Friday, 21 October 2016

आरोह अवरोह-२५

         मनोजले कतै फुर्क्यायो।कतै बढाइँचढाइँ गर्यो।कसरी हुन्छ,खुशी बनाउने भरपूर प्रयत्न गर्यो।त्यहीँ शिलशिलामा ऊ भावुक र साहित्यिक बन्यो।

दु:खको बेला,दिएर साथ,समीप आएर
बनाई ऋणी,पुर्यायौ माथि,पिरती लाएर
यो धराभित्र,कम्तीनै होला,जसरी छौ तिमी
साहसी नारी,भएको देख्दा,महान हौ तिमी।

             कवितांश सुनेर अलिअलि रमाइलो,अलिकति धक र अलिकति माया एकमुष्ट लाग्यो।
"मनोज!यो चाहिँ अलि बढ्ता भयो है।मैले त्यस्तो के नै गरेकी छु र?यसरी मेरो वर्णन गर्दैछौ।पारिवारिक रुपमा केही महत्वपूर्ण भूमिका निभाएकी हुँला।तर तिम्रो वर्णन त अन्तरास्ट्रिय नै भयो नि।"
"हैन ओमु।तिमीले आफ्नो स्थानबाट  गरेकी छ्यौ,त्यति त सायदै कमैले गर्न सक्लान्।मेरो मनले जे भन्यो,त्यही सुनाइदिएँ।"
"पर हेर त मनोज!कस्तो अनौंठो जोडी छ।"
अन्दाजी ३५/३६ बर्षकी आईमाईको काखमा २२/२३ बर्षे लक्का जवान सुतिरहेको दृश्यतिर संकेत गर्दै व्यंग्यात्मक शैलीमा भनें।
केहीबेर त्यही जोडीको चर्तिकला अवलोकन गर्यौं।वार्तालाप सुन्ने यत्न पनि गर्यौं।उनीहरु नेपाली भाषामै बोल्दै थिए।करीब १५ मिटरको दूरी भएकोले स्पष्ट वाक्य सुनिएन।कहिलेकाही उत्साहित भएर बोल्दा केही शब्दहरु भने प्रष्टै सुन्यौं।आईमाई पुरुष भन्दा १४/१५ बर्षैले जेठी थिइन्।उनीहरू बीचको नाता/सम्बन्धको बारेमा उत्सुकता जाग्यो।
"बिचरा!आमा-छोरा या दिदी-भाइ होलान्।बेकारमा किन चासो लिन्छ्यौ?"
मनोजले रिसाएर हकार्यो।
"चर्तिकला देख्दा चाहिँ त्यस्तो लागेन है।उनीहरूको कृयाकलाप हेर त।श्रीमान-श्रीमती जस्तै टाँसिएर बसेका।"
स्पष्टीकरण सहित प्रमाण पेश गरें।त्यतिकैमा आईमाईको फोन-घण्टी बज्यो।उनले केटालाई चुप लाग्ने संकेत गर्दै फोन उठाई।
"हेल्लो बुडा!मेरो राजा!मेरो स्वामी!के छ हजुरको खबर?हजुरकै पीर/चिन्ताले म हायल-कायल भएकी छु।नानी/बाबुहरुलाई कस्तो छ?साह्रै याद आको छ।मैले सोधेकी छु भन्दिनु है।अहिले काममा जानको लागि तयार हुँदैछु।छुट्टी पनि कहिल्यै हुन्न।तर ठिकै छ,हजुरकै माया र कृपाले बाँचेकी छु।नरुनुस् न मेरो हजुर!मेरो ज्यान!मुआ,मुआ,मुआ•••!हजार चुम्मा हजुरलाई।हजुरले पनि गरिस्यो न।ल ल मलाई हतार भैसक्यो काममा जान।पछि फोन गर्छु।अँ,अँ,गर्छु के कसम!मेरो विश्वास लाग्दैन हजुरलाई?"

