Friday, 11 May 2018

शंख-धून

मनको बारदलीमा निस्केर
आँखीझ्यालबाट निहार्दा
नतमस्तक सुतिरहेको सडक देख्छु
जहाँ कुनै सवारीसाधनको चाप छैन
लाग्छ-आज बन्द या चक्काजाम हो।

फुटपाते पसलहरुको चहलपहल छैन
स्कूले केटाकेटीको उट्पट्याङ गतिविधि
बेरोजगारहरुको नापी कार्यक्रम
भैयाहरुको "खाली शिशी/पुरानो कागज"
अहँ केही पनि नजर आएनन्/सुनिएनन्
अरु त के कुरा
अघिपछि गीत गाएर नाच्ने पंक्षीहरु पनि गायब छन्।

स्तब्ध परिवेश
अजीव सन्नाटा
मौन पर्यावरण
मानौं शोकको समुद्रमा चुर्लुम्म डुबेको छ देश।

आँखामा उत्सुकताको चश्मा लाएर
छातीमा व्यग्रताको बिषय थुपारी
कुम्भकर्णे सडकको छातीमा टेक्दै
उसलाई झक्झकाएर उठाउने धृष्टता गर्छु
परन्तु फगत/निरर्थक दुस्साहस सावित।

प्राकृतिक दूरविनको लेन्स तन्काएर हेर्दा
मेनरोडमा देखिए भीडभाड
शान्त र भावुक मुद्रामा
जो लागिरहेका छन् पशुपतितिर।
कर्णको भोल्यूम बढाउँदा
सुन्छु शंखधून
लाग्छ कुनै राजा/महाराजाको शव लिएर
घाटतिर प्रस्थान गरिरहेका छन्।

एउटा महंगो बुलेटप्रुफ गाडीलाई
बेहुलीझैं सिंगारिएको छ
मानौं-ती सब जन्ती जाँदैछन्
राष्ट्रवादले गाडी चलाइरहेछ
नजिकै छ-फूलमालाले सुसज्जित डन।
पछिल्लो सिटमा राखिएको छ-मृत राष्ट्रियता
जसको दाहसंस्कार गर्न मलामीहरु
शोकको धूनमा
आर्यघाटतिर लम्किरहेका छन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...