Saturday, 8 October 2016

आरोह अवरोह-२०

              मलेसियाबाट लाक्पा दाइको फोन आयो।जुन फोनले फेरि एकपटक मेरो जिन्दगीमा भुइँचालो ल्यायो।सुखद पलहरुलाई तहसनहस बनाइदियो।
"बहिनी!यतिखेर म अति भयंकर समस्याको भूमरीमा फसेको छु।छ बर्ष पहिले पहिलोपटक मलेसियाको भूमिमा पाइला टेक्दा कम्पनी राम्रै थियोे।तलब पनि ठिकै थियो।तर दुईसालपछि बिस्तारै कम्पनीको हालत खराब हुँदै गयो।पुरानो कम्पनी छोडें।अवैधानिक रुपमा अर्को कम्पनीमा कार्यरत भएँ।तीन साल जति त्यो कम्पनीमा काम गरेपश्चात अचानक दुर्भाग्यबश पुलिसले पक्डेर जेल चलान गर्यो।घर-परिवारबाट सम्पर्कविहीन बनायो।महिनादेखि अहिलेसम्म जेलमै छु।अहिले जेलबाटै नेपाल जाने छुट दिएको छ-मलेसियन सरकारले।तर टिकट काट्ने पैसा छैन।फसादमा परेको छु।पैसाको नाममा एक रिंगेट पनि छैन।टिकट काटेर आउन सकिएन भने यहाँको सरकारले थाइल्यान्डको जंगलमा लगेर फालिदिनेछ।खाना नपाएर अथवा जंगली जनावरको आक्रमणमा परेर मेरो जीवन त्यतै सकिन्छ होला।प्लीज बहिनी!जसरी भएपनि टिकट काट्ने पैसा पठाऊ।उद्दार गर।मेरो ज्यान बचाऊ।अकालमै मर्न चाहन्न।दया गर।मेरो जिन्दगी तिम्रै हातमा छ।तिमीसँग जिन्दगीको भिख माग्दैछु।यहाँ जेलमा पनि खानेकुरा समयमा खान पाईन्न।दुईतीन दिनमा अलि-अलि खान पाईन्छ।त्यो पनि धेरै जनाको बीचमा हारलुछ हुन्छ।तानातान/खोसाखोस हुन्छ।म नर्कमा फसेको छु बहिनी!यसको तुलनामा नेपाल त स्वर्ग नै हो।मलाई नर्कबाट निकालेर स्वर्गमा पुर्याइदेउ।दश औंला जोडेर लाख बिन्ती गर्छु।धेरै दिनदेखि भोकै छु।तिमीहरू त त्यहाँ सुखद जिन्दगी जिउँदै होला।मीठो-मीठो खानेकुरा खाएर संतुष्ट छौ होला।"
लाक्पा दाइको कुराले छाँगोबाट खसे झैं भएँ।अक्क न बक्क परेर स्तब्ध/मौन भएँ।दिमाग शून्य भयो।उहाँको कुरा पत्यार लागेन।कुनै काल्पनिक कथा जस्तो।
"मजाक नगर्नुस् न दाइ।मजाक गर्नेको पनि सिमा हुन्छ नि।ज्युँदै मार्ने बिचार छ कि क्या हो।अनि यतिका दिनसम्म कहाँ लापत्ता हुनुभएको?कहाँबाट यो चेलीको याद आयो?पूर्णरूपमा बिर्सनुभए होला भन्ने सोचेकी थिएँ।जे होस् फोन गर्नुभयो।खुशी लाग्यो।"
"कसम बहिनी!जे भन्दैछु,सत्य भन्दैछु।झूट बोल्नुपर्ने के आवश्यकता मलाई?जीवन-मरणको दोसाँधमा उभिएको छु।कतिखेर थाइल्यान्डको जंगलमा फालिने हो,कुनै ग्यारेन्टी छैन।दाइको माया लाग्छ भने बचाऊ।नत्र मैले त हिम्मत हारिसकें।"
