भर्खरै बसेको पिरती, के साह्रो मायाको पीर पर्यो
चिमल,गुराँस फूल फुल्यो
कसरी कान्छीको मन भुल्यो।
हिउँले पाखा ढाकेको,चिसोले आँखा थाकेको
सुन्यो कि सुनेन कान्छाले सुसेली हान्दै डाकेको
गौरी त शंकर क्या राम्रो
छुट्टिंदा लाग्छ नराम्रो।
छुर्पीको दाना कटक्कै, खाना नि रुच्दैन पटक्कै
मैले त सम्झिन्छु छिनछिनमा तिमीले बिर्स्यौ कि चटक्कै
टोलुम भित्र मोइ पार्दै
कान्छीको फोटोमा म्वाई खाँदै।
भोटे त कुकुर भुक्दैछ,व्वाँसो त गुफामा लुक्दैछ
सम्झेर तिमीलाई बोलाउँदा गला त मेरो सुक्दैछ
स्योसुको सोल्दार सुरुप्पै
भेटौं न कान्छा खुरुक्कै।
मुनालले गीत गाएको, डाँफे त चरीले नाचेको
झल्झली याद आइरहन्छ मुडेमा डुलेको हाँसेको
ठिङ्ग्रे त सल्लो अल्गो छ
दिनरात मायाकै झल्को छ।
बाघ र भालुको डर लाग्छ,तड्पेर बस्न कर लाग्छ
नक्कले केटा भन्दा त सोझो कान्छाकै भर लाग्छ
चितुवाले याक मार्यो
कान्छाले कान्छीलाई ताक पार्यो।
अप्ठ्यारो मोही पार्नलाई,चौंरीको सेरग्याम तार्नलाई
फ्यामार,आराक लिई आउछु तिमीलाई बैना मार्नलाई
कोदोको सिर्माङ सुरुक्कै
भैसकें म त हुरुक्कै।
तामाकोशीको उकालो, चरिकोटको ओरालो
मिलेर जिरी घुमौंला नमान तिमीले पिरलो
सुनाखरी कानमा सजाउँला
टुङ्नाको टुङ्टुङ बजाउँला।
No comments:
Post a Comment