Monday, 10 October 2016

आरोह अवरोह-२२

              परिवारका सर्व-सदस्यहरु देश-परदेशबाट आएर एकत्रित त भए तर बेरोजगारीको सिकार भएर हातमुख जोर्नसम्म धौधौ परिरहेको अवस्था।दाजुभाइ र मनोज फेरि बिदेशमा जाने अवसरको खोजीमा यत्रतत्र भौतारिन थाले।तर भने जस्तो र सोचे जस्तो तत्काल काम हुन सकेन।फैकाको पुरानो घर अर्कै साहुले किनेर घरको मर्मत-सम्भार हुने भएकोले कोठा त्यहाँबाट रामहिटीमा सार्यौं।डाइनिङ/किचेन/बेडरुम जे भनेपनि एउटै कोठा।सबैजना त्यही सानो कोठामा मिलेर बस्न थाल्यौं।दुईवटा पलाङ मुश्किलले अटाएका।खाली ठाउँ अलिकति मात्र।स्वतन्त्रपूर्वक हिंडडुल गर्ने र खाना पस्केर खाने ठाउँको चरम अभाव।मनोज,म र नानी ठूलो पलाङमा।दाइ या भाइ अर्को सानो पलाङमा।एकजना जसरी पनि भुइँमा डस्ना बिछ्याएर सुत्नैपर्ने बाध्यता।कोही पाहुना आइलागे जाउ भन्न पनि नसकिने,बस भन्न पनि।

               मनोजले साँढे-तीन सालमा जम्मा ८० हजार रुपियाँ लिएर आएको थियो।दैनिक ५/६ जना लगातार बिना कुनै काम/आम्दानी बसेर खाँदा त्यो रकम पनि सकिने स्थिति आयो।एकातिर बिदेश जाने काम नमिल्नु।अर्कोतिर साथमा भएको दुईचार पैसा पनि सुहा हुन लागेको कारण दिनप्रतिदिन चिन्ता/तनाव उस्तै बढ्न थाल्यो।एकदिनको कुरा हो।रातको ११ बजे।हामी बस्ने घरका सबैजना चीरनिद्रामा मस्त सुतिसकेका थिए।सबै खाउँखाउँ/लाउँलाउँ भन्ने खालका/हट्टाकट्टा भएकाले सानो राइसकुकरमा पकाएको खानाले सानो आन्द्रा पनि भरिएको थिएन।सबै आधा पेटमा थियौं।अरु दिन खानाले जेनतेन पुग्थ्यो तर त्यो रात एकजना आफन्त पाहुना थपिएको थियो।खाना खाएर सुत्ने ठाउँको अभाव देखेर पाहुना त गैहाल्यो।चामलको बोरामा जम्मा एकमुठ्ठी चामल पनि बाँकी रहेन।सुत्न लाग्यौं।तर खाना टनक्कै खाएको भए पो मीठो निद्रा आउनु।मनोज अर्धचेतनबाट जुरुक्क उठेर मैनबत्ती बाल्यो।त्यतिखेर देश लोडसेडिङको अन्धकारमा फसेको थियो।
"मनोज!सुत्न छोडेर मध्यरातमा के गर्न लागेको?"-कौतुहल हुँदै सोधें।
"म त अब कोदोको खोले पकाएर खान्छु।भातले पेट अलि भरिएन के।"-आँखामा टिलपिल आँशु बनाउँदै भन्यो।
"भेना!म पनि खान्छु है?मलाई पनि पकाउनु।"
तेन्जी भाइले पनि हतार-हतार भन्यो।बेलैमा सचेत नगराए खान पाउँदिन भन्ने सोच थियो उसको।
"ज्वाइँ!म पनि अलिकति है!"
लाक्पा दाइले पनि आफ्नो स्थान सुरक्षित गर्न खोज्नुभयो।
म भने उनीहरुको वार्तालाप/कृयाकलाप सुन्दै/नियाल्दै थिएँ।
"खोले त दिउँला तर त्यो भन्दा पहिले म सबैको अन्तर्वार्ता लिन्छु।जो अन्तर्वार्तामा उतीर्ण हुन्छ,उसले मात्र खोले खान पाउँनेछ।सहमत हैन त मेरो प्रस्तावमा?"-मनोजले ठट्यौली पारामा भन्यो।
"भेना,अन्तर्वार्ता चाहिँ नेपालीमा कि अंग्रेजीमा?"-तेन्जी भाइले सोध्यो।
"अंग्रेजीमा नि केको नेपालीमा हुन्छ?नेपालीमा त जो पनि उतीर्ण भैहाल्छ नि।"
"ल ल भेना सोध्नुस् न के सोध्नुहुन्छ?"