"दाइ!मसंग पैसा छैन अहिले।धेरै बाधा-अड्चन र समस्याहरुसंग जुझ्दै आएकी छु।अस्ति भर्खरै बाबा बिरामी हुँदा धेरै दु:ख झेल्नुपर्यो।रकम पनि धेरै खर्च भयो।तेन्जी भाइलाई पनि खाडीबाट बल्लतल्ल निकालियो।मनोज पनि त्यस्तै दु:खमा छ।आम्दानी पनि एकदमै न्यून छ।यतिखेर म आफैं समस्या नै समस्याहरुको भूमरीमा फसेकी छु।भड्खारोमा पसेकी छु।केही गर्न सक्ने स्थितिमा छैन दाइ।लाचार छु।मद्दतविहीन छु।यतिका छ-छ बर्षसम्म मलेसियामा मोजमस्तीमा लागेर कमाएको पैसा उडाउनुभयो।सम्पर्कविहीन भएर हराउनुभयो।कहिले फिलिपिनी त कहिले ईन्डोनेसियन केटीसित भुलेर,जवानी साटेर आफ्नो बाबा-आमा,दिदीबहिनी,दाजुभाइ र आफन्त सबै भुल्नुभयो।मोजमस्तीलाई नै सदाबहार जिन्दगी ठान्नुभयो।अन्तिम बिन्दु मान्नुभयो।गन्तव्य भन्नुभयो।जब हामी गरिबी,अभाव र समस्याहरुको जाँतोमूनि पिसिंदै थियौं,त्यतिखेर कहाँ हुनुहुन्थ्यो तपाईं ?अनि कहाँ थियोे तपाईंको  माया?दिल र दिमाग?कति धेरै आशाहरु पालेर राखेकी थिएँ केही राहत पाइएला भनेर।त्यो मेरो महाभूल थियोे।अझ मलाई भन्दापनि आफूलाई जीवन दिने जननीलाई त सम्झनुपर्थ्यो।सहारा दिनुपर्थ्यो।बाबा-आमा ऋणको महासागरमा चुर्लुम्म डुबेर तैरिनसम्म सक्नुभएको छैन।समाजमा ठाडो शीर उठाएर हिंड्नसम्म सक्नुभएको छैन।सुखको सास फेर्न सक्नुभएको छैन।यतिका दिनसम्म जसलाई हेर्नुभयो,पैसा पठाउनुभयो,उहीसित माग्नुस् पैसा।उतै अपिल गर्नुस्।मबाट कुनै आश नराख्नु।केही हुने छैन।भाउजूलाई पठाइदिनु भन्नुस्।त्यहाँ खोज्नुस्,जहाँ सुनचाँदी/मोतीजस्ता गरगहना दिनुभयो।बाबा-आमालाई एक कौडी नदिएर जसलाई नयाँ-नयाँ कपडा दिनुभयो।"
"त्यसो नभन बहिनी!मैले सबैतिर खोजें।लाख बिन्ती गरें।तर कसैले पत्याएनन्।कसैले बुझेनन् मेरो वेदना/मर्म।स्वार्थी दुनियाँले अरुलाई आपत-बिपत पर्दा आँखा चिम्लेर बस्न बाहेक के नै गर्न सक्छ र?भाउजूले त झन तिमी को हौ? चिन्दिन सम्म भनी।जब मसंग पैसा थियो,सबैले चिने।तर अब मसंग सुक्को भएन,चिन्न छोडे।मलाई साथ दिने कोही भएनन् बहिनी!मेरो अन्तिम आशा तिमी हौ।मैले त तिमीलाई आफ्नी बहिनी भनेर मात्र अनुरोध गरेको हुँ।यदि तिमीले पनि पराई ठान्छ्यौ भने ठिकै छ।अरु केही भन्दिन।मेरो यो संसारमा कोही रहेनछ भनेर चित्त बुझाउँला।थाइल्यान्डको जंगलमा देह त्याग गरुँला।तिमीहरू सबैको जीवन सफल/सुखमय होस्।मेरो जिन्दगीको यात्रा यहींसम्म रहेछ।अलबिदा बहिनी!"
