एकछिन हामी मौन र शान्त भएर बस्यौं।तत्पश्चात हामी ड्रागन मलबाट बाहिर गएर चौरमा बस्यौं।गगनमा मेघको एक नमूनासम्म पनि देखिएन-बिल्कुलै निलो र सफा।चारवटा प्यारासुटहरु एकदमै नजिक-नजिकको दूरीमा बेलून झैं उडिरहेका थिए।मैले एकाग्र भएर गगनमा उडिरहेका प्यारासुटतिर नजर लाइरहें।एकचोटि मेरो अनुहारमा पुलुक्क हेर्यो र तत्पश्चात उ पनि माथितिरै नजर लाउन थाल्यो।हाम्रो मन पनि एकछिन ती प्यारासुटहरुसँगै गगनमा उडे।प्यारासुटहरुले एकाएक हाम्रो ध्यान र बिषयबस्तुलाई मोडिदियो।तर उसले पनि एक्कासि बिषयबस्तुलाई यु-टर्न मार्दै अन्तैतिर बहकिन थाल्यो।
"आज पनि होटल जाने हैन?यहाँ तातो घामले सेकाएर सुकुटी बनाउन लागिसक्यो।नानी-बाबु जे भएपनि हाम्रो बच्चालाई असर गर्ला त!"-उसले मेरो पेटमा सुम्सुम्याउँदै भन्यो।
"अस्ति गएर त ई यस्तो हालत भयो,फेरि जाने हो भने पक्कै जुम्ल्याहा हुन बेर छैन।"
मैले वातावरण लाई रोमाञ्चक बनाउनको लागि मनोरन्जनात्मक गफ गर्न थालें।मनोज मुसुमुसु मात्र हाँस्यो।प्रचण्ड रविबाट छल्नका खातिर हामी एक्स-२३ सार्वजनिक गाडी चढेर वर दुबईतिर गयौं।
मेरो गर्भमा छोरा या छोरी के होला भन्ने चासोको बिषयलाई भविष्यकै गर्भमा छोडेर हामीले सामान्य जीवन यापन गर्न थाल्यौं।आखिर हाम्रो चासो,ब्यग्रता र कौतुहलताको बिषयलाई समाप्त पार्ने त्यो समय र त्यो पल आएरै छोड्यो।करीब साँढे तीन महिनाको भ्रुण गर्भमा बोकेर हामी उहीँ अल बराह अस्पतालमा गयौं।त्यो अस्पताल सित कहिल्यै नभेटिने बाचाका साथ सदा-सदाको लागि नाता तोडेर बिदाइको हात हल्लाउँदै टाढिएका थियौं।हाम्रो चाहना पक्कै पनि थिएन पुनः त्यो अस्पतालमा फर्केर जाने।तर समयको चक्रले फनफनी घुमाएर हामीलाई त्यही स्थानमा पुर्यायो जहाँ मेरो टन्सिलको शल्यक्रिया भएको थियो।त्यहाँ पुगेर एकछिन त भयले आङ नै सिरिङ्ग भयो।तर एउटा रहस्यमय तथ्यको उद्घाटन हुने दिन भएकोले हामी निकै उत्साहित पनि थियौं।मनोजलाई ढोका बाहिरै राखेर म गर्भ जाँचको लागि भित्र प्रबेश गरें।कम्प्युटरको स्क्रीनमा भिडियोसहित देखाइदिई डाक्टरले।
"डक्टर!प्लीज क्यान यु टेल मी द बेबी इज ब्वाइ अर गर्ल?"-मैले डाक्टरलाई मेरो बच्चा छोरा या छोरी के हो भनेर सोधें।
"सोरी म्याम,वी क्यान्ट टेल यु द सेक्स अभ बेबी एज पर द पोलिसी अभ आवर हस्पिटल।"
उनके अस्पतालको नियम अनुसार छोरा र छोरी भन्न नसकिने जानकारी दिई।
"प्लीज म्याम,आइ केम हेअर जस्ट टु नो द फ्याक्ट।अदरवाइज आई वुड नट कम।"
मैले त्यही एउटा तथ्यको बारेमा जान्न मात्र अस्पताल आएको,नत्र आउने थिइन भनेर भनें।
"ओके,ओके।आई एम जस्ट टेलिङ यु एज यु रिक्वेस्टेड मेनी टाइम्स।"
उनले मैले लाख बिन्ती गरेकीले मात्र बताउन चाहेको कुरा गरी।अन्ततः डाक्टरले सो तथ्यको रहस्योद्घाटन गरेरै छाडी।म हर्षले पुलकित हुँदै दौडिँदै गएर बाहिर बसिरहेको मनोजलाई झ्याम्मै अँगालेर उसको निधारमा निकै लामो म्वाईं खाएँ।त्यतिखेर सम्ममा मेरो हर्षको अश्रु खसिसकेको थियो।