यति भन्दै तेन्जी भाइ अन्तर्वार्ताको लागि तयार भएर उभ्यो।
"आफूलाई त अंग्रेजी पनि आउँदैन।खोले पनि चाहिएन।अंग्रेजी जान्नेहरु नै खाऊ।"
यति भन्दै लाक्पा दाइ हरेश खाएर पलाङमाथि पल्टिनुभयो।
"हा हा हा हा हा हा•••••••••••••••••••।"
मैले आफूलाई नियन्त्रण गर्न नसकेर खित्का छोडेर के हाँसेकी थिएँ,मेरो हाँसोमा सबैको हाँसो थपिएर पूरै घरमा मीठो ध्वनिको गुञ्जायमान भयो।हाँस्दा-हाँस्दा शरीरमा चिटचिट पसिना,आँखाबाट आँशुको धारा छुट्टीए।कठैबरा!त्यो मीठो हाँसोमा कति दरिद्रता/अभाव/पीडा/आँशु मिसिएको थियो?केवल हामी बाहेक अरु कसलाई थाहा होस् र?हामी जोड-जोडले हाँसेको सुनेर भाडामा बस्नेहरु पनि होहल्ला गर्न थाले।
"किन हाँसेका तिमीहरु यति मध्यरातमा?सबैजना सुतिसकेका छन्।अलि बिस्तारै हाँस्नुहोला है बहिनी।"
घरपेटी आई चेतावनी दिएर गैहाल्यो।छिमेकीहरु कोही ढोकाबाट त कोही झ्यालबाट लाल-लाल नजरले हामीलाई हानिरहेका थिए।
"खुस्यो कि क्या हो?पागलहरु•••!"
दुईतीन जनाले ढोकाबाट एकै स्वरमा भनेर फटाफट आ-आफ्नो कोठातिर प्रस्थान गरे।
हो,साँच्चिकै हामी पागल भएका थियौं।अभाव र तनावले पागल।दरिद्रता र समस्याले पागल।मोजमस्तीमा आरामदायी जिन्दगी जिउनेहरु नै सज्जन!बाँकी सबै पागल!हामी पागल।नेपालका ८०% मानिसहरू पागल!

            माघ मासको कठङ्गृने उत्पात जाडोले सीधा मुटुमा प्रहार गरिरहेको थियो।चाँडै खानपिन सकेर मनोज र म लुगलुग काम्दै न्यानो घामको ताप खोज्दै खुल्ला चउरमा निस्क्यौं।छोरी भने स्कुल गैसकेकी थिइन्।रामहिटीको आकाशमा कालो बादल मडारिन थालेकोले आकाशले मन्द मुस्कान मात्र दिएझैं लाग्थ्यो।कालो बादल हट्ने झिनो आश लिएर हामी कोठाबाट लगिएको दुईटा स-साना चकटी बिछ्याएर पलेटी कसेर बस्यौं।हाम्रो मुहारमा कुनै चमक/रौनक/उत्साह/उमंग थिएन।त्यो बादल लागेको आकाश र मनोजको मुहार उस्तै देखिन्थ्यो।त्यो आकाशको कालो बादल त हट्ने निश्चित नै थियो तर हाम्रो मनमा मडारिन थालेको कालो बादल कहिले हट्ने हो कुनै निश्चितता/ग्यारेन्टी थिएन।
"ओमु!हामीसंग भएको रकम पनि खत्तम हुन लागिसक्यो।कोठा भाडा समेत कसरी तिर्ने?कसरी गुजारा चलाउने?बिदेश जाने काम पनि मिलेको छैन।भोलिदेखि म काम गर्न जान्छु।अरु काम त भनेको बेला पाईंदैन।पल्लो कोठाको दाइसित ज्यामी काम गर्न जान्छु।साँखुतिर हाम्रो गाउँको चिन्ने-जान्ने पनि कोही भेटिंदैनन्।ढुक्कसँग काम गर्न सकिन्छ।कसैले कुरा काट्ने मौका पनि पाउदैनन्।"-उसले ब्याकुल हुँदै भन्यो।
"हैन मनोज,तिमी त पहिले शिक्षक गरेको मान्छे।कहाँ ज्यामी काम गर्न सुहाउँछ?म तिमीलाई त्यस्तो काममा पठाउन सक्दिन।बरु म जान्छु काम गर्न।"
"अरे तिमी आईमाई मान्छे झन कहाँ ज्यामी काम गर्न जानु?अहँ,हुँदै हुन्न।तिमीलाई ज्यामी काम गराएर म चाहिँ नामर्द बनेर बसी-बसी खाने?यस्तो कुनै पनि हालतमा हुनै सक्तैन।नचाहिने कुरा नगर तिमी।अलिकति सुहाउने कुरा गर न।हेर,यस्तो कोमल हातले कसरी गर्न सक्छ ज्यामी काम?मैले तिमीलाई यस्तो काममा पठाएँ भने त्यो भन्दा ठूलो भूल र महापाप के हुन सक्ला?नारीको काम भनेको घर/परिवारको हेरचाह गर्ने हो।आफ्नो सन्ततिलाई नितान्त आवश्यक पर्ने माया,स्नेह र ममता प्रदान गर्ने हो।घरलाई सजाउने र त्यो सुन्दर घरभित्र सजिएर बस्ने काम हो।नारी देवी,आमा,पत्नी,लक्ष्मी जस्ता सम्मानित रुप हुन्।कोमल हृदय भएकी मायाकी खानी हुन्।चोटपटक लागेर बनेको घाउमा लगाउने शित्तल मलम हुन्।हामी पुरुषहरूको काममा हस्तक्षेप गर्ने कोसिस नगर।मेरो भनाईको मतलब नारीलाई दबाउने नभएर प्रशंसा र पूजा गर्ने नै हो।यसरी अनावश्यक मार्गमा कदम चालेर मेरो पुरुषार्थलाई कमजोर नबनाऊ।बिन्ती छ।"
