Tuesday, 18 October 2016

आरोह अवरोह-२४

             करामा मेट्रो-स्टेसन नजिकै पर्ने पिज्जा हट।विहानको आठ बजे।काम शुरु हुनु अगावै ईजिप्सियन म्यानेजरले अंग्रेजीमा केही प्रश्नहरु सोधे।सायद उसले मेरो ल्याकत परीक्षा लिएको हुनुपर्छ।उसको अंग्रेजी बोलाइ सुनेर भित्रभित्रै निकै हाँसो लागेर आयो।तर मैले आफूलाई संयमित/अनुशासित/नियंत्रित बनाउने कोसिस गरें।अंग्रेजीमा पूर्णरुपमा दक्ष नभएपनि हावा तालमा बोलेर देखाएँ।उसले मेरो दक्षताको मुल्यांकन गरिसकेको थियो।
"ओके, नाउ क्लीन द ग्लास।"
उसले सिसाको ढोका सफा गर्ने आदेश दियो।आफूसँग कुनै गतिलो सीप र खरर अंग्रेजी नभएकोले सिसा सफा गर्नुको विकल्प थिएन।स्प्रे र टाला लिएर सिसा सफा गर्न थालें।सिसामा हात मात्र पुगेको थियोे।मेरो मन तत्कालै स्वदेशमा गएर बिचलित भयो।मुटुमा दर्द हुनथाल्यो।आँशुले गह टनक्कै भरिए।धेरैपल्ट हात आँखामै पुग्यो।सिसा पुछ्नु भन्दा बढी आँशु पुछें।घरपरिवारको यादको कुनै लेखाजोखा भएन।सबैभन्दा बढी त मेरी नानीको याद आयो।एउटी आमाको लागि सबैभन्दा प्यारो चीज आफ्नो सन्तति रहेछ।उनको छवि मानसपटलमा आएर निस्केर जानै मानेन।

              आफ्नै कार्यमा व्यस्त थिएँ।मेरो नजर एउटी सानी नानीमा पर्न गएछ।स्प्रे र टालालाई एकातिर फालें।खुरुरु दौडेर ती नानीलाई झ्याम्मै अँगालेर चुम्न थालें।मुखबाट अनायासै आश्चर्यजनक शब्दहरु प्रस्फुटन भए।
"नानी!के छ तिमीलाई?कहाँबाट यहाँ आइपुग्यौ?मम्मीको माया लागेर हो नानी?मम्मीले छोडेर गई भनेर रिसाएकी छ्यौ?माफ गर नानी!आईन्दा कहिल्यै छोडेर जाने छैन।"
बेहोसीमा अरु के-के भनें याद भएन।होसमा आउँदा ग्राहकको नानीलाई अँगालेर उनको कपालमा सुम्सुम्याउँदै रहिछु।
"एनी प्रोब्लम?ह्वाट ह्यापेन्ड?आर यु ओके?"-नानीको बाबाले सोध्यो।
"नो सर।सरी सर।आई मिस माई डटर।"
"इट्स ओके।"
उसले नानीलाई मबाट छुट्याएर लग्यो।अर्काकी छोरीलाई आफ्नी भनेर अँगालेको सम्झी लज्जावोधले पानी-पानी भएँ।छोरीको याद र सम्झनामा तड्पिएर पागल मात्र हुन बाँकी थियो।पागलपनका लक्षणहरु देखिन थालिसकेका थिए।

              अर्को दिनदेखि म्यानेजरले सिसा पुछ्न लगाएन।पुराना साथीहरु मार्फत काम/कुरा सिकाए।कहिले वेटर।कहिले क्यासियर।कहिले डिस्पाचर।कहिले मफ/ब्रस पनि लाउनु पर्थ्यो।शुरुका दिनहरुमा कठिन भाषिक समस्याको सामना गर्नुपर्यो।प्रायःसहपाठीहरु फिलिपिनी थिए।ग्राहकहरुले पनि अंग्रेजी मात्र बोल्थे।क्रमिकरुपमा अंग्रेजी बोल्न सिकें।भाषिक समस्याबाट मुक्त हुँदै गएँ।काम गर्न थालेको बीस दिन मात्र भएको थियो।नयाँ शाखा खोलेकोले जुमेरा लेक टावरको मरिना मलमा सरुवा भयो।त्यहाँ मैले वेटरको जिम्मेवारी पाएँ।बिगतका दिनहरू झलझली सम्झेर कार्य गर्न थालें।

             दुबई आएको पच्चीसौं दिनको कुरा।एक हातमा पिज्जा,अर्को हातमा जुस लिएर ग्राहकलाई पस्कन लागेकी थिएँ।अचानक फोनको घण्टी बज्यो।व्यस्तताको कारण तत्काल उठाउन सकिन।फुर्सद मिलाएर मोबाईलको स्क्रीनमा आँखा दौडाएँ।नेपालबाट आएको रहेछ।आफैंले फोन गरें।
"हेल्लो ओमु!के छ हालखबर?काम कस्तो चल्दैछ?मेरो पनि दुबईको भिषा आयो।केही दिनमै उड्नुपर्नेछ।पैसा कतैबाट जुटाउन सकेको छैन।मद्दत गर्न कोही तयार छैनन्।पैसा नपाए सुन भएपनि लिनुपर्ला।घाटा परे पर्ला,के गर्नु त!"
