Saturday, 1 October 2016

आरोह अवरोह-१७

              आधा लिटर तेलले दुई महिना चानचुन पुग्थ्यो।एकछाक बराबर एकथोपा पर्थ्यो होला।आफन्तहरु धेरै भएकाले कसै-कसैले खाना खान बोलाए हुन्थ्यो भन्ने आशाको टुसो पलाउँथ्यो।कहिलेकाही बोलाएर ख्वाउँथे पनि।पराईकोमा त भोकै मरेपनि जान्नथें।कोही आफन्तबाट भने एकमुठ्ठी चामल पनि लिएर आएँ।प्रायःहाम्रो कोठामा जाउलो पाक्थ्यो।छोरी सानै भएकोले खाना रोजेर माग्ने क्षमता थिएन।जे दिए पनि सन्तोष मानेरै खान्थी।कोठामा कहिल्यै मासुभात पाकेन।मासुभात खानलाई शनिबारै पर्खिनुपर्थ्यो।दिदीकोमा हरेक शनिबार मासुभात खान बोलाउनुहुन्थ्यो।त्यसैले शनिबार हाम्रो लागि दशैं सरह थियो। गरिबी,अभाव र समस्याले मलाई नाजुकावस्थासम्म पुर्यायो।कुनै बखत पैसाको नाममा जम्मा पाँच रुपियाँ मात्र थियो।एकजना आफन्तसंग केही रकम सापटी लिने भनेर गएँ।
"दिदी!मलाई पैसाको एकदमै जरुरी छ।रक्सी पारेर बेचेपछि फिर्ता गर्छु।मलाई एकसय रुपियाँ सापटी दिनुस् न।"
"कहाँ हुनु मसंग पैसा?सुक्को पैसा छैन।सबै होटलको सामान किन्दा खर्च भयो।भए दिईहाल्थें नि।"
अनुहारमा हेर्दै नहेरी बेवास्ता गर्दै बाहिरतिर नजर डुलाउँदै भनिन्।
"होला नि दिदी।यत्रो व्यापार गर्नेसंग जाबो एकसय नहोला र?"
"भएको भए त तिमीले भन्नै पर्दैन।यत्तिकै पनि दिन्थें।अहँ,मसंग एकरुपियाँ पनि छैन बहिनी।"
फरक्क फर्केर आफ्नो कोठामा गएँ।आफ्नो अवस्थाको बारेमा सोच्दै धर्धरी रोएँ।सानी छोरी मेरो अनुहारमा टुलुटुलु हेरिरहेकी थिईन्।अलिअलि मात्र उभिएर हिंड्न सक्ने नानी नजिक आएर "न,न,न,न" भन्दै कलिलो हातले आँशु पुछिदिइन्।झन पीडा बढेर असह्य हुन थाल्यो।मुटुमा धारिलो करौतीले रेटिए झैं गरी दुख्न थाल्यो।नानीलाई च्याप्प अँगालोमा कस्दै भावविह्वल भएँ।
                  घरपेटी साहुनी साह्रै कचकचे भएकोले कोठा सरेर कपनको फैकामा गयौं।घरपेटी दोलखाकै शेर्पा भएकोले भरपूर साथ/सहयोग पाएँ।छोरीलाई औधी माया गर्नुहुन्थ्यो।कहिलेकाही दिशा-पिसाब समेत सोहोर्नुहुन्थ्यो।
                जोरपाटीको यातायात संघमा मासिक पच्चीस सयको जागीर पाएँ।तर दुईमहिना पश्चात् कर्मचारी नचाहिने भनेर निकालिदिए।यताउता कामको खोजीमा धेरै भौतारिएपछि चाबहिलको एउटा कस्मेटिक पसलमा काम पाएँ।एउटै घरमा भाडामा बस्ने छिमेकी दिदीलाई बच्चाको रेखदेखको गहन जिम्मेवारी सुम्पेर काममा जान थालें।तर दुईमहिना पश्चात् टुकु-टुकु हिंड्न सक्ने बच्चा दौडनु पर्नेमा झन बामे पो सर्न थाल्यो।बच्चाको जिन्दगी भन्दा ठूलो पैसा हुनै नसक्ने ठहर गर्दै काम छोडेर छोरीको पालनपोषणमा ध्यान दिन थालें।
