आमा-बाबासंगै जिउने नानीको सपना सहिद हुँदै थियो।रात्रीकालीन भोजन पश्चात् नयन बिसाउने तरखरमा थियौं।बाबा-आमा पुनः बिदेशिने संकेतले नानीको मुहार ओइलिएको थियो।
"नानी!पर्सि त फेरि मम्मी/बाबा बिदेश जाँदैछौं।कुनै पीर/चिन्ता नलिनु है!हामी छिट्टै आइहाल्छौं।"
"नाइँ के।नजानु न मम्मी!जानैपर्ने हो र?"
"नानी!फेरि पनि तिम्रो लागि राम्रो-राम्रो गुडिया,कपडा र चकलेट पठाइदिन्छौं।हामी आउने बेला पनि ल्याइदिन्छौं।"-मनोजले भन्यो।
"नाइँ,मलाई तपाईंहरु भए अरु केही चाहिंदैन।मलाई छाडेर नजानुस् न प्लीज।"
"त्यसो नभन न नानी!हामी यहाँ बसेर के खाने?के लाउने?तिम्रो स्कूलको फिस कसरी तिर्ने?धेरै पैसा कमाएर आउनेछौं।अनि नानीसँगै बस्नेछौं।"
"अब गएपछि कहिले आउनुहुन्छ त मम्मी?"-उनले गम्भीरतापूर्वक सोधी।
"तिमी वान क्लासमा पुगेपछि आइहाल्छौं नि।"
"मम्मी!बल्ल त एलकेजीमा छु।अझै दुईबर्ष रहेछ।कसरी कटाउने होला?म एकैचोटि एलकेजीबाट वानमा जान्छु नि मम्मी।अनि तपाईंहरु छिटो आउनुहुन्छ है मम्मी?"
नानीको प्रश्नले मलाई उथलपुथल बनायो।आँखाबाट अनायासै अश्रुधारा छुट्यो।
"हैन नानी,त्यसरी मिल्दैन नि।एकैचोटि वानमा जाँदा पढाइ बिग्रन्छ के।"
"अब गएर आएपछि त फेरि जानुहुन्न है मम्मी?"
यसपालीको रोकावट असफल हुने छाँटकाँट देखेर अर्को पल्टको यात्रालाई तगारो हाल्ने कोसिस गरिन्।बाबा-आमाले फेरि उनलाई छोडेर लापत्ता हुँदैछन् भन्ने कुरा बुझिसकेकी थिईन्।उनको आशाको दियो निभिसकेको थियो।कहिले बल्ने हो,थाहा थिएन।
"खबरदार!म जस्ती बालिकालाई चटक्कै माया मारी छोडेर जान पाउनुहुन्न।आमा-बाबाको माया पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो।धन-सम्पतिको पछाडि दौडिंदा एउटी बालिकाको हालत के हुन्छ?थाहा छ तपाईंहरुलाई?के थाहा हुनु निष्ठुरी बाबा-आमालाई?पैसाको पट्टीले आँखा बाँधिएकाहरुलाई?पत्थरे-मुटु बोकेकाहरुलाई के थाहा?म जस्ती बालिकाको मस्तिष्कमा कस्तो नकारात्मक असर पर्छ?जस्तो असर परेपनि के फरक पर्छ र अन्धाहरुलाई?"
