एउटा डाइनिङ टेबल
जसको एउटा खुट्टा छैन
तीन खुट्टाको सहाराले उभिरहेछ
तर मर्मत/सम्भार गरेर
काम मज्जाले चलाउन सकिने।
उनको छातीमा
ताजा/बासी खानाका डेक्ची/कराईहरु
आफ्ना चाक टेकाएर बिसाउन सक्छन्
तातो दूध पोखिएर सेलाउन सक्छ
तातो पानी छल्किएर बाफिन सक्छ
अचानोको काम गर्न सक्छ
लाखौं चोटहरु सहन सक्छ।
एउटा निश्छल मनले
प्रेम पनि गर्न सक्छ
स्नेहपूर्वक सुम्सुम्याउन सक्छ
उसले देख्न सक्छ गतिलो सम्भावना।
तर उनलाई कसैले प्रेमपूर्वक-
नचलाउन पनि सक्छन्
कसैले घृणापूर्वक लात मार्न सक्छन्
बाँकी खुट्टा भाँचिदिन सक्छन्
आगोमा दनदनी बाल्न सक्छन्।
नयाँ किनेर ल्याई
उनलाई थन्क्याउन सक्छन्-स्टोरमा
जिन्दगी अन्धकार पनि हुन सक्छ
ऊ माथि अरु सामान थुपारिदिंदा
थिच्चिएर अंगभंग हुन सक्छन्।
तर बिडम्बना
जुत्ता/चप्पल राख्न प्रयोग गरियो भने
अथवा कसैले खुट्टा टेकिदियो भने
कसैले चाक राखेर विश्राम लियो भने
उनको आत्मसम्मानमा आँच आउनेछ।
सबैभन्दा खेदको कुरो
फूलको नकाव पहिरिएर
कुनै पत्थरले
आफ्नो जवानीको भारी बिसायो भने
अनायासै रजस्वला रोकियो भने
दुर्भाग्यवश गर्भवती भईन् भने
उनले भ्रुणलाई कसरी सम्हाल्लिन्?
उनले आफूलाई कसरी सम्हाल्लिन्?
No comments:
Post a Comment