"ए हो र मनोज?भिषा आएछ,ठिकै भयो।तिमी अर्को देशमा गएको म सहन सक्तिन।एउटै देशमा भए कमसेकम भेटघाट त गर्न सकिन्छ।यताउता खोजिहेर न पैसा।पाईएला नि।मैले पनि अलिअलि खोजेर पठाइदिउँला।कतैबाट अपुग भैहाले निमा दाइकोमा जानु।अलिअलि भएपनि दिनुहुन्छ होला।अहिले फोन राख्छु।काममा व्यस्त छु।"
मनोजको भिषा लागेको खबरले हर्षविभोर भएँ।अरुबेला जति व्यस्त र कष्ट भएपनि छुट्टीको दिन आफ्नो मान्छेसँग भेटेर भलाकुसारी गर्न सकिने भईयो।अर्कोतिर अति दुखित पनि भएँ।आमाले छोडेर आएको नानीलाई बाबाले पनि छोडेर आउँदै थियोे।आमाको अभाव त बाबाले पूरा गर्न सक्ला।तर दुवैको अभाव कसरी पूरा गर्लिन्?सजाय माथि थप सजाय पाउँदै थिईन् उनले।आखिर के दोष थियो र?बिना गल्ती निर्मम सजाय पाउँदैथिईन्।यसको जवाफ मसंग थिएन।म क्षणमै रुने,क्षणमै हाँस्ने अभिनेत्री जस्तै बनें।

            काम सकिएपछिको त्यो रात।रोदनले द्रवित आँखा।कामले थकित ज्यान।सन्तुलन गुम्ला जस्तो मानसिकता। गरे होलान्।झमक्क आँखा लागेको थियो।फोनले तर्सायो।
"ओमु!म तनावग्रस्त छु।सबैतिर पैसा खोजें।पाउन असफल भएँ।हिजो वचन दिएकाहरुले पनि आज धोका दिए।मान्छेको बोलीको पनि ठेगान रहेन अब।नदिने बिचारै भए हिजै सकिन्न भन्नुपर्थ्यो।दुईजीब्रेहरुसंग नसकिने भईयो।तिम्रो पनि महिना मरेको छैन।कहाँ खोज्छ्यौ?"
