Saturday, 29 October 2016

आरोह अवरोह-३०

              दुईदिने अस्पतालको बसाइँ मेरो लागि दुई महिना सरह भएको थियो।अस्पतालमा एक्लै बस्दा-बस्दा दिक्दार,हैरान,वाक्कदिक्क र थकित भैसकेकी थिएँ।कहिले अस्पतालबाट छुटकारा पाउँ झैं लाग्न थाल्यो।शल्यक्रियाको रात पनि मैले अस्पतालमा एक्लै गुजार्नुपर्ने भयो।डिस्चार्ज गरेको भए त्यही दिनै आफ्नो कोठामा गएर विश्राम गर्ने थिएँ।तर कुनै पनि हालतमा सम्भव थिएन।ठूलो संकटबाट मुक्त भएकोले त्यो रात भने अघिल्लो रात जस्तो कहालीलाग्दो नभएर सामान्य नै रह्यो।अस्पतालमा उपलब्ध गराइएको खाना खाएर बिस्तरामा पल्टें।अघिल्लो रातको निद्रा पनि थपेको कारण कतिखेर भुस भएँ पत्तै भएन।

             भोलिपल्ट मनोज भेट्न आइसकेपछि डाक्टरसित डिस्चार्जको लागि अनुरोध गरें।डाक्टरले बस्नैपर्छ भनेर कर नगरेकोले सजिलैसँग डिस्चार्ज पाएँ।डाक्टरले केही औषधिहरु लेखिदियो।पैसा भुक्तानी गरेको बिल बनाउन लगाएर अल बराह अस्पताल बाट बिदा भयौं,फेरि नभेटिने बाचाका साथ।सदा स्वस्थ र तन्दुरुस्त हुने आशाका साथ।डाक्टरले लेखिदिएको सही परिमाणको औषधि किनेर हामी कोठातिर जाने तरखरमा लाग्यौं।
"ओमु!तिमी अस्वास्थ र कमजोर छ्यौ।मेट्रो या र्सार्वजनिक  बसबाट जान सक्षम छैनौ।त्यसैले ट्याक्सीबाट तिमीलाई तिम्रो कोठासम्म छोडेर म फेरि त्यहाँबाट मेट्रोबाट जान्छु।"
"मनोज!अहिलेसम्म हाम्रो धेरै पैसा सकिसक्यो।फेरि ट्याक्सीमा जाँदा झन धेरै पैसा सकिन्छ।त्यसैले हामी मेट्रोबाटै जानुपर्छ।"
"हैन,तिमी किन जिद्दी गर्छ्यौ?हिजै त तिम्रो घाँटीको शल्यक्रिया भएको।आजै कसरी मेट्रोबाट जान सक्छ्यौ?तिमी आर्थिक भन्दा पनि मानसिक रुपमा दरिद्र छ्यौ।यत्रो दु:ख गरी कमाएको पैसा यतिखेर काम नलागेर कहिले लाग्छ भन त?तिमी अशक्त छ्यौ।२०/३० धिराम तिरेर ट्याक्सीमा जाँदा यात्रा आरामदायी त हुन्छ नि कमसेकम।यो अवस्थामा पनि तिमी पैसाको मुख हेरेर बस्छ्यौ।दु:खदायी यात्रा रोज्छ्यौ भने मेरो भन्नु केही छैन।"
"हैन मनोज,मलाई एउटी लाचार र निरीह नारीको उपमा नदेउ।मलाई असह्य हुन्छ।म सबैको मायाले यति शक्तिशाली भएकी छु र त आज मृत्युलाई पराजित गरेर यहाँसम्म आईपुगेकी छु।एउटी असक्षम नारीको दर्जा दिएर मेरो वास्तविक क्षमताको अवमूल्यन नगर।"
