Monday, 30 June 2025

सति

फेरि पनि बत्ती गयो,अब त अति भयो 
बत्ती संगसंगै ,सरकार पनि सति गयो।

Sunday, 29 June 2025

मिलाइदेउ

कि काम मिलाइदेउ कि दाम दिलाइदेउ सरकार 
केही गर्न सक्दैनौ भने हामी त बोलिरहन्छौं,लेखिरहन्छौं
कि बिष पिलाइदेउ कि मुख सिलाइदेउ सरकार।

Saturday, 28 June 2025

कालिन्चोकमा

कालिन्चोकमा हिउँ पर्यो,दोलखामा चौंरीको गोठ सर्यो
भर्खरै बसेको पिरती, के साह्रो मायाको पीर पर्यो
चिमल,गुराँस फूल फुल्यो
कसरी कान्छीको मन भुल्यो।

हिउँले पाखा ढाकेको,चिसोले आँखा थाकेको
सुन्यो कि सुनेन कान्छाले सुसेली हान्दै डाकेको
गौरी त शंकर क्या राम्रो
छुट्टिंदा लाग्छ नराम्रो।

छुर्पीको दाना कटक्कै, खाना नि रुच्दैन पटक्कै
मैले त सम्झिन्छु छिनछिनमा तिमीले बिर्स्यौ कि चटक्कै
टोलुम भित्र मोइ पार्दै
कान्छीको फोटोमा म्वाई खाँदै।

भोटे त कुकुर भुक्दैछ,व्वाँसो त गुफामा लुक्दैछ
सम्झेर तिमीलाई बोलाउँदा गला त मेरो सुक्दैछ
स्योसुको सोल्दार सुरुप्पै
भेटौं न कान्छा खुरुक्कै।

मुनालले गीत गाएको, डाँफे त चरीले नाचेको
झल्झली याद आइरहन्छ मुडेमा डुलेको हाँसेको
ठिङ्ग्रे त सल्लो अल्गो छ
दिनरात मायाकै झल्को छ।

बाघ र भालुको डर लाग्छ,तड्पेर बस्न कर लाग्छ
नक्कले केटा भन्दा त सोझो कान्छाकै भर लाग्छ
चितुवाले याक मार्यो
कान्छाले कान्छीलाई ताक पार्यो।

अप्ठ्यारो मोही पार्नलाई,चौंरीको सेरग्याम तार्नलाई
फ्यामार,आराक लिई आउछु तिमीलाई बैना मार्नलाई
कोदोको सिर्माङ सुरुक्कै
भैसकें म त हुरुक्कै।

तामाकोशीको उकालो, चरिकोटको ओरालो
मिलेर जिरी घुमौंला नमान तिमीले पिरलो
सुनाखरी कानमा सजाउँला
टुङ्नाको टुङ्टुङ बजाउँला।

Wednesday, 25 June 2025

रमिता

ऊ तकियालाई अंगालोमा बेरिरहेको छ 
म छट्पटिंदा आनन्दको सास फेरिरहेको छ 
यता जवानीको आगो दन्दनी बलिरहँदा 
उता दमकल रमिता हेरिरहेको छ।

दलदल

जिम्मेवारीले डसेको मान्छे हुँ म
लगनगाँठो कसेको मान्छे हुँ म
यहाँ भन्दा अरु के भनौं हजुर
मायाको दलदलमा फसेको मान्छे हुँ म।

चेत

निष्क्रिय छ दिमाग,ज्ञानको खेत डुलेको छैन अझै
अरुले गरेको तिरस्कार बेइज्जत भुलेको छैन अझै
कोपिला भएको भए फुलिसकेको हुन्थ्यो अहिले 
दुई बेतको भएर पनि चेत खुलेको छैन अझै।

Sunday, 22 June 2025

मन पराको

(Male singer)
मन पराको तिमीलाई धेरै बर्ष भैसक्यो
असोज कार्तिक भएर धेरै मंसीर गैसक्यो
घर पनि दामी छ ओइ गाडी दामी छ
सबै कुरा पूरा छ ओइ तिम्रै कमी छ
सबै कुरा पूरा छ ओइ तिम्रै कमी छ