"मनोज, लौ अनुमान गरेर भन त ,छोरा कि छोरी?"-मैले निकै रहस्यमय तरीकाले सोधें।
"डाक्टरले त कम्प्युटरमा चेक अप गरेपछि बल्ल थाहा पाउँछन्,अनि मैले कसरी थाहा पाउँछु भन त?तिमी नै भन न छोरा कि छोरी?"-मनोजले उल्टै मलाई सोध्यो।
"तैपनि अनुमान गर्नलाई के नै बिग्रन्छ र?"-मैले अझै तड्पाउने हिसाबले भनें।
"मैले सकिन के,तिमीले नै राज खोलिदेउ न।मेरो प्रतिक्षाको बाँध टुट्न लागिसक्यो।कौतुहलता र छट्पटी बढेर असह्य भएको छ।अब पनि तिमीले भनिनौ भने म पागल हुन बेर छैन।त्यसैले कृपा गरेर रहस्योद्घाटन गर त,मेरो लाख बिन्ती छ।"-उसले दुईहात जोडेर बिन्ती बिसायो।
"भनुँ त?"-अझैपनि आलो घाउमा नुनचुक दल्न खोज्दै भनें।
"भन न ओमु।राज जान्न नपाएर तड्पिन लागिसकें।"-एक गाँस बराबरको अनुहार बनाउँदै भन्यो उसले।
"डाक्टरले भनेको छोरी छ रे।"-मैले उसको आँखामा आफ्नो आँखा जुधाएर भनें।
"फेरि?फेरि छोरी कसरी हुन सक्छ?यो असम्भब छ।मैले जे सोचेको थिएँ,त्यसको ठिक बिपरित नतिजा आयो।फेरि फेरि छोरी जन्माएर के काम?तिम्रो के काम?किन छोरा दिएनौ तिमीले?छोरा होला भनेर कत्रो आशा पालेर राखेको थिएँ,एकैपलमा तिमीले मेरो आशालाई भस्म बनायौ।"-मनोज आक्रोशित हुँदै भन्दै थियो।
"त्यसमा मेरो के दोष छ त?एकाइसौं शताब्दीमा आएर पनि तपाईं श्रीमतिले छोरा पाईन भनेर दोष दिने?कमजोर श्रीमतिको नभएर श्रीमानको हुन्छ।"-म पनि आक्रोशित हुँदै बोल्न थालें।
"पुरुषको दोष कसरी हुन्छ?पुरुषले त सकभर कोसिस गरेको हुन्छ।महिलाले ग्रहन गर्न नसकेपछि के गर्नु।पुरै घर छोरीले भरिने भयो।फेरि यो छोरीको जात त अलिकति जवानी चढ्ने बित्तिकै पराइघर गैहाल्छन्।अनि हाम्रो घर र बिरासत कसले सम्हाल्ने?हाम्रो भएभरका सारा सम्पति पराइलाई सुम्पिनु त भएन न।हाम्रो बंश जोगाउनलाई त छोरा नै चाहिन्छ।अर्को कुरा छोरी त ज्वाइँले लगिहाल्छ,अनि हाम्रो बुढेसकालको साहारा को हुने?हामीलाई कसले पाल्ने?कसले हेरचाह गर्ने?छोरी भनेको बर्षमा एक दुई पटक चाडबाडमा मात्र आउने हुन्।कि घरज्वाईँ राख्नुपर्यो।अचेलको जमानामा फेरि घरज्वाइँ बस्न को आउलान् र?आएपनि हाम्रै सम्पतिमाथि राज चलाएर हामीलाई नै दबाउछन्।आफ्नै सम्पतिको भिख माग्ने स्थिति आउनेछ।मलाई त्यो दिन देख्नु छैन।"-मनोज झनझन अप्रत्याशित ढंगले परिवर्तन हुँदै गयो।