             मनोजलाई घरपेटीको फोन नम्बर दिएँ।दुई-तीन महिनामा एकचोटि फोन आउँथ्यो।काम विशेषको कुरा बाहेक दु:ख-सुखका कुराहरु ढुक्कसँग गर्ने अवस्था थिएन।उसको तलब कम।त्यही माथि फोनको शुल्क महँगो।उसको कथा-व्यथा राम्रैसंग बुझ्दथें।फोन एकदमै न्यून आएको कारण देखाउँदै घरपेटीले अनेक शंका/उपशंका गर्नुभयो।
"ए ओमु!तिम्रो बुडाले फोन त औंशी-पूर्णेमा मात्र गर्छ त।तिमी उसकी कान्छी श्रीमती हो कि क्या हो?उसकी जेठी श्रीमतीलाई बढी माया गर्छ होला।अनि यता कम गर्ने होला।"
एकदिन घरपेटी आन्टीले भन्नुभयो।
"हैन आन्टी कहाँ हुनु?जेठी-कान्छी जे भनेपनि मै हुँ।बिचरा उसको तलब थोरै भएर हो।नत्र गर्थ्यो होला नि।"
उहाँलाई विश्वास दिलाउने हेतुले भनें।
"तलब जत्तिनै कम भएपनि आफ्नो परिवारको माया कसलाई लाग्दैन र?दुईतीन महिनामा त पराईले पनि फोन गर्छन् त।पक्कै अर्की होली।होस गर है नानी!जमाना ठिक छैन नि।बिदेशमा त जति पनि केटीहरु पाईन्छ रे त।अर्कैसंग लाग्न के बेर?"मेेेेरो सम्झाउने काम हो। बाँकी तिम्रो मर्जी।"
"हैन आन्टी।साउदी जस्तो ठाउँमा केटी बनाउन त के मुख हेर्न सम्म पाउँदैनन् रे।आइमाइहरुले मुख छोपेर हिंड्छन् रे।"
मनोजको व्यथा बिचरा घरपेटीलाई के थाहा?मलाई त पूरा थाहा थिएन।
                काठमाडौं जस्तो महँगीले आकाश चुमेको शहरमा मनोजले तीनचार महिनामा एकचोटि पठाएको १०/१२ हजार पैसाले घर-व्यवहार धान्न धौधौ हुनथाल्यो।जाँड/रक्सी बनाएर होटल-होटलमा पुर्याउन थालें।नहुने बेला नभएको मान्छेलाई कतैबाट पनि फलिफाप नहुने रहेछ।कमजोर मान्छेलाई दैवले पनि ठग्ने रहेछन्।दबाउने रहेछन्।एकैचोटि ७० किलोको जाँड पकाएँ।सबै सुहा!त्यत्रो जाँड बिग्रेपछि सपनाको जहाजै डुबे जस्तो भयो।राम्रो जस्तो लागेको एकड्रम जाँडसंगै पछाडि बच्चा बोकेर जोरपाटीको आफन्तकोमा पुर्याएँ।
"आन्टी!मैले एकड्रम ल्याएकी छु,राख्नुस् न।बरु पैसा अलि ढिलो दिनुभए पनि हुन्छ।"
होटलकी साहुनीले चाखेर मुख बिगार्न थालिन्।
"लौ नानी!तिम्रो जाँड त खत्तमै रहेछ।लास्टै अमिलो छ।कसरी खानु?मैले खाने हैन।ग्राहकले खाने हुन्।यस्तो जाँडले त नियमित ग्राहक पनि भड्किन्छन्।मीठो खालको भए राख्छु।तर अहिले भने राख्न सक्तिन।"
साहुनीको अस्वीकृतिले मेरो आशाको कृष्णभीरबाट भयंकर पहिरो गयो।मेरो अन्यौल भविष्यमाथि झन औंशीको अन्धकारले प्रहार गर्यो।निराश हुँदै जसरी गएकी थिएँ,त्यसैगरी बाटो तताएँ।गलेको कमजोर शारीरिक अवस्थामाथि पनि कष्ट र मानसिक तनावले गर्दा रिंगटा चलेर झन्डै पछारिएँ।तैपनि झिनो आशाको मसिनो त्यान्द्रो भने अझै छँदै थियो।कतै त्यो जाँडबाट रक्सी बनाउन सकिन्छ कि।लामो दूरी मुश्किलले पार गरेर कोठामा आई रक्सी बनाएँ।तर रक्सी र पानी कुनै दृष्टिकोणले भिन्न थिएन।लौ बर्बाद!