मेरी छोरी सक्षम भएको भए यस्तै प्रश्नका तीखा वाणहरुले मुटु छेड्ने थिए।तर उनी एकदमै निरीह देखिन्थिन्।पानी पोखिएको नेपाली कागज जस्तै।मुहारमा चिन्ताका धर्साहरु प्रष्टै देखिए।
बल्लतल्ल जिन्दगीमा केही गर्ने हिम्मत/आँट/मार्ग मिलेको थियो।प्रगतिशील/अग्रगामी मार्ग छोडेर बिचलित/अलपत्र हुनु थिएन।उज्ज्वल भविष्यको लगाम कसिराख्नु/खिचिराख्नु थियो।
भोलिपल्ट उडान थियो।अघिल्लो दिनै अत्यावश्यक सर-सामानहरु किनमेल गरी बृफकेशमा राखियो।मनोजले राहदानी/टिकट जतनका साथ ह्यन्डब्यागमा राख्यो।तनावग्रस्त रजनी प्रहर।छट्पटी द्धारा चैनको अपहरण।
विहान नानी स्कूल जाने तरखरमा थिईन्।
"नानी!यता आऊ त" भनेर नानीलाई नजिक बोलाएँ।
"किन मम्मी?"भन्दै आईन्।
काखमा राखेर दुईतीन पल्ट म्वाईं खाएँ।
"नानी!राम्रोसँग बस ल?रोडमा धेरै नखेल।गाडीले हान्ला।पीर नगर है!मम्मी एकबर्षपछि आइहाल्छु।"
यति भनेर सम्झाएँ।उनले मेरो नयनको अश्रुलाई कलिलो हत्केलाले छेक्ने प्रयत्न गरिन्।
"नरुनु के मम्मी।रुनु हुन्न।यत्रो ठूलो मान्छे भएर पनि रुने हो?नरुनु-नरुनु।"
एउटी आमाले आफ्नो बच्चालाई फकाएझैं फकाईन्।उनको समझदारी देखेर झन भक्कानिएँ।गला अवरुद्ध भयो।
"मम्मी!नरुनु भनेको।तपाईं रुने भए म स्कूल जान्न के।"
उनले सम्झाएपछि सम्हालिएँ।उनी स्कूलतिर प्रस्थान गरिन्।गेटमा पुगेर एकपटक फरक्क फर्केर हेरिन्।गहको आँसु पुछ्दै ओझेलमा परिन्।उनको कृयाकलापले मुटुलाई क्षत-बिक्षत बनायो।
पुरानै कथा-व्यथा लिएर एयरपोर्टतर्फ प्रस्थान गर्यौं।तर घाउ बल्झेर पुनः नयाँ भयो।दर्द र रोदनको कुनै लेखाजोखा थिएन।वेदनाको हिसाब-किताब हेर्ने कुनै एकाउन्टेन्ट नहुनेरहेछ।जहाज चढ्यौं।जहाज उड्यो।मनभित्र फेरि उस्तै बाढीपहिरो गयो।अवस्था पोहोरको भन्दा कम कहालीलाग्दो/दर्दनक थिएन।बरु त्यो भन्दा बढ्ता थियो।आधा दूरी पार गरेपश्चात् केही केरा,स्याउ र सुन्तलाका दानाहरु झिकेर खायौं।तर फलफूलमा कुनै स्वाद थिएन।कुनै रस थिएन।
दुबई एयरपोर्ट।एउटै ट्याक्सीमा बरदुबई सम्म गयौं।तत्पश्चात आ-आफ्नो गन्तव्यतिर अलग्गियौं।स्वदेशका आफन्तहरुले भने होलान्-श्रीमान-श्रीमती सँगै आए।सँगै गए।बिदेशमा पनि सँगै बस्दा हुन्।तर दुबई पुगेर छुट्टिनुको पीडा अरुलाई के थाहा?
उस्तै चर्को घाम।उस्तै हावापानी।उस्तै ताप र चाप।उस्तै तनाव।बेफिक्री सहनैपर्ने कस्तो जिन्दगी!यो पैसाको आविष्कार कसले गर्यो होला?त्यो आविष्कारक/बैज्ञानिकलाई आजीवन काराबासको सजाय दिनुपर्ने।हे भगवान!उसलाई किन त्यस्तो दिमाग दियौ?पैसाकै कारणले घरपरिवार/आफन्तबाट टाढिनुपर्ने।पैसाकै खातिर हमेसा तड्पिरहनुपर्ने!रोइरहनुपर्ने!के पैसाको विकल्प छैन?"
