Sunday, 31 December 2017

फेरिएन

काल फेरियो,साल फेरियो,चाल फेरिएन
ठाम फेरियो,काम फेरियो,थाल फेरिएन
कथा उस्तै छ,ब्यथा उस्तै छ,फेरिएन केही
कार लिइएन,घर किनिएन,हाल फेरिएन।

पण्डित

जाल-झेल गर्न सके पण्डित भईन्छ यहाँ
इमान्दार हुँदा खेरी दण्डित भईन्छ यहाँ
छाडातन्त्र आएको छ हाम्रो देशमा अचेल
होस नगरे शिशाझैं खण्डित भईन्छ यहाँ।

Saturday, 30 December 2017

सिसाको घर

के मुखले लंका जलाउनु मनमा डर हुनेले
किन निहुँ खोज्नु पै'ले शरीर थरथर हुनेले
अर्काको घरमा पत्थर नहानेकै बेश होला
एकै प्रहारमा सिद्धिने सिसाको घर हुनेले।

Thursday, 28 December 2017

तीता-मीठा पलहरु

कवि:-चोमु शेर्पा "खुशी"

पुष्प झैं हिउँले धर्ती चुम्दा
हिमालहरुको भाग्य चम्किंदा
अभागी पैतालाहरुले
बीस रुपियाँ पर्ने
सुल र फित्ता मात्र भएको
चप्पल समेत नपाएका
कहालीलाग्दा क्षणहरु!

बर्षामा पातहरुमा झुण्डिएर
पाउहरुमा बसाईं सर्न
व्यग्र प्रतिक्षामा बसी
मौका पाउने बित्तिक्कै
रगत चुसेर ढाडिएका
अवसरवादी जुकाहरु!

पैसा कमाएर नयाँ लुगा लगाउने
रहरै रहरमा
जङ्गलका कुना-कानी,
खोल्सा-खोल्सी,भीर,ओढार
कुनै खाेज बाँकी नछोडी
काँडा र पटेर-घारी नभनी
मुसा छिरे जस्तै गरी छिरेर
एक-एक गरी उखेलेर
जम्मा गरिएका चिराइतोहरु।

जङ्गलमा गाई-भैंसी चराउँदा चराउँदै
घाँस दाउरा गर्दा-गर्दै
फलाममा चुम्बक टासिंए जस्तै
कपालमा टाँसिएका कुरोहरु
टिप्न नसकेर,कोर्न नसकेर
हप्तौं,महिनौं जस्ताको त्यस्तै राख्दा
टाउको भरी फलेका जुम्राहरु।

बूढो फलाँटको
छिप्पिएको बोक्रा उक्केको जस्तै
चिरा-चिरा भएका
गाला,अाेँठ र हातका छालाहरु
दोचाको जुत्ता लगाए जस्तै
बाक्ला भएका मेरा
खुट्टाका पैतालाहरु।

यी सबैलाई भन्दा धेरै सम्झिन्छु
मेरो पेटमा कुद्ने
भोकले उम्रेका मुसाहरु मार्नलाई
जङ्गलले दिएका अनेक किसिमका
मिठा-मिठा फलहरुलाई
जसलाई किन्न न पैसा लाग्थ्यो
न कसैले चोरेको आरोप लाउँथ्यो
निस्फिक्री टिपेर खाइन्थ्यो
र पेटको मुसा भगाइन्थ्यो।

यी सब मेरा अतीत थिए
वर्तमानमा सम्झनाका अवशेष मात्र छन्
अब त खुट्टामा चप्पल छन्
अभावहरु देख्न र बुझ्न सक्ने
दृष्टि र मगज छ
भीर-पाखा,ओढार छिर्नु परेको छैन
दिनहुँ कपाल कोरिन्छ
रहर लाग्दा नि भेटिंदैनन् जुम्राहरु
लोप भएर गएका छन्
देख्न,टिप्न पाइन्न
ती मिठा जङ्गली फलहरु।

र त यतिबेला ठान्छु आफूलाई
साह्रै भाग्यमानी
किनभने मैले लिएको अनुभव
सबैले लिन पाउँदैनन्  ।

