कविता:-बिचरा!ढिकी
कवि(कवयित्री):-चोमु शेर्पा "खुशी"
चारैतिर हेरें
देखिन कतै
चेत खुलेदेखि हेरेको
कटेरो र भित्र रहेको ढिकी
अनि सम्झिएँ
स-साना हातहरुले
बिहानै
गोबर,माटो र पानी मिसाएर
वरपर लिपेर
चटक्कै पारेको।
सम्झिएँ
पाप बोबु र माम्बोबुलाई
तोङ्बा लगाईदिने
जाँड पकाउन
उचाल्न नसक्दा पनि झुन्डी-झुन्डी
कोदो फलाएको।
सम्झिएँ
बर्षभरिमा एक-पटक खान पाईने
आमाले आलु सित साटेर
ल्याउनु भएको धान
जतनले कतै छरिन्छ कि
कतै उफ्रेर जान्छ कि भनेर
छेउकुना सबै
राडी र गुन्द्रीले बारेर
रहरै रहरमा
कति चाँडै चामल बनाएको।
सम्झिएँ
उज्यालो हुनु अगावै
अरु भन्दा छिटो
जंगलमा पुगेर
खरानेको बोटमा चढी
वरिपरि प्लास्टिक बिछ्याएर
खुकुरीले हाँगा काटी
टिपेको दाना सुकाएर
तेल बनाउनलाई
कुटेर धुलो बनाएको।
सम्झिएँ
जौ टिपेर सकेपछि
बैशाखमा छरेको मकै
कार्तिकमा हरियो उसिनेर
धुवाँले बुट्टा भरेको
सरङमा सुकाएर
हिउँ परेको बेला
मुलाको साग सित
सुप बनाएर खान
क्षेन फलाएको।
म बिरानो भएछु
दस बर्षपछि बल्ल फर्किएकी थिएँ
मैले छोडेको धेरै भएर होला
समयले उसलाई पनि छोडेछन्
उसको साटोमा अहिले
गाउँमा मिल आएछ
सबैले उसलाई बिर्सेछन्
उसले मेरै बाटो हेरेर
प्रतिक्षा गरिरहेझैं लाग्यो
मलाई नै सम्झेर बसेझैं लाग्यो।
करीब-करीब
पन्ध्रौं बर्षको हुँदा सम्म
उसको र मेरो सधैं
सहकार्य भएको थियो
उसलाई उचाल्दा आएको
पसिना पुछेको अाग्लो सम्झिएँ
उसको तौल गह्रौं हुँदा
झुन्डिएको कटेरोको बलो सम्झिएँ
चिसोले लिम्बुनी बज्यूको
बुलाकी जस्तै निस्केको सिंगान
सबै सम्झिएँ
सबैलाई सम्झिंदै गर्दा
कतिबेला भुइँ कोट्याएर माटो निकालेछु थाहै पाईन।
एक्कासी आमाकाे अावाज सुनें
"याद त आउँदा रछ त है?
के गर्छेस् जमाना फेरियो!
अब चाहेर पनि भेट्दिनस्
पुराना चिजहरु
सबै हराएर नयाँ आको छ
आइँजा किचेनमा दूध तताको छु"
अलिकति हाँसेर मुन्टो हल्लाएँ
किन भने
नेपाली राम्रोसँग नजान्ने मेरी आमा
अङ्ग्रेजीमा पनि बोल्न जान्ने हुनुभएछ।
बिगत र बर्तमानको तुलना
मनले गर्दै
हातमा ढिकी लिपेको माटो
लिएर आमाको किचनमा छिरें
यतिबेला म जन्मेको माटो र
जन्म दिने धर्ती दुबैको काखमा छु
यसर्थ म अति खुशी छु
तर बिचरा ढिकीको हालत
झन-झन खराब हुँदैछ।
No comments:
Post a Comment