अलिकति माया,अलिकति दया र अलिकति रिस देखाउँदै भन्यो।साँच्चिकै त्यहाँ हामी एक अर्काप्रतिको अगाध माया,त्याग र बलिदान स्पष्टरुपमा झल्कियो।दु:ख-सुख संगै बाँडेर एक-अर्कालाई साथ दिनु हाम्रो दृढ संकल्प थियो।वास्तवमा चोखो ,निश्छल,पवित्र र अजम्बरी मायाको परिभाषा मैले त्यतिखेर थाहा पाएँ।धेरैको मुखबाट सुनेकी थिएँ सच्चा मायाको बारेमा।तर त्यो दिन मैले स्वयंले अनुभव गरें।मैनबत्ती झैं बलेर अरुलाई उज्यालो दिनु नै सच्चा माया रहेछ।आफूलाई भन्दा पनि अरु कसैलाई बढ्ता माया गरिन्छ भने त्यो नै रहेछ वास्तविक माया।आफ्नो ज्यानको पर्वाह नै नगरी अरुको ज्यान बचाइन्छ भने त्यही रहेछ अमर माया।चाहे देह समाप्त भएर किन नजाओस्,आत्माभित्रको सच्चा माया सयौं जूनीसम्म जीवितै रहनेरहेछ।ईतिहासको विभिन्न कालखण्डमा गरिएका राधा-कृष्ण,लैला-मज्नु,रोमियो-जुलिएट र मुना-मदन बीचको माया किन सदियौंदेखि  आजसम्म अमर/जीवित छ भन्ने प्रश्नको जवाफ आजै मात्र पाएँ मैले।जवाफ खोज्न कतै टाढा जानुपरेन।जवाफ हाम्रै सामू थियो।त्यसैले आजैदेखि किन एक अर्कालाई साँचो र अजर-अमर प्रेम नगर्ने?यही प्रश्न लिएर गाउँ-गाउँ,टोल-टोल र शहर-शहर घुम्न मन लागेर आयो।
"यदि कसैको बीचमा रिस,डाहा र घृणा भए आजैदेखि त्यागेर चोखो माया गर्न थाल्नुस्"भनेर सबैलाई सिकाउँदै,प्रचार गर्दै हिंड्ने जोश र उमंग बढेर आयो।तर त्यस्तो पागलपन गर्दै हिंडेर समाजले स्याबासी दिनु भन्दा पनि कुरा काट्दै हिंड्नेछन् भन्ने कुरालाई आत्मसात गर्दै त्यस्तो हर्कत बाट दूर रहने अठोट गरें।

              एकदिन गाउँको एकजना दाइले लाजिम्पाटको शिखर म्यानपावरमा दुबईको लागि केएफसी कम्पनीमा महिला कामदारको माग आएको र दुबई महिलाहरुको लागि सुरक्षित गन्तव्य पनि भएको बताउनुभयो।मैले आफू पनि दुबई जान पाउँ भनी मनोजसित स्वीकृति लिने प्रयत्न गरें।गरिबी,बाध्यता र भविष्यको बारेमा निकै लामो विश्लेषण गरेर उसलाई मनाउने कोसिस गरें।शुरुमा त उसले मेरो प्रस्ताव स्वीकार गरेन।
"आईमाई मान्छे कहाँ बिदेश जानु?अत्यन्तै गाह्रो हुन्छ आईमाई मान्छेलाई।बरु तिमी स्वदेशमै ईंटा बोकेर खाऊ।तर बिदेश कहिल्यै नजाऊ।कुनै पनि हालतमा तिमीलाई बिदेश पठाउन सक्तिन।यस्तो पाप मबाट हुनै सक्तैन।तिमीले दु:ख पाएको म कसरी टुलुटुलु हेरेर बस्न सकुँला र?बिदेश जान त म छँदैछु नि।मैले हरदिन कोसिस गरिरहेकै छु क्यारे।एकदिन न एकदिन त मेरो काम अवश्य सफल हुन्छ।धैर्य गर ओमु!आँतिएर पनि के नै हुन्छ र।तिमी बिदेश गएर नानीको हेरचाह कसले गर्छ त?बिचरी सानै छे।यतिबेला उनलाई आमाको खाँचो छ।नानीको लागि पनि तिमी बिदेश जानै हुन्न।तिमी गयौ भने घर-व्यवहार लथालिंग/भताभुंग हुन्छ।लक्ष्मीरुपी नारीको अनुपस्थितिमा एउटा घरको अवस्था कस्तो होला?तिमी मनन गर त।तिमी बिना यो सानो कोठा पनि अन्धकार हुन्छ।शून्य-शून्य लाग्नेछ।मानवबस्तीदेखि धेरै दूर हिमाली भूखण्डमा गुफा जस्तै।मेरो लाचारिताको सजाय किन एउटी निर्दोष बच्चालाई दिन्छ्यौ?एउटी आमा बिना ४/५ बर्षे बालिकाको मन/मस्तिष्कमा कस्तो नकारात्मक असर पर्छ?सोच त एकचोटि ठण्डा दिमागले।पैसा नै सबथोक हैन ओमु।पैसाले भौतिक सुख देला तर वास्तविक खुशी कदापि दिन सक्दैन।पैसाको पछि लागेर आफ्नो सन्ततिलाई चटक्कै माया मारेर कसरी जान सक्छ्यौ भन त?"-मनोजले सकभर सम्झाउने चेस्टा गर्दै भन्यो।