देवी

            उमेशलाई अचेल सबैले पागलप्रेमी भनेर चिन्छन्।हुनपनि प्रेममा असफल भएपछि अचानक ऊ साहित्यकार भएको छ।पहिलो प्रेमको यादकै साहरामा जिउने,जिन्दगीमा कहिल्यै माया नगाँस्ने र विहे नगर्ने कसम खाएको छ।जो भेटेपनि केही न केही साहित्यिक रचना सुनाइहाल्छ।उसको रचनामा प्रेम पछिको बिछोड झल्कन्छ।संयोगान्त रचना उसलाई खासै मनपर्दैन।कहिलेकाही त ऊ आफ्नै रचना सुनाउँदा-सुनाउँदै धुरु-धुरु रुन्छ।त्यतिकै उसलाई मान्छेले पागलप्रेमी भनेका होइनन्।अचेल उसले एउटा अन्त्यहीन यात्रा थालेको छ।उसको कुनै लक्ष्य छैन।उसको यात्रा कहाँ गएर टुंगिन्छ,कसैलाई थाहा छैन।सायद भगवान समेत अनभिज्ञ छ।तैपनि उसले पाइला अनवरतरुपमा चालिरहेको छ।रातमा बाहेक अरुबेला विश्राम लिएको छैन।यात्राकै क्रममा ऊ एउटा भोटेगाउँमा पुग्छ।रात परिसकेकोले एउटा घरमा बास माग्छ।उसले अरुदिन भन्दा आज सजिलैसँग बास पाएको छ।मनमनै गदगद छ।खाना खाएपछि एउटा कविता लेखेर सुतिहाल्छ।उषाको लालीसंगै जगतले नयाँ जीवन प्राप्त गरिसकेको हुन्छ।त्यो घरको मालिक पूजा सामग्री लिएर पूजाकोठामा जान लागिरहेको छ।उसको मुहारमा भएको चमक देखेर उमेश अर्थात पागलप्रेमी छक्क पर्छ।प्रेममा धोका खाएदेखि ऊ नास्तिक भएको हो।तर त्यो घरको भोटेलाई देखेपछि उसको मनमा कौतुहलता बढेको छ।एक्कासी आस्तिक भएर कौतुहलता बढेको भने पक्कै हैन।उसले भोटेको भगवानलाई हेपाहा नजरले हेर्न खोजेको हो।उसको भगवानको मजाक बनाउन खोजेको हो।पागलप्रेमीले भोटेलाई मुसुक्क हाँस्दै सोध्छ-
"तपाईं कता जान लाग्नुभएको यति विहानै?"
"म मेरी देवीको चरणमा पर्न जान लाग्या नि।"
"तपाईं देवी-देवता माथि विश्वास गर्नुहुन्छ?"
"गर्छु।किन?"
"किनभने म विश्वास गर्दिन।"
"किन?"
"यो संसारमा भगवान भए पो विश्वास गर्नु त!"
"त्यो त आ-आफ्नो इच्छाको कुरा हो।"
"इच्छाको कुरा त हो,तर भगवान छैन्।"
"तपाईं जान सक्नुहुन्छ।बास दिएँ,अब के चाहियो?"
"म पनि तपाईंको देवी हेर्न चाहन्छु।"
"मिल्दैन।"
"किन मिल्दैन?"
"तपाईं निहुँ नखोज्नु न।"
"मैले निहुँ खोज्या छैन।"
"त्यसो भए के खोजेको?"
"तपाइँकी देवी।"
"हेर्न मिल्दैन।मेरी देवीलाई सिर्फ मैले मात्र पूजा गर्छु।"
भोटेको कुरा सुनेर पागलप्रेमीलाई झन चासो बढ्छ।उसको देवीलाई हेरेरै जाने बिचारले पछि-पछि जान्छ।पागलप्रेमीको जिद्धीको अगाडि भोटेको केही लाग्दैन।दुबैजना पूजाकोठातिर प्रस्थान गर्छन्।पूजाकोठामा पुगेर पागलप्रेमी तीन छक्क पर्छ।ऊ साँच्चिकै पागल होला जस्तो हुन्छ।कोठाको भित्तामा कुनै देवी-देवताको तस्वीर नभएर एउटी सुन्दर नारीको तस्वीर टाँगिएको हुन्छ।त्यही तस्वीरमा अवीर,फूलमाला र खादाहरु सजाइएका हुन्छन्।देवी-देवतालाई समेत मान्न छोडेर हिंडेको पागलप्रेमी भोटेले नारीलाई समेत पुजेको देख्दा हैरान हुन्छ।कौतुहलता माथि अझ कौतुहलता थपिन्छ।
"यिनी को हुन्?किन तपाईं यिनलाई पूजा गर्नुहुन्छ?"-पागलप्रेमीले उत्सुक हुँदै सवाल गर्छ।
"यसको लामो कथा छ।तपाईं सुन्न सक्नुहुन्न।"
"प्लीज,सबै कुरा मलाई पनि भन्नुस् न।यस कुराको रहस्य नजानीकन म यहाँबाट जानेवाला छैन।"
"सुन्नुनै हुन्छ भने ध्यान दिएर धैर्यतापूर्वक सुन्नुस्।"