"मनोज!टेन्सन लिनुपर्दैन।सकेसम्म म केही गर्छु।पचास-साठी हजार जति गाउँले/आफन्तहरुसंग सापटी लिएर भएपनि पठाइदिन्छु।बाँकी पैसाको लागि निमा दाइलाई फोन गरेर भन्छु।अलि-अलि त पक्कै दिनुहुन्छ भन्ने आशा छ।हरेश नखाऊ मनोज।,म छु तिम्रो साथमा।अरुले साथ नदिए पनि।नानीलाई अति सम्झेकी छु।के छ उनको हालखबर?तिमी आउँदा नानीलाई बहिनीसँग छोडेर आउनु।"
यति भनिसकेर फोन काटें।दुबईमा भएका आफन्त/गाउँलेहरुलाई फोन गरेर पैसाको जोहो गर्न थालें।शोभा दिदीबाट थोरै,दस-पन्ध्र दिनमा पाएको टिप्स र केही पैसा गाउँलेहरुसित सापटी लिएँ।साठी हजार रुपियाँ जम्मा गरेर पठाएँ।

               म्यानपावरमा एकलाख दसहजार रुपियाँ चुक्ता बुझाएर मनोज पनि उड्यो।छोरीलाई मनोजले पनि छोडेर आयो।बाबा-आमा दुबै निर्दयी भए।पापी पेटले हामीलाई पनि पापी बनायो।परिस्थितिले  कठोर बनायो।पैसाले मुटुलाई पत्थर बनायो।जतिबेला सानी बालिकालाई जननीको सख्त जरुरत थियो।मायाको जरुरी थियो।साथको जरुरी थियो।त्यतिनै बेला चटक्कै माया मारेर गैदिंदा उनको हालत के भयो होला?माया कहाँबाट पाउँलिन् ती बालिकाले?कति रोयो होला कठै उनको निश्छल मन?पाप नलाग्ला र ती बाबा-आमालाई?जसले कलिलो भावनामाथि खेलवाड गरे?मासुबाट निर्मित मुटु पनि यति निर्दयी हुन्छन्?के पैसाकै लागि आफ्नो सन्ततिको पर्वाह नगर्ने अविभावकहरुका कदम जायज हुन्?सन्ततिको सबैभन्दा ठूलो सुख जननी होइनन्?ती सन्ततिले भावी दिनमा वचन-वाणले मुटु छेड्ने छैनन्?आज जननी टाढिन्छन्।भोलि गएर सन्तति टाढिनेछन्।त्यतिखेर उनीहरुलाई चाहेर पनि नजिक्याउन सकिने छैन।के यो चानचुने/सानोतिनो भुल हो?यस्तो महाभुललाई सजिलैसँग सच्याउन सकिन्छ?महापापको प्रायश्चित गर्न सकिन्छ?"
अनगिन्ती प्रश्नहरु मनमा उब्जिरहेका थिए।मसँग कुनै उत्तर थिएन।थियो त केवक दु:खी आत्मा।निराश जीवन।
"माया,दया र प्रेमले न भोको पेट भर्ने खाना दिन्छ,न त समस्याको समाधान।अभावले सच्चा मायाको हत्या गरिदिन्छ।जहाँ अभाव हुन्न,त्यहाँ मात्र मायाको फूल निर्धक्क फुल्न सक्छ।निर्वाध फुल्न सक्छ।त्यहाँ माया अमर हुन्छ।सदा प्रेमको सुवास फैलिरहन्छ।जसरी पानी बिना सजीव प्राणीको जीवन कल्पनासम्म पनि गर्न सकिन्न।त्यसैगरी मायालाई जीवित राख्न पनि आवश्यकताहरुको निरन्तर परिपूर्ति हुनु नितान्त जरुरी छ।अभावले तनाव र तनावले द्वन्द निम्त्याउँछ।जहाँ द्वन्द हुन्छ त्यहाँ मायाको समाप्ती हुन्छ।खोले/सिस्नु खाएर ज्यान बचाउनु अलग कुरा हो।मायालाई बचाउनु अलग कुरा।हामी जे गरिरहेका छौं,आफ्नै सन्ततिका उज्ज्वल भविष्यका लागि गरिरहेका छौं।ताकी भोलिका दिनहरुमा उनीहरुले इच्छाएका ठाउँहरुमा निर्धक्क जान,खाना खान,कपडाहरु लाउन र उच्च शिक्षा हासिल गर्न कुनै बाधा-अड्चन खडा नहोस्।कसैसँग एकसय रुपियाँको लागि दुईहात जोडेर नमस्कार गर्नु नपरोस्।कुनै कुराको अभाव महसुस नगरोस्।हुन त ममता बिनाका सन्ततिहरु अपूर्ण नै हुन्छन्।