(Female songer)
तिमीलाई नै बोलाउँछन् छाँगा छहरा पाखाले 
नदेखे नि तिमीलाई देख्छु मनको आँखाले
सुन र चाँदी छ ओइ हीरा मोती छ
सबै कुरा पूरा छ ओइ तिम्रै कमी छ
सबै कुरा पूरा छ ओइ तिम्रै कमी छ

(male singer)
बर्बराउँदा धेर चोटी तिम्रै नाम लिइसकें
एउटै थियो मुटु त तिमीलाई नै दिइसकें 
घर पनि दामी छ ओइ गाडी दामी छ
सबै कुरा पूरा छ ओइ तिम्रै कमी छ
सबै कुरा पूरा छ ओइ तिम्रै कमी छ

(female singer)
अँध्यारो देख्छु सबतिर नहुँदा माया साथमा
लोडसेडिङ भैदिन्छ यो मनको दरबारमा
सुन र चाँदी छ ओइ हीरा मोती छ
सबै कुरा पूरा छ ओइ तिम्रै कमी छ
सबै कुरा पूरा छ ओइ तिम्रै कमी छ

(male singer)
धेरै खोजें भेटिन फेसबुक टिकटक सन्जालमा
पुरानै फोटो बारम्बार कति हेर्नु मोबाइलमा
घर पनि दामी छ ओइ गाडी दामी छ
सबै कुरा पूरा छ ओइ तिम्रै कमी छ
सबै कुरा पूरा छ ओइ तिम्रै कमी छ

(Female singer)
लाउरे र चाउरे पन्छाउँदै प्रतीक्षा धेरै गरियो
कान्छाको बाटो हेरेरै पोटिलो गाला चाउरियो
सुन र चाँदी छ ओइ हीरा मोती छ
सबै कुरा पूरा छ ओइ तिम्रै कमी छ
सबै कुरा पूरा छ ओइ तिम्रै कमी छ

(male singer)
हजारौं मान्छेको भीडमा नि सुनसान लाग्छ शहर
निरस जिन्दगी जिउँदैछु मारेर कति रहर
घर पनि दामी छ ओइ गाडी दामी छ
सबै कुरा पूरा छ ओइ तिम्रै कमी छ
सबै कुरा पूरा छ ओइ तिम्रै कमी छ

(female singer)
गनेर गन्न सकिन्न नसुतेका रातहरु
भनेर भन्न सकिन्न जवानीका मातहरु
सुन र चाँदी छ ओइ हीरा मोती छ
सबै कुरा पूरा छ ओइ तिम्रै कमी छ
सबै कुरा पूरा छ ओइ तिम्रै कमी छ

(male singer)
कानमा गुण्जिरहन्छ मिठास तिम्रै सुसेली
सरर टोइटा गाडीमा बोकेर सम्झना कोसेली
घर पनि दामी छ ओइ गाडी दामी छ
सबै कुरा पूरा छ ओइ तिम्रै कमी छ
सबै कुरा पूरा छ ओइ तिम्रै कमी छ

(male singer)
आँशुको असार दर्किंदा नयन थिए टिलपिलमा
स्वागत गर्छु प्यारालाई यो मनको मन्जिलमा
सुन र चाँदी छ ओइ हीरा मोती छ
सबै कुरा पूरा छ ओइ तिम्रै कमी छ
सबै कुरा पूरा छ ओइ तिम्रै कमी छ





Friday, 20 June 2025

सरकार

कार्यकर्तालाई कति पोस्छौ पोस सरकार 
जनताको अधिकार कति खोस्छौ खोस सरकार 
अब आफ्नै लासको चिहान खन्दै गरे हुन्छ
आक्रोशको ज्वाला कति झोस्छौ झोस सरकार।

Wednesday, 18 June 2025

अचेल

कोही कसैको लागि किन मर्छ अचेल
स्वार्थको लागि मात्र अघि सर्छ अचेल
उहिले त मायाको पनि शिलशिला हुन्थ्यो
आँखा जुधेपछी त झगडा पर्छ अचेल।

Monday, 16 June 2025

महाकाली

राजनीति गर्दागर्दै जिब्रो काटिएछ बिचरा!
शाही संस्थाको तलुवा नि चाटिएछ बिचरा!
थाहा भयो,तपाईंको योगदान टन्नै रहेछ
पैसासंग महाकाली पो साटिएछ बिचरा!