          स्वदेशमा बाबा-आमाको च्यात्तिएको सपना सिउन।भाइ-बहिनीहरुको रहर किन्न।संसारको सबैभन्दा अग्लो टावर बुर्ज खलिफा भन्दा अग्लो चाहना र आकांक्षा लिएर यु.ए.ई.को धरातलमा अवतरण गरेको पनि एक साल भैसकेको थियो।यु.ए.ई.आउँदा लागेको ऋण नतिरुन्जेल त कति इच्छाहरुलाई बलि चढाएर,सहिद बनाएर बिदाका दिनहरु पनि कोठामै गुम्सिएर जेलमा बसेझैं गरेर व्यतीत गरें।तर ऋण तिरिसकेपछि त पिंजडाको सुगा उम्किएझैं स्वतन्त्र भएको आभास भयो।तलबको आधा पैसा खर्चेर आधा मात्र घर पठाउन थालें।ऋणबाट उम्केपछि उम्केको माछो जस्तै लाग्दोरहेछ आफूलाई।साहुको तमसुक च्यात्तिएपछि भाग्य आफसेआफ सिइँदोरहेछ।यस्तै-यस्तै केही भ्रम अनि केही यथार्थता मनमा लिएर बाँचिरहेको थिएँ म।रक्सी बन्देज भएको देशमा पनि कता-कताबाट खोजेर भएपनि निकालिन्थ्यो र प्रायः दिनहुँ जसो कोठामा साथीहरु मिलेर पार्टी गरिन्थ्यो।स्वदेशमा घरको नाजुक अवस्थालाई चटक्कै बिर्सेर माथि-माथि उड्न थालेको थिएँ।आफ्नो औकात र धरातल भुलिसकेको थिएँ।भुइँमा खुट्टा थिएनन्।स्मार्टफोनमा समेत आँखा लाग्न छोडेका थिए।आइफोन,ब्रान्डेट कपडा र के.एफ.सी,मेकडोनाल्ड जस्ता खानामा रमाउन थालें।दुबई मल र इमिरेट्स मलहरुतिर घुम्न थालें।जीवन जिउने तरीका नै फरक भैसकेको थियो।भूतबाट पाठ सिक्न र भविष्यको चिन्ता लिन छोडेर वर्तमानलाई तडकभडक बनाउन थालें।भोलि त के हो-के हो,आजै मोजमस्ती गर्नुपर्छ भन्ने सोचले दिमागमा डेरा जमाएको थियो।

        सन २०१७ डिसेम्बर-३१ को रात।२०१७ लाई बिदा गरेर २०१८ लाई स्वागत गर्ने पल दूर थिएन।सामाजिक संजालमा शुभकामनाका सन्देशहरु भटाभट आदनप्रदान भैरहेका थिए।हाम्रो कोठामा पनि भव्य पार्टीको आयोजना गरिएको थियो।साथीहरु नशामा झुम्मिरहेका थिए।कोही चाहिँ आफ्ना प्रेमिकालाई फोन गर्दै थिए।उनीहरुका शब्दहरुले सीमा नाघिरहेका थिए।उतिबेला अश्लील शब्दहरु पनि बहुत मीठा लाग्थे।म भने सबैको चर्तिकला हेरेर मजा लिन थालें।यतिकैमा साजन फोन गर्न छोडेर मेरो समीप आयो।
"ओइ भोटे!तेरो गर्लफ्रेन्ड छैन?"
उसको बोल्ने शैलीले मलाई रिस उठिसकेको थियो।तैपनि आफूलाई सम्हालेर चुप लागेर बसें।
फेरि पनि उसले त्यही प्रश्नको पुनरावृत्ति गर्यो।
"छैन यार।भएकाहरु मोज गर।"-मैले जवाफ फर्काएँ।
"तँ चिन्ता नगर।म मिलाइदिन्छु।बुझिस्?कस्ती चाहिन्छ तँलाई?"
"जस्तो भएपनि चल्छ।"
"बुढीकन्या पनि चल्छ?"
"चलिहाल्छ नि।कति बर्षकी हुन्छे?"
"भईन् होली २६/२७।"
"भैगो नि।मेरै एजको रैछे।"
"खै तेरो मोबाइल दे,सेभ गर्दिन्छु।अप्सरा भनेर सेभ गर्याछु नि।मेरो गर्लफ्रेन्डकै साथी हुन्....।"
अन्तमा उसले अश्लील शब्द बोल्यो।मैले सहेर बसें।म नशाको सागरमा यसरी डुबेको थिएँ कि अप्सरालाई रातभरी फोन गरेछु।५०० धिरामको रिचार्ज कार्ड झ्वाम भएछ।खै के-के कुरा गरें यादै भएन।अन्तमा भोलि अर्थात २०१८, जनवरी-१ को दिन भेटघाट गर्ने योजना बन्यो।

        दिउँसोको १२ बजे जुमेरा-बिचमा पुगें।पानीका छालहरु बारम्बार आएर किनारामा तड्पिरहेका प्यासी बालुवालाई तृप्त बनाएर फर्किने गर्थे।तर थोरै बालुवाले मात्र केहीबेरको लागि तृप्त हुन पाउँथे।बाँकी धेरै बालुवाका कणहरु अतृप्त नै रहन्थे।बिचरा बालुवाको हालत देखेर दया लागेर आउँथ्यो।पानीको छालसंग चिसो बतास पनि बहन्थ्यो जसले स्वदेशबाट बाबा-आमाको केही सन्देश बोकेर ल्याए जस्तो भान हुन्थ्यो।एकैछिन मेरा आँखा रसाए।पुनः मेरो ध्यान त्यहाँको कृयाकलापतिर गयो।बालुवामाथि केही युरोपियन र अमेरिकन गोरीहरु बिकिनीमा सजिएर शरीर सेकाइरहेका थिए।विभिन्न पोजमा रहेका गोरीहरुको अश्लील दृष्यले सुतिरहेको मेरो मनको इच्छालाई जुरुक्क उठायो।मैले आफूलाई नियन्त्रण गरें।केही गोराहरु पनि टिमिक्क टाँसिएका छोटा-पातला अन्डरवेयरमा मात्र थिए।तर पुरुष भएर होला कुनै असामान्य लागेन।तर पानीभित्रको दृष्यले मलाई सहन मुश्किल बनायो।केही गोरा-गोरी र अन्य देशका युवा-युवतीहरुको जोडी पानीमै सहवास गरिरहेका जस्तै देखिन्थे।कोही पुरुषहरूको आफ्ना स्त्रीहरुलाई जुरुक्क बोकेर चुम्बन गरिरहेका थिए।छाती भन्दा माथिका दृष्य मात्र छर्लङ्ग देखिन्थे तर तलको भाग भने अदृष्य नै थिए।सबै स्त्री-पुरुषहरू एक-अर्कामा लिप्त थिए।एकप्रकारको कौतुहलताले मनलाई अस्थिर बनाइरह्यो।त्यतातिर हेरिरहने मेरो हिम्मत भएन।

