चेर्दुङसित लपक्कै टाँसिएको-
टलल टल्किने हिउँ
रविको कामुक चुम्बनले क्रमशः पग्लेर
तँलाई शरण माग्न आइपुग्छ
कलकल बग्ने मुलका जल
तेरै सारथी बनेर अंकमाल गर्छन्
खोल्साखोल्सीहरु पनि गुटबन्दी गरेर
तँलाई नै मजबुत बनाउँछन्
ए सुन्दर यलुङ-खोला!
क्याङ्सिर वरिपरि छाती फुलाएर
निर्भीक उभिरहेका खस्रोहरुले
चञ्चल सुवासिला गुराँसहरुले
शोकमग्न/उदास अंगेरीहरुले
नव-पालुवा फेर्नुअघि झारेका
शुष्क पातहरुलाई जबर्जस्ती बगाएर
सामर्थ्य प्रदर्शन गर्छस्
ए उन्मत्त यलुङ-खोला!
बर्खा याममा
बर्खे भेलसंग तालमेल गरेर
निर्मम र अहंकारी बन्दै
जीवित रुखहरुको जरा खोतलेर
आतंक फैलाउँछौ
कैयौं ढुंगामुढालाई लछारपछार गर्छौ
ए बलवान् यलुङ-खोला!
त्यतिमात्र कहाँ हो र?
बौद्धभुवनेश्वरी मा.वि.का
निर्दोष बालबालिकालाई-
सिकार बनाउन खोज्छौ
यलुङबासीलाई अनावश्यक पीडा दिन्छौ
कष्ट गरेर थापिएका साँघुहरु भत्काउँछौ
ए बदमास यलुङ-खोला!
गाउँलेहरुले दु:ख गरेर पालेका
बाख्रा/गाई/भैंसीहरुलाई
बढारेर शिवालय/ठोसेतिर मृत छोड्छौ
उनीहरुको सपनालाई बगाएर लैजाँदा
आँखाबाट पीर बगेको कहिल्यै देख्दैनौ
ए ज्यानमारा यलुङ-खोला!
यलुङको छातीको गल्छेडी हुँदै
सदियौंदेखि अनवरत बगिरहेछौ
आफूसंगै धेरैथोक बगाइरहेछौ
यदि तँ साँच्चिकै शक्तिशाली छस् भने
यलुङ्गेहरुको दु:ख/पीडा पनि-बगाएर देखाऊ
सक्छस् बगाउन?
No comments:
Post a Comment