"हो मनोज,तिम्रो कुरा म बुझ्छु।तर हाम्रो हालत,अवस्था र स्थितिलाई बुझ्ने कोसिस गर त।हामीसँग भएको दुईचार पैसा पनि खत्तम भएपछि हाम्रो हालत माग्दै हिंड्ने जोगीको भन्दा पनि तल्लोस्तरको हुन्छ।माया र दर्शनले जिन्दगी चल्दैन प्यारा!पैसा नै ठूलो हैन,सबथोक हैन भनेर तिमी भन्दैछौ नि।त्यो दर्शनमा मात्र लागू होला।जिन्दगी चलाउन त पैसै चाहिन्छ।हाम्रो यस्तो हालत किन भयो?पैसाको अभावमा हैन?पैसावालाहरुको जिन्दगी हेर कति उच्चस्तरको छ।उनीहरुलाई के कुराको अभाव छ?अहिलेको जमानामा जन्म दिने बाबा-आमा बाहेक अरु सबै पाईन्छ पैसामा।संसारका सबै कुराहरु बिक्छन्।धनी र गरीबको बीचमा जुन खाडल बनेको छ -के कारणले बनेको हो?पैसाको कारणले हैन?खोक्रो आदर्शको कुराले घर-व्यवहार चल्दैन।मलाई पनि बिदेश जाने रहर त कहाँ छ र?जसरी पनि म जानैपर्छ।बरु राम्रो रहेनछ र काम गर्न सकिएन भने फर्केर आउँला।तिम्रो काम मिलेपछि म फर्के पनि फर्कुँला तर अहिलेको लागि म नगई हुन्न।"
"केही दिन प्रतिक्षा गर न ओमु।आँतिएर लिएको निर्णय गलत पनि हुन सक्छ।आईमाई बिदेश जानु भनेको चानचुने/ठट्टाको बिषय हैन।सयपल्ट सोचेर मात्र पाइला चाल्नुपर्छ।कुनै खतरा मोलिसकेपश्चात पछुताउनु नपरोस्।"
"धेरै सोचेर समय खेर फाल्ने बेला हैन यो।आफूलाई जे सही लाग्छ,कदम चालिहाल्ने बेला हो।"
"ल ल तिम्रै खुशी।म त अझैपनि भन्छु-तिमी बिदेश नजाऊ।मिलेर समस्याको सामना गरौंला।खोले-फाँडो जे भएपनि बाँडीचुँडी खाउँला।तिमी बिदेश गयौ भने समाजले पनि हामीलाई हेपाह प्रबृतिले व्यवहार गर्नेछन्।नकारात्मक दृष्टिकोणले हेर्नेछन्।मलाई नामर्द र तिमीलाई नामर्दकी श्रीमति भन्नेछन्।श्रीमति पाल्न नसकेर बिदेश खेद्यो भनेर नानाथरीका टिकाटिप्पणी गर्नेछन्।कुरा काट्नेछन्।सबै-सबै सहुँला तर समाजको तिरस्कार कुनै पनि हालतमा सहन सक्तिन।त्यसैले प्लीज ओमु,बिदेश नजाऊ ,मेरो लाख बिन्ती छ तिमीलाई।"
"समाजले के भन्छ र के भन्दैन भनेर डराएर त झन समस्याको समाधान कसरी होला र?हामीलाई समस्या आईपर्दा समाजले हेर्नु त परै जाओस् देखेर पनि नदेखे झैं गरेर तर्केर हिंड्छन्।फेरि बिदेश जाने म पहिलो केटी हैन।अरु पनि त आउने-जाने गरिरहेकै छन्।यो एउटा चुनौती मात्र नभएर समाजलाई गरेर देखाउने र समाजको दृष्टिकोणलाई बदल्ने एउटा मौकाको रुपमा पनि लिनुपर्छ।चाहेको खण्डमा नारीले पनि संसारको जुनसुकै कुनामा गएर कर्म गर्न सक्छे भन्ने सन्देश पनि दिनुछ।"-मैले नयाँ ढंगले सम्झाएँ।
"ओमु,तिमी गएरै छोड्छ्यौ भने म रोक्दिन।मैले जे भन्नुथियो/भन्नुपर्थ्यो,त्यो भनिसकें।अझै पनि बिचार गर केही बिग्रेको छैन।"
उसले आफ्नो भएभरको तागत लगाएर सम्झाएपनि केही नलाग्ने देखेर हरेश खाँदै भन्यो।

               भोलिपल्ट स्वयं मनोजसित लाजिम्पाटको शिखर म्यानपावरमा गएर बिस्तृतरुपमा जानकारी लिंदा जम्मा १५० जना महिलाको कोटा आएको रहेछ।आन्तरिक अन्तर्वार्ता पनि धमाधम भैरहेको र अरुले पनि राम्रै हुन्छ भनेको सुनेपछि मैले पनि जाने नै निर्णय गरें।त्यसैको भोलिपल्ट भक्तपुर गएर सात हजार पाँच सय तिरेर दुई घण्टाभित्रै राहदानी बनाएँ।राहदानी बनेको अर्को दिनै अन्तर्वार्तामा उतीर्ण पनि भएँ।मेडिकल जाँच पनि भयो।सबै कुरामा पूर्ण भएपछि १० हजार रुपियाँ पूर्व-भुक्तानी गरेर राहदानी बुझाएँ।ठिक एक महिनापछि मुग्लानको यात्रा तय हुने कुरा त्यहाँका कर्मचारीले बताए।

                 एकमहिना पछि फोन गरेर म्यानपावरमा सोधेँ।
"सर हाम्रो दुबईको लागि केएफसी को भिषा के हुँदैछ?म ओमु।"
"बहिनी!तपाईंको इमिग्रेसनमा केही समस्या देखिएकोले भिषा लाग्न सकेको छैन।हामीले पुनःप्रकृया थालेका छौं।केही दिन अझै लाग्छ।तपाईंको सम्पर्क नम्बर यही हैन त?काम भएपछि हामी फोन गर्छौं तपाईंलाई।"
"ए अनि मसंगै अन्तर्वार्ता दिएका अरु केटीहरुको चाहिँ के भयो त सर?त्यो मुना राईको के भयो?"