            केहीबेर उभिएरै चारैतिर नजर लाइरहें।मेरो नजर २४/२५ बर्षकी एक युवतीतिर गयो।कसैको व्यग्र प्रतिक्षामा बसेझैं देखिन्थिन्।मैले सोचें-मेरी अप्सरा उहीँ हुनुपर्छ।सरासर नजिकै गएर सोधें।
"तिमी अप्सरा हौ?"
"हैन,म त परी हुँ,बल्ल स्वर्गबाट झरेकी।"-यति भनेर उनी खित्का छोडेर हाँसिन्।
"मजाक नगर न।अप्सरा हो कि हैन?"
"तिमी आफैं गेस गर न,हो कि हैन।"
"मैले चिन्न सकिन।तिमी नै भन न।"
"सरी,म अप्सरा हैन,संचिता हुँ।"
उनको जवाफले म स्तब्ध भएँ।एकछिन त केही भन्नै सकिन।लज्जित हुँदै कुरालाई बंग्याएँ।
"मैले चिनेको साथी अप्सराको जस्तै रुप देखेर अलि दोधारमा परें।त्यसैले सोधेको।हाम्रो भेट नभएको ६/७ सालै भो,त्यसैले हो कि हैन जस्तो लाग्यो।हैन रहेछ।अन्यथा नलिनुहोला।"
मैले ढाँटिदिएँ।अप्सरालाई मैले देखेकै थिइन।उनलाई पहिलोपटक भेट्न त्यहाँ गएको थिएँ।
"ए,ठिकै छ नि।कन्फ्युज हुनु तिम्रो दोष पनि त हैन।कहिलेकाही झुक्किनु प्राकृतिक नियमै हो।"
"बुझिदिनुभएकोमा धन्यवाद संचिता जी।अनि घर कता पर्यो नि हजुरको?म संतोष लामा।भोटे भनेर जिस्क्याउँछन् साथीहरुले।घर सिन्धुपाल्चोक।"
मेरो कुरा सुनेर केहीबेर उनी मुख छोपेर हाँसिन्।
"तपाईं रोमाञ्टिक पाराको हुनुहुँदोरहेछ।भेटेर खुशी लाग्यो।मेरो घर चाहिँ झापा।"
"मेरो असली रोमान्स त हजुरले देख्नुभएकै छैन।संगत गर्नुभयो भने देख्नुहुनेछ।"
मैले गज्जबले जोतिदिएँ।उनले पत्याइन्।
"अरे!मलाई 'हजुर' भनिरहनु पर्दैन।तिमी भन्दा हुन्छ।अझ संचिता भन्दा सहज हुन्छ।"
"हुन्छ संचिता,अबदेखि संचिता भन्छु।अनि तिमी एक्लै?"
"उ..पर हेर न।मेरी साथी र उसको ब्वाइफ्रेन्ड।साथी भएर आउँदा पंगु भइयो आज।उनीहरू चाहिँ रोमान्स गर्दछन्।म एक्लै ट्वाल्ल परेर हेर्नुपरेको छ।"
"अब त म साथी भएँ नि तिम्रो।टेन्सन लिनुपर्दैन।"
"उम्म होला,होला।तिमी पनि गैहाल्छौ नि एकैछिनमा।के भरोसा तिम्रो!"
"म यहाँ रहुन्जेल साथ दिइहाल्छु नि।"
"भो पर्दैन।एकछिन साथ दिएर के गर्नु?"
"अनि कतिन्जेल दिनुपर्यो त?"
"जूनी-जूनीसम्मको साथ मागुँ भने बल्ल त चिन्जान भएको छ।"
फेरि खित्का छोडेर हाँसिन्।उनको हाँसोमा मेरो हाँसो पनि मिसियो।हाम्रो हाँसो सुनेर उनका साथीहरु हामीतिरै हेर्दै थिए।इशाराले "मोज गर"को संकेत पनि दिंदै थिए।म लज्जित भएँ।संचिताले सम्हालिन्।पुनः पूर्वावस्थामा फर्किएँ।मेरो फोनको घण्टी बज्यो।अप्सराको फोन रहेछ।फोन उठाइन र स्वीचअफ गरिदिएँ।सायद अप्सराले मलाई धोकेवाजको उपनाम दिई होलिन्।
"बस न,के उभिरहेको?"-उनैले शुरु गरिन्।
म उनको नजिकै बसें र दोस्तीको हात बढाएँ।उनले हात मिलाउँदै भनिन्-
"बल्ल भेट भएको हामी?"
"त्यस्तै सम्झ।"-मैले जवाफ दिएँ।
सामान्य गफ-गाफपछि मैले सम्बन्धलाई बिस्तार गर्ने उदेश्यले कुरा बढाएँ।
"अनि संचिता!तिम्रो बिहे भएको छ कि छैन?"
"अहिलेसम्म त भा'छैन।अब भने सोच्नुपर्ला।"
"मसंग भेटेपछि यो बिचार आएको हो?"-मैले हाँस्दै सोधें।
"हो त।तिमी त कति ट्यालेन्ट छौ है?अनि तिम्रो बिहे भयो त?"-उनले पनि हाँसेरै भनिन्।
"मेरो पनि भा'छैन।अब भने गर्नुपर्ला।"
हामी दुवै निकैबेर दिल खोलेर हाँस्यौं।
