एउटा ख्यातिप्राप्त चित्रकार
म र उसको क्यानभास सामू
नतमस्तक एवं क्रियाशील थियो
प्राथमिक रंगहरु घोलेर
कुचीको सहायताले
उतारिरह्यो मेरो स्वरुप।
नभन्दै उसले केही घण्टामै
म भन्दा सुन्दर चित्र तयार पार्यो
म भन्दा अझ बढ्ता मुस्कुरायो चित्र
यदि बिक्री गर्ने भएपनि
लगानी भन्दा तेब्बर पैसा आउँथ्यो।
तर बिचरा चित्रकार
धेरै पक्षहरुमा चुक्यो
ऊ असमर्थ रह्यो
म भित्र दन्केको ज्वाला कोर्न
आँखामा लुप्त आँसुको गहिराई दर्शाउन
अनि असमर्थ रह्यो
बिछोडरुपी भुकम्पको स्केल नाप्न र
बिक्षिप्त स्वप्नको भग्नावशेष उतार्न।
हो,त्यही दिनदेखि म खोजिरहेछु
यस्तो पोख्त,पारंगत चित्रकार
जसले पोत्न सकोस् अन्तर्निहित पीडा
दर्शाउन सकोस् मर्म
देखाउन सकोस् पूर्ण कहानी।
म त्यस्तो चित्रकारको खोजीमा छु
जसले ब्यक्त गर्न सकोस्
बेचिएका नदीहरुको आर्तनाद
आम जनलाई बुझाउन सकोस्
अतिक्रमित भूमिको दर्द
सुनाउन सकोस्
बलात्कृत नेपाल आमाको चित्कार।
त्यस्तो चित्रकारको खोजीमा छु
जसले छर्लङ्ग पार्न सकोस
ब्यक्तिको बाह्य आवरण मात्र नभई
उसको चरित्रलाई पनि
एक्सरेले हड्डी स्क्यान गरेझैं
परावर्तन गर्न सकोस् मस्तिष्क
जस्ताको तस्तै प्रतिविम्बित गर्न सकोस्
ब्यक्तिको मनोभाव
हो,बर्षौं देखि आजसम्म
म खोजिरहेछु यस्तै चित्रकार
तर भेट्टाउन असफल भएको छु
तथापि जारी रहनेछ
अनवरत मेरो खोजी-कार्य।
No comments:
Post a Comment