तर अहिले नजिकबाट माया-ममता दिन नसकेपनि भौतिक सुख त दिने कोसिस गर्दैछौं।आखिर केही कुरा नगुमाईकन केही कुराको प्राप्ति पनि त नहुनेरहेछ।यो पैसा भन्ने चीज बरु नबनेको भए बिदेशिनुपर्ने त थिएन।पैसाको आविष्कार गर्ने बैज्ञानिकलाई उतिखेरै कडा भन्दा कडा सजाय दिएको भए आज द्वन्द, ज्यानमारी र दौडधुप हुने थिएन।यदि भोलि गएर हामीलाई सन्ततिले औंला ठड्याएर प्रश्न सोध्ने हिम्मत राखे जवाफ दिने हिम्मत र आँट राख्नुपर्छ।हामीसँग पक्कै पनि छ।"
एक्लै फत्फताएछु।जुनसुकै विषयको पनि सकारात्मक र नकारात्मक दुई पाटाहरु हुन्छन्।सो बिषयमा अनेकौं तर्क/बहस गर्न सकिन्छ।तर तर्कले जिन्दगी चलाउन सकिन्न।जिन्दगी जसरी सहज हुन्छ,त्यसरी जिउने हो।जसरी मन लाग्छ ,त्यसरी जिउने हो।हृदयले जे भन्छ,त्यही सुन्ने हो।त्यही गर्ने हो।यो मन भन्ने चीज पनि अचम्मको छ।जुन दिमागको नियन्त्रण भन्दा बाहिर हुन्छ।संसारमा सबैभन्दा गतिशील चीज मन नै हो।मनले चाहे मान्छेले जे पनि गर्न सक्छ।चाहे त्यो सत्कर्म होस् या कुकर्म नै।दिमाग त केबल मनको एउटा शक्तिशाली हतियार हो।मनले चाहेरै हामी बिदेशिएका हौं।मनले चाहेरै हामी स्वदेश पनि फर्किनेछौं।

               मनोज नेपालबाट उडेको एकदिन भयो।तर उसको कुनै खबर आएन।कानहरु आतुर थिए-ऊ सकुशल दुबईमा आइपुगेको खबर सुन्न।काठमाडौंदेखि जम्मा ४ घण्टाको हवाईयात्रा पश्चात् पुग्न सकिने दुबईमा अझै नपुग्नु रहस्यकै बिषय भयो।म आँतिएर रुन थालें।चिच्याउन थालें।आकुलव्याकुल भएर छट्पटिएँ।जसरी समुद्रको माछालाई बालुवामा फालिएपछि छट्पटिन्छ।नेपालमा फोन गरें।उहाँबाट उडिसकेको जानकारी आयो।
"आखिर कहाँ गयो त मनोज?किन गायब भयो?दुबईमा आइसकेको भए त खबर गर्नुपर्ने।नेपालमा पनि कुनै खबर छोडेको छैन।कतै आतंककारी समुहले जहाज अपहरण त गरेनन्?सोधौं त कसलाई सोधौं?खोजौं त कहाँ खोजौं?कतै जहाज दुर्घटना त भएन?हैन,हैन।यो त हुनै सक्तैन।मेरो मान्छेलाई त्यस्तो केही भएको छैन/नहोस।हे भगवान!लाख बिन्ती छ,मेरो मनोज कुनै समस्याको भूमरीमा फसेको भए यथाशीघ्र सकुशल मुक्त गरिदेऊ।ऊ भन्नु नै मेरो मुटु हो।जिन्दगी हो।मेरो मुटुको संरक्षण गर प्रभु!मुटु बिना मेरो अस्तित्व छैन।मेरो जिन्दगीको रक्षा गर!एक सेकेन्ड उसको खबर पाईन भने उकुसमुकुस हुने म,एकदिन हुँदापनि कुनै खोजखबर नहुँदा मेरो के गति भयो होला? तिमी आफैं सोच त भगवान!बर्षौंदेखि कति पीडा/अन्याय सहँदै आएकी छु।अझै थप अन्याय गर्न पाउँदैनौ!के संसारको सबै दु:ख/पीडा सहने ठेक्का मैले लिएकी छु र?यदि छैन भने फेरि यो तनाव केको लागि?यो पीडा किन?मेरो मान्छेलाई सजाय किन?भो,अब त अति भो।त्यहाँ तिम्रो लोकमा न्यायलय छ कि छैन?न्यायाधीश छ कि छैन?कसलाई के/कति सजाय दिने मापदण्ड छ कि छैन?हचुवाको भरमा न्याय/अन्याय छुट्याउने चलन छ र त्यहाँ?के म जिन्दगीभरी सजायको भागीदार हुँ?किन?कि नातावाद,कृपावाद र पक्षपात जस्ता तत्वहरुले जरो गाडेको छ त्यहाँ पनि?कि नैतिकता,अनुशासन र देवत्वको खडेरी परेको छ त्यहाँ पनि?न्यायधीश भएर पनि माथिबाट कसैमाथि दु:ख,कष्ट पर्दा र अन्याय हुँदा पनि टुलुटुलु हेरिरहनुको के अर्थ छ?यदि आफ्नो कर्तव्य र उतरदायित्व पूरा गर्न सक्दैनौ भने आफ्नो पदबाट तुरुन्तै राजीनामा देऊ।हैन भने यथाशीघ्र मेरो मनोजलाई सम्पर्कमा ल्याइदेउ।पहिलो र अन्तिमपल्ट तिमीसँग केही माग्दैछु।त्यसपछि अरु केही माग्ने छैन।"
