जमिनैभरी असरल्ल छरिएका छन्-
हाम्रा सौभाग्यहरु
बगरैभरी बग्रेल्ती लडिरहेका छन्-
हिरा/मोतीहरु
जसलाई टिप्न सकिरहेका छैनौं
जसलाई चिन्न सकिरहेका छैनौं
सिर्फ हामीले त देखिरहेका छौं-
माटाका कणहरु
ढुंगाका थानहरु।
हिमालैभरी फैलिएका छन्-
अमूल्य चाँदीका पुञ्जहरु
अनवरत बगिरहेका छन्-
सुनका खोला-नदीहरु
सोहोर्न सकिरहेका छैनौं
भर्न सकिरहेका छैनौं
सिर्फ देखिरहेका छौं-
सेता हिउँका थुप्रा
व्यर्थ बगेका पानी।
भीर,पाखा,कुना,कन्दराहरुमा
डलरहरु चम्किरहेका छन्
औषधिहरु उम्रेका छन्
अमृतहरु रसाइरहेका छन्
तर हामी आँखा चिम्लेर-
यत्रतत्र भौतारिरहेका छौं।
गरा-गरामा झुलिरहेका छन्-
रियाल/धिराम/रिंगेटहरु
तर हामी खोस्टासंग पसिना साटिरहेछौं
डाली-डालीमा फुलिरहेका छन्-
सुनौला अवसरहरु
मग्मगाइरहेका छन्-
अनगिन्ती सुखका वास्नाहरु
तर हामी एकोहोरो भागिरहेका छौं।
हाम्रै देशमा छ-
कामहरुको ताँती
रत्नहरुको खानी
दामहरुको अथाह सागर
हाम्रै पाखुरामा छ-भाग्यरेखा
तर हामी उल्टो दिशामा बगिरहेका छौं।
No comments:
Post a Comment