कोठामा पुगेपछि हजारौं बिचारहरुको ज्वारभाटा आयो।बोझिलो मन,ओसिलो नयन लिएर निद्रादेवीको काखमा पल्टिएँ।लाख कोसिसको बाबजुद पनि निंदाउन असफल भएँ।भोलिपल्ट लाल नयन र थकित तन लिएर काममा गएँ।मन भने नेपालतिरै भड्किरहेको थियो।काममा पुग्दा सबैजना हँसिला/चम्किला थिए।तर मेरो मुहार भने भुइँ-कुहिरोले छेकिएको थियो।बिल्कुल धमिलो।बादलले ढाकिएको जून जस्तो।ज्यान हाजिर थियो।तर जोश/जाँगर/रहर/उत्साह सबै गयल थिए।बोक्रो भित्रको खोक्रो थिएँ।गुदी नेपालमै छोडिएको थियो।
"किन ओमु,उदास देखिन्छ्यौ नि?भर्खर आएकोले घरको यादले बिक्षिप्त भएकी होलाउ।तनावग्रस्त नहुनु बहिनी।सकभर हर्षित रहने प्रयत्न गर्नु।"-स्टोरको किचेनमा काम गर्ने मदनले सम्झाउँदै भन्यो।
"कसरी खुसी हुनसक्छु र दाइ?मुटुलाई चटक्कै छोडेर बिरानो मुलुकमा आउँदा?याद त आइहाल्छ नि।मदन दाइ!के तपाईंलाई मुना भाउजुको याद आउँदैन?याद नआउने भए त ठिकै छ।नत्र भने तपाईंको प्रश्नको जवाफ आफ्नै मनभित्र पाउनुहुनेछ।"
"आउँछ नि ओमु बहिनी।किन नआउनु र?बिहे गरेको तीनैमै जीवनसाथीलाई छोडेर आएको छु।कहिलेकाही त अहिल्यै टिकट काटेर तुरुन्तै जाउँ जस्तो लाग्छ।तर हतासमा होस गुमाएर पनि व्यवहार चल्दैन।माया दिएर मात्र नपुग्नेरहेछ क्यारे आफ्नो परिवारलाई।दिनप्रतिदिन झनझन जिम्मेवारी र उत्तरदायित्व थपिंदै जान्छन्।सबै सम्हाल्नै पर्यो।मनको ईच्छा मनमै दबाएर तड्पी-तड्प्पी बाँच्न विविश छु।बेरोजगारी नै प्रेमको ठूलो शत्रु रहेछ।गरीबको जिन्दगी त जुवाडेले थुत्दै फालिएको तास जस्तै रहेछ।नियतिले थुतेर खाडीतिर फाले हामीलाई।"
कुराकानीकै शिलशिलामा मदन दाइले ओभनमा पकाउँदै गरेको पिज्जा डढाएर खरानी बनाइसकेछ।गफको क्रम भंग गरेर म्यानेजरको आँखा छली डढेको पिज्जा डस्टबिनमा फाल्यो।फेरि नयाँ पिज्जा हाल्यो।
टेबलहरु ग्राहकहरुले खचाखच भरिएका।यताउता हिंडडुल गर्न समेत गाह्रो भैरहेको अवस्था।अर्डर लिएँ।पिज्जा लिएर ग्राहक तर्फ बढें।पिज्जामा पनि मैले छोरीकै छवि झलझली देखें।