बाख्रापालन

यसपालि त बल्छी थापेन हो काजीसाब?
बजेटको लम्बाइ नापेन हो काजीसाब?
जेहोस् राजनीति खुब फापिरहेको छ है
बाख्रापालन खासै फापेन हो काजीसाब?

पुष्पलाल

कार्यकर्तालाई कति कति बाँड्नुभयो भन्नुस् 
निर्दोष प्रतिद्वन्दीलाई किन गाड्नुभयो भन्नुस्
अचेल त सिद्धान्तविहीन खोस्टा लिई हिड्नु हुन्छ
पुष्पलाल मदनलाई कहाँ छाड्नुभयो भन्नुस्।

धरातल

नैतिकताको धरातल फाटेकै हो र?
मुसाले सिसिटिभी तार काटेकै हो र?
कि सच्चिनुस् कि सक्किनुस् हाम्रो बिन्ती
अग्निसंग भिजिट भिषा साटेकै हो र?

खेल

पूर्व-पश्चिम् रेल कहाँ पुग्यो बा?
पाइपलाइनको तेल कहाँ पुग्यो बा?
तपाईं त हाम्रो देशको चतुर खेलाडी 
राजनीतिको खेल कहाँ पुग्यो बा?

भिजिट भिषा

को को कहाँ कहाँ चुक्यो हामी पनि सुनौं न
को को कहाँ कहाँ लुक्यो हामी पनि सुनौं न
केही दिन नसके पनि सूचना त दिनुस्
भिजिट भिषा कहाँ पुग्यो हामी पनि सुनौं न।

सेट्टिङ

आजभोलि देशमा अमेजिङ भैरहेको छ
छिनछिनमा यहाँ लोडसेडिङ भैरहेको छ
भैगो अब हामी अँध्यारोमै बसौंला
यति त भन,कहाँ कहाँ सेट्टिङ भैरहेको छ?

इर्जा स्वयं

उर्जा स्वयं गलेर आज थकित छ 
कुनै दिन अप्ठ्यारो समय पनि बित्छ
मात्र यहाँ संघर्षमा डटिरहनुपर्छ
असत्यलाई सत्यले पक्कै जित्छ।

ठगेको

खोला जस्तै ओरालोमा बगेको मान्छे हुँ म
समयले उतारचढावमा लगेको मान्छे हुँ म
हार मानेर थचक्क बसेको त कहाँ हो र
भाग्यले प्राय:जसो ठगेको मान्छे हुँ म।

Sunday, 15 June 2025

करिअर

म पनि सफलताको झोलुङ्गे पुल तर्ने हो
आफ्नै रेकर्ड तोडेर मात्र मर्ने हो
हावा तालमा विहे गरेर धेरै दु:ख पाएँ
अर्को विहे त करिअर बनाएर मात्र गर्ने हो।

गज्जब छ

गज्जब छ,पुत्र माता र पिता फेरिरहेको छ
देश भत्किरहँदा कवि कविता केरिरहेको छ
यहाँ भैरहेछ सोचेको भन्दा ठ्याक्कै उल्टो
मन जलिरहँदा दमकल रमिता हेरिरहेको छ।

बर्बाद भएँ

एका विहानै स्माइल पठायौ र त बर्बाद भएँ
फोटोहरुको स्टाइल पठायौ र त बर्बाद भएँ
त्यति सजिलै बर्बाद हुने मान्छे त होइन म
यादहरुको मिसाइल पठायौ र त बर्बाद भएँ।