केहीपल पश्चात् एउटी राम्री,हिस्सी परेकी केटी हाम्रो छेउमा आईन्।एक मिनेट जति चारैतिर अवलोकन गरिन्।
"यहाँ मनोज नामको कोही केटा देख्नुभयो?"-उनले हामीलाई सोधिन्।
"छैन-छैन,मनोज नामको कुनै केटा आएको छैन यो बिचमा।"
मैले हतारमा जवाफ दिएँ।उनी निराश भएर अलि पर्तिर गईन् र थचक्क बसेर मनोजको प्रतीक्षा गर्न थालिन्।हामी आफ्नै तालमा ब्यस्त भयौं।तर बेला-बेलामा उनैलाई नियाल्थें।धेरैपटक कसैलाई फोन गर्ने कोसिस गरिन् तर सफल भइनन्।एक घण्टा जति पर्खेर कोही नआएपछि उनी आफ्नो बाटो लागिन्।म ढुक्क भएँ,किनकि डिसेम्बर ३१ को राती उनलाई फोन गर्ने मै थिएँ।उनलाई मैले आफ्नो नाम मनोज बताएको थिएँ।उनलाई त्यहाँ बोलाएर म अर्कै केटीसंग ब्यस्त भएको थिएँ।कता-कता पछुतो पनि लाग्यो।तर घाटामा थिइन।मसंग संचिता थिइन्।उनी साथमा हुँदा वरिपरि केही देखिन।गोरा-गोरीका चर्तिकला पनि देखिन।म बिस्तारै उनीसँग झ्यामिन थालें।नजिक-नजिक सर्दै गएँ।टाँसिदै गएँ।अनेक बहानामा उनलाई स्पर्श गर्न थालें।उनले पनि साथ दिइन्।हातमा सुस्तरी सुम्सुम्याएँ।हामी एकैछिनमा घनिष्ट भयौं।
"हामी पनि पौडिन जाऔं न संचिता।"
"नाइँ के,मलाई पौडिनै आउन्न।"
"म सिकाइहाल्छु नि।"
"डुबायौ भने नि!"
"डुबाउँदिन।म ख्याल गरिहाल्छु नि।"
"लौ हुन्छ जाऔं उसो भए।"
भित्री कपडा मात्र लाएर हामी पनि पानीमा पस्यौं।शुरुमा त डराउँदैथिन्।पछि मैले हात समाएर सहयोग गरेपछि खुलेर पानीसित खेल्न थालिन्।मैले उनको शरीरमा पक्डेर पौडिन लगाएँ।उनी मज्जा लिन थालिन्।त्यही बहानामा उनको संवेदनशील अंगतिर समेत स्पर्श गर्न भ्याइहालें।कसैले देख्लान् कि भनेर यता-उता नजर दौडाएँ तर सबै आ-आफ्नै प्रेमिल कृयाकलापमा ब्यस्त थिए।कसलाई कसको मतलब?पानीको छालले हामीलाई कहिले यता र कहिले उता धकेलिरहेको थियो।हामी झन पर-पर गयौं।पानी घाँटीसम्म पुगिसकेको थियो।संचिता अलि होची भएकोले डुब्न लागिसकेकी थिइन्।उनी अतालिन थालिन्।मैले उनलाई जुरुक्क बोकें।पानीले पनि केही मात्रामा उचालेको हुँदा उनलाई सजिलै काखमा बोक्न सकें।उनी राती-पिरी भईन्।समुद्रमा भएपनि मलाई एकप्रकारको प्यासले भुत्तुक्कै पार्न थाल्यो।छट्पटी बढ्यो।मुटुको ढुकढुकी बढ्यो।बेरोजगार हाम्रा अंगहरुले जागिर पाए।आ-आफ्ना काम र कर्तव्यमा कृयाशिल भए।जुमेराबिचको समुद्रले हामीलाई शारीरिक रुपमा एकाकार बनाइदियो।मरुभूमिमा प्यासी कागका जोडीहरुले प्रयाप्त मात्रामा पानी पिएर तृप्त भएझैं हामी तृप्त भयौं।अब हाम्रो त्यहाँ पानीमा कुनै काम थिएन।बाहिर आयौं।पुसको पारिलो घामले सेकाउन थाल्यो।बालुवा तातिसकेका थिए।करीब एक किलोमिटरको दूरीबाट बुर्ज अल अरब होटलले हामीलाई जिस्क्याए झैं लाग्यो।बादलरहित खुल्ला आकाश लजाए झैं लाग्यो।केहीबेर पश्चात हामी अलि पर्तिर भएका ठूल्ठूला पत्थरमा चढेर नीलो पानीको दृष्य अवलोकन गर्नमा व्यस्त भयौं।मीठा-मीठा गफ गरेर दिन बितायौं।सिर्फ त्यही एउटा उदेश्यले साँझपख फेरि एकपटक पानीमा पस्यौं।हामीबीच सबै कुरा साझा भयो।केही कुरा ब्यक्तिगत रहेन।त्यही दिनदेखि हरेक विदाका दिनहरुमा भेट्न थाल्यौं।एक-अर्काको समस्या समाधान गर्न थाल्यौं।आवश्यकताहरु परिपूर्ति गर्न थाल्यौं।कहिले कुन होटल त कहिले कुन होटलमा गएर बस्यौं।