"१५० मध्य प्रायः धेरैको भिषा आइसकेको छ।त्यहीँ ४/५ जनाको मात्र समस्या देखिएको हो।ए त्यो मुना राई लगायत १५ जना त उडिसके हिजै।बाँकी अरु पनि यथाशीघ्र जानेछन्।"
"हवस् सर मेरो भिषा आएपछि मलाई यही नम्बरमा सम्पर्क गर्नुहोला।"
त्यो दिन पनि हामीले अरु दिन जस्तै चउरमा घाम ताप्दा ताप्दै फोन गरेका थियौं।तर त्यो दिनको रवि अस्तिको जस्तो मधुरो थिएन।बादलको एक टुक्रा पनि थिएन उपत्यकाको आकाशमा।रविको पारिलो/न्यानो किरणले फाल्गुनको चिसोले चिल्लर भित्रको व्वाइलर चिकेन जस्तै जमेर डल्लो भएको शरीरलाई फैलाइसकेको थियो।लाली चढाइसकेको थियो मेरो पुरै शरीरमा।
              बेकारमा फोन गरेछु जस्तो लाग्यो म्यानपावरमा।फोन गरिसकेपछि मेरो शरीर स्वत: सेलाएर आयो।खुम्चिएर उहीँ बरफभित्रको जमेको चिकेन जस्तै हुन थाल्यो।त्यो पारिलो घाम,उज्यालो दिनमा पनि खै किन हो आँखाले अन्धकार मात्र देख्न थाले।मनको आकाशमा कालो बादल मडारिन थाल्यो।
               केहीबेरमै गर्जाङको स्कुलमा कमरेड आउने दिनको जस्तै दु:ख र पीडाको पानी/असिना मिश्रित वर्षा हुन थाल्यो।हाँसिरहेको मनलाई पलभरमै रुवाउने यो कस्तो नियति हो जिन्दगीको!किन घरीघरी लुकामारी खेल्छ यो भाग्यले!अरुको काम भएर मेरो मात्र नभएको खबरले मलाई मर्माहत बनायो।उदास/निराश/हतोत्साहित हुँदै कोठामा गएर आफ्नो भाग्यलाई थुकें।आफ्नो जिन्दगीलाई धिक्कारें।अनि आफ्नो शीरलाई दुई-तीन पल्ट भित्तामा ठोक्काएँ।तर जे गरेपनि हुनेवाला केही थिएन।दर्द र पीडा बाहेक।कोही भिषा आएर परदेशिनु पर्दाको पीडा/वेदनाले रुन्छन्।म भने भिषा नआएर बिदेश जान नपाएको पीरमा रोएँ।पीडा आ-आफ्नै हुनेरहेछ।बेग्लाबेग्लै।कहर र बाध्यताले बिदेश भासिनु पर्दा पो रुन्छन् त प्रायः।तर म त त्यो बाध्यतामा फस्न नपाएकोमा रोएँ।बिदेश जाने मेरो रहरभित्रको कहर त आफ्नो ठाउँमा छँदैथियो।भिषा आउने-नआउने कुनै ग्यारेन्टी नभएकोले हाम्रो जिन्दगी दिनप्रतिदिन झनझन जटिलता/अन्धकारतर्फ उन्मुख हुँदै गएको ठहर गरें।
"चिन्ता नगर ओमु!भिषा नआएर के भो त?बिदेश जानैपर्छ भन्ने के छ ?तिमी बिदेश नजाँदा पनि त चलेकै थियो।अहिले पनि चलेकै छ।खास मेरो चाहना पनि तिमी बिदेश नजाओस् भन्ने नै हो।तिमी भने बिदेश जान पाईन भनेर टाउको भित्तामा ठोक्काएर आफूले आफूलाई दु:ख दिन्छ्यौ।सताउछ्यौ।खाल्डोमा हाल्न खोज्छ्यौ।यसरी समस्याको समाधान हुने हैन ओमु।बरु समस्याको सृजना हुन्छ।"-मनोजले सम्झाउँदै भन्यो।
"तिम्रो चाहना पूरा भएकोमा खुशी भएर दिपावली मनाऊ न त अब।तर तिमीले मनाउने दिपावली मेरो लागि औंशीको रात भन्दा पनि बढी कहालीलाग्दो हुनेछ।कसैको मुहार त्यतिबेला उज्यालो हुन्छ,जुनबेला उसको आत्मा सन्तुष्ट हुन्छ।जुनबेला उसको पेट टनक्क भरिएको हुन्छ।अनि जुनबेला उसलाई भविष्य प्रति कुनै चिन्ता हुँदैन।"-मैले आफ्नो धारणा अभिव्यक्त गरें।

