प्रिया!
बर्षायाममा उर्लेको बाढी झैं
केवल आश्वासनको बाढी उर्लन्छ
त्यही बाढीले कसैको निर्दोष मन
डुबानमा परेर अलपत्र हुन्छ
तिम्रो मनको बस्तीमा अचेल।
दुर्गन्धित ढल फुटेर
फोहोर पानीले सडक भरिएझैं
छल-कपटले भरिएको छ
तिम्रो मनको सडक अचेल।
बिरालोले मुसो खेलाएझैं
खेलाडीले फूटबल खेलाएझैं
यौनप्यासीले नगरबधु खेलाएझैं
खेलाइन्छन् बहुसंख्यक मनहरु
तिम्रो मनको खेलमैदानमा अचेल।
प्रेमलाई मन्दिर सम्झेर
प्रेमिकालाई देवी सम्झेर
पूजा गर्न आउने पुजारीलाई
घृणाको प्रसाद दिएर
अपमानको आशिष् दिएर फर्काइन्छ
तिम्रो मनको मन्दिरबाट अचेल।
चोखो प्रेमको धज्जी उडाएर
तिरस्कारको वाणले प्रहार गर्दा
घाइते भएर निश्चल मनहरु
भत्किएका सडकहरु झैं
विश्वासको अलकत्रा उक्किएर
छिया-छिया पर्न विवश छन्
तिम्रो मनको राजधानीमा अचेल।
त्यसैले प्रिया!
भैगो म आउँदिन तिम्रो बस्तीमा
म हिंड्दिन तिम्रो सडकमा
तिम्रो मनको राजधानीबाट धे.....रै टाढा
दुर्गम बस्तीमा
बरु एक्लै बस्न चाहन्छ-मेरो मन।
No comments:
Post a Comment