यति भन्दै डाँको छोडेर ग्वाँ-ग्वाँ रुनुभयो।फोन राख्नुभयो।दाइ मसित रोई-कराई बिन्ती गर्दै हुनुहुन्थ्यो।जिन्दगीको भिख माग्दै हुनुहुन्थ्यो।फोनमा वार्तालाप हुँदा जतिसुकै कठोर शब्दहरुको तीखो वचन-वाणले प्रहार गरेपनि दर्द/पीडा भने मलाई पनि हुँदै थियो।आखिर उहाँ मेरो रगतको नाता भएकोले नैतिकताको हिसाबले उहाँको मर्म बुझ्नैपर्थ्यो।त्यतिमात्र नभई मानवताको दृष्टिकोणले पनि उहाँको ज्यान बचाउनु थियो।उहाँको कुराले अत्यन्तै दु:खी,भावुक/मर्माहत बनायो।मेरा भोक-प्यास,निद्रा/चैन सब हरण भए।आफ्नो दाइ उता मलेसियामा भोकभोकै जीवन दाउमा राखेर मृत्यको विरुद्धमा लडिरहेको बेला मलाई यता मीठो गाँस छिर्ने कुरै भएन।नयनहरु मस्त सुत्न सक्ने कुरै भएन।मुखले पैसा नपठाउने कुरा गरेपनि मनले मानिरहेको थिएन।आफ्नो प्यारो दाइ पिंजडामा कैद भएर छट्पटिरहेको बेला म कसरी सन्तुष्टिको सास फेर्न सक्थें र?मसंग पनि पैसा नभएकोले यताउता दौडधुप गरेर आफन्त/इष्ट-मित्रहरुसंग खोज्न थालें।मर्म बुझेर सहयोगको हात बढाइदिने कोही भएनन्।कसैले पत्याएनन्- पच्चीस हजार रुपियाँ।
               "तिम्रो दाइ यतिका बर्ष मलेसियामा गायब भयो।मोजमस्तीमा भुलेर सुक्को पैसा पठाएन।खर्च टुटेर बहाना बनाएको होला।पठाएको पैसा खाँदै बस्छ होला।ऊ फर्किन्छ भनेर त विश्वासै लाग्दैन।उसको कुनै भर छैन।बेकारमा दु:ख गर्ने मात्र।केही फाइदा छैन।"
एकजना आफन्तले पैसा दिनुको साटो यस्तै वचनको तीरले हान्यो।
"ऊ मेरो दाइ हो।पैसा खाएर उतै बसे पनि कुनै गुनासो छैन।पैसा गए मेरो जान्छ।जहाँबाट जसरी भएपनि उहाँलाई पैसा पठाएरै छोड्छु।यदि मेरो सूक्ष्म यत्नले दाइले जीवनदान पाउनुहुन्छ भने मैले किन पछि हट्ने?"
