जिन्दगीको अक्कर बाटोमा हिंड्दै गर्दा एउटी रुपसीसंग भेट हुन्छ।कुराकानीकै शिलशिलामा म उनलाई मनपराउँछु।उनको गफ गर्ने शैली।उनको हिंडाइ।अरु भन्दा पनि शारीरिक बनौट।सबै मन पर्छन्।उनको एकतर्फी मायामा पर्छु।उनको चालडाल/हँसाइ सबै हेर्दा लाग्छ उनी पनि मलाई मनपराउँछिन्।ढिलाइ नगरी म कुरा अगाडि बढाउँछु।
"म तिमीलाई मनपराउन थालेको छु।माया गर्न थालेको छु।"
"तिमी मेरो लागि के-के गर्न सक्छौ?"
"जेपनि गर्न सक्छु।भन,के गरुँ?"
"जे गर्न सक्छौ,आफैं प्रमाणित गरेर देखाउ।"
उनले यसो भनिरहँदा ओरालो बाटो आउँछ।निकै अग्ला-अग्ला कन्लाहरु देखिन्छन्।समयले मलाई उनको लागि परिक्षाको वातावरण तयार पारे झैं लाग्छ।
"हेर म तिम्रो लागि के गर्न सक्छु।"
यति भनेर एउटा कान्लाबाट तल हाम्फाल्छु।सफल हुन्छु।मलाई केही हुन्न।सकुशल हुन्छु।मेरो हर्कत देखेर उनी खुशी हुन्छिन्।मुस्कुराउँछिन्।तर परिक्षाको घडी त्यत्तिकै समाप्त हुन्न।
"आहा!तिमी यस्तो पनि गर्न सक्छौ है?अरु के गर्न सक्छौ?"
"अरु पनि गर्न सक्छु।समय आउन देऊ।म प्रमाणित गरेर देखाउँछु।"
मैले खोके अनुसार अर्को अवसर आइरहेको छैन।अवसरको व्यग्र प्रतिक्षामा छु।
हामीसंगै एउटा ठूलो नदी बगिरहेको छ।सङ्लो/नीलो/सुन्दर नदी।त्यही नदीको दृश्यपान गर्दै हामी झरिरहेका छौं।एक्कासी मलाई शौच लाग्छ।त्यो ठाउँमा घर एउटा पनि नभएकोले शौचालयको छैन।तर थाम्न सक्दिन।एकान्त र सुरक्षित ठाउँ खोज्दै जान्छु।एउटा ठूलो भीर देखिन्छ।माथिबाट तल हेर्छु।छोटो दूरीमै सानो भूभाग देख्छु।त्यहीं गएर शौच गर्ने मनसाय बनाउँछु।उनको आँखा छलेर त्यहाँ हाम्फाल्छु।मलाई नदेखेर उनी तुरुन्तै खोज्दै आइपुग्छिन्।
"हेल्लो!के गर्न लागेको तिमी?शौच गर्ने भनेर?कहाँ यहाँ मिल्छ?खुरुक्क आइहाल।तल एउटा अस्पताल छ।त्यहीँ गएर शौच गरौंला।"
अलिकति फुकालिसकेको पाइन्ट माथि तान्छु।हाम्फाल्न त हाम्फालें तर उक्लिने कसरी?भीर पहिलेको भन्दा भयानक देखिन्छ।तलतिर जाने बाटो छैन।कदंकदाचित खसिहालेमा नदीमा पुगिन्छ।होसहवास गुमाइन्छ।पौडिन पनि आउँदैन।क्रमशः हिम्मत हारिरहेको छु।जसरी पनि माथितिरै उक्लिनु छ।पाइला टेक्ने ठाउँ छैन।तैपनि पाइला बढाउँछु।उनी चुपचाप मलाई हेरिरहेकी छिन्।पहिलेको भन्दा गम्भीर देखिन्छिन्।मुहारमा अँध्यारो पोतिएको छ।
"पक्कै उनी पनि मलाई माया गर्छिन्।"
म मनमनै भन्छु।अलि हिम्मत बढेर आउँछ।हातले भीरमा सुम्सुम्याउँछु।एउटा समाउने ठाउँ भेट्टाउँछु।त्यसैको सहाराले माथि निस्किने प्रयत्न गर्छु।तर त्यो समाउने भाग एकदमै कमजोर रहेछ।भाँच्चिएर तलतिर खस्छ।पत्त्थर नदीमा खसेको आवाज कानसम्म आइपुग्न सकेन।त्यहाँबाट खसेको खण्डमा बाँच्ने सम्भावना अति न्यून छ।आङ सिरिङ-सिरिङ भैरहेछ।
संयमित भएर प्रयास जारिराखें।पूरै जीउले भीरलाई अंकमाल गरेर हातखुट्टा चलाइरहन्छु।झर्न-झर्न खोज्छु,झर्दिन।हात/पाइलाहरु लर्खरिन्छन्।शरीर थर्थर काम्छ।मुटुले ढ्याङ्ग्रो ठोक्दैछ।संयोगबस कसरी-कसरी म उक्लिंदै जान्छु।बाँच्ने आशाको मुना पलाउँदै छ।मुहारमा हर्षका किरणहरु सल्बलाउँछन्।उमंगका तरंगहरु चल्मलाउँछन्।माथि उक्लिन सक्ने सम्भावना बढेको देखेर एक्कासी चिच्याउँछु।
"हेर,म तिम्रो लागि के गर्न सक्छु?यस्तो पनि गर्न सक्छु।"
उनी हाँस्न थाल्छिन्।अनुहारमा बेग्लै चमक देखिन्छ।नभन्दै म माथि उक्लिन्छु।मेरो सफलता/कुशलता देखेर उनी खुरुरु दौडेर मतिरै आउँछिन्।एकैछिनमा उनी मेरो बाहुमा आएर बेरिन्छिन्।उत्साहको कुनै सिमाना रहन्न।म पनि उनलाई जोडले अंगाल्छु।उनलाई प्रश्न तेर्स्याउँछु।
"अब तिम्रो लागि के गरेर देखाउँ?"
"भो अब केही गर्नुपर्दैन।तिमीले प्रमाणित गरेर देखाइसक्यौ।"
मेरो ज्यान मुश्किलले बचेको छ।वास्तवमा मैले आफू बाँच्नको लागि संघर्ष गरेको हुन्छु।उनको लागि दिइएको परिक्षा हुँदै होइन।यद्यपि समयले मलाई सक्षम बनाउँछ।साथ दिन्छ।उनलाई पाउनमा मेरो भन्दा समयको ठूलो योगदान छ।एक-अर्काको अंगालोबाट अझैसम्म छुट्टिएका छैनौं।तर अझै मलाई उनको नाम र उनलाई मेरो नाम थाहा छैन।
No comments:
Post a Comment