Friday, 13 June 2025

पाईन्छ रे

पाईन्छ रे उता मारामार पाईन्छ रे
जीवन जिउने आधार पाईन्छ रे
यता स्वदेशमा कसैले नपत्याउने भए
विदेशमै पैसा र प्यार पाईन्छ रे।

Thursday, 12 June 2025

तागत

तात्दै गयो मेरो रगत
गर्न थाल्यो केके हर्कत
साँझ पर्न थाले पछि 
बढ्दै गयो रक्सीको तागत।


Monday, 9 June 2025

धन सम्पत्ति

धन सम्पत्ति नहुँदा घडेरी 
लागिहाल्यो मायामा खडेरी
माया लाएँ केही नहेरी
पछुताउँछु अहिले हत्तेरी।

कसले भन्छ सम्पत्ति सबथोक हो
माया बिना जिन्दगी बिजोग हो
आरोप लाउँछौ कुरै नबुझी
पछुताउँछौ किन हत्तेरी।

वरिपरि सब घुम्थे फनफनी 
खर्च गर्दा झिकेर खनखनी
माया लाएँ केही नहेरी
पछुताउँछु अहिले हत्तेरी।

साँचो माया हुँदैन पराजित 
हुनुहुन्न मायामा संकुचित 
आरोप लाउँछौ कुरै नबुझी
पछुताउँछौ किन हत्तेरी।

भोगिसकें स्वार्थी छ दुनियाँ 
हेप्नु हेप्छन् नहुँदा रुपियाँ 
माया लाएँ केही नहेरी
पछुताउँछु अहिले हत्तेरी।

यो त हुन्छ पवित्र मनले
माया किन्न सक्छ र धनले?
आरोप लाउँछौ कुरै नबुझी
पछुताउँछौ किन हत्तेरी।

सफलताको सिंढीमा चढ्नलाई
पैसै चाहिन्छ अगाडि बढ्नलाई
माया लाएँ केही नहेरी
पछुताउँछु अहिले हत्तेरी।

धनीले नि अन्न नै खाने हो
आखिरीमा घाटमा नै जाने हो
आरोप लाउँछौ कुरै नबुझी
पछुताउँछौ किन हत्तेरी।

कुन चाहिँ रोज्छ्यौ साइकल कि गाडीलाई
अमेरिका रोज्छ्यौ कि खाडीलाई
माया लाएँ केही नहेरी
पछुताउँछु अहिले हत्तेरी।

सम्मान गर्छु धनको धनीलाई 
म त रोज्छु मनको धनीलाई 
आरोप लाउँछौ कुरै नबुझी
पछुताउँछौ किन हत्तेरी।









Saturday, 7 June 2025

कर्याम कर्याम

भट्टीमा पुगेपछि 
----------------------------------------------------------
कर्याम् कर्याम् ब्वाइलर मासु तेलमा तारेर
पर्र पर्र भुटन् पनि ल्याउनु खारेर
रातो पारेर
पिरो पारेर।

रक्सी लिने बहानामा हातै नसमाऊ 
मीठो बोली बोलिदिंदा त्यसै नरमाऊ
त्यस्तो नठान
हात नतान।

पस्ने थिन पसिहालें साउनी देखेर
आज छैन भोलि दिन्छु राख्नु लेखेर
जान्न भागेर
दिन्छु ल्याएर।

खानेबेला खाईदिन्छौ सप्पै ठेकेर
तिर्नेबेला तर्किहिन्छौ मलाई देखेर
नलिइ छोड्दिन
त्यसै छोड्दिन।

घरमा पुगेपछि 
-----------------------------*------------------------
अलि अलि भन्दा भन्दै धेरै पिएछु
पित्तनसंग सित्तन पनि धेरै लिएछु
स्वाट्टै खाएछु
लट्ठै भएछु।

ढुस्स भुँडी ठस्स गन्ध रक्सी पिएर
वाक्क वाक्क गर्दै फाल्छौ बेसी पिएर
धोक्नु धोकेर
कोच्नु कोचेर।

म त खान्न तिमी खाऊ किन पर्खेकी
यस्तै हुन्छ कहिलेकाही किन कड्केकी
आँखा नतर
हेला नगर।