                 नजिकैको चउरमा गएर घामको न्यानोपनसंग मितेरी गाँस्नु हाम्रो दैनिकी जस्तै भैसकेको थियो।पुसमाघको पीडादायी र कठङ्गृने मौसमले धर्तीबाट बिस्तारै बिदाइ माग्दै फागुनको एघारौं दिनले तताउने कोसिस गरिरहेको थियो।मेरा खुम्चिएका नशा र अंग-प्रत्यंगहरु बिस्तारै फैलिने क्रममा थिए।भंगेरा-भंगेरीहरुको एक हुल हामी बसेकै चउरमा आएर चर्तिकला देखाउन लालयित थिए।तिनीहरुको हर्कतले हाम्रो जवानीलाई जिस्क्याएर दिउँसै रात पार्न खोज्दै थियो।नीलगगनमा देखिने प्रचण्ड रवि पनि शरमले बादलुको घुम्टो लगाएर लुक्न खोज्दै थियो।आकाशमा उडिरहेका केही हुल पंक्षीहरुले हाम्रो समिपको जमिनमा चर्तीकला देखाउदै गरेका भंगेराको हुललाई पखेटाले ताली बजाएर समर्थन गरेझैं देखिन्थे।नेपाल आमाका माहुरीझैं मिहिनेती/परिश्रमी सन्तति बोकेको बिदेशी बिमान भर्खरै मात्र क्षितिजमा बिलिन भयो।त्यो दृश्य देखेर मन त्यतिकै अमिलो भएर आयो।हर्षित भएँ भिसा नआएकोमा।तर त्यतिकैमा अस्थीर मेरो मनलाई झन अस्थीर बनाउँदै शिखर म्यानपावरको कर्मचारीले फोनको घण्टी बजायो।
"ल ओमु!हार्दिक बधाई छ तपाईंलाई।तपाईंको भिषा हिजो भर्खरै झर्यो।दुईचार दिनमा उडिहाल्नुपर्छ।बुझाउनुपर्ने बाँकी रकम जम्मा गरेर तयारी अवस्थामा रहनुहोला।"
"ए,हवस्।हुन्छ।ल ल ।"-मेरो मुखबाट यति मात्र निस्क्यो।
दुष्मनले मिसाइल पठाएर ध्वस्त पारेझैं भयो मेरो मुटु।अचानो माथि राखेर धारिलो खुकुरीले पारिएको टुक्राटुक्रा मासुझैं भयो।कहिल्यै निको नहुने गहिरो घाउ भयो।तर बाहिरी रुपमा आफूलाई बहुत खुशी देखाउने प्रयत्न गर्न थालें।खित्का छोडेर हाँसे-"हा हा हा हा••••।"
तर हाँसोसंगै आँशुको भेलले परेलीलाई रुझाएको थाहै भएन।आफ्नो मुहारलाई पूर्णिमाको चन्द्रमाझैं झलमल बनाउने दुस्साहस गर्दै थिएँ।तर खग्रास ग्रहण लागेको आकाश झैं देखियो।मनोजले आँतिदै सोध्यो।
"के भयो ओमु?कुनै नराम्रो खबर आयो?"
"आज म एकदमै खुशी छु मनोज।मेरो भिषा आइसकेको रहेछ।अबको केही दिनमै नेपाल आमाको काख छोडेर जानुपर्छ।कुनै बालिकाको आमाको काख धेरै टाढा जाँदैछ।तर धेरै दिनको हाम्रो तपस्याले आज पूर्णता/सार्थकता पाएकोछ।अब हाम्रो खुशीको दिन धेरै टाढा छैन।दुई पैसाको लागि हामीले ज्यामी काम गर्न नपर्ने भयो।दुबईको भिषा लाग्यो रे।आजको यो खुशीयालीमा मासु-भात खानुपर्छ।"
"तिमीलाई खाडीको दलदलमा फसाएर म कुनै पनि हालतमा खुशी हुन सक्तिन ओमु।यो कुनै खुशीको क्षण नभएर दु:खको क्षण हो।कुनै पनि नारी बिदेशिनुको पीडा पक्कै पनि सानोतिनो हुँदैन।यस्तो घडीमा कसरी मासुभात खान सकिन्छ?"
उसले भावविभोर हुँदै भन्यो।
"हैन मनोज!म एकदमै खुशी छु।नानी र तिम्रो लागि आफ्नो ज्यान दाउमा पनि राख्न सक्छु।मेरो लागि यो त कुनै गाह्रो काम हैन।चिन्ता नगर।म छु नि तिमीहरूको लागि।"
मैले उल्टै मनोजलाई सम्झाउँदै गर्दा मेरो आँखाबाट बगेको आँसु मुखभित्र पसेर नुनिलो भयोे।उसलाई अनेक शब्दले मनाए पनि,सम्झाए पनि आफ्नै मनलाई भने सम्झाउन असम्भव थियो।मेरो मन-मुटु कारुणिक अश्रुले रुझिए जस्तै काठमाडौ उपत्यकालाई पनि घनाघोर वर्षाले रुझाउन थाल्यो।अलिअलि रुझिनु भन्दा अघि नै कोठामा लुक्न सफल भयौं।

              आखिर म आफ्नो मातृभूमी/घर-परिवारलाई चटक्कै छोडेर दुबईको खाडीमा पैसा कमाउन जाने भएँ।समय/बाध्यता/परिस्थितिबाट भागेर दूर जाँदै थिएँ।कुनै पनि हालतमा भिषा दिलाइदेउ भनेर गरिएको प्रार्थना/पुकार भगवानले सुनिदियो।भिषा आएको उपलक्ष्यमा हाम्रो परिवारको सदस्य मात्र बसेर एउटा सानो भोजको आयोजना गर्यौं।मिठै परिकार पाकेको भएपनि मलाई खासै रुचेन।खसीको मासु पनि नुन नलागेको जस्तो खल्लो लाग्यो।
"मनोज!नुन लागेको रहेनछ,थप्ने हो?"
