Wednesday, 9 May 2018

थेरापी

अरबको उष्ण मरुभूमि हुँदै
मेरा अन्तर्दृष्टिका चञ्चल पाइलाहरु
अनेकौं कुइनेटा/गल्छी/जंघार तर्दै
प्रकाशको गतिमा दगुरेर
स्वदेशको चौतारीमा शित्तल ताप्छन्।

म भित्रको अनियन्त्रित/अस्थिर मान्छे
गरुडसित पखेटा सापटी मागेर
कावा खाँदै-खाँदै
गगनमा फन्को मारिरहन्छ
चल्ला जत्रा देखिने मान्छेहरूलाई
चुच्याई-चिच्याई बोलाउँछ।
कामले थकित कृषकहरुलाई
कोदालीहरुको गीतमा
रोपाइँको तालमा
उनीहरुकै मुटुको लयमा
नृत्य प्रस्तुत गरिदिन्छ।

सगरमाथाको शीरमा बिसाएर
चाहनाको झोलीमा शितलता भर्छ
कल्पनाको हातले सुन्दरता सुम्सुम्याउँछ
हिउँको थुप्रो छातीमा थुपारेर
बर्षौंदेखि खाडीमा पिल्सिएको मनलाई
सेकाएर थेरापी गर्छ।

एकदेखि अर्को हर्ष-हिमालमा हाम्फाल्दै
स्वतन्त्रताको पराकाष्ठा चुमी
जागिरको कारागारबाट मुक्त भएर
सन्तुष्टिको श्वास फेर्छ।

समुद्रको नुनपानीले निस्केको घ्याम्पे पेट
तन्नेरीमै फुलेको केश र
कृत्रिम हावाले मक्किएको करङ बोकेर
जोशको माछापूच्छ्रेले
उमंगको फेवातालमा पौडी खेल्छ
मनको साराङकोट
प्रकृतिको रंग संगालेर
प्याराग्लाइडिङमा मन्त्रमुग्ध उड्छ
तब सिंगो शरीर टीन-एजको भैदिन्छ।

ग्यास्टिकले थलिएको मुटु
निर्भयताको पुलबाट
हिम्मतको भोटेकोशीमा बन्जी हान्दा
पूर्णरूपमा स्वास्थ भई
नियमित/सामान्य रक्तसञ्चार गर्छ।

डिजेल/पेट्रोल/ग्याँसले
सिकिस्त भएको निरीह फोक्सोले
सुनपाती/धूपीको सुवास लिएर
बहुमूल्य जडीबुटीहरुको सुगन्ध सुँधेर
जीवनदान पाउँछ।

दैनिक १४ घन्टा पहरेदारी गरेर
थाकेका बिक्षिप्त नयन र
तिनका कमजोर भएका दृष्टि
हरियाली दृश्यहरुको सम्पर्कले
चमत्कारीपूर्ण बद्लाव आएर
सुरजको रोशनी जत्तिकै तेजिलो हुन्छ।

सपनाको विमान स्वदेशबाट उडेर
जब विपनाको विमानस्थलमा-
अवतरण हुन्छ
अप्रत्याशित ढंगले स्फूर्ती बढेर
मुर्झाएको मनको फूल जागृत भई
मग्मगाउने/कल्कलाउने भैसकेको हुन्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...