रुँदै-चिच्याउँदै माथितिर भगवानलाई दुईहात जोडेर बिन्ती गरें।गरिरहें।त्यसपछि मलाई केही याद भएन।जब याद आयो,कोठाको बिस्तरामा रहेछु।मैले हतार-हतार आफ्नो मोबाईलमा कतैबाट फोन आयो कि भनेर हेरें।तर कतैबाट कसैको फोन आएको थिएन।कोठामा मेरी संगी माया मात्र थिई।

"माया!म यहाँ कसरी आइपुगें?म त क्याम्प बाहिर पो थिएँ त।"-सकी नसकी सोधेँ।
"खै के भाको नि तँलाई!एक्कासी बेहोस भएकी थिईस् रे बाहिर।लगातर ३ घण्टासम्म होस आएको रहेनछ।एम्बुलेन्स बोलाएर जाँच गर्दा थकानको कारणले त्यस्तो भएको भन्थ्यो रे।खासै आँतिनु नपर्ने भनेपछि माथि ल्याइएको रे।तँलाई केही भएको छैन,आराम गर।म तेरो लागि तातो जाउला बनाएर ल्याउँछु।"-मायाले सान्त्वना दिंदै भनी।
"अनि मेरो मनोज?कसैको मोबाईलमा फोन आयो उसको?"
"आउँला नि तेरो मनोज पनि।किन बेकारमा आँतिन्छेस्?केही भएको भए त समाचार आइहाल्थ्यो नि।सायद ऊ आइसके होला।तेरो मोबाईल नम्बर बिर्सेको पनि हुनसक्छ।केहीबेरको लागि ढुक्कसँग बस।किन जहिल्यै पनि नकारात्मक मात्र सोच्छेस्?कतै जहाज बिग्रे होला।पर्खाइमा परे होला।ढिलाइ भए होला।"
उनको कुरा सही जस्तो लाग्यो।मनलाई सम्झाउन खोजें।तर प्रयत्नहरु क्रमशः असफल हुँदै थिए।जति सम्हालिन खोजे पनि बिचलित हुँदै थिएँ।
"ल ओमु!जाउला खा।कति खान्छेस्?यति त रुच्ला नि।"
मायाले जाउला पकाएर ल्याइसकेकी थिई।
"म खान्न माया!मन छैन।तँ आफैं खा।"
"खा न खा।यस्तो अवस्थामा बिना तनाव खानेकुरा खानुपर्छ।कि जाउला मनपर्दैन तँलाई?अरु नै बनाउँछु त्यसो भए।"
"हैन माया!ठिक छ।म खान्छु।दु:ख गर्नुपर्दैन मेरो लागि।"
उनको आग्रहमा जाउलाको पहिलो चम्चा मुस्किलले खाएँ।दोश्रो चम्चा जबर्जस्ती मुखमा हालें।मरिगए छिरेन।वाक-वाक लागेर बान्ता होला झैं भयो।
"बिस्तारै खा न।ल पानी पि।"
एक गिलास पानी पिएपछि पेट टनक्कै अघायो।त्यसपछि केही रुचेन।मनोजकै चिन्ता र भयले सताउन छोडेन।रात छिप्पिसकेको थियो।निँदाउने चेष्टा गरें।तर उल्टै छट्पटाउन थालें।निस्सासिन थालें।ज्वरोले शरीर भतभती पोल्यो।शरीर मात्र पोले त जेनतेन सहन्थें।तर मन त्यो भन्दा लाखौं गुणा पोलिरहेको थियो।जलेर भस्म हुँदै थियो-मन।आँखा झिमिक्क नगरी विहानीले धर्तीलाई रंगाइसकेछ।काममा जाने बेला भैसकेको थियो।तन र मन दुबैले साथ दिएन।मायाले राती बनाएको जाउलो अलिकति खाएर आराम गरें।भुसुक्कै निंदाएछु।कति घण्टासम्म सुतें,थाहा भएन।मोबाईलको घण्टीले जगाइदियो।दुबईको नयाँ नम्बरबाट फोन आएको रहेछ।
"ओमु!म दुबईमा आइपुगें।भर्खर मात्र यहाँ कोठामा पुगें।"
"अहो!मनोज!आइपुग्यो?"