               होटल व्यवसायी दाइसंग संगत बढाएँ।
"निमा दाइ!मेरो रक्सी लिइदिनु पर्यो।कसैले लिन मानेनन्।मीठो रक्सी ल्याइदिन्छु।पानी नमिसाएको सक्कली।"
"कहाँ हुन्छ ओमु?तिम्रै दिदीले पनि यहीँ ल्याउँदैछे।एक्कासी लिन्न भनेर कसरी भन्ने?"
"त्यसो भनेर कहाँ हुन्छ दाइ?दाइ भैसकेपछि बहिनीको पीर,मर्का र समस्या बुझ्नुपर्दैन?रक्सी लिइदिनु।नत्र म त बच्चा सहित तपाईंको घरमा आएर बस्छु।अनि तपाईंले पाल्नुपर्छ।के गरुँ भन्नुस्?रक्सी ल्याउँ कि मान्छे आउँ ?"
अर्कोदिन निमा दाइकोमा रक्सी पुर्याउने दिदीलाई बाटोमा भेटेर बोल्न गएँ।
"ए दिदी!कता पुगेर हो?दाइको होटलबाट आउँदै हो?"
तर दिदीले नदेखेझैं,नसुनेझैं गरी सुइँकासुइँ जानुभयो।किन भाउ खाएकी होली?अचम्मित हुँदै दाइको होटलमा पुगें।
"दाइ!किन होला त्यो दिदी मसित रिसाएर नबोली जानुभयो त?"
"रक्सी लिएन भनेर होला नि।"
"ए,किन?तपाईंले के भन्नुभो र?"
"मलाई ओमुले कराई,भोलिदेखि रक्सी नल्याउ भन्दिएँ।"
"हैट दाइ!किन सिधै भन्नुभएको त?घुमाउरो पाराले भन्नुपर्ने नि।त्यही भएर होला मसित नबोलेकी।भकुण्डो फुलेझैं फुलेकी छे।"
                भोलिपल्टदेखि ती दिदीले रक्सी ल्याउन छाडिन्।दुईदुई,तीनतीन दिनमा नियमित रुपमा दाइको होटलमा रक्सी पुर्याउन थालें।पाँचलिटर रक्सीमा अर्को पाँचलिटर पानी मिसाएर दस लिटर बनाएर लैजान्थें।बाध्यता/मर्म बुझी दाइले जे जस्तो/जति भएपनि लिनुभयो।
"ओमु!नढाँटी भन त।रक्सीमा कति लिटर पानी मिसायौ?"
खिस्स हाँस्दै दाइले सोध्नुभयो।
"शुद्ध अमृतको जल हो दाइ।मिसावटको त चिन्तै लिनुपर्दैन।"
उस्तै मुस्कुराउँदै ठट्यौली पारामा जवाफ फर्काएँ।
बिचरा दाइले आफ्नो कडा रक्सीसंग मेरो मलिन रक्सी मिसाएर बेच्नुहुन्थ्यो।
"बहिनी!तिम्रो रक्सी मात्र बेच्ने भए त भोलिदेखि कसैले पाइला टेक्ने छैनन् यहाँ।बरु सकेसम्म तीनपाने ल्याउ।त्यही अनुसारको पैसा दिउँला।"
"हवस् दाइ,भैहाल्छ नि।"
भन्नको लागि हवस् भनेपनि मेरो व्यवहारमा कुनै परिवर्तन आएन।थोरै रक्सीमा आँखा नलाग्ने।धेरै बनायो उस्तै खल्लो हुने।
                हो,मैले रक्सी बनाएँ।दुनियाँको व्यवहारमा नकारात्मक परिवर्तन ल्याउने नशालु पद्दार्थ बनाएँ।जहर बनाएँ।जे जति बनाएँ,मज्बुरीले बनाएँ।मैले नबनाएर के भो त?अरु कसैले बनाउँथे।खाने मुखलाई जुँगाले छेक्ने वालामा थिएन।