"मम्मी!मैले जतिसुकै अनुनय-बिनय गरेपनि किन मान्नुभएन?किन सुन्नुभएन?पैसाले अन्धो/बहिरो हुनुभयो हैन?आखिर छाडेरै जानुभयो है?मेरो माया रहेनछ तपाईंलाई।माया भैदिएको भए किन छोडेर जानुहुन्थ्यो र?यहाँ तपाईंकी छोरी न्यानो मायाको अभावमा कम त तड्पिरहेकी छैन नि!तपाईं साह्रै निष्ठुरी हुनुहँदोरहेछ।म यहाँ पलपल मरेर बाँचेकी छु।प्लीज मम्मी!छिटो फर्केर मलाई अँगाल्नुस्।"
परिस्थितिको अवलोकन/मूल्यांकन गरी आँखाले आफ्नो धर्म अंगाले।आँशुका थोपाहरु पिज्जामाथि तप्प-तप्प खसे।कसैले देख्यो कि भनेर यताउता हेरें।सबै आफ्नै धुनमा मस्त/व्यस्त भएकाले कसैले देखेनन्।पिज्जा लगेर ग्राहकलाई टक्र्याएँ।तात्तातो पिज्जा जिब्रो पड्काएर खाए।
"वाउ,ह्वाट ए डेलिसियस पिज्जा।आई लाइक ईट।"
यति भन्दै मजाले खायो।
"आँसु मिसिएर स्वादिलो भएको होला।"-मनमनै भनें।
साँच्चिकै सत्य/तथ्य कसैले थाहा पाएको भए मेरो जागिर चट हुन्थ्यो।मनमा एक किसिमको भय उत्पन्न भयो।मान्छेको आँशु पनि स्वादिलो हुन्छ क्यारे।
मरिना मलमा काम गर्दाको एउटा रमाइलो घटनाले मानसपटललाई सधैं रोमाञ्चित बनाइरहन्छ।कलिन नामको एकजना गोरे/अमेरिकन ग्राहक प्राय: दिनै पिज्जा खान आउँथ्यो।पहिलो दिनै ऊ मलाई देखेर बेचैन भयो।एक्लैले जम्मा १७ धिरामको पिज्जा खाएर ८३ धिराम टिप्स छोड्यो।गल्तीले छोडेको होला भन्ठानी बोलाएर पैसा फिर्ता दिएँ।
"सर योर चेन्ज।"
"इट्स ओके।कीप द चेन्ज।"
"सर!इट्स टू मच फर मी।आइ क्यान्ट कीप।"
"नो प्रोब्लेम।इट्स फर यु।"
उसले त्यति धेरै टिप्स छोड्नुको कारण मैले खोजिन।धनीमानीहरु त्यस्तै होलान् भन्ने लाग्यो।अर्को दिन पनि ऊ आयो।पिज्जा अर्डर गर्यो।खाएर टिप्स छोड्यो।त्यो दिन महाशयले टिप्स मात्र छोडेन।टिप्ससँगै फोन नम्बर र 'प्लीज कल मी' लेखिएको सानो चिट पनि छोड्यो।तेश्रो दिन पनि आयो।झन त्यो दिन त उसले प्रत्यक्षरुपमा भन्यो।
"आइ लाइक यु।यु आर सो ब्युटीफुल।विल यु बी माई गर्लफ्रेन्ड?"
मैले आफ्नो ५ वटा बालबच्चा भएको जानकारी दिएँ।तर उसले यहाँको लागि फरक नपर्ने कुरा गर्यो।
"आई ह्याभ कार एन्ड मनी।आई क्यान चेन्ज योर लाइफ।आइ क्यान पे लट्स अभ मनी फर यु।"
मैले आफू त्यस्तो चरित्रको केटी नभएको र पैसाको लागि आफ्नो देह बेच्न नसकिने तर्क गरें।
"थिङ्क वान्स अगेन।"
