लाउने धम्की दियो।अन्ततः तलब नलिने/नदिने शर्तमा कुरा टुंगियो।लगातार ६ दिनसम्म जेठी छोरीसंग सुतेर ६ महिनाको तलब लियो।त्यसपछि हरेक महिना आफ्नी छोरीलाई छोडेर तलब पच्चा गर्दै आए।कुनै बेला त आफ्नै श्रीमतीलाई समेत छोडे।जेठीको बिहे भयो।माहिंलीबाट चुक्ता गरे।माहिलीको बिहे भयो।साहिंलीबाट र साहिंलीको पनि बिहे भएपछि अन्तिम विकल्प कान्छी बनेकी छिन्।

              यसरी नै रामबहादुरका १० बर्षहरु बिते।न घर जान दिइएको छ,न तलब नै।आज फेरि उसको महिना मरेको दिन।तलब आइसकेको छ।तलबको चेक रुक्साको शरीरमा मग्मगाइरहेछ।तर आजको रात अरु भन्दा पृथक छ।उनले तलब दिन मानिरहेकी छैन।मुहारमा कुनै चमक छैन।मानौं अनुहारमा अंगार पोतिएको छ।उनको आँखाबाट टिलपिल दानाहरु खसिरहन्छन्।रामबहादुर उनको आँसु पुछ्दै रुनुको कारण सोधिरहेछ।
"रुक्सा!के भयो तिमीलाई?किन यसरी रोएकी?मबाट के गल्ती भयो?"
"राम!म गर्भवती भएकी छु।दुई महिनाको भ्रुण हुर्किरहेको छ मेरो गर्भमा।म तिमीलाई साँच्चिकै माया गर्न थालेकी छु राम!"
"ए हो र?म पनि त तिमीलाई आफ्नो तलब भन्दा बढी माया गर्छु।तर अब के हुन्छ?अनर्थ भयो त।"
"दुईदिनमै मेरो बिहे हुँदैछ।तिम्रो बच्चा लिएर म कसरी अरुसंग बिहे गरुँ?"
"अनि के गर्ने त?मसंग बिहे गर्छ्यौ?अरुसंग बिहे नगरे अरु के उपाय छ?पुलिसकेस भयो भने त हामी दुबै काटिन्छौं।"
"बरु मलाई नेपाल लिएर जाऊ न राम।तिमीलाई छोडेर जान सक्दिन म।"
"रुक्सा!तिमी यो के भन्दैछ्यौ?कसरी सम्भव छ?"
"हामी भागौं न।बाँचे संगै,मरे संगै।"
"मसंग त्यो सामर्थ्य छैन प्यारी!मलाई केही थाहा छैन।थाहा भएको भए तिम्रो बाउको गुलामी गरेर बस्थें र?"

             पूरै रात छलफल भएपनि निष्कर्ष निस्किन्न।एक-अर्कालाई भोग्नुको साटो अंगालेर रुन्छन्।मालिक आएर रुक्सालाई लिएर जान्छ।रामबहादुर निकै पर-परसम्म गाडीलाई हेरिरहन्छ।केहीबेरमै गाडी ओझेलमा पर्छ।उसलाई आफ्नो मुटु आफैंबाट अलग्गिएझैं लाग्छ।दिन बित्छ।रात बित्छ।रुक्साकै यादले सताउँछ।पहिले त उनलाई उपभोग्य सामनको रुपमा लिन्थ्यो।तर आज उसको मनमा उनीप्रति अपनत्व जागिरहेछ।आफ्नो बच्चाको आमा आफूसित नहुँदा न्यास्रो लागेको छ।दुई दिन मुश्किलले बित्छ।

            तेश्रो दिन।एकाविहानै मालिकको आगमन हुन्छ।रुक्सा पनि आएकी होलिन् भनेर आशातित नजरले गाडीतिर हेर्छ।तर उनी आएकी छैन।मालिकले एक्कासी उसलाई आफ्नो सामान पोको पार्न लाउँछ।पुरानो झोलामा थोत्रामोत्रा कपडा प्याक गर्छ।पोहोरको इदमा मालिकले किनिदिएको जुत्ता लाउँछ।आधा घण्टामै तयार भएर गाडीमा पस्छ।ऊँठहरु उसैलाई हेरिरहेका छन्।खै के-के सोचिरहेका छन्।अल्जुफको विमानस्थल पुगेर मालिकले राहदानी र टिकट थमाइदिन्छ।पैसाको नाममा एक रियाल पनि दिंदैन।पैसा नपाएपनि बर्षौंपछि स्वदेश फर्किन पाउँदा ऊ पुलकित छ।उसले मालिकसंग पैसाको कुरै निकाल्दैन।अल्जुफबाट रियादको उडान शुरु हुन्छ।जहाजमा सबैजना उसैलाई क्वार्क्वार्ती हेर्छन्।मानौं ऊ मान्छे नभएर जंगली जनावर हो।

              रियाद विमानस्थल।सबै नयाँ-नयाँ कपडामा ठाँट्टिएका छन्।मुहारमा चमक देखिन्छन्।कोही डलर साटिरहेका।कोही ड्युटीफ्रीमा विभिन्न सर-सामान खरिद गरिरहेका।उसले अरु नेपालीहरुसंग बोल्ने यत्न गर्छ।तर कसैले बाल दिंदैनन्।अरु लाहुरे हुन्।ऊ मात्र गोठालो।थपक्क जहाजमा गएर आफ्नो सीटमा बस्छ।उसले पनि अब कसैको वास्ता गर्दैन।गरेर पनि फाइदा छैन।जहाज गुड्न थाल्छ।एकछिनमा भुइँ छोडेर गगन चुम्छ।बल्ल नेपाल पुगिनेमा ढुक्क हुन्छ।एकपटक उसले ऊँठहरु सम्झिन्छ।अनि एकपटक सम्झिन्छ-रुक्सा र रुक्साको पेटमा हुर्किंदै गरेको बच्चालाई!

          

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...