"केको नुन थप्नु?यहीं त चर्को भएछ।हैन हो कति नुन खान्छ्यौ अचेल?"
"हो दिदी!नुन त अलि चर्को-चर्को पो भएछ त।बरु पानी चाहिँ थप्नुपर्ला।"
तेन्जी भाइले पनि मलाई साथ दिएन।
सबैको माझमा म पंगु भएँ।होसमा आएर राम्रोसँग स्वाद लिने कोसिस गरें।तर कुनै पनि खानामा मैले स्वादको प्रकार पत्ता लाउन सकिन।
"हरे भगवान!मेरो जिब्रो के भयो आज?"-म आँतिएर चिच्याउन थालें।
सबै मौन भएर मतिरै नजर डुलाए।तर कुनै प्रतिकृया भने दिएनन्।आफैंले पस्केको भात आधा पनि खाइसकिन।आधा भन्दा बढी भात त्यतिकै फालें।अस्ति भर्खरै भिषा आएन भनेर टाउको भित्तामा ठोकाउने म।आज भने भिषा आएको कारण टाउको ठोकाउन मन लाग्यो।सबभन्दा कठिन कार्य मन बुझाउनु रहेछ।जसरी पनि बुझाउन नसकिने यो मन कसले,किन र कसरी बनायो होला?जिज्ञासाले मन सकृय भैरह्यो।

              भोलिपल्ट सामाखुसीको भाटभाटेनीमा गएर अत्यावश्यक हल्काफुल्का कपडा र झोला खरिद गरियो।कपडा जस्तोसुकै रंगीन/बुट्टेदार भएतापनि मलाई फिक्का/सादा नै लाग्यो।मेरो मनलाई खुशी बनाउने खालको कपडा त्यहाँ छँदै थिएन।सबका सब बेकार।मनभित्र व्यथा र वेदनाको पोको बोकेर बाहिरीरुपमा हाँस्दै किनमेल गरिएका सामानहरु लिएर कोठामा फर्क्यौं।भित्र जतिसुकै पीडाको आगो दन्किए पनि बाहिरीरुपमा मनोज,छोरी र छर-छिमेकीको सामू पोखिदिनुको कुनै फाइदा/औचित्य थिएन।

                  मनोज र मेरो विवाह हुँदा लागेको ऋण अझैसम्म बाबा-आमा/सासू-ससुराले तिरिसक्नुभएको थिएन।झनझन बढ्दै थियो।दुबो झैं फैलिंदै थियो।लहरा झैं झाँगिदै थियो।चुहिएको छानो टाल्नुनै थियो।बाबा-आमा/सासू-ससुराहरुलाई ऋणको भूमरीबाट बाहिर निकाल्नुनै थियो।समाजमा धक फुकाएर निर्धक्क छाती चौडा बनाएर,शीर ठाडो पारेर हिंड्नु र हिंड्न सक्ने बनाउनुनै थियोे।पीडा/चिन्ताको गहिरो खाडलबाट मुक्त गराउनु थियो।पैसाको मुख कालो हुन्छ भनिन्छ।यसैले गर्दा मित्र पनि शत्रु र आफन्त पनि पराई हुन जान्छ।बाबा-आमाहरुले जति ऋण लिनुभएको थियो,सबै आफन्त/इष्टमित्रहरुबाटै लिनुभएको थियो।तर आफन्त र गरीब भनेर कसैले पैसा माया मार्ने कुरा पनि त भएन।उनीहरुसंगको सम्बन्ध पूर्वको झैं सुमधुर राख्नु थियो।अन्धकार झुपडीमा थोरै आशा,थोरै सुख र थोरै सन्तुष्टिको उज्यालो दियो बाल्नु थियो।दु:खै-दु:ख र पीडै-पीडाले भरिएको हाम्रो पारिवारिक पृष्ठभूमिलाई सुखमय बनाउनु थियो।यी सबै जिम्मेवारी पूर्ण गर्ने जिम्मा भगवानले मलाई सुम्पेका थिए।जसरी पनि बिदेशिनुपर्ने नै भयो।एकदिन त्यो समय आएरै छोड्यो।कसैले रोक्न/छेक्न सकेनन्।

                 मेरो जीवनलाई जस्तै त्यो दिनलाई पनि अन्धकारले ख्वाप्पै निलिसकेको थियो।
"नानी!मम्मी भोलि पर-पर बिदेशमा जाँदैछु ल?म धेरै-धेरै पैसा कमाएर पठाउँछु।अनि तिम्रो लागि राम्रो-राम्रो गुडिया र नाना पनि पठाइदिन्छु।मम्मी केही दिनमै छिट्टै फर्केर आउँछु नि।अनि तिमी म नआएसम्म नरोइकन बाबा र फूपुसित बस ल?मेरो मुटुको टुक्रा।ज्ञानी छ्यौ नि।"-मैले छोरीलाई सम्झाउँदै भनें।
"मम्मी!म पनि तपाईंसंगै बिदेशमा जान्छु नि ल?"
