कवि:-चोमु शेर्पा "खुशी"
पुष्प झैं हिउँले धर्ती चुम्दा
हिमालहरुको भाग्य चम्किंदा
अभागी पैतालाहरुले
बीस रुपियाँ पर्ने
सुल र फित्ता मात्र भएको
चप्पल समेत नपाएका
कहालीलाग्दा क्षणहरु!
बर्षामा पातहरुमा झुण्डिएर
पाउहरुमा बसाईं सर्न
व्यग्र प्रतिक्षामा बसी
मौका पाउने बित्तिक्कै
रगत चुसेर ढाडिएका
अवसरवादी जुकाहरु!
पैसा कमाएर नयाँ लुगा लगाउने
रहरै रहरमा
जङ्गलका कुना-कानी,
खोल्सा-खोल्सी,भीर,ओढार
कुनै खाेज बाँकी नछोडी
काँडा र पटेर-घारी नभनी
मुसा छिरे जस्तै गरी छिरेर
एक-एक गरी उखेलेर
जम्मा गरिएका चिराइतोहरु।
जङ्गलमा गाई-भैंसी चराउँदा चराउँदै
घाँस दाउरा गर्दा-गर्दै
फलाममा चुम्बक टासिंए जस्तै
कपालमा टाँसिएका कुरोहरु
टिप्न नसकेर,कोर्न नसकेर
हप्तौं,महिनौं जस्ताको त्यस्तै राख्दा
टाउको भरी फलेका जुम्राहरु।
बूढो फलाँटको
छिप्पिएको बोक्रा उक्केको जस्तै
चिरा-चिरा भएका
गाला,अाेँठ र हातका छालाहरु
दोचाको जुत्ता लगाए जस्तै
बाक्ला भएका मेरा
खुट्टाका पैतालाहरु।
यी सबैलाई भन्दा धेरै सम्झिन्छु
मेरो पेटमा कुद्ने
भोकले उम्रेका मुसाहरु मार्नलाई
जङ्गलले दिएका अनेक किसिमका
मिठा-मिठा फलहरुलाई
जसलाई किन्न न पैसा लाग्थ्यो
न कसैले चोरेको आरोप लाउँथ्यो
निस्फिक्री टिपेर खाइन्थ्यो
र पेटको मुसा भगाइन्थ्यो।
यी सब मेरा अतीत थिए
वर्तमानमा सम्झनाका अवशेष मात्र छन्
अब त खुट्टामा चप्पल छन्
अभावहरु देख्न र बुझ्न सक्ने
दृष्टि र मगज छ
भीर-पाखा,ओढार छिर्नु परेको छैन
दिनहुँ कपाल कोरिन्छ
रहर लाग्दा नि भेटिंदैनन् जुम्राहरु
लोप भएर गएका छन्
देख्न,टिप्न पाइन्न
ती मिठा जङ्गली फलहरु।
र त यतिबेला ठान्छु आफूलाई
साह्रै भाग्यमानी
किनभने मैले लिएको अनुभव
सबैले लिन पाउँदैनन् ।
No comments:
Post a Comment