-रिसले आगो हुँदै भनें।
                कतै पैसा पाउने छाँटकाँट नदेखेपछि निराश हुँदै कोठामा फर्कें।खाना पकाउन मनै लागेन।छोरीलाई चाउचाउ पकाएर ख्वाएर सुत्न लागेकी मात्र थिएँ।दाइको फोन आयो।
"बहिनी!पैसा पठाउने हो कि हैन?सोध्नलाई अन्तिमपल्ट फोन गर्दैछु।तिमी आफैं भन त बहिनी!बिदेशी भूमिमा ज्यान भस्म हुँदा मेरो के गति होला?मलाई मर्नदेखि एकरत्ति पनि डर लाग्दैन।एकदिन सबै त्यो मार्गमा हिंड्नैपर्छ।मरेपनि आफ्नै मातृभूमिमा मर्न पाए आत्माले पनि शान्ति पाउथ्यो कि!खाउँखाउँ/लाउँलाउँ जस्तो उमेरमा मरेको मान्छेको देह जलेर नष्ट भएपनि आत्मा त भड्किरहन्छ होला है बहिनी?यदि फर्केर आईन भने पनि सयौं जूनीसम्म हाम्रो नाता दाजु-बहिनीको नाता नै हुनेछ।मेरो बाचा भयो।कुनै हालतमा पैसा पठाउँदिन भन्छ्यौ भने अबदेखि सम्पर्कविहीन हुनेछु।मलाई खोज्ने चेष्टा नगर्नुहोला।चासो नलिनु होला।भाग्यले साथ दिए बाँचेर फर्कुंला।नत्र यो फोनवार्ता नै हाम्रो अन्तिम भेट भनेर सम्झिनु।कुनै तिहारमा मेरो लागि दुईथोपा आँशु नझार्नु।कतै मरेर बाकसमा मेरो लास आइपुग्यो भने आफूलाई भाग्यमानी सम्झनु है बहिनी!एउटा तारा आकाशबाट बिलायो भनेर सुनाइदिनु बाबा-आमालाई।उहाँहरुको लागि अर्को जूनीमा असल छोरा भएर जन्मिनेछु भनेर भन्नु।यो जूनीमा कसैको असल पति,कसैको असल दाइ र कसैको असल छोरा हुन सकिन।यो नालायक दाइलाई बिदा देउ बहिनी!"
"एकछिन फोन नराख्नु दाइ।केही भन्नुछ।तपाईं त्यहाँ ढुक्कसँग बस्नुभए हुन्छ।एकदुई दिनमै आफ्नो ज्यान धितो राखेर भएपनि पैसा पठाइदिन्छु।के म तपाईंकी बहिनी हैन र?तपाईंको लागि यति सानो काम गर्न नसकुँला र?मेरो ज्यानमा दुईथोपा रगत र एकमुठी सास रहुन्जेलसम्म हरेक अप्ठ्यारो परिस्थितिमा साथ पाउनुहुनेछ।हिम्मत नहार्नु दाइ!आफूलाई शक्तिशाली बनाउने प्रयत्न गर्नुस्।"
यति भनेर दाइलाई आश्वास्त तुल्याएँ।
                 अन्ततः लामा बाजेले पच्चीस हजार रुपियाँ दिएर ठूलो उपकार गर्नुभयो।ठूलो धर्म गर्नुभयो।समस्यामा मद्दत गर्ने यस्तो मान्छेलाई एउटा युगपुरुष/महापुरुष उपमा दिएर हृदयदेखि सल्युट गरें।दौडघुप गरेर पैसा त खोजें तर कतैबाट पनि मलेसियामा पैसा पठाउन मिलेन।कति धेरै बैंक/मनी एक्सचेन्जहरु धाएँ।तर प्रयासहरु बिफल भए।संसारको कुनै पनि कुनाबाट नेपाल सजिलैसँग पैसा आउँछ।तर नेपालबाट बिदेशमा पठाउन कि त बिदेशमा पढ्दै गरेको बिद्यार्थी हुनुपर्ने।नत्र पैसा पठाउनै नसकिने।सय ठाउँमा सोधखोज गरें।बल्लतल्ल काठमान्डु मलबाट हुन्डी मार्फत मुश्किलले पैसा पठाएँ।पैसा हालेको केही घण्टापश्चात दाइको फोन आयो।