        हामी प्रेमी-प्रेमिका भएको पनि कति छिट्टै एक साल भैसकेछ।दिनहरु कसरी बिते,पत्तै भएन।समयको गति त उहीँ हो।तर हामीलाई समयको गति पहिलेको भन्दा तीव्र लाग्यो।दुबईमा शुरुको एक बर्षको बसाइँ मेरो लागि एक दशक जतिकै लामो लागेको थियो।प्रेम पनि बहुत कमालको चीज रहेछ।जवानी लुटिएको थाहै भएन।शारीरिक उर्जा खर्चिएको थाहै भएन।अनि पैसा सकिएको थाहै भएन।चाडबाडमा १०/२० हजार घर पठाउनु बाहेक अरुबेला कमाएको सबै रोमान्समै खर्चिएछ।तैपनि कुनै गुनासो थिएन।पछुतो थिएन।बरु उल्टै दंग थिएँ।कोही सगरमाथा आरोहण गरेर त्यतिको खुशी नहोला।मंगल ग्रहमा पाइला टेकेर त्यति मख्ख नहोला।करोडौंको ऐश्वर्य आर्जन गरेर आल्हादित नहोला।तर त्यो भन्दा दोब्बर खुशी म थिएँ।हामी थियौं।प्रेमलाई कुनै पनि अमूल्य बस्तुसंग तुलना गर्न सकिन्न र मिल्दैन भन्ने मान्यता थियोे मेरो।एक बर्षको कमाइ मात्र नभई बर्षौंको कमाइ सकाउन तयार थिएँ संचिताको लागि।संचिताको खुशी नै मेरो खुशी थियो।