"कहाँ हुन्छ नानी?तिमी मसंगै गएर तिम्रो स्कूल को जान्छ?कसले पढिदिन्छ नि?पढेर ठूली र ज्ञानी मान्छे बन्नुपर्छ।बिदेशमा त पढ्न पाईंदैन।"
"कत्रो ठूलो मम्मी?तपाईं जत्रो हो ठूलो मान्छे भनेको?कि बाबा जत्रो?"
"अहिले तिमीले बुझ्दिनौ नानी!धेरै पढेपछि बुझ्छ्यौ।"
"छोडी गए पाप लाग्ला•••••छोडी गए पाप लाग्ला•••••••छोडी गए पाप लाग्ला।"-गीतको पूर्ण अन्तरा गाउन नसकेपनि त्यही एउटै लाइन मात्र गाएर आँखाभरी आँशु लिएर मम्मीलाई बिदेश नजान आग्रह गरिन्  नानीले।नानीको विरही गीतले सुनेर मुटु प्याट्टै फुट्ला झैं गरी दुख्न थाल्यो।बाहिर कसैले नदेखिने गरी भित्र-भित्रै धित नमरुन्जेलसम्म रोएँ।पीडा जति सबै पखालिने गरी आँशु बगाउने मन थियो।तर नानीको मानसिकतामा नकारात्मक असर पर्ने सोचेर आँशुको भेललाई पत्थररुपी   पहाडको दिलले जबर्जस्ती रोकिरहें,•••••रोकिरहें••••••••।

                   मध्यरात।सबैजना स्तब्धरुपमा ओछ्यानमा पल्टिरहेका।मानौं त्यहाँ कुनै जीवन थिएन।कुनै जीवात्मा थिएन।श्मशान जस्तै कहालीलाग्दो/हृदयबिदारक पल।त्यहाँ कुनै खुशी थिएन।कुनै संवेदना थिएन।सियो खसेपनि त्यहाँ चट्याङको बज्रपात झैं सुनिन्थ्यो होला।भोलि मातृभूमि देखि टाढिएर खाडीको मरुभूमिमा जाने दिन।खाडीमा गएर सास्ती खेप्नुपरेको मनोजको कथा सम्झें।ऊँठ चराउनमा फसेको तेन्जी भाइको रोदन/चित्कार सम्झें।मलेसियाको जेलबाट दाइले जीवन रक्षार्थ गरिएको अपिल/गुहार सम्झें।अनि आफ्नो अनिश्चितकालीन भविष्य सम्झें।तीनै पात्रहरुको पीडादायी कहानी भन्दा पक्कै कम मार्मिक हुनेछैन सादय मेरो पनि।मनमा अनेक प्रकारका सकारात्मक/नकारात्मक विषयबस्तुहरुले आँधीबेहरी सृजना गरिरहेका थिए।एउटा पलाङको कुनामा नानी,बीचमा म र छेउमा मनोज।अर्को पलाङमा दाइ र भुइँमा भाइ सुतिरहेका थियौं।कुनामा केही खस्रक-खुस्रुक आवाज सुनें।सोचें-अब मेरो सट्टामा मुसाले राज गर्ने भए कोठामा।आवाजले गति/मात्रा बढाइरह्यो।सुँक्क,सुँक्क,सुँक्क आवाजले मेरो शंकाको घेरो परिवर्तन भयो।हात लगेर नानीको अनुहार छामें।अश्रुले सिरानी निथ्रुक्कै भिजिसकेको थियो।
"नानी!के भयो?यति राती किन रोएकी?भोक लाग्यो?ट्वाइलेट लाग्यो?दिशा-पिसाब गर्न जाने?कि मम्मीले छोडेर जान लागी भनेर हो?मम्मी छिट्टै आउँछु नि ल?ज्ञानी छोरी भएर यसरी रुने हो त?मेरी छोरी अति समझदार छ्यौ नि है?"
मैले कति धेरै प्रश्न गरिसक्दा पनि नानीको पूर्व-गति र अवस्थामा कुनै परिवर्तन आएन।अथक प्रयास गरेर नानीलाई सम्झाएँ/बुझाएँ।तर नानीको मन भन्दा कम मेरो मन रोइरहेको थिएन।मनोज निंदाइसकेकोले मलाई सम्झाउने/बुझाउने कोही भएन।मनको आकाशमा पीडाको कालो बादल छाएर टिलपिल अश्रुको बिजुली चम्किँदै हिक्क-हिक्कको
चट्याङ गर्जन थाल्यो।पूरा रात घनाघोर वर्षा भयो।जागाराम बसेरै रात बितेको पत्तै भएन।विहानीपख पूरै बिस्तरा कोशी ब्यारेज भत्किँदा तराइको भू-भाग झैं डुबानमा परिसकेको थियो।पृथ्वीमा उज्यालो भैसकेको थियोे।तर मेरो जीवनमा भने रात परिसकेको थियो।उज्यालो हुने/नहुने कुनै ग्यारेन्टी थिएन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...