               फर्निचर पसलबाट काठ/भुस किनेर बोरामा हाली नाम्लो लाएर सडकको कुनै-कुना लुखुर-लुखुर बोकेर कोठामा पुर्याउँथें।एउटी आईमाई।भरिया जस्तै।नयाँ पोशाकमा ठाँटिएर हिंड्दै गरेका ठिटा-ठिटीहरु एकनासले ममाथि नजर लाउँथे।सायद उनीहरुको नजरमा म एउटी "बिचरी" पात्र थिएँ।कोठा नजिकै खाली जग्गामा चुल्हो बनाएर रक्सी पार्थें।दाइको होटलमा रक्सी पुर्याउन थालेपछि नमीठो भनेर कहिल्यै फिर्ता ल्याउनु परेन।वास्तवमा आफ्नो मान्छे आफ्नै हुने रहेछन्।बल्ल त्यो दिन चाल पाएँ।रक्सी लिएर दाइले ठूलो गुण लाउनुभयो।त्यसपछि भने खासै आर्थिक समस्या भोग्नु परेन।तर मनोज बिदेश जाँदा लिएको ऋण अझै तिरी सकिएको थिएन।कमजोर आर्थिक अवस्थाको बाबजुद पनि छोरीलाई एउटा ठिकैको बोर्डिङ स्कुलमा भर्ना गरिदिएँ।छोरी पनि सानैदेखि यति लछिनकी थिईन्।स्कुलमा पुर्याएको पहिलो दिन नै नरोइकन बसिन्।केही दिनमै पढाईमा अनापेक्षित प्रगति गर्न थालिन्।सानैदेखि समझदार थिईन्।मैले जे भन्थें,त्यही मान्थिन्।कहिलेकाही काम बिशेषले बाहिर गएपनि कोठा छोडेर कतै पनि जाँदैनथी।एकदिन कोही आफन्त मलाई भेट्न कोठामा आएको रहेछ।पछि कुनै दिन उसले सुनाउँदै थियो।
"के हो तिम्रो छोरी त अचम्मैको रहिछे त!मसंग हिंड।मीठो खानेकुरा,राम्रो नाना र दामी-दामी गुडिया किन्दिन्छु भनेको।मलाई मम्मीले कतै नजाउ भन्नुभएको छ।नाइँ म कतै पनि जान्न।मेरो मम्मी नआएसम्म यही बस्छु रे!छक्कै परें।"
          काँधमा रक्सी।साथमा सानो बच्चा।सामान्य कुर्ता-सुरुवाल।सडकमा हिंडिरहेको बेला कोही चिनजानका/आफन्तहरु भेटिन्थे।कोही एकदुई शब्द बोलेर तर्किन्थे।कोही नदेखेझैं गरी परैबाट बाटो मोडेर हिंड्थे।सायद उनीहरुलाई म जस्तो पाखे/गरिब/असभ्यसंग लाज/शरम/धक लाग्थ्यो होला।उनीहरुको व्यवहारबाट कहिले दुखित भएँ।कहिले रिसले पारो तात्यो।तर जसले जे सोचेपनि,जस्तोसुकै व्यवहार देखाएपनि बिचलित भईन।आफ्नो चार हात/गोडा खियाएर मिहिनेत गरेर खानुमा कहिल्यै लाज/अप्ठ्यारो लागेन।मेरो लागि कुनै पनि काम सानो-ठूलो थिएन।जुन कामले मलाई हात-मुख जोर्न मद्दत गर्यो।जाँड/रक्सी बनाएँ,तर आफ्नो चरित्र/ईज्जतमा कालो धब्बा लाग्ने त्यस्तो कुनै कुकर्म गरिन।म त्यसैमा गर्व गर्छु।
               स्कूल छिट्टै छुट्टी हुने भएकोले रक्सीको साथमा नानीलाई पनि लिएर दाइको होटलमा जान्थें।म:म:/चाउमिन/थुक्पा/सुकुटी बनाउन सघाउँथें।रातको खाना उतै खाएर आउँथ्यौं।आफू खाने काम नानीले पनि गर्थी।कुचो लिएर टेबुलमुनि सर्लक्कै बढार्थी।ग्राहकलाई चाहिने पिउने पानी १५/२० बोतलमा भरेर भित्र पुर्याउँथी।उनलाई काम गर्नुपर्ने आवश्यकता थिएन।कसैले गर्न लाएको पनि थिएन।आफ्नै खुशीले काम गर्थी।नानीको जाँगर देखेर सबै अचम्म मान्थे।
            "टिङ ट्वाङ!टिङ ट्वाङ,टिङ ट्वाङ"
ढोका बाहिरबाट आवाज निकाल्ने गर्थी छोरी।
"खचक्क" भनेर मुखले आवाज निकाल्दै ढोका खोलिदिनु पर्थ्यो।
एकदिन त ब्यस्त भएकोले उनको "टिङ ट्वाङ"आवाज सुनिन।बाहिर जोड-जोडले चिच्याएर रुन लागी।
"किन के भयो नानी?किन रोएकी?"