              फोनमा कुरा सकिए लगत्तै केटाको अँगालोमा गएर बेरी।उनको गतिविधिले झन मनमा कौतुहलता थप्यो।उनीहरूबीचको सम्बन्ध केही स्पष्ट भयो।अझ पूर्णरुपमा जानकार हुन व्यग्र भएँ।खुब चासो दिएर नियाल्यौं।केटा रिसाए झैं गरी उनीबाट जबर्जस्ती फुत्किन खोज्यो।उनले केटाको दुवै हातमा समाएर भनिन्।
"माफ गर न प्यारा!फोनमा बोलेको सबै नाटक हो नि।साँच्चिकै पत्याएको तिमीले?त्यो नाथे बूढो मेरो राजा कसरी हुनसक्छ?केही गर्ने दम छैन।जाबो ५० बर्षे बूढो।हिजडा भन्दा फरक पर्दैन।म त्यतिकै बिदेश आएकी हुँ र?त्यस्तो नामर्दसित के बस्नु?मर्द त तिमी जस्तो हुनुपर्छ।मलाई सधैं खुशी बनाउन सक्ने।माया त म तिमीलाई नै गर्छु नि।"
वरिपरि हेर्दै नहेरी केटाको हातमा चुमिरहिन्।करीब १०० पल्ट जति।बिस्तारै केटाको मन पनि पग्ल्यो।आईमाईको कपालमा सुम्सुम्याउन थाल्यो।तैपनि केटाले रुखो बोल्न छोडेको थिएन।
"तिम्रै बुडालाई माया गर न।मलाई चाहिएन तिम्रो झूटो माया।मैले त तिमीलाई आफू भन्दा पनि बढ्ता माया गरेको छु।छोडिदेउ त्यस्ता मिति गुज्रेको बुढालाई।मैले जतिको माया उसले गर्नसक्छ?"
केटा रिसले मुर्मुरिँदै थियो।
"त्यस्तो मुला केश फुलिसकेको,मक्किसकेको बुढालाई कहाँ माया गर्छु र?छोराछोरीको माया लागेर मात्र हो।नत्र उहिल्यै छोडेर जान्थें।बाध्यताले पैसा पठाउनुपरेको छ।फोन गर्नुपरेको छ।"
उनीहरुको मुद्दा  पूर्णरुपमा मिले झैं लाग्यो।लामो छलफल र वार्ता पश्चात् दुवै पक्ष बीच सहमति भए जस्तो देखियो।दुबैजना अँगालोमा कस्सिएर चुम्मा-चाटी गर्न थाले।

"थुईया!नकाचरा-नकाचरी हो!जाऔं मनोज!यस्तो दृश्य हेरेर म एकछिन पनि बस्न सक्तिन।हामी पर पानीको छेउमा जाऔं।उनीहरूको चर्तिकला र नाटक देखेर रिसको सीमा नाघिसक्यो।"
मनोजको हात समाएर पानी भएको ठाउँमा लगें।शुक्रबारको दिन।छुट्टीको दिन।त्यहाँ झन धेरै मानिसहरुको भीड थियो।नेपाली जोडीको चर्तिकला देख्न नसकेर हामी त्यता गएका थियौं।तर त्यहाँ त झन कामूक/अश्लील/रोमाञ्चक सयौं जोडीहरु देखिए।भर्खरकी केटी बुढोसित।गोरी केटी काले अफ्रिकनसित।नेपाली केटीहरु बिदेशी केटासित।नेपाली केटाहरु फिलिपिनी केटीहरुसित।जोडी बाँधिएर प्रेम प्रदर्शन गरिरहेका थिए।कोही-कोहीले त अपाच्य हर्कत समेत गरिरहेका थिए।त्यो दृश्य हेर्दा यस्तो लाग्थ्यो,मानौं,विश्वका सबै प्रेमी-प्रेमिकाहरु प्रेम प्रदर्शन गर्न त्यहाँ उपस्थित भएका हुन्।पहिलोपटक देखेको नेपाली जोडी त ट्रेलर मात्र थियो।असली/पूर्ण फिल्म त त्यहाँ देख्न पायौं।भागेर जाने कुनै ठाउँ पाएनौं।जताततै जोडीहरुले छाएका।प्रेमी/प्रेमिकाको बहानामा विकृति/विसंगति फैलिएको पाएँ।

                हामी बाध्यताबश मौनरुपमा आँखा चिम्लेर बस्न विवश थियौं।त्यो भन्दा जाने अरु ठाउँ पनि त थिएन।सबै ठाउँ अश्लील हर्कतहरुबाट अछूतो थिएनन्।सबैभन्दा अचम्मलाग्दो कुरा।परस्त्री र परपुरुषहरू अर्थात अर्काका श्रीमान्-श्रीमतिहरु क्षणिकरुपमा मोजमस्ती गर्न उद्दत हुँदारहेछन्।आफ्नो घर-परिवारलाई चटक्कै बिर्सेर जिम्मेवारी र कर्तव्यबाट बिमुख हुँदारहेछन्।धोका दिँदारहेछन् आफ्ना श्रीमान्/श्रीमतीलाई।काठमाडौं बसाईंको क्रममा मैले एकोहोरो कहानी मात्र देखेकी/सुनेकी थिएँ।ती कहानीमा श्रीमान् बिदेशिएको बखत श्रीमती अर्कै पुरुषसँग सल्किन्थे।टाप कस्थे।बालबच्चा/श्रीमान बेहाल हुन्थे।प्रमुख खलपात्र नारी हुन्थिन्।दोष पनि उनैको हुन्थ्यो।तर बरदुबईमा पुगेर दोहोरो कहानी देखें।नारी-पुरुषहरूको रामकहानी थाहा पाएँ।परदेशको कहानीमा ट्वीस्ट आएको देखें।नेपालमा बैदेशिक रोजगारको कारणले जति सम्बन्ध-बिच्छेद हुन्छन्,ती घटनाहरुमा नारी-पुरुष दुवै उत्तिकै जिम्मेवार हुनेरहेछन्।फरक यति मात्र होकि कुनै घटनामा पुरुष बढी र कुनैमा नारी बढी दोषी हुन्छन्।