ट्याक्सी चढ्ने र नचढ्नेको बारेमा मनोज र मेरो वादविवाद चलिनैरह्यो।अन्ततः मेरो जिद्दीको सामू मनोजले घुँडा टेक्नै पर्यो।त्यहाँदेखि दस मिनेट जति हिंडेर मेट्रोसम्म पुग्यौं।मेट्रो चढेर नूर बैंकको स्टेशनमा झरी त्यहाँबाट फेरी अर्को बस चढेर अलखेल मलसम्म पुग्यौं।त्यहाँदेखि कष्ट सहेर क्याम्पसम्म पुग्दा मलाई धेरै गाह्रो भैसकेको थियो।मलाई क्याम्पको बाहिरसम्म छोडेर उसले आफ्नो बाटो ततायो।मुश्किलले सिंढी चढ्दै विश्राम लिंदै कोठामा पुगें।सिंढी उक्लिसकेपछि निकै ठूलो सफलता हात लागे झैं अनुभूति भयो।

बिरामी बिदा अझैपनि १७ दिन बाँकी नै थिए।तीन दिन मात्र सकिएका थिए।ती सत्रवटा दिनहरु अति बिरक्तिला,कहालीलाग्दा,दयनीय,दर्दनक र अत्यासलाग्दा थिए।शारीरिक र मानसिक पीडाको समिश्रणले जिन्दगी किताबको च्यात्तिएको पाना झैं थोत्रो र थिलथिलो भैसकेको थियो।कोठाका सर्व संगीहरु आ-आफ्नो कार्यब्यस्तताको कारणले गर्दा मलाई पानी तताएर दिने सहयोगी समेत भएन।कहिलेकाही मनोजले फोन गर्थ्यो तर फोनमा बोलेर कुनै साध्य थिएन।फोनमा बोल्न पनि पैसै चाहिएको थियो,जसको निकै चरम अभाव थियो।मासुभात,म:म: र चाउमिन लगायतका मीठा-मीठा परिकारहरु खाने मन गर्थ्यो मनले तर तनले अर्थात घाँटीले साथ दिंदैनथ्यो।जाउलो बाहेक अरु खान मिलेन।एकोहोरो एउटै खाना खाँदा वाक्कदिक्का भैसकेकी थिएँ।त्यतिबेला मैले आफ्नी आमालाई औधी सम्झें।आमाले बनाएको खाना सम्झें।आमाको न्यानो काख सम्झें।आमा,आमाको हातले बनाएका विविध परिकार र आमाको माया नपाएर म दिनप्रतिदिन छट्पटिन र तड्पिन थालें।
"आमा !मेरो लागि मीठो-मीठो खानेकुरा पकाएर पठाइदिनुस् न,म यहाँ घाइते भएर लडिरहेकी छु।तपाईंको हातको जल पनि मेरो लागि अमृत समान हुनेछ।चौरासी ब्यन्जन चाहिएन मलाई,तिम्रो हातबाट निर्मित जाउलो नै मेरो लागि सबथोक हुनेछ।गुन्द्रुक र ढिंडो नै सही,बश तिम्रो हातबाट खान पाउँ।"
यस्ता कुराहरु भनेर कल्पनामा डुब्नु बाहेक यथार्थमा सम्भव थिएन।मान्छेलाई दु:ख र समस्या पर्दा सबभन्दा पहिले कि त आमालाई कि त भगवानलाई सम्झने रहेछन्।त्यसैले आमाको गरिमा र महानतालाई जुनसुकै शब्दले सम्बोधन गरेपनि तुच्छ नै लाग्यो मलाई।प्रसवको पीडा भन्दा पनि भयानक पीडा सहेर बाँचिरहेकी थिएँ म।केहीदिन पश्चात् मुश्लिमहरुको महान चाड रमादान शुरु भयो।अघिपछिको सामान्य दिन भन्दा ती दिनहरुमा कार्यावधि आधा मात्र हुने भएकोले त्यसबखत कम्पनीका साथीसंगीहरु नाचगान गरेर मनोरञ्जनमा लिप्त भए।म पनि शरीरले नभई मनैले जोड-तोडका साथ नाचें।मनका रहर,चाहना र उमंगलाई मनभित्रै थाती राखेर कष्टकर जीवन यापन गरिरहेकी थिएँ।नाचगान गरेर मनोरञ्जन लिनु मेरो सानैदेखिको ठूलो शौख भएकोले आफू त्यस कृयाकलापमा सहभागी हुन असमर्थ हुँदा एकदमै ठूलो पीडाबोध भयो।