"छोराले मात्र पाल्छ भन्ने के ग्यारेन्टी छ?छोरीलाई पनि राम्रो शिक्षादिक्षा र संस्कार दिने हो भने भविष्यमा हेरिहाल्छे नि।अचेलका छोराहरू धूम्रपान,मदिरापान र ड्र्क्स सेवन जस्ता कुलतमा लागेर भएको बाबा-आमाको सम्पति पनि सखाप पार्न उद्धत हुन्छन्।कोही छोराले आशक्त तथा बृद्ध बाबा-आमालाई घर निकाला गर्छन् र जोइसित मोजमस्ती गर्छन्।त्यस्तै कोही छोरा भनौंदाहरुले बृद्ध-बृद्धा बाबा-आमालाई महलबाट निकालेर बृद्धाश्रममा पुर्याउछन्।त्यस्ता नालायक र कुपुत्र जन्माउनु भन्दा बरु कोख बाँझै बस्नु कैयौं गुणा जायज हुन्छ।नारी जननी हुन्,देवी हुन्।नारी नै श्रीमति,छोरी ,बुहारी र दिदीबहिनी हुन्।माया र ममताका खानी हुन्।आधा धर्ती हुन्।छोरीहरु मायालु र कोमल हृदयका हुन्छन्।छोराहरू जस्ता कठोर र पत्थरवाला हृदयका हुँदैनन्।तर छोरी मान्छेलाई कुनै पनि हालतमा कमजोर नसोच्नु।आवश्यक परेको खण्डमा नारीहरु फलाम र स्पात जस्ता,कठोर,संघर्षशील,बिद्रोही,साहसी र भयानक पनि हुन सक्छन्।चाहेको खण्डमा नारीले संसारलाई औंलाको भरमा नचाउन सक्छन्।त्यसैले छोरी जन्माउन पाउँदा म दुखित हैन गर्वित हुन्छु।"-रिसको आगो ओकेल्दै धाराप्रवाहरुपमा बोल्न थालें।
"जेसुकै होस तर छोरीको जात अर्काको भिता टाल्ने र चुलोचौका गर्ने जात हो।म आफ्नो सन्तान दासी भएको हेर्न सक्तिन।"-खै किन हो,मनोज पहिलेको जस्तो बिल्कुल थिएन।पहिले छोरीको पक्षमा वकालत गर्ने मान्छे त्यो दिन अचानक परिवर्तन भएको देखेर म आश्चर्यचकित भएकी थिएँ।मनोजको छातीमा समाएर घोक्र्याउन मन लागेको थियो तर मैले आफूलाई सक्दो नियन्त्रण गरें।
"मनोज,छोरीहरु अहिले चुलो र चौकामा मात्र सिमित छैनन्।डाक्टर,पाइलट,प्रशासक,शिक्षिका,मन्त्री,सभासद,न्यायाधीश र वकिल जस्ता गरिमामय पदमा आसीन भैसकेका छन्।उनीहरू पनि छोरा सरह शक्तिशाली,सक्षम र योग्य हुन सक्छन् यदि छोरा सरह व्यबहार गर्ने हो भने।छोरीलाई कमजोर ठान्ने पुरुषहरू पाखन्डी हुन्।तिमी जस्तो शिक्षित मान्छेले समेत यस्तो कुरा गरेको पटक्कै सुहाएन।तिमी यसरी परिवर्तन हुन्छौ भनेर मैले कल्पनासम्म पनि गरेकी थिइन।वास्तवमा तिमी पनि अरु पाखण्डी पुरुष भन्दा कुनै फरक देखिन मैले।मैले त तिमीलाई एक योग्य,इमानदार,समझदार र प्रगतिशील युवाको रुपमा लिएकी थिएँ तर म नै गलत रहेछु।तिम्रो वास्तविक रुप आज उजागर भएको छ।धन्य भगवान्,मैले बेलैमा मनोजलाई चिन्ने मौका पाएँ।"-मैले यति भन्दा आँखामा अश्रुधारा बगिसकेको थियो।
"हा हा हा हा हा•••••••••••••••••••।"
"हा हा हा हा हा हा••••••••••••••••।"
मेरो हालत देखेर मनोजको अट्टहासले पुरै अस्पताल गुन्जायमान भयो।मेरो रोदनमा मनोज किन हाँस्यो भनेर म झन सशंकित र आश्चर्यचकित भएँ।म ट्वाल्ल परेर मनोजलाई हेरी मात्र बसें।
"कतै मनोजको दिमाग त खुस्केको होइन?किन बारम्बार मनोजको बानीव्यवहारमा आकस्मिक परिवर्तन आइरहेको छ?छोरी भन्ने शब्दबाणले सायद उसको मस्तिष्कमा भयंकर प्रहार गरेको हुनुपर्छ।नत्र भने अस्पताल आउँदा त्यत्रो सज्जन मान्छे एकाएक किन दानव जस्तो भयो त?मानसिक अस्पतालमा जँचाउनुपर्ने पो हो कि!छोरीलाई आफूभन्दा पनि बढ्ता माया गर्ने मान्छेले किन एक्कासी घृणा गर्न थाल्यो त?केही त रहस्य हुनुपर्छ।तर कसरी पत्ता लगाउने होला।मेरो कुरामा किन यसरी हाँस्दैछ?पक्का यो मान्छेको मानसिक स्थिति सामान्य छैन।"
