आज उसको बर्थडे
कुनै हर्षोल्लास छैन
उसको लागि कसैले शपिङ गरेनन्।
कतैबाट विश(wish) आएन
कुनै केक काटिएन
कसैको गिफ्ट आएन
कुनै जमघट/पार्टी भएन
कोही नाचेनन्।
चारैतिर निराशाको मेघले ढाकिएको
उमंगको वर्षा हुन नसकिरहेको
नैराश्यताको ग्रहण लागेर निस्पट्ट
कुनै आशाको किरण
धरासम्म आइपुग्न नसकिरहेको अवस्था।
उसको घर जीर्ण छ
कुनै मर्मत-सम्भार/रंगरोगन छैन
तामझाम छैन।
बहानामा छुट्टिएको बजेट/कोश
मार्गमा चुहिंदै-चुहिंदै सकिएको छ।
वैशाख पूर्णिमाको औंशीमय रातमा
जून उपस्थित छैन
शान्तिको दीप प्रज्वल्लित छैन
अहिंसाको बिगुल गुञ्जिएको छैन।
फलानो यही जन्मिएको नाराले
कुनै बखत संसार आतंकित भयो
तर्क/बहसहरु भए
तर व्यवहारमा लागू भएनन्।
शान्तिको अग्रदूत
विश्वको ज्योती
तमाम प्राणीहरुको शुभचिन्तक
दयाको महासागर
महान दार्शनिक
एक मात्र महामानवलाई
कथित मनुवाहरुले
सस्तो लोकप्रियता/चर्चा कमाउने होडमा
गिनिजबुकको पानामा कैद गरिदिए।
आज उसको बर्थडे
कुनै हर्षोल्लास छैन
उसको लागि कसैले शपिङ गरेनन्
आज उसको डेथडे पनि हो
तथापि युगौं-युगसम्म
ब्रम्हाण्डमा ध्रुवतारा भएर बाँचिरहनेछ।
No comments:
Post a Comment