उसले मलाई फेरि सोच्न आग्रह गर्यो।
"दिस इज माइ फाइनल डिसिजन।यु क्यान सर्च अदर्स।"
यति भनिसकेपछि उसले आफ्नो बाटो ततायो।फेरि फर्केर पिज्जा खान आएन।कम्पनीको लागि एकजना ग्राहक घटेको थियो।मेरो प्वाकेटको लागि केही रकम घटेको थियो।तर जीवनबाट एक दुष्ट मान्छे पनि हटेको थियो।कम्पनीको लागि म आफ्नो ज्यान दाउमा राख्न चाहन्नथें।
उस्तै प्रसंगको अर्को रमाइलो कथा छ।एकजना अरबिक ग्राहक दैनिकरुपमा पिज्जा खान आउँथ्यो।हाउभाउ र व्यवहारानुसार उसले मलाई एकतर्फी मन पराउँथ्यो।बिल तिर्दा प्रायः सय/पचास टिप्स पनि छोड्ने गर्थ्यो।एकदिन उसले पनि आफ्नो असली अनुहार देखाएरै छाड्यो।
"मदाम गिभ मि योर मोबाईल नम्बर।आइ विल कल यु।"
"सोरी सर।आई डन्ट ह्याभ मोबाईल।आई एम पुअर पर्सन।"-मैले अलिकति मजाकमा भनें।
"सो टेक दिस मनी टु बाइ मोबाईल"
मोबाइल किन्नु भन्दै ५ सय धिराम पैसा दिन थाल्यो।
"आइ डन्ट नो अल्सो हाउ टु युज मोबाईल"
मैले आफूलाई मोबाईल चलाउन पनि नआउने कुरा गरें।
"यु हाउ फन्नी गर्ल।"
यति भन्दै उसले आफ्नो पैसा फिर्ता गोजीमा हाल्यो।यी त उदाहरण मात्र हुन्।यस्ता घटना मेरा सामू धेरै घटे।तर मैले आफ्नो सही मार्ग छोडेर गलत मार्गमा गईन।गल्ती ती केटाहरुको होला या नहोला।सायद सुन्दर हुनु मेरो गल्ती थियो कि!
एकजना ग्राहकले बिलसंगै फोन नम्बर,होटलको नाम र कोठा नम्बर पनि छोडेको थियो।मैले बाल दिईन।त्यो भन्दा पनि अनौंठो/रोचक अर्को कथा छ।कामले थाकेर आई कोठामा मस्त निंदाइरहेकी थिएँ।फोनको घण्टी बज्यो।मेरो निद्रा खलबल भयो।आँखा मिच्दै मोबाईल उठाएँ।
"हेल्लो,तपाईं नेपाली हो?"
"को भनेर फोन गरेको त?को बोलेको?"
"म राजेश।चिनजान गरुँ कि भनेर।"
"नचिनेको मान्छेले किन फोन गर्नुपरेको?"
"चिनजान त बिस्तारै भैहाल्छ नि।बरु भन्नुस् घर कहाँ पर्यो?"
"नेपालमा पर्यो।खास कुरा के छ भनिहाल्नुस्,मसँग समय छैन।"
"तपाईंसित साथी बन्नुपर्यो भनेर।"
"मलाई कसैको साथी बनेर हिंड्ने फुर्सद छैन।"
"त्यसो नभन्नुस् न।म तपाईंलाई असाध्यै मनपराउँछु के।"
"मलाई देखेकै छैनौ,अनि कसरी मन पर्यो त?"
"तपाईंको स्वर नै कति मीठो छ!झन मान्छे कस्तो होला!"