यस्तै कुराहरु मनमनै सोचेर म एकोहोरो उसको अनुहारमा हेरिमात्र रहें।झन उ त मलाई नै हेरेर ङिच्च दाँत देखाउँदै थियो।उसको हाँसोले म भयभीत हुन थालें।मैले लगभग अनुमान गरिसकें कि उसको दिमाग नियन्त्रण भन्दा बाहिर गैसकेको थियो।
"के भयो मनोज?तिमीलाई सन्चै त छ नि?म को हुँ मलाई चिन्छौ?यता हेर त यहाँ कतिवटा औंला छन्?"-मैले उसको दिमाग जाँच गर्ने तरीकाले प्रश्न सोधें।
"म पागल भएको छैन।ही ही ही।मेरो दिमाग सही चल्दैछ,हेहेहे।तिमी मेरी आमा त हैनौ।तिमी पक्कै पनि मेरी साथीको भाउजू हुनुपर्छ।ए,,जम्मा पच्चीस औंला त छन् नि त्यहाँ।हा हा हा।मलाई कमजोर सम्झिन्छ्यौ?मलाई पनि राम्रोसँग आउँछ नि हिसाब।तिमी जस्तो हिसाब भनेपछि पिसाब आउने हो र म?अंकगणितमा डबल पी एच डी गरेको सज्जन केटो पो त!"
मनोजको कुराबाट मैले सजिलैसँग पत्ता लगाएँ कि उ सज्जन नभएर शतप्रतिशत पागल नै थियो।म तनावग्रस्त हुन थालें।मेरो शरीर थरथर काम्न थाल्यो।चक्कर लागेर धर्ती फनफनी घुम्न थाल्यो।म भुइँमा थचक्क बसेर चिच्याउन थालें।"हरे भगवान यो के भयो?"
अहिले भने मनोज अलि गम्भीर भएर मलाई उठाउँदै भन्न थाल्यो-
"ओमु,मलाई माफ गर।मैले तिमीलाई मजाक गरेको।म माफी माग्न लायकको त छुईन,तर यथार्थ कुरा यही नै हो कि मैले तिम्रो भावनासँग खेल्न पुगेछु।तिमी अस्पताल बाट बाहिर निस्केर छोरी छ रे भनेपछि खै किन हो तिमीलाई जिस्क्याउन मन लाग्यो।तिमीसँग अभिनय गर्न मन लाग्यो।छोरी भन्ने शब्दले मलाई तिमीलाई भन्दा बढ्ता खुशी दियो।के म मेरी छोरीलाई घृणा गर्न सकुँला र?तिमीले कति छिटै मेरो कुरा पत्यायौ कि म सत्य बोल्दैछु भनेर।के अहिलेसम्म तिमीले मलाई चिनेकी छैनौ र?मैले जतिपनि वाक्य बोलें नि छोरीको बिपक्षमा,ती सबै झूट हुन्।के तिमीले मलाई सिकाइरहनुपर्ला र छोरी अर्थात नारीको महिमाको बारेमा?के म अनबिज्ञ हुँला र?मैले भनिसकें नि ,किन किन त्यतिकै नाटक गर्न मन लाग्यो।जिस्किन मन लाग्यो र तिमीलाई चकित बनाउन मन लाग्यो।अंग्रेजीमा भन्छन् नि-सरप्राइज।हो मैले तिमीलाई त्यही सरप्राइज दिन खोजेको मात्र हुँ।मलाई माफ गरिदेउ मेरी प्यारी!मेरो झूटो कुराले तिम्रो यस्तो हालत होला भनेर मैले सोचेको पनि थिइन।उठ,उठ।"
यति भन्दै उसले मलाई दुई हातमा समाएर तान्दै माथि उठायो।मेरो आँखामा आएको अश्रु उसको बुढी औंलाले पुछिदियो।उसको व्यवहारमा आएको परिवर्तनले मलाई साँच्चिकै आश्चर्यचकित बनायो।
"साँच्चै?"-मेरो मुखबाट त्यही एउटा शब्द मात्र फुर्यो।
"अँ साँच्चै हो।भगवान कसम।अरु पनि कसम खानुपरे खान्छु बरु।"
मैले उसको मुखलाई मेरो दायाँ हत्केलाले छोपिदिएँ।म पुलकित हुँदै उसको अँगालोमा बाँधिएँ।
"मनोज!एउटा कुरा भनुँ?"