"बहिनी!मैले पैसा पाएँ।टिकटको लागि बीसहजार रुपियाँ लाग्यो।आज त मैले पनि मज्जाले मासुभात खाएँ।धेरै दिनदेखिको भोक मेटियो।तृष्णा मेटियो।मैले पनि मर्न नपर्ने भो।बाँच्न पाइने भो।तिम्रै कारण सकुशल नेपाल आउँदैछु,भोलि दस बजेको उडानबाट।त्यहाँ तीन बजेतिर आइपुग्छु होला।लिन आऊ है एयरपोर्टमा।मसंग फाल्टो पैसा सुक्को छैन।दाजुबहिनी भोलि भेटेरै कुराकानी गरौंला।"
दाइले यति खुलेर कुरा गर्नुुुभयो।सायद उहाँको मनको चखेवा पखेटा फट्फटाउँदै नाच्दै थियो-नीलगगनमा।चहराइरहेको मनको घाउमा सुमेरु पर्वतको अमूल्य जडिबुटी लगाएझैं बडो शितलता अनुभूत गरें।त्यो रात भात भन्दा पनि खुशीको मातले टनक्कै अघाएँ।
                भोलिपल्ट दाइ आउने समय तीन बजे थियो।पौने तीनतिरै एयरपोर्टमा पुगेर उहाँको प्रतिक्षामा बसें।कालो अनुहार।दार्हीजुँगा/कपाल झ्याम्मै पालिएका।दुब्लाएर पातलिएको शरीर।आँखाहरु भित्रैसम्म गढिएका।यस्तै हुलिया भएको मान्छे हातमा सानो झोला लिएर फटाफट हाँस्दै मतिरै बढ्यो।मैले चिन्नै सकिन।किन हाँसेको होला त्यो मान्छे?मनमनै गाली गरें।नजिकै पुगेपछि बल्ल त्यो हुलियामा बेहाल भएको मान्छेलाई मुश्किलले ठम्याउन भ्याएँ।आफ्नै दाइ पो पर्नुभएछ।जे जस्तो भएपनि मृत्युको मुखबाट उम्केर आएको आफ्नो दाइसंग साक्षात्कार हुँदा खुशी नहुने कुन चेली होली?।ढोग गरें।हातको सानो झोला बोक्न मद्दत गरें।
"आम्मै!कस्तो हालत बनाइराख्नुभएको?आफ्नो शरीरको ख्याल गर्नुपर्दैन दाइ?"
-ख्याउटे ज्यानतिर नजर लाउँदै भनें।
"यो त के हो र?अझ यो भन्दा कुरुप ज्यान त तिमीले देख्नै पाएनौ।एकचोटि त झन्डै  चिप्लिएको नि।ल ल सबैकुरा कोठामै गएर गरौंला"
-हर्षित/प्रज्वलित मुहार लिएर भन्नुभयो।
                ट्याक्सी चढेर कोठामा गयौं।पुग्नेबित्तिकै दाइले सुखको सास फेर्नुभयो।खुशीको आँसु बगाउनुयो।मैले खाना बनाउन शुरु गरें।दाइले दु:ख-सुखका गफहरु निकाल्नुभयो।दाइको नजरमा म एउटी महान नारी थिएँ।एक जिम्मेवार अविभावक थिएँ।अनि एक जीवनदाता।
"बहिनी!तिमीले मेरो लागि जति योगदान दिएकी छ्यौ,त्यति त अरु कुनै पनि दिदीबहिनीले गर्न सक्दैनन्।तिमी जस्ती साहसी/बुद्धिमानी चेली पाएर म धन्य भएको छु।गैरवाम्बित भएको छु।तिमीलाई हृदयदेखिनै सल्युट गर्छु बहिनी।तिमी त मेरो लागि आमा समान भयौ।एउटी आमाले शिशुलाई जन्माएर जीवन प्रदान गर्छे।जन्म नदिएपनि तिमीले जीवनदान दियौ।बेलैमा यति नगरेको भए यतिखेर मेरो हालत के-कस्तो हुन्थ्यो?सोच्नसम्म सक्दिन।थाइल्यान्डको जंगलमा कुनै जंगली जनावरसित जीवन/मृत्युको लडाइँ लडिरहेको हुन्थें होला।या ईहालिला समाप्त भएर मेरो आत्मा मात्र नेपाली आकाशमा चल्मलाउँदै गरेको हुन्थ्यो।मलेसियामा गएर कुकुरले भन्दा बढ्ता दु:ख पाएँ।नेपालबाट गएको दुईसालमै कम्पनी घाटामा गयो।