अचम्मित हुँदै सोधेँ।
"मैले सयपल्ट जति टिङ ट्वाङ भन्दा पनि खचक्क भन्नुभएन मम्मीले।अनि रोएकी।"
"ल ल नानी,तिमी फेरि टिङ ट्वाङ भन।म खचक्क भन्छु।"
 फकाउँदै भनें।
त्यसपछि केही बेरसम्म आमा-छोरीको खेल चल्यो।हाम्रो दोहोरी देखेर आफन्त/ग्राहकहरु पेट मिची-मिची हाँसे।
               गोधुलीले बिदा लिएर झमक्क साँझ पनि रातमा परिणत हुन लागिसकेको अवस्था।गाउँमा भए भंगेरा-भंगेरीहरु कर्कश ध्वनि निकालेर बासको बारेमा झगडा गर्ने थिए।गाईबस्तुहरुले खाईसकेका घाँस-पातलाई मुखसम्म ल्याएर उग्र्याउन थाल्थे।भाले/पोथीहरु छ्यासमिस भएर सुतिसक्थे।रोशी जंगलका कालिजहरु कुनै एक्लै,कुनै जोडा भएर डालीमाथि चैनको निद्रा सुत्न लाग्थे।स्यालहरुको चहलपहल शुरु हुन्थे।कुकुरहरुले धम्कीका भुकाइहरु भुकिसक्थे।हो,ठिक त्यही प्रहरमा हामीले पनि आफ्नो बासस्थान फर्किनुपर्थ्यो।
"नानी!खाना यतै खाउ है,के-के खाने हो।कोठामा गएर खाना बनाउँदिन नि।"
"मम्मी,म घरमा केही खान्न के।मेरो पेट टन्नै छ अघाएर।घरमा पुगेर तपाईंलाई केही पकाउन लाउँदिन के मम्मी।"
दाइको होटलमा खाना पकाउने बेला भएकै थिएन।भर्खरै सुरसार मात्र गर्दै थिए।पकाइकन खाएर जानलाई ढिलो हुन्थ्यो।अरु खाना खानलाई दिनदिनै त्यही म:म:/चाउमिन/थुक्पा कति खानु?मलाई जस्तै नानीलाई पनि दिनै एउटै खानाले वाक्कदिक्क हुन्थ्यो होला।खाने मन गर्दैनथी।त्यो दिन दुबैलाई केही रुचेन होटलमा।
             कोठामा पुग्नेबित्तिकै मीठो सपनाको पर्खाइमा झ्याप्पै सुत्यौं।
"मम्मी,मम्मी,मम्मी!"
कता-कता सपनामा जस्तै कानमा आवाज आएर ठोक्कियो।फेरि मीठो निद्रामै मस्त भएँ।
"मम्मी!मम्मी!मम्मी!"
फेरि पनि उस्तै आवाज।तर त्यो पल्टको आवाजले भने मीठो निद्रा पूर्णरुपले भंग गर्यो।
"नानी!किन बोलाएकी मलाई?"
एकछिन सुनसान भयो परिवेश।
"के भयो नानी?किन बोलाएकी मम्मीलाई? डर लाग्यो हो?"