"भन न के कुरा हो?"
"तिमी रिसाउँदैनौ भने मात्र भन्छु।"
"रिसाउँदिन,भन न।"
"बाचा गर रिसाउदैनौ भनेर।"
"ल बाचा गर्छु, तिम्रो कुराले म रिसाउदिन।"
मेरा दुई हत्केलामाथि उसले आफ्नो हत्केला राख्दै भन्यो।
"मनोज,तिमीले के सरप्राइज दियौ र मलाई?तिम्रो सरप्राइजले मलाई जति प्रभावित पार्यो नि त्यो भन्दा खतरनाक र ठूलो सरप्राइज मैले दिएकी छु तिमीलाई।"
"हो र? के हो त्यस्तो?हैन होला,गफ दिएकी हौली?"
मनोजले उत्साहित हुँदै सोध्यो मलाइ।
"साँच्चै हो,मैले दिएको सरप्राइज थाहा पायौ भने तिम्रो होसहवास पक्का उड्नेछ।तिमी साँच्चिकै पागल भए त्यतिखेर होला।होस म भन्दिन।तिम्रो होस गुमेको म हेर्न सक्तिन,किन कि तिमी मेरो ज्यान हौ।तिमीलाई केही भएको म देख्न सक्तिन।"
"भनिहाल न ओमु,तिमीले भनिनौ भने चाहिँ पागल हुन्छु म।"
उसले निकै गम्भीर भएर भन्यो।
" ल त्यसो भए सुन।हिम्मत छ नि सुन्ने?ह्रुदयघात त हुन्न नि?तिमीलाई केही त हुँदैन नि?"
"केही हुन्न के ओमु,म त्यतिसम्म कमजोर पनि छुईन।"
"मेरो गर्भमा छोरा छ रे!"-मैले सिधै भनें।
मनोज भुइँमा थचक्क बस्यो र सोचमग्न भयो।निकैबेर सम्म उ मौन र स्तब्ध भयो।उसको मुहारमा कुनै रौनक,चमक,उमंग र कान्ति देखिएन।जिन्दगीको महासंग्राममा पराजय बेहोरेको मनुष्य सायद त्यस्तै हुँदो हो।जुवा हारेको जुवाडे जस्तो।सर्बस्व गुमाएको लाचार ब्यक्ति जस्तो।बाजी हारेपछिको ब्यक्ति जस्तो।उसको शरीरमा कुनै चाल थिएन।मैले उसको काँधमा हल्का धक्का मारें तर शरीरले कुनै प्रतिकृया देखाएन।ठिङ्ग मूर्ति झैं यथास्थानमा थियो उसको शरीर।ध्यानमा लीन भएको कुनै सन्यासी जस्तो एकाग्रता थियो उसमा।
"साँच्चै हृदयघात त भएन मनोजलाई?"-मैले मनमनै प्रश्न गरें।
मेरो मन आँतिन थाल्यो।एक किसिमको भयले प्रभावित हुन थालें।
"मनोज! के भयो तिमीलाई?"-म रुन,चिच्याउन थालें।
उसले मुन्टो बटारेर मलाई हेर्यो र मुस्कुराउन थाल्यो,जसरी बिहानीको लाली किरणले हिमाल मुस्कुराउँछ।म हर्षबिभोर हुँदै उसलाई अँगाल्न थालें।फेरि पनि उसले नाटक गरेको थियो-हृदयघातको।