              एकदिन कोठामा पार्टी हुँदा मेरो एकजना नजिकको साथीले धेरै सम्झायो।
"हेर सन्तोष,यहाँ हामी पैसा कमाउन आएका हौं।गर्लफ्रेन्ड बनायौ,ठिकै छ।तर कमाएको सबै यतै उडायौ भने भोलि पछुताउनु पर्ला।समयमै सजग होउ।कम खर्च गर।धेरै बचत गर।"
"तँ बढी जान्ने नहोउ त।म जेसुकै गरुँ,तँलाई केको चासो?मेरो ब्यक्तिगत मामिलामा हस्तक्षेप गर्छस्?तँ आफ्नो लागि सोच।"
"ल-ल जे गर्छौ गर।मैले त साथीको नाताले सम्झाएको मात्र हुँ।माइन्ड नगर न यार।"
"बल्ल ठेगानमा आइस्?गुरु हुन्छस् कहीको।"
मैले उसलाई कहिल्यै नसम्झाउने बनाएँ।सम्झाउन छोड्यो पनि।म आफ्नै संसारमा मस्त थिएँ।अरु साथीहरू पैसा कमाउन ब्यस्त भए।म कमाएको पैसा उडाउन ब्यस्त भएँ।

      एकदिन हामी शुक्रबारको मौका छोपेर बरदुबईको "दुबई हेभन होटल" मा छिर्यौं।बंगुरको मासु फ्राइ र रक्सी लिएर गएको थिएँ।मासुसित तीन-तीन पेग लाएपछि रोमान्समा हरायौं।रोमान्सपछि फेरि बाँकी पेग लाउन थाल्यौं।हामी दुबै झ्याप भैसकेका थियौं।संचिता टिल्ल भएर सुतिन्।वाइफाइ कनेक्ट भएकोले उनको फेसबुक मेसेन्जरमा म्यासेज आयो।अरुबेला उनको मोबाइलमा पासवर्ड राखिएको हुन्थ्यो।त्यो दिन भने राखिएको थिएन।औंलाले सरर तान्ने बित्तिकै मोबाइल खुलिहाल्यो।कसको म्यासेज आएको रहेछ भनेर हेर्न थालें।धेरै पहिले देखिका म्यासेजहरु पढिसकेपछि म छाँगाबाट खसेझैं भएँ।रिसको पारो तात्तिएर सीमा नाघ्न थाल्यो।म पागल जस्तै हुन पुगें।म्यासेज अरु कसैको नभएर उनको श्रीमानको थियो।उनी विवाहित रहिछन्।मलाई ढाँटेकी रहिछे।छल गरेकी रहिछे।मलाई मात्र नभई उनले आफ्नो श्रीमानलाई समेत धोका दिएकी रहिछे।मलाई अन्धकारमा राखिएको रहेछ।उनको प्रेम केवल शारीरिक आवश्यकता परिपूर्तिको लागि रहेछ।हुन त म पनि सज्जन त कहाँ थिएँ र!तर मान्छेले अर्काको गल्ती मात्र देख्ने रहेछ।आफूले त जतिसुकै ठूलो गल्ती गरेपनि अदृश्य नै हुनेरहेछ आफ्नो लागि।उनलाई सबैभन्दा बढी माया गर्थें तर अब सबैभन्दा धेरै घृणा गर्न थालें।उनलाई नशाबाटै जुल्फीमा समाएर जुरुक्क उठाएँ।सायद नशाको गहिराईमा डुबेको भएर होला,कुनै प्रतिकृया देखाइनन्।"संचिता!" भनेर बोलाउँदै कांधमा हात राखेर झक्झकाएँ।तर उनले "उम्म" मात्र भनिन्।आँखाहरु लोलाएकै थिए।पूर्णरूपमा खुल्न सकेका थिएनन्।बाथरुमबाट गिलासमा पानी ल्याएर अनुहारमा खन्याएँ।उनी झसङ्ग हुँदै तर्सेझैं गरी उठिन्।पहिलेको भन्दा चनाखो देखिइन्।
"साला धोकेबाज!मलाई धोका दिईस् हैन?"
यति भनेर गालामा एक चड्कन लाएँ।
"मैले के बिराएँ?आज के भयो तिमीलाई?मेरो राजा,किन रिसाएको?"
उनले मेरो गालामा सुम्सुम्याएर म्वाइ खाँदै फकाइन्।
"नाटक गर्छेस्?साला रन्डी!भालु!मलाई राजा भन्नुपर्दैन।तेरो राजा त साउदीमा रहेछ।तेरो बुडालाई भन राजा।"
मेरो कुराले उनी झस्किन्,डराइन्।अझै मेरो रिस मरेको थिएन।फेरि अर्को गालामा थप्पड हानें।दुबै गालाहरु सुन्निए।ऐना अगाडि उभिएर आफ्नो अनुहार नियालिन्।अब उनी पनि यसरी रिसाइन् कि त्यस्तो डरलाग्दो रुप कहिल्यै देखेको थिइन।सरासर आएर मलाई पनि चड्कन लाउन थालिन्।म झन-झन उग्र हुँदै गएँ।आगो भएँ।विशाल समुद्र खन्याए पनि म निभ्ने वालामा थिइन।रिसको ज्वाला उनको शरीरमा दन्किन थाल्यो।तानातान,हानाहान भयो।आवेगमा मैले रक्सीको बोतल उठाएर उनको शीरमा प्रहार गरिरहें।कोठा रंगीन भयो।उनी बुर्लुक्क लडिन्।बल्ल मेरो रिस शान्त भयो।लागेको नशा पनि टाप भागिसकेको थियो।तीस मिनेट जति कुर्सीमा थचक्क बसेर लामो सास फेरिरहें।उनको दयनीय हालत देखेर टिस लागेर आयो।बेकारमा कुटेछु भन्ने लाग्यो।उनीप्रति दया जाग्यो।माया लाग्यो।गएर उनलाई उठाएँ तर उनको शरीर अररो र चिसो भैसकेको थियो।नाकमा औंला राखें तर सास फेर्न छोडिसकेकी थिइन्।हातको नाडी छामें तर स्पन्दन चल्न छोडिसकेको रहेछ।
"संचिता!" भनेर बोलाएँ।झक्झकाएँ।उठाउन खोजें।तर उनी सदाको लागि निंदाइसकेकी थिइन्।कहिल्यै नउठ्ने गरी सुतेकी रहिछन्।पश्चातापको रापले जलिरहें।बहुला जस्तो बोलाइरहें,बोलिरहें।तर सुन्ने कोही थिएनन्।युद्ध समाप्ती पछिको क्षण जस्तो शून्यता थियो।कहालीलाग्दो थियो।तर जीत कसैको भएन।हामी दुबैले हार्यौं।बर्बर आँसु खसालेर रोएँ,कराएँ।हुनेवाला केही थिएन।नहुनुपर्ने भैसकेको थियो।उनको हत्या गर्ने मेरो मनाशय थिएन।उदेश्य थिएन।उनको झूटको पर्दाफास भएर उनी दुर्घटनामा परी इहालिला त्यागिन्।तर मेरो झूटको पर्दाफास कहिल्यै नहुने भयो।किनकि उनी यो संसारमा रहिनन्।मेरो झूट मलाई मात्र थाहा हुने भयो।गल्ती दुबैले गरेका थियौं।झूट दुबैले बोलेका थियौं।तर सजाय उनले पाइन्।उनको झूट मैले थाहा पाएँ तर मेरो झूट उनले थाहै पाइनन्।बिचरीलाई मैले पनि अविवाहित भनेर झूट बोलेको थिएँ।वास्तवमा म विवाहित मात्र नभई छोराछोरीको बाबु भैसकेको थिएँ।