              दिनहरु प्रायः एकनाश र सामान्य तवरले बितिरहे।गर्मी सकेर जाडो मौसमको आगमन हुँदै थियोे।बिहे गर्नु अगावै देखि मलाई टन्सिलले सताउँदै आएको थियो।मौसम परिवर्तन हुँदा सताउनु सताउँथ्यो।त्यो दिनपनि टन्सिल बल्झिएर सिकिस्त बिरामी भएँ।
"मनोज!टन्सिलले गर्दा घाँटी अति दुखेको छ।थुक निल्नसम्म भएको छैन।हनहनी ज्वरो आएको छ।शरीर दुखेर छुनसम्म भएको छैन।"
"दुईचार दिन बिदा लिएर बस न ओमु।धेरै  चिसो/तातो खानेकुरा नखाऊ।सामान्य तापक्रमको खाना खाऊ।अस्पतालमा गएर जँचाऊ।औषधि सेवन गर।आराम गर।सब ठिक हुन्छ।सँगै भए पो मैले हेरचाह गर्नु!यति भन्नु सिवाय केही सहयोग गर्न सक्दिन।लाचार छु।"
"बिदा लिएर बस्दा घाटा पर्छ नि मनोज।काममा गएपछि अलि-अलि टिप्स पनि पाईन्छ।छुट्टी लिएर के गर्नु?म काममै जान्छु।अशक्त भए फर्किनेछु।"
"तिमीलाई आफ्नो ज्यान भन्दा पैसा प्यारो भयो हैन?ज्यान भए जाबो पैसा फेरी-फेरी कमाउन सकिन्छ।पहिलो प्राथमिकता आफ्नो ज्यान।दोश्रोमा पैसा।खुरुक्क आराम गरेर बस्ने।बुझ्यौ हैन?"
"ल ल हेरौंला।नसके जान्न।"

              भोलिपल्ट उठ्नेबेला शरीर उस्तै ग्रहुँगो,थकित र दुखाइ भएपनि जबर्जस्ती काममा गएँ।चिल्लो,अमिलो,पिरो र सामान्य चिसो खानेकुरा समेत खान नहुने अवस्थामा पुगिसकेको थियो मेरो टन्सिल।लगातार दुई-तीन दिनसम्म सहेरै काम गरें।ब्रुफिन खाएर केही समयको लागि दर्दबाट छुटकरा पाउथें।असर सकिएपछि फेरी उस्तै दुखाई।मेरो टन्सिल समय-समयमा बल्झिरह्यो।दुखिरह्यो।पीडा खप्दै गएँ।अस्पतालमा धेरैपटक जचाएँ।तर पूर्णरुपमा भने कहिल्यै निको भएन।आँशुमा पौडिएरै काम गरें। डेढसाल पछि बार्षिक बिदा मनाउन नेपाल गयौं।आफन्तहरुले बोलाए।खुशीका पलहरु साटासाट गर्यौं।आफन्तहरुले खाना ख्वाएपनि धेरै दु:ख दिएँ।

                गाउँमा सानीमाको घरमा गयौं।३/४ बर्षदेखि पालेर राखिएको भाले काटे।
"ल ओमु,मनोज र नातिनी!हात धोउ।अब खाना खानुपर्छ।"-सानीमाले खाना तयार भैसकेको संकेत दिनुभयो।
"सानीमा!हात त धोइसकें।तर हात भन्दा पनि मासु चाहिँ जरुर धुन्छु।चिल्लो/पिरो खाँदा टन्सिल बल्झिहाल्छ।त्यसैले गाह्रो नमान्नु होला।मेरो चाहिँ धोएरै खान्छु है।"
अप्ठ्यारो मान्दै भनें मैले।
"ए,मर-मसला सबै धोएर पनि के मासु खानु!अघि नै भनेको भए अलि कम-कम तेल/खुर्सानी हालेर बनाइन्थ्यो नि।"
"के गर्नु सानीमा!शरीरले साथ नदिएपछि कसको के लाग्छ र?"
यति भन्दाभन्दै पाकिसकेको मासु पखालें।

            गाउँघर घुमेर आफन्त/ईष्टमित्रसँग भेटघाट गरी काठमाडौं फर्कियो।छुट्टी सकिन लागिसकेको थियोे।फेरी स्वदेश र घर-परिवारलाई चटक्कै छोडेर बिरानो परदेशमा जानेबेला भैसकेको थियोे।छातीभित्र पीर-चिन्ताले जुलुस निकाल्न थाले।आँखा वरिपरि नैराश्यताको कालो मेघ मडारिन लागिसकेको थियो।सुकिसकेको घाउ फेरि बल्झँदै थियोे।त्यो घाउमा नुनचुक छर्किए झैं भत्भती पोल्यो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...