"यस्तो ठूलो कुरामा पनि सरप्राइज दिने हो त लाटी?मलाई साँच्चिकै हृदयघात भएको भए के हुन्थ्यो?अब देखि म पनि जिस्किन्न र तिमी पनि मसँग नजिस्किनु।मैले त तिमीलाई सरप्राइज दिन खोजेको थिएँ तर तिमी त म भन्दा तीन कदम अगाडि निस्क्यौ।मैले सकिन मेरी आमा तिमीसित।तिम्रो जीत र मेरो हार भो।"-मनोजले यति भन्दा उसको बोलीमा कुनै दम थिएन।थियो त केवल आत्मासमर्पणको भाव।
"भो भो मनोज,अब ती सब कुरा छोडिदेउ।मैले त तिम्रो प्रतिकृया बुझ्नको लागि छोरी भनेकी थिएँ।तर खै तिम्रो प्रतिकृया नै शंकास्पद लाग्यो मलाई।नाटक हो या यथार्थ, मैले बुझ्न सकिन।सायद मलाई खुशी बनाउन डाक्टरले पनि ढाँटेको हुनसक्छ।छोरा-छोरी जे भएपनि हाम्रो लागि ईश्वरको बरदान भएकोले खुशीका साथ स्वीकारिन्छ।आफ्नो सन्तान जे जस्तो भएपनि आफ्नो बाबा-आमालाई माया नलाग्ने भन्ने कुरा हुनै सक्तैन-चाहे त्यो अपांग नै किन नहोस्।दुई सन्तति हाम्रा लागि दुई आँखा र ज्योति हुन्।डाक्टरले मेरो गर्भमा छोरा छ भनेर म खुशी भएकी हैन,छोरी भनेको भएपनि म उत्तिकै खुशी हुने थिएँ।अझै छ महिनाको लामो प्रतिक्षा पश्चात् मात्र हाम्रो दोश्रो सन्ततिले यो धर्तीमा जन्म लिनेछ।।"
मेरो कुरालाई उसले मौन सहमति जनायो र मेरो हातमा समाएर गन्तव्यतिर डोर्याउन थाल्यो।बिज्ञान र प्रबिधिको बिकासले पनि यति द्रुत गति लियो कि भविष्यको गर्भमा के छ भनेर पत्ता लगाउने यन्त्रको समेत निर्माण भैसक्यो।डाक्टरकै उधारो भनाइ अनुसार हाम्रो तीन महिने छोरो मेरो गर्भमा हुर्किरहेको थियो।तर छोरोले गर्भ भित्रबाटै यति तहल्का मच्चाउन थाल्यो कि मैले खान र पिउन समेत सकिन।मेरो चैन लुटेर बेहाल बनायो।म यसरी दुब्लाएँ कि मलाई चिन्नेहरुले समेत चिन्न छाडे।मुश्किलले चिनेपछि उनीहरु आश्चर्यचकित र त्रसित हुन्थे।मेरो शरीरमा हाड र छाला मात्र बाँकी रह्यो।
"दुई जीउको हुँदा पैसाको लोभ नगरी प्रशस्त पौष्टिक आहारा सेवन गर्नुपर्छ है।नत्र पछि सुत्केरीमा गाह्रो हुन्छ।"
"खानेकुरा बल गरेर झ्याम-झ्याम खाउ।"
"आम्मै कसरी दुब्लाएकी तिमी त!खान खान्नौ कि क्या हो!"
"यो देख्दैछु म?म ओमुलाई नै देख्दैछु हैन?"
"दिदी,के भयो तपाईंलाई?बिरामी हुनुभयो?"