एकदिन साथीसंगीहरुको आउटिङ जाने योजना मुताविक मलाई पनि जानका लागि आग्रह गरे।नाचगान गर्न सक्ने आँट,क्षमता  र हिम्मत नभएपनि उनीहरुको आग्रहलाई मैले टुक्र्याउन नसकेर सहर्ष स्वीकारें।अलसफा पार्कमा गएर बनभोजको भव्य आयोजना गरियो।शुरु-शुरुमा त साथीहरुको नाचगान हेरेर-सुनेर रमाएँ।तर अचानक मभित्र यस्तो खालको उर्जा उत्पन्न भयो कि म आशक्त मान्छेपनि जुरुक्क उठेर गाउन र नाच्न थालें।म आफैं अनबिज्ञ थिएँ कि मलाई कुन तत्वले त्यो शक्ति प्रदान गर्यो।बनभोज भव्यताका साथ सम्पन्न भयो।तर भोलिपल्ट देखि मेरो घाँटी दुखेर म थला परें।मनोजलाई आउटिङ जानुभन्दा पूर्व जानकारी दिएको भए उसले कुनै पनि हालतमा स्वीकृति नदिने भएकोले अलसफा पार्कमा पुगेपछि बल्ल जानकारी दिएँ।थोरै बोल्न र नाचगान नगर्न सल्लाह दिएको थियो उसले।घाँटी दुखेको कुरा उसलाई सुनाए उ रिसले आगो हुनेभएकोले मौन बसें।उसको सल्लाह र सुझाबलाई माटोमा मिलाउँदा कम त सास्ती र दर्द खेप्नुपरेन?अन्ततः मैले यथार्थ लुकाउन नसकेर उसलाई साफसाफ बताएँ।उ रिसले आगो भएर मलाई जलाउन खोज्यो।म पानी बनेर उसको आगोलाई निभाएँ।
"आउटिङमा जान त जाउ तर आफूलाई कष्ट हुने कुनै काम नगर भनेको त हो नि मैले।मेरो कुरालाई बेवास्ता गरेपछि यस्तै हुन्छ।मैले त मेरो लागि नभई तिम्रै स्वास्थ्यको लागि त भनेको नि।ल अब हेर त,क्षणिक मनोरञ्जनले गर्दा कतिको कष्ट झेल्नुपर्यो।फेरि टन्सिल बल्झ्यो भने अस्ति भर्खरै त्यत्रो रकम खर्चेर गरेको शल्यक्रिया ब्यर्थ भएन र?दु:ख-पीडा तिमीलाई मात्र हुन्छ भनेकी तिमीले?तिमीलाई दुख्दा मलाई दुख्दैन होला र?के तिम्रो-मेरो आत्मा एउटै हैन र?भविष्यमा पुनः त्यस्तो गल्तीको पुनरावृत्ति नहोस्।आफ्नो लागि मात्र नभई अरुको लागि पनि सोच्ने गर।"-मनोजले निकै लामो भाषण दियो मलाई।
"ल बाबा ल।अब म दु:ख पाउने कार्य कहिल्यै गर्दिन।माफी पाउँ।अब त चित्त बुझ्यो?"-मैले मनोजलाई आश्वास्त पारें।
"ल ल स्याबास!अब चाहिँ केही होला जस्तो छ है।"
मनोजले खिल्ली उडाएको पारामा भन्यो तर मलाई भने केही फरक परेन,बरु रमाइलो नै भयो।लगातार औषधिको सेवन र विश्राम लिएपश्चात मेरो घाँटी बिस्तारै ठिक हुँदै गयो।चिसो,तातो,चिल्लो र अमिलो खाँदा फरक नपर्ने भयो तर पिरोले भने असर गर्न छोडेन।बिरामी बिदा सकेर फेरि कार्य गर्ने दिन आइसकेको थियोे।शल्यक्रियामा खर्च भएको लागत रकमको बिल कम्पनीको म्यानेजरलाई पेश गरेर कार्यलाई सुचारु दिन थालें।तत्पश्चात मेरो जिन्दगीमा आमूल परिवर्तन आयो।टन्सिल हुँदा र नहुँदाको जीवनमा आकाश-पातलको भिन्नता पाएँ।तर जटिल कार्