"हैन मम्म्मी।"
"अनि के भयो त?"
"पेट दुख्यो मम्मी।"
"दिशा आयो हो?ट्वाइलेट जाने?"
"आएन।नजाने।"
"त्यसो भए किन उठाएकी त?"
"त्यत्तिकै मम्मी।"
यति भन्दै नानी डाँको छोडेर रुन लागी।उनको समस्या के थियो?पत्ता लगाउन निकै हम्मेहम्मे भयो।
"ल मम्मीलाई सत्य-सत्य भन त नानी के भयो?किन रोएकी?म तिमीलाई केही गर्दिन के।ल झट्टै भन त।"
"मम्मीले कुट्नुहुन्छ।कराउनुहुन्छ।नाइँ भन्दिन।साँच्चिकै कराउनुहुन्न?"
"कराउँदिन नानू।किन कराउनु?"
"प्रमिस?"
"ल ल प्रमिस।"
यति भन्दै उनलाई काखमा लिएर दुई-तीन म्वाइँ खाएँ।
"है नि!मलाई भोक लाग्यो।"
उनले बल्लतल्ल आफ्नो समस्या सुनाइन्।
हत्त न पत्त बत्ती बालें।भित्तामा झुन्डिएको घडीमा नजर लाएँ।ठ्याक्कै एक बजेको रहेछ।स्टोभ बालें।कुकरमा एकमुठी चामल,अलिकता नुन,तेल र पानी हालेर खिचडी पकाएर ख्वाएँ।मैले दुई चम्चा खाएँ।सुत्दा तीन बज्न लागिसकेको थियो।कहिलेकाही नानीले कोठामा खाना खाने ईच्छा व्यक्त गर्दा "अघिनै तल मामाको होटलमा खाउ भन्दा किन नखाएकी?अब म खाना-साना केही पकाउँदिन"भनेर कराउने गर्थें।प्रायःजसो विहानको खाना मात्र कोठामा पाक्थ्यो।
            अलिअलि पैसा जम्मा पारेर ग्याँस सिलिन्डर खरीद गर्न सफल भएँ।एकचोटी भरिसकेपछि कम्तीको पनि ५/६ महिना टिक्थ्यो।कुनै बेला त झन ९ महिनासम्म धानेको इतिहास छ।तरकारी,लसुन,प्याज सबै काटेर तम्तयार पारेपछि बल्ल ग्याँस बालेर कराई बसालिन्थ्यो।छिटो पाकोस् भनेर तरकारीमा थोरै पानी हालेर पकाउँथें।गरिबी र अभावले धेरै गतिलो पाठ सिकायो।सायद त्यतिको पाठ त विश्वविद्यालयबाट समेत सिकिन्न होला।भोकले धेरै सतायो।संघर्ष गर्न प्रेरित गर्यो।कमजोर हुँदा पराई भन्दा आफन्तहरुले नै होच्याए/हेपे/दबाए।चरित्रको हत्यासम्म गर्न खोजे।यतिसम्म अपमान सहनुपर्यो कि आफन्तबाटै ५०० रुपियाँ चोरेको आरोप समेत खेप्नुपर्यो।जीवनसाथी संगै नहुँदा सासुले समेत चरित्रमा दाग लाउने दुस्साहस गर्ने रहेछन्।कतिपयले मनोज र मेरो सम्बन्धमा दरार ल्याउने धृष्टता पनि नगरेका होइनन्।ऊ त्यस्तो चानचुने कुरामा विश्वास गरिहाल्ने मान्छे होइन।हामीबीच समझदारी कायम थियो/छ।बिना गल्ती मलाई दोषी सावित गर्न खोज्नेहरुसंगको सशक्त संघर्ष/विद्रोहको कारण आखिर जीत सत्यकै भयो।दोष लाउने/हार्नेहरु आफैं बाटो लागे।विलिन भए।
             मनोजसंग राम्ररी कुराकानी नभएको पनि दुईबर्ष बितिसकेको थियो।ऊ संग भलाकुसारी गरी सुख/दु:खका कथा/व्यथाहरु साटासाट गर्ने हेतुले जेएस दाइको सहयोगमा नोकिया-११०० मोडेलको मोबाइल खरीद गरें।तर साउदीबाट अत्याधिक शुल्क लाग्ने हुँदा सोचे अनुरुपको कुराकानी हुन सकिरहेको थिएन।त्यसैले गाउँकै ठ्गानामा एउटा चिट्ठी पठाएछ।धेरै कष्ट/वेदना/भोगाईहरु मसिको रुपमा पोखिएका थिए।
मेरी प्यारी ओमु!