मलाई चिन्ने र देख्नेहरुले यस्तै-यस्तै भन्थे।तर खानेकुरालाई हेर्न मनै नलाग्ने भएकोले पैसासँग कुनै सरोकार नै थिएन।दुईछाक मीठो खानलाई पैसाको कुनै कमी थिएन।अर्को तिर बिदेशी भूमिमा बच्चा पेटमा बोकेर काम गर्नु चानचुने कुरा नभएर भयंकर र चुनौतीपूर्ण बिषय थियो।मेरो कथा-ब्यथा र दु:ख-कष्ट राम्रैसँग बुझेकोले एकदिन मनोजले मलाई धेरै सम्झाउने प्रयत्न गर्यो।
"ओमु,तिम्रो गर्भमा बच्चाको आगमन भएको पनि छ महिना भैसक्यो।कार्य पनि कठिन र अति ब्यस्त छ,अब राजीनामा दिएर जाउ तिमी।गएर बच्चालाई राम्ररी जन्म देउ र स्याहार-सुसार गर।फेरि पनि बिदेश आउनु पर्दैन।"
"होइन मनोज,म स्वदेशमै बसेपछि फेरि हामीलाई आर्थिक अभावले उस्तै पिरोल्नेछ।तिमी एकजनाको कमाइ त घर चलाउँदै ठिक्क हुन्छ।थप प्रगति केही हुनेछैन।अझै हामीले गर्नुपर्ने धेरै कुरा बाँकी नै छन्।घर बनाउनुछ र घरको लागि जमिन पनि लिएका छैनौं।तिमी एक्लैले जति साल कार्य गरेपनि केही उपलब्धि होला जस्तो लाग्दैन।अझै म दुई महिना कार्य गर्छु र गर्भ आठ महिनाको हुँदा सुत्केरी बिदा लिएर जन्माएर आउनेछु।कम्पनीले ४ महिनाको सुत्केरी बिदा र ३ महिनाको सुत्केरी भता दिन्छ।अबको ३ महिनामा त बच्चाले यो संसार देख्न पाउनेछ।दुई महिना जति आमाको दूध ख्वाएपछि बच्चाले पौष्टिक तत्व पनि प्राप्त गर्नेछ र त्यसपछि ल्याक्टोजन ख्वाए त भैहाल्छ नि।हुन त सानो बच्चालाई छोडेर बिदेश आउने मेरो रहर छैन तर बाध्यता छ।काठमाडौं जस्तो महंगीको शहरमा हाम्रो बसाइँ छ।बालबच्चाहरु पढाउन र उनीहरुको भविष्य उज्ज्वल बनाउन त हो नि हामीले दु:ख गरेर काम गर्नुपर्ने।नत्र त गाउँतिरै बसेर सामान्य जीवन यापन पनि त गर्न सकिन्छ नि।"
"ओमु,सानो शिशुलाई कसरी छोडेर आउन सक्छ्यौ तिमी?अरु जीवजन्तु र जनावरलाई त आफ्नो बच्चाको माया लाग्छ भने हामी त मानव जाति हौं।तिमीले यस्तो वाहियात कुरा कसरी दिमागमा ल्याउन सक्यौ?फेरि उसलाई अरु खानेकुरा भन्दा पनि आमाको दुधको अति जरुरी हुन्छ।ल्याक्टोजन भनेको कृत्रिम चीज हो,यसले नकारात्मक असर पनि गर्न सक्छ।शिशुलाई स्वस्थ तरीकाले हुर्काउन आमाको दूध र ममताको महत्वपूर्ण भूमिका हुन्छ।त्यसैले यस्तो कुरा गर्दै नगर तिमी।नाबालक बच्चालाई चटक्कै छोडेर बिदेश आउँदा समाजले पनि त खोइरो खन्छ र त्यो गर्नु स्वाभाविक पनि हो।पैसाले सबथोक किन्न सकिन्छ तर आमाको बात्सल्य,माया र ममता कदापि किन्न सकिन्न।आमाको ममता बिनाको बच्चाको जीवन अधुरो र अपुरो हुन्छ।हुन त कोही कसैले सानो बच्चा छोडेर नबिदेशिएका पनि होइनन् तर हामीले पनि अरुकै देखासिकी गर्नुपर्छ भन्ने छैन।फेरि पछि ठूलो भएपछि उसले गरेको कैयौं सवालहरुको जवाफ हामीसँग हुनेछैन र हामीले उसलाई अन्याय गरेको ठहर हुनेछ।त्यतिबेला बाबा-आमा र छोराछोरीको सम्बन्धमा ठूलो आँच आउनेछ।तसर्थ बालबच्चाको भविष्यलाई मध्यनजर राखेर हामीले बर्तमानमै सही निर्णय लिन सक्नुपर्छ।नत्र पछि पछुताउनु बाहेक हामीसँग अरु कुनै बिकल्प हुनेछैन।"-मनोजले सम्झाउँदै भन्यो।