तलबले सिर्फ खाना/लाउन मात्र ठिक्क हुनथाल्यो।घर फर्किन हातमा यथेष्ट पैसा थिएन।त्यसपछि त्यहाँबाट भागेर अर्को कम्पनीमा काम गर्न थालें।शुरूवात त ठिकै थियो।एकसालपछि तलब दिनुको सट्टा पुलिस बोलाएर जिम्मा लाउन खोजे।त्यहाँबाट पनि भाग्न सफल भएँ।तर खान/पिउन/लाउन/बस्न साह्रै समस्या भयो।भाग्दै हिंड्ने क्रममा काकाकुल भएर पानीको अभावमा मर्ने स्थितिमा पुगें।कतै पानी भेटिएन।बाँच्नुनै त्यो बेला सबैभन्दा ठूलो चुनौतिको बिषय भयो।पानी खोज्दै हिंड्ने दौडानमा एक ठाउँमा ट्वाइलेटको सेफ्टी ट्याङ्की देखें।ढकन उघारेर हेरें।माथि-माथि चारैतिर दिशै-दिशा तैरिरहेको थियोे।दुवै हात हालेर माथिल्लो सतहमा भएको दिशालाई पर-पर सारें।घोप्टो परेर मुख जोतेर फोहोर पानी पिएँ।बल्लतल्ल सुकेको मुख रसायो।बाँच्ने आशा पलायो।त्यसपछि पुलिसको डर मनमा लिएरै अर्को कम्पनीका काम गर्न थालें।ठिक त्यसको दुई सालपछि दुर्भाग्यबश पुलिसले पक्डेर जेल चलान गर्यो।जिन्दगीको सारा खेल त्यहीं समाप्त भएझैं लाग्यो।मोबाइल खोसेर सम्पर्क गर्नै दिएनन्।खाना पनि दुई/तीन दिनपछि बल्ल एकछाक दिए।धन्न सरकारले आममाफी दिंदै बर्षौंदेखि अवैधानिकरुपमा कार्यरत/जेलमा फसेका सबै बिदेशी नागरिकहरुलाई स्वदेशमा फर्किने मौका दिए।त्यहीं मौकामा चौका हान्दै तिम्रो अतुलनीय मद्दत/योगदानले आज यहाँसम्म आइपुग्न सफल भएको छु।पैसा नपठाएको भए यो संसारबाट बिदा भैसकेको हुन्थें।या त बिदा हुने तरखरमा हुन्थें।जीवन/मृत्युको लडाइँमा आज जीवनले जितेर फर्केको छ।कालको मुखैबाट उम्केर आएको छु।कौरवमाथि पान्डवले,रावणमाथि रामले हासिल गरेको भन्दा महान विजय मैले हासिल गरेको छु।यस रामायणको लडाइँमा तिमीले हनुमान भन्दापनि ठूलो भूमिका निभाएकी छ्यौ।यो महाभारतको लडाइँमा कृष्णले भन्दा ठूलो भूमिका निभाएकी छयौ।बरु मेरी श्रीमतीले सिङ्का सम्म भाँचिनन्।केही मद्दत गर्नै चाहिनन्।उल्टै चिन्दिन भनेर टारिदिई।कोही नारी कति महान!तिमी जस्ती।कोही नारी कति कठोर!मेरी श्रीमती जस्ती।हो मैले मलेसियामा बाटो बिराएँ होला।धेरै-थोरै मोजमस्ती/आरामको लागि पैसा उडाएँ हुँला।त्यो मेरो गल्ती थियोे।गल्तीको सजाय पाइसकेको छु।तर मैले उनलाई पनि उत्तिकै पैसा पठाएको थिएँ।यतिसम्म कि छोराको हात भाँच्यो,हड्डी भाँच्यो भनेर झूट बोलेर पैसाको माग गर्दा समेत आँखा चिम्लेर विश्वास गरें।पैसा पठाइदिएँ।दुईचार महिना जेल परेर सम्पर्क गर्न,पैसा पठाउन असमर्थ भएँ।उनले मलाई नचिन्ने भई।यतिसम्म नीच/स्वार्थी स्वास्नीमान्छे अरु कसैलाई देखेको थिईन।"
यति भनेपछि लाक्पा दाइ बोल्न छोडेर मस्त निंदाउन थाल्नुभयो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...