          दुबईमा अपराध गरेर भाग्न असम्भव छ।भागेपनि पलभरमै पुलिसले समाइहाल्छ।संचिताको शव छोडेर भाग्नुको कुनै औचित्य थिएन।एकछिन के गर्ने कसो गर्ने भनेर अलमल्ल परें।मैले ठूलो अपराध गरिसकेको थिएँ।मैले सजाय भोग्ने निर्णय गरें।अर्को विकल्प पनि त थिएन।म आफैंले पुलिस बोलाएँ।जे भएको थियो,यथार्थ बयान दिएँ।शव पोस्टमार्टमको लागि अस्पताल लगे।मलाई हिरासतमा राखियो।अपराध स्वीकारेको र पोस्टमार्टमले पनि हत्या भएको सावित गरेपछि अदालतले सजाय तोकिदियो।संचिताको परिवारलाई ब्लडमनी बुझाउन सके मृत्युदण्डको सजाय मिनाहा गरेर नेपाल पठाइने भयो।तर त्यतिबेलासम्म आफूले कमाएको पैसा सुक्को बचेको थिएन।मेरो परिवारले पनि त्यत्रो पैसा निकाल्न सक्ने कुरो भएन।पैसा संकलन गरुँ त कहाँ गरुँ?कसलाई गुहारुँ?साथीभाइको अर्ती,उपदेश,सल्लाह,सुझाब मानेको भए त्यस्तो दुर्घटना नै हुन्थेन।सबै रिसाएका थिए।पराया भैसकेका थिए।मेरो बारेमा सामाजिक सञ्जालमा हल्ला फैलिएछ।देश-बिदेशमा रहेका धेरै नेपालीहरुले रकम संकलन गरेर पठाइदिए।दाजुभाइ,दिदीबहिनीहरुको दयाले गर्दा मैले पुनर्जीवन पाएँ।नत्र भने संचिताले आफ्नो संसारमा बोलाइसकेकी हुन्थिन्।नेपाल आएपछि पनि धेरै दिनसम्म आफ्नो गल्तीको प्रायश्चित गरिरहें।केही गर्न मनै लागेन।तर कुनै-कुनै बिग्रेको काम सपार्न नसकिने रहेछ।फेरि पनि मबाट कुनै किसिमको अपराध नहोस् भनेर यही देवीलाई पूजा गरिरहन्छु।उनी मेरी देवी हुन्।संचिता लाई म बाँचेसम्म पुजिरहनेछु।

         भोटेको कहानी सुनेर पागलप्रेमीले लामो सास तान्छ।निकैबेर गम्भीर भएर सोच्छ।केही याद आएजस्तो,केही ज्ञान प्राप्त भएजस्तो गर्छ र अनुहारमा चमक देखिन्छ।अनि एकाएक हर्षित हुँदै बोल्न थाल्छ।
"मैले त सोचेको थिएँ-मलाई जस्तो ठूलो ठेस अरु कसैलाई लागेको छैन होला।मैले धोका पाउनुको पछाडि उनका पनि केही बाध्यताहरु होलान्।त्यो पाटोतिर त मैले सोच्नै बिर्सेछु।तर आज तपाईंको कुरा सुनेर थाहा भयो कि जस्तोसुकै कठिन मोड आएपनि हाँसेर सामना गर्नुपर्ने रहेछ।एकपटक ठेस लाग्नु नै जीवनको अन्त्य हैन रहेछ।जसरी तपाइँले दुबईबाट ठूलो पाठ सिकेर आउनुभयो,त्यसरी नै मैले पनि तपाईँको कथा-ब्यथाबाट ठूलो पाठ सिकें।अब म जान्छु।म आफ्नै घर जान्छु।परिवारलाई भेट्छु।बाबा-आमालाई कति ठूलो पीर परेको होला यतिबेला!मैले त आफ्नै लागि मात्र सोचें।म जस्तो स्वार्थी संसारमा अरु नहोला।म तपाईंलाई जिन्दगीभर सम्झिरहनेछु।तपाईं नै मेरो महान गुरु निस्किनुभयो।तपाईं संग भेट नभएको भए मेरो के हाल हुन्थ्यो होला।हवस् त सन्तोषजी!म आफ्नो घरतिर लागिहाल्छु।"
दुईहात जोडेर नमन गरेर उमेश अर्थात पागलप्रेमी सज्जन भएर आफ्नो बाटो लाग्छ।सन्तोष भने निकै पर-परसम्म उसको बाटो हेर्छ।हेर्दा-हेर्दै पागलप्रेमीलाई वनजंगलले छेकिदिन्छ।सन्तोष मुसु-मुसु हाँस्दै घरभित्र प्रबेश गर्छ।सन्तोषको सानो छोराले सवाल गर्छ-
"बाबा,बाबा!त्यो मान्छे को थियो?अनि कहाँ जान लागेको?"
सन्तोषकी श्रीमतीले जवाफ फर्काउँछे-
"बाबु! बाबालाई धेरै नसताउ न।त्यो मान्छे हाम्रो घरको पाहुना थियोे र आफ्नो घर गयो।"
पूजाकोठाको भित्ताबाट संचिताले सदावहार मुस्कान फ्याँकिरहन्छिन्।

************ समाप्त***********

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...