मरुभूमिको छातीबाट
अटुट सम्झना।अविरल माया।
       आजको दिनसम्म सकुशल बाँच्न सफल हुँदै मसीले नभई रगत/पसिनाले यो पत्र लेख्दैछु।अति ब्यस्त क्षणमा पनि खै किन हो तिम्रो र छोरीको यादले सताउन छोड्दैन।मलाई सबभन्दा बढी चिन्ता त आफ्नो नभएर खाडीको तातो मरुभूमिमा दिनरात अहोरात्र संघर्ष गरिरहेका हजारौं नेपाली दाजुभाइहरुको लागिरहन्छ।जसको जीवन-मरणको कुनै ग्यारेन्टी छैन।भविष्यको सुन्दर महलको परिकल्पना गर्दै आफ्नो परिवारबाट टाढिएका कैयौं नेपालीहरु पशुको जिन्दगी भन्दापनि तल्लोस्तरमा झरेर महिनाको ३/४ सय रियालमा आफूलाई धितो राख्न बाध्य छन्।खुशी लिलामी गर्न बाध्य छन्।स्वदेशमा रहेका आमा-बाबाहरु छोरो अरबमा छ भनेर मख्ख छन्।यता छोराको हालत बिचराहरुलाई के थाहा?पेट्रोल पम्पको काम भनेर खेतीपातीको काममा फसाईन्छ।भेडा-बाख्रा र ऊँट चराउने गोठालोमा फसाईन्छ।दिनरात काममा जोतिएर पनि दुई गाँस खाना र एक सरो नयाँ कपडा लाउन पाउँदैनन्।अनि करार अवधि सकिएपछि बिना पैसा खेदिन्छ।विद्रोह गर्न खोजे झूटो मुद्दामा फसाइन्छ।जेलमा सडाइन्छ।नेपालीहरुको यस्तो दर्दनक कथा-व्यथा स्वयं मेरै आखाँले देखेका छन्।यहाँका स्थानीय बासिन्दाले हामीलाई खान नपाएर बिदेशमा आएको ठान्छन्।केही पुराना/चलाख हुनेहरु आफ्नो साहुबाट भागेर अन्तै काम गर्छन्।घर जाने बेला केही दिन/महिना जेलमा बसेर जान्छन्।त्यसैले हरामी साहुहरुले कामदारले पाउनुपर्ने त्यहाँको परिचयपत्र नै नदिएर आफैंसंग राख्छन्।कतिपय नेपालीहरु ६/७ साल काम गरेर पनि सुक्को पैसा पाउँदैनन्।पुरानै झोला/कपडा लिएर नेपाल फर्किन बाध्य छन्।तर तिमीले चिन्ता गर्नुपर्दैन,मेरो हालत अरुको जस्तो छैन।थोरै भएपनि तलब बेलामा पाएकै छु।आफ्नै पैसाले जति खाएपनि खुशी छ।आफ्नो र छोरीको राम्रो ख्याल राख्नु।
                          उहीँ तिम्रो मनोज।
        मनोजको पत्र पढेर भावुक भई टोलाइरहें-धेरैबेरसम्म।४/५ पल्ट पढें।पत्रको भावानुसार हाम्रो भविष्यमाथि धारिलो छुरा प्रहार गरिएको थियो।सुनौला सपनाहरूको बलात्कार पछि हत्या गरिएका थिए।हामी चुपचाप अन्याय/शोषण सहेर बस्न विवश थियौं।आफ्नै पैसाले साउदी अरबको मरुभूमिमा बेचिएको थियो मनोज।कलिला आशाका टुसाहरुमाथि तुषारापात भएको थियो।उसले किन साउदीको मरुभूमिमा अलपत्र परेका नेपालीहरुको बारेमा घरीघरी बोलिरहन्थ्यो?लेखिरहन्थ्यो?मलाई केही अवगत भएन।तर उनीहरुको कथा सुन्दा मन त्यसै विरक्तिएर आउँथ्यो।आफ्नो दु:ख/पीडा भुलेर ऊ अरुको व्यथा सुनाउँथ्यो।अरुको अवस्थासंग आफूलाई तुलना गरिरहेको हुन्थ्यो।कारण बुझ्नै सकिन।