मैले यति मात्र भन्न सकें।थप कुराहरु भन्नै सकिन।नयन हर्षको बर्षले रुझिइसकेका थिए।हराएको मुटु पाएँ।मरिसकेको म जीवित भएँ।जिजीविषाको मुना पलायो।मैले पुनर्जीवन पाएँ।
"अँ,आईपुगें बल्लतल्ल दुई दिनमा।"
"म्वा,म्वा,म्वा,म्वा•••• प्यारा! तिमी आयौ?आरामै छ तिमीलाई?मेरो राजा!कहाँ थियौ यतिका दिनसम्म?मेरो यादले सताएन तिमीलाई?म त मरिसकेकी थिएँ नि मेरो ज्यान!मलाई नसोध प्यारा,आज कति खुशी छु भनेर।भन के आइपरेको थियोे त्यस्तो?अस्तिनै हिंडेको मान्छे बल्ल आज आइपुग्यौ?"
"किन पीर लिएकी ओमु?म चढेको जहाज बिग्रेर पाकिस्तानको इस्लामाबादमा अवतरण गर्यो।बनाउँदा समय लाग्यो नि।३६ घण्टा त्यहीँ विमानस्थलको होटलमा खाना ख्वाउँदै राखे।साथमा पैसा नहुँदा कतै फोन गरेर जानकारी दिन सकिन।तिमी पीर लिन्छ्यौ भन्ने त थाहै थियो।तर फोन गर्न असमर्थ थिएँ।माफ पाउँ।"
"प्यारा!मलाई रिस भन्दा चिन्ताले मर्माहत बनाएको थियो।गल्ती तिम्रो पनि हैन।खुशीको कुरा तिमी सकुशल दुबईमा आइपुग्यौ।यही काफी छ।तिमीलाई केही भैदिएको भए?मेरो के हाल हुन्थ्यो भन त?"
"जबसम्म उपरवालाले साथ दिन्छ,कसैलाई केही हुन्न ओमु!त्यसैले धैर्य गर्न सक्नुपर्छ।बिनाकारण आँतिएर/हड्बडाएर आफूलाई कमजोर बनाउनु हुन्न।"
"बल्लतल्ल म सामान्य अवस्थामा आईपुगेकी छु।सञ्चो नभएर बिजोग भएकी थिएँ।तिमी आएको खबरले तन/मनमा उर्जा मिलेको छ।ज्वरोले तातिएको शरीरले शित्तल पाएको छ।म पूर्णरुपमा तन्दुरुस्त भएकी छु।मलाई नै थाहा छैन मनोज!तिमीमा के जादू छ त्यस्तो?के शक्ति छ तिमीमा?जसको आगमनको खबरले मात्र मैले नव-जीवन पाउँछु।तिम्रो बारेमा धेरै बखान गर्न चाहन्न।तर तिमी मेरो एउटा अभिन्न अंग भएका छौ,जुन अंग बिना मेरो अस्तित्व छैन।जस्तैः-मुटु/कलेजो/फोक्सो/किड्नी।तिमी मेरो नशा-नशामा बग्ने रक्तबीज हौ।जीवित तुल्याइराख्ने अक्सिजन हौ।बस,यो भन्दा बढ्ता बोल्न चाहन्न।"
"मजाक नगर न ओमु!मजाक गर्नेको पनि हद हुन्छ है।हद भन्दा बढ्ता पनि उचित हुन्न।बरु भन,तिमी कहाँ छ्यौ?दुबईको कुन ठाउँमा छयौ?हुन त म नेपालमा हुँदा पनि भनेकी थियौ।तर अहिलेसम्म तिमी बस्ने ठाउँको नाम याद छैन।भेट्न आउँछु तिमीलाई।अहिले मसंग पैसा छैन।पैसा भएपछि तुरुन्तै आइहाल्छु।म बस्ने ठाउँलाई जेबल अली भन्नेरहेछ।"
"मजाक/नमजाक कुन रुपमा लिन्छौ?सर्वाधिकार तिमीमा निहित छ।मेरो कुरा पत्याऊ पनि भन्दिन।म अलकोज भन्ने ठाउँमा हो।अल कोज-३,सिमेन्ट फ्याक्ट्री नजिकै।जेबल अली जाने बाटो त मैले देखेकी थिएँ।निकै टाढा होला जस्तो लाग्यो।विश्वको सबैभन्दा अग्लो टावर छ नि-बुर्ज खलिफा।बुर्ज खलिफा देखिन्छ त्यहाँदेखि?"
