केही थान बन्दुकहरु
कुनैबेला शक्तिशाली थिए
खुंखार हिंस्रक थिए
शान्तिको छातीमा सोझिएर
क्षत-विक्षत पारिदिए
रक्तका भेलहरु उर्ले
अश्रुका नदीहरु बगे।
हजारौं चरीहरुको सिउँदो पुछिदिए
बृद्ध मृगहरुका सहारा भाँचिदिए
तन्नेरी हरिणहरुको भविष्य
पिंजडामा कैद गरेर
अन्धकार/अन्यौलग्रस्त पारिदिए
विकासको मेरुदण्ड भाँचिदिए।
उन्मत्त गोलीहरु अनियन्त्रित भई
निर्वाध चलिरहे
कसैले रोक्न सकेनन्
प्यासी गोलीहरु
रक्त नपिई विश्राम लिएनन्।
नालबाट छुटेका राता/ताता गोलीहरु
सिंहदरबार छिरेर
सिंहासनमा बसेदेखि
सत्ताको मदिरामा चुर्लुम्म डुबेर
भ्रष्टचारको वाष्पसंगै स्खलित भए
र सेलाए।
तब बन्दुकहरु गोलीविहीन भए
निरीह भए
बेकामका भए
चराचुरुङ्गी/पशुपंक्षी डराउन छोडे।
समय भन्दा बलवान् कोही रहेनछ
ती खियाले खाएका बन्दुकहरु
पापको प्रायश्चित गर्दै
आफ्नै सिद्धान्तको भीरबाट हाम्फालेर
सामूहिक आत्महत्या गर्दैछन्।
No comments:
Post a Comment