          कहालीलाग्दो रातको १२ बजे।छोरी भने निस्फिक्री सुतिसकेकी थिई।हुन पनि बिचरी बच्चीलाई के थाहा दु:ख,पीडा र भावना भन्ने कुरा?उनको बाबाले बिदेशमा कति दु:ख-कष्ट भोग्नुपरेको छ भनेर निर्दोष कलिली नानीलाई के थाहा?अनि के थाहा उनको आमाले स्वदेशमै बसेर पनि कति बाधा,अड्चन र समस्याहरु झेल्नुपरेको छ?तर म पटक्कै निदाउन सकिरहेकी थिईन।उही मनोजको पत्रमा उल्लेखित कुराहरुले दिमागमा आतंक मच्चाइरहेका थिए।सताइरहेका थिए।हजार कोल्टे फेरिसक्दा पनि बन्द आँखाहरुले आराम पाउन सकेनन्।फेरि उठेर बत्ती बालें।समयको सूचकले दुई बजाइसकेको रहेछ।त्यही पत्र निकालेर नियालिरहें।प्रत्येक शब्दहरु केलाएर हेरें।हातको औंलाले छामें।जति बुझ्दै गएँ,उत्तिनै भावविह्वल हुन थालें।बल्लतल्ल मुश्किलले आँखा लागेको थियो।मोबाइलको घण्टीले घण्टौंदेखिको तपस्या भंग गरिदियो।साउदीबाट मनोजको फोन आएको रहेछ।
"हेल्लो मनोज के छ?अस्ति तिमीले पठाएको चिट्ठी तीन महिनामा बल्ल गाउँ घुमेर यहाँ आइपुगेको छ।"
"छोरी/तिमी/आफन्त/इष्टमित्र सबैलाई धेरै सम्झेको छु।तिमीहरूको यादले कहिलेकाही त पागलै हुन्छु।अर्काको ऋण र बाध्यताको मध्यनजर गरी यो खाडीको ५५ डिग्री गर्मीमा ज्यानलाई बन्धकी राखेर काम गर्दैछु।दुई बर्ष भएपनि ऋण तिर्न सकेको छैन।तर अब तिमीले तनाब लिनुपर्दैन।अबको एकसालमा सबैको चुक्ता हुनेछ।त्यसपछि ४०/५० हजार रुपियाँ गोजीमा लिएर मात्र नेपाल आउनेछु।ऋण मात्र तिरेर पनि भएन।आउने बित्तिकै कसैले ऋण पत्याउँदैनन्।ऋण खोज्दै हिंड्नु नैतिकताले पनि दिंदैन।अबको एकडेढ सालपछि हाम्रो मिलन अवश्य हुनेछ।म त्यही दिनको प्रतिक्षामा छु।आफ्नो र छोरीको राम्रो ख्याल राख।बेला-बेलामा फोन गरिरहनेछु।"
"हाम्रो चिन्ता भन्दापनि त्यहाँ आफ्नो ख्याल राख्नु।हामीलाई केही समस्या परेपनि आफन्त,इष्टमित्र छन्।तर त्यहाँ तिमी बिमारी भए कसले देख्नु र हेरचाह गर्नु?कहिले आउँछौ तिमी?बरु सकेसम्म चाँडो आऊ है।"
फोन काटिएको आवाज आयो।अझै डेढ साल ऊ बिना कसरी दिन व्यतित गर्ने?हतोत्साहित/निराश भएँ।"हाम्रो मिलन अवश्य हुनेछ" भन्ने भनाइले केहीबेरसम्म पुलकित भएँ।तर त्यो डेढ साल त्यति छोटो र सजिलो थिएन।अति लामो र टाढा थियो।तैपनि आस्थाका किरणहरु मनभित्र छिर्ने गर्थे-अवश्य त्यो दिन आउँछ भनेर।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...