"हाम्रो क्याम्प त अति विकट/उराठलाग्दो ठाउँमा छ।यहाँदेखि कुनै टावर देखिन्न।पुरानो साथीले भन्दा अलकोज त धेरै टाढा छ रे यहाँदेखि।गाडीबाटै एक घण्टाभन्दा बढी लाग्छ रे।कसरी भेट्ने होला?"
"ए!बुर्ज खलिफा नदेख्ने भए त निकै टाढै रहेछ।पुरानो हुँदै गएपछि सबै ठाउँ थाहा हुन्छ।भोलि/पर्सीको दिन मलाई भेट्न आऊ।मोबाईल र सिम किन्दिन्छु।मैले चलाउँदै गरेको तिमीलाई दिन्छु।नयाँ किनेको म चलाउँछु।"
"ल ल हुन्छ ओमु!साथीको मोबाइलबाट गरेको।पैसा धेरै काट्यो होला।फोन गर्नुपर्यो भने साथीभाइको मोबाइलबाट मिसकल गर्छु।तिमीले फर्काउनु।"
मनोजसँग सार्थक/फलदायी वार्तालाप भयो।साँच्चिकै मानसिक तनावले मान्छेलाई शिथिल/निष्क्रिय/रोगी बनाउने रहेछ।ऊ सँगको वार्तालापले मात्र शारीरिक/मानसिक स्थितिमा अनापेक्षित र अप्रत्याशित ढंगले सुधार आयो।

              हामीले दुबईमा पहिलो भेटघाटको योजना बनायौं।मेरो जस्तो मनोजको हरेक हप्ता छुट्टी थिएन।महिना दिनमा जम्मा दुइटा छुट्टी हुन्थे।बल्लतल्ल संगै छुट्टी मिल्यो।नयाँ भएकोले यातायात सम्बन्धि भरपूर जानकारी थिएन।सास्ती खेप्दै मेरो क्याम्पसम्म आइपुग्यो।कोठामा बिपरित लिङ्गी साथी लिएर जाने/बस्ने अनुमति थिएन।बाहिरै भेटघाट गर्यौं।सन २०१० को अप्रिल महिना।तापक्रम लगभग ४०°/४५° पुगिसकेको थियो।प्रचण्ड गर्मी।अपर्याप्त बोटबिरुवा।बगैंचाको अभाव।भेटेर राम्ररी गफ समेत गर्न सकेनौं।क्याम्पदेखि अलि मास्तिरको सानो रुखको फेदमा शित्तल ताप्दै गफगाफ गर्न थाल्यौं।महिनौंपछि मुश्किलले भेट भएको थियो।सडकमा गाडीहरू आ-आफ्ना गन्तव्यतर्फ हुइँकिरहेका थिए।रुखका लामा-लामा हाँगाबिंगाहरु जमिनलाई स्पर्श गरिरहेका थिए।दूरबाट प्रष्टरुपमा हामीलाई देख्न सकिन्नथ्यो।दुई बिपरित लिंगीहरु एक-अर्काको मायामा पागल भए।वरिपरिको वातावरणलाई समेत वास्ता गरेनन्।बस उनीहरु एक-अर्कामा बिलिन हुन खोजे।बेहोसीमै नयनसंग नयन जुधिरहेका।हातमा हातको सुस्त स्पर्श।अधरमा अधर सल्बलाए।बेलैमा होस नआएको भए त्यहाँ नहुनुपर्ने काम हुन्थ्यो।ती रंगमञ्चका पात्रहरु कोही नभएर हामी नै थियौं।दशा लागेको भए प्रहरीको फन्दामा पर्न सक्थ्यौं।जेल चलान हुन्थ्यौं।जरिवाना तिर्नुपर्थ्यो।धन्न हामीलाई भाग्यले साथ दियो।ठूलो दुर्घटनाबाट जोगियौं।