"म त्यस्तो खालको केटी हैन।अन्तै कोसिस गर्नुस्।म विवाहित नारी हुँ।दुई छोराछोरी छन्।"
"बिहे त मेरो पनि भैसकेको छ।छोरा तीन बर्षको हुँदैछ।हामी दुबै उस्तै परेछौं।तर हामी यहाँको लागि त साथी बन्न सक्छौं नि।घरतिर थाहा दिने कुरै हुँदैन।"
"मबाट कुनै पनि हालतमा यस्तो काम हुने छैन।आफ्नो पति र परिवारलाई धोका दिन सक्तिन।फोन गरेर समय र पैसा बर्बाद पार्दैछौ।मलाई फोन गर्नुको साटो आफ्नो परिवारलाई गर।त्यसैमा तिम्रो भलाई छ महोदय!आईन्दा मलाई डिस्ट्र्ब नगर।राम्रो हुने छैन।"
थर्काएर फोन राखें।फेरि कहिल्यै उसको फोन आएन।
वास्तवमा म बस्ने क्याम्प एउटा रंगमञ्च जस्तै थियो।दिनप्रतिदिन नयाँ-नयाँ नाटक मञ्चन हुन्थे।घण्टा,दिन,हप्ता र महिना हुँदै बर्षहरु बित्दै थिए।समयको बेगसँगै त्यहाँ बस्ने कर्मचारीहरु पनि गतिशील थिए।परिवर्तनशील थिए।मान्छेहरु यति द्रुतगतिमा परिवर्तन हुन्थे कि त्यसको बयान गर्न कुनै कलमले सम्भव छैन।तैपनि छोटकरीमा बयान गर्ने दुस्साहस गर्छु।पुरानो राजीनामा दिएर जाने र नयाँ आउने नियमित प्रकृया चलिनैरहेको थियो।नयाँ आएका विवाहित केटी सहपाठीहरु शुरुमा भावुक हुन्थे।घरपरिवार सम्झन्थे।'बिचरा मेरो श्रीमान' भनेर मायाभाव दर्शाउँथे।बारम्बार घरमा फोन गरिरहन्थे।तर समयको चक्रसँगै उनीहरुको बानी-व्यवहारले यु-टर्न मार्थे।असल श्रीमान् अचानक खराब हुन्थे उनीहरुको नजरमा।
"मेरो बुडा त जँड्याहा।जाँडरक्सी खाएर जहिल्यै लफडा गर्ने।कुटपिट गर्ने।बाहिर केटीहरु खेलाउँदै हिंड्ने।बिना काम लफाङ्गो भएर घुमिहिंड्ने।"
शुरुमा भगवान ठान्ने।पछि एकाएक हैवान हुन्थे।कोही नेपाली,कोही भारतीय,कोही ईजिप्सियन र कोही बंगालीसित लागेर रोमान्स गर्थे।सयमा एकादुई मात्र सही थिए।केटा फेरी-फेरी हिंड्थे।केटीहरु मात्र नभई केटाहरूको झन रोचक कहानी छ।मेरै साथी गीतालाई एकजना केटाले आफू अविवाहित भएको झूटो जानकारी दिएर फसायो।पछि मात्र थाहा भयो।ऊ विवाहित मात्र नभई दुई बालबच्चा घरमा थिए।केटालाई कति सजिलो!जहाँ गयो त्यही श्रीमती!
अर्की साथी बिनितालाई पनि सुरेशले उस्तै गरी सौतामा फसायो।अर्की ज्वलन्त पात्र हुन्-सबिना।मेरै कम्पनीमा कार्यरत।मेरै कोठाको सहपाठी।उनको श्रीमान् अबुधाबीमा कार्यरत थियो।शुरुका दिनहरुमा प्रत्येक हप्ता उनीहरुका भेटघाट हुन्थे।भेटघाट क्रमशः पातलिंदै गयो।
"मेरो राजा!म अहिले थकित छु।अहिले सुत्छु ल?नरिसाउ,म बोल्न सक्ने स्थितिमा छैन।"
मधुर बोलीमा मख्खै बनाउँथिन्-आफ्नो श्रीमानलाई।केहीबेर पश्चात् अरु केटासित बोल्थिन्।मध्यरातमा कोठा छोडेर केटा भेट्न जान्थिन्।कतिखेर आएर सुत्थिन्,केही थाहा हुन्नथ्यो।एउटै देशमा रहेर पनि श्रीमानलाई धोका दिन्थिन्।मैले धेरै सम्झाएँ/बुझाएँ।तर भालुलाई पुराण सुनाएर के फाइदा?उनीहरुले रोमान्स गर्न छोडेनन्।स्वयं थाकेर चासो लिन छोडिदिएँ।साथीहरूको अभिनय कला झनझन खारिंदै थियो।तीन महिनामा एकदिन पनि आफ्नो श्रीमान् लाई नभेट्ने सबिना एकाएक दुई जिउकी भईन्।आफ्नो श्रीमानको थिएन।उनी अत्यन्तै तनावग्रस्त थिईन्।
"दिदी!केही उपाय भए बताइदिनुपर्यो।मेरो श्रीमानले अहिले नपाउँ भन्दै हुनुहुन्छ।औषधि उपचार भए मद्दत गर्नुपर्यो।"
"हेर केटी पहिलो बच्चा हो।किन खेर फाल्छ्यौ?पछि बच्चा नपाउने पनि हुनसक्छ्यौ।होसियार!आफ्नै बुडाको बच्चा हो,किन पीर मान्छ्यौ?शिलाको हालत होला खबरदार!शिला भन्ने केटीको पनि ईजिप्सियन केटा थियो।दुर्भाग्यबश उनको गर्भ रहन गएछ।गर्भपतन गैर-कानूनी भएकोले कताबाट औषधि किनेर गर्भ फाल्न खोज्दा अत्याधिक रक्तस्राव भएर अस्पतालमा भर्ना भईछे।भ्रुणहत्याको केसमा पुलिसले जेल हालेछन्।पछि मुश्किलले मुद्दाको छिनोफानो भएछ।कति धेरै पैसा तिरेर आफ्नो मातृभूमि फर्किन्।उनको जस्तो नहोस् है!"