ढ्वार्र ढ्वार्र आवाज पनि कति आएको
खान पाइयो भन्दैमा कति खाएको
घिच्न नपा'र
लाज पचा'र।

रक्सी खाँदा राम पनि रावण बनाउँछ
यस्तै हो नि हल्का ग्याँस त ठस्स गन्हाउँछ
जाँदै जान्न नि
खाँदै खान्न नि।

बुडी पनि बिर्साइदिने कस्तो माल पायौ
आँगन बिछ्याई आकाश ओढ्यौ बल्ल चाल पायौ
जाँदै नजानु
खाँदै नखानु।


Thursday, 5 June 2025

प्रेमको अदालत

प्रेमको अदालतमा बयान माग्नु अगाडि 
हत्कडी लगाउन सक्छन् भाग्नु अगाडि 
बरु तिम्रै दिलको जेलखानामा कैद हुन मन छ
जालझेल गरी मन चोरेको आरोप लाग्नु अगाडि।

Wednesday, 4 June 2025

हुन्छ हुन्छ

हुन्छ हुन्छ भन्दा भन्दै कति पर्खायौ
भोलि भोलि भन्दा भन्दै कति तड्पायौ
खालीखालीमा सिउँदो खालीखालीमा
तिम्लाई आफ्नो बनाउँछु यसैपालीमा।

पर्खाईको फल मीठो हुन्छ ए कान्छा
रात पछि दिन पक्कै हुन्छ ए कान्छा
खालीखालीमा सिउँदो खालीखालीमा
तिम्रै सिन्दूर सजाउँछु यसैपालीमा।

आशै आशमा कति बाँचुँ पागल भैसकें
सासै टुटी जाला अब,बेहाल भैसकें
खालीखालीमा सिउँदो खालीखालीमा
तिम्लाई आफ्नो बनाउँछु यसैपालीमा।

मनमा बसे देखि तिमी मेरै भयौ नि
मलाई मनमा राख्नेहरु धेरै भए नि
खालीखालीमा सिउँदो खालीखालीमा
तिम्रै सिन्दूर सजाउँछु यसैपालीमा।

कति माया गर्छु कान्छी के था तिमीलाई
त्यति माया गर्दिन म बरु आफूलाई 
खालीखालीमा सिउँदो खालीखालीमा
तिम्लाई आफ्नो बनाउँछु यसैपालीमा।

खाना बिना पानी बिना केही बाँचुला
माया बिना तिमी बिना कहाँ बाँचुला
खालीखालीमा सिउँदो खालीखालीमा
तिम्रै सिन्दूर सजाउँछु यसैपालीमा।

शहर जान्छु सानू म त कामको खोजीमा 
फर्कनेछु पैसा कमाई टन्न गोजीमा
खालीखालीमा सिउँदो खालीखालीमा
तिम्लाई आफ्नो बनाउँछु यसैपालीमा।

गाह्राे हुन्छ तिरस्कार र घृणा पचाउन
जानु प्यारा संघर्षमा माया बचाउन
खालीखालीमा सिउँदो खालीखालीमा
तिम्रै सिन्दूर सजाउँछु यसैपालीमा।

जहाँ जाउँ टाढा हुन्नौ मनमै हुनेछ्यौ
थाहा छैन तड्पी तड्पी कति रुनेछ्यौ
खालीखालीमा सिउँदो खालीखालीमा
तिम्लाई आफ्नो बनाउँछु यसैपालीमा।

पीर नमान मनको बोझ आफैं उठाउँछु
टुट्ने छैन रुने छैन हिम्मत जुटाउँछु
खालीखालीमा सिउँदो खालीखालीमा
तिम्रै सिन्दूर सजाउँछु यसैपालीमा।











Tuesday, 3 June 2025

सदस्य

आज खोल्छु एउटा रहस्य म पनि
एकदिन केही गर्छु अवश्य म पनि
मेरो कामको बारेमा धेरै नसोध
बेरोजगार संघको सदस्य म पनि।

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...