            मध्याह्नको प्रचण्ड गर्मीले भत्भती पोल्यो।शरीरमा खलखली पसिना आयो।तर मन भने मायाको मौसमले शित्तल भए।उराठलाग्दो मरुभूमिको तातो हावाले पनि हाम्रो केही बिगार्न सकेन।हामी एक-अर्कामा समर्पित भएका थियौं।अरु कुनै कुराको वास्ता भएन।खुब रमायौं।मानौं-बिछोडिएको शताब्दी पश्चात् पुनर्मिलन भएको थियो।

            त्यसपछिका दिनहरुमा समयाभावको बाबजुद पनि केही दिनको अन्तरालमा छुट्टी मिलाएर भेटघाट गर्न थाल्यौं।कम्पनीको नियमानुसार एक-अर्काको कोठामा आवतजावत गर्ने अनुमति थिएन।संगै बसेर खान,बस्न र दु:ख-सुख साटासाट गर्न अत्यन्तै कठिन परिस्थितिको सामना गर्नुपर्यो।बाहिरै भेटी सामान्य गफगाफ गरेरै जीवन गुजार्न थाल्यौं।जाडोमा अति जाडो र गर्मीमा अति गर्मी हुन्थ्यो।कहिले जम्यौं।कहिले पग्लियौं।

               जुलाईको महिना।बर-दुबईको अल-गुबैबा।बसपार्क नजिकै रहेको चउरमा हाम्रो भेटघाट भयो।
"आम्मै!कति गर्मी हो?चउरमा हरियो दुबो र रंगीचंगी फूलहरु भएर के गर्नु?अत्याधिक गर्मीले बस्न सकेको हैन।पसिनाले पूरै जीउ र कपडा मुसा पानीमा चोबालेर निकाले जस्तो निथ्रुक्कै भैसक्यो।जाऔं न ओमु! कतै शित्तलमा।म चाहिँ कुनै हालतमा बस्न सक्तिन है यस्तो गर्मीमा।"
"के गर्नु त मनोज!गर्मी त मलाई पनि नलागेको कहाँ हो र?अन्त पनि कहाँ जानु?नेपाली रेस्टुरेन्टमा जाउँ भने अति महँगो छ।खानेकुरा खाएर त्यहाँ बसिरहन पनि नपाइने।होटल त झन छोइसक्नु छैन।दिनको दुई-तीन सय धिराम लाग्छ।त्यो भनेको नेपाली ८ हजार रुपियाँ हो।यति महँगो होटलमा बसेर नेपालमा के पठाउने?हामी यहाँ उडाउन हैन कमाउन आएका हौं।यस्ता दिनहरु त अझै कति छन् कति।के साध्य छ र?जिन्दगीमा धेरै थोक गर्नुछ।केही पाउनलाई केही त्याग र तपस्या त गर्नैपर्छ।सुख-दु:खका तरंगहरुलाई एकरुपता दिनुछ।भूतका भोगाइहरुबाट गतिलो पाठ सिकेर वर्तमान र भविष्यलाई अझ सरल/सहज बनाउनुछ।भोग-विलासमा रुमल्लिनु हुन्न।सफलताको लागि चालिएका कदमहरु डगमगाउन दिनुहुन्न।लक्ष्य प्राप्तिको लागि दु:ख-कष्ट सहनुपर्छ।अनवरत रुपमा अगाडि बढ्नु नै हाम्रो एकमात्र उदेश्य हुनेछ।"
"हो नि ओमु।कहिलेकाही भेटेर दु:ख भुली भलाकुसारी गर्न पाउनु नै हाम्रो अहोभाग्य हो।खुसीको कुरा हो।तिमीले मेरो हरेक दु:ख/सुखमा साथ दिइरहेकीछ्यौ।आँसु लुकाएर हाँसेकी छ्यौ।हँसाएकी छ्यौ।तिमी जस्ती जीवनसाथी पाएँ।म भाग्यमानी रहेछु।वास्तवमा तिमी एउटी महान,हिम्मतवाली र साहसी नारीको उदाहरण हौ।नमूना हौ।तिमी जस्ती नारी यो संसारमा विरलै होलान्।"

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...