"मैले चाहेर मात्र भएन।बुडा मान्दैन त के गरुँ?"
"दिदी!बाह्र सयको औषधि खाएर फालेकी।मेरो लागि पनि खाना पकाउनु।म अलि सक्दिन के।त्यसैले तपाईंलाई भन्नुपरेको।"
दुईदिन पश्चात् उनले आफ्नो हर्कत सुनाईन्।उनको कर्तुत सुनेर साह्रै घृणा लागेर आयो।अनुहार समेत राम्ररी हेर्न मन लागेन।घोक्रेठ्याक लाएर कोठाबाट निष्कासन गर्न मन लाग्यो।मुखभरी थुक जम्मा गरेर थुक्न मन लाग्य्यो।सामाजिक कलंकको रुपमा उनको मुहार मेरो वरिपरि नाच्न थाल्यो।यति घृणा गरें कि त्यति घृणा त मैले पासाङलाई समेत गरेकी थिईन।तर अशक्त भएकोले नारी र मानवताको नाताले मासुभात पकाएर खुवाएँ,लगातार दुईदिनसम्म।धन्न उनको कर्तुत सफल भएछ।
विकृति/विसंगतिको जरा फैलिएर धेरै दूर-दूरसम्म पुगिसकेको थियो।त्यो जरालाई काटेर फाल्न सम्भव थिएन।त्यहाँ हुने गरेका नाटक मञ्चनलाई दर्शक भई टुलुटुलु हेरेर बस्नु बाहेक गर्न सक्ने केही थिएन।जेहोस मेरा दिनहरु राम्रैसँग ब्यतित भैरहेका थिए।ती नाटक पनि मेरा लागि मन बहलाउने माध्यम भए।
मरिना मलमा काम गर्दा केही दु:ख,केही सुखले समय गुज्र्यो।व्यापार निकै कम थियो।अर्कोतिर मल-व्यवस्थापन समितिले भाडा वृद्धि गर्यो।त्यहाँको स्टोर बन्द भयो।फाइनन्सियल सेन्टरको पिज्जा हटमा सरुवा भएँ।अति व्यस्त र हाइफाइ जीवनशैली।उच्चस्तरीय भवनहरुको क्षेत्र।त्यहाँको स्टोर चौबिसै घण्टा खुल्ला हुन्थ्यो।खचाखच ग्राहकहरु आउँथे।भोक-प्यासले लखतरान हुँदा पनि स्टाफलाई खाने फुर्सद हुन्थेन।दिसापिसाब आएपनि कहिलेकाही त थामेरै बस्नुपर्ने स्थिति आउँथ्यो।रोवोर्टले जत्तिकै अनवरत/द्रुतगतिमा काम गर्नुपर्थ्यो।मेशिनलाई त विश्राम चाहिन्छ भने हाम्रो शरीर मेशिनभन्दा कृयाशील थियो।
No comments:
Post a Comment