"हुन त बच्चा छोडेर आउने मेरो पनि चाहना कहाँ हो र?पहिले पनि छोरीलाई छोडेर आउने मेरो रहर थिएन र अहिलेको पनि जन्माएर छोड्ने रहर बिल्कुल होइन।तर मनोज,मायाले मात्र सबैथोक दिन्न।मानिसका आधारभूत आवश्यकताहरु परिपूर्ति गर्नलाई त पैसा नै चाहिन्छ।पैसाको पछि लागेर बालबच्चालाई छोडेर आएको भन्न अलि सुहाउँदैन।
बरु बाध्यताले भन्दा अत्युक्ति नहोला।बश मेरो चाहना भनेको अहिले दु:ख-कष्ट झेलेर भएपनि भविष्यलाई उज्ज्वल र सुरक्षित बनाउनु नै हो।त्यो भन्दा मेरो अर्को स्वार्थ छैन।जन्माउने बित्तिकै नालीमा फालेर हिंडेको भए पाप गरेको ठहरिन्छ र त्यस्ती आमाले कडा भन्दा कडा सजाय पाउनैपर्छ।तर हामीले त आफन्त अर्थात हाम्रै बाबा-आमालाई जिम्मा लाएर आउने हो।उहाँहरुले नै रेखदेख गर्नुहुन्छ र पढाउनुहुन्छ।बश हामी त उनीहरुबाट भौगोलिक दूरीको हिसाबले टाढा हुने न हो।हाम्रो मानसिक दूरी त एकदमै नजिकको हुनेछ।"
"ओमु,अझै हामीसँग केही महिना बाँकी छ,सोचेर सही निर्णय लिनलाई।तिमी अझै ठण्डा दिमागले धेरैपल्ट सोच।दिमागले भन्दा हजारौं गुणा दिलले सोच।मैले त आफ्नो दिलको कुरा भनिसकेको छु तिमीलाई।अहिले पनि तिमी भारी जीउ लिएर कष्ट गरिरहेकी छ्यौ।मैले भनेको मान्छ्यौ भने अहिल्यै राजीनामा दिएर तु गैहाल।नत्र भने पछि आमा र बच्चा दुबैको ज्यान खतरामा पर्नेछ।रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नबाट बच्नु ठूलो कुरा हो।समयमै सचेत भईयो भने नतिजा पनि सकारात्मक नै निस्कन्छ।गल्तीको नतिजा भयंकर पनि हुनसक्छ,याद राखौं।धामीझाँक्रीकोमा जोखाना हेराउँदा उसले हाम्रो मनोबैज्ञानिक अवस्थाको अध्ययन र विश्लेषण गरेर उपायहरु बताइदिन्छ।हामीले आफू र आफ्नो समस्या चिन्ने हो भने कतै धाउनुपर्दैन।"-मनोजले न्वारान देखिको बलबुतो लगाएर मलाई सम्झायो।
मैले मनोजलाई मौखिक रुपमा जे भनेपनि सानो बालकलाई चटक्कै माया मारेर बिदेशिने हिम्मत,आँट र मन ममा थिएन।अझै केही बर्ष कडा मिहिनेत,दु:ख-कष्ट गरेर ,रगत-पसिना बगाएर आफ्नो खुट्टामा उभिन सक्ने हुनु र बालबच्चाहरुको खुट्टा पनि दह्रो बनाउनु थियो।अनि अर्कोतिर मनोज एक्लैलाई खाडीको मरुभूमिमा छोड्ने मन पनि थिएन।
"हे भगवान!किन मलाई यस्तो अप्ठ्यारो मोडमा ल्याएर छोडिदियौ?किन मलाई धर्मसंकटमा पार्छौ?म के गरु?आफैं दोधारमा छु।किन तिमी एउटी नारीको परीक्षा फेरि-फेरि लिइरहन्छौ?दुईवटा पाउहरु अलग-अलग दुई नाउमा टेके जस्तो भएको छ मलाई।कुन नाउ छोडेर अर्को नाउमा दुबै पाइला टेक्दा गन्तव्यमा पुगिएला त?एउटा नाउ छोडेर अर्को नाउमा जाँदा गलत नाउमा त जाँदै छुइन?कुन सही र कुन गलत?हे भगवान!सही मार्ग देखाउ मलाई।केही उपाय बताइदेउ।समस्याको समाधान गरिदेउ।"
मेरो मनलाई यस्तै अनगिन्ती कुराहरुले राज गर्न थालेका थिए।साँच्चिकै म दोबाटोमा उभिएकी थिएँ।म त्यो बिन्दुमा थिएँ जहाँबाट दुई अलग मार्गहरु छुट्टिन्थे।कुन मार्गतिर पाइला बढाउने हो-दोधारमा थिएँ म।
Sunday, 30 October 2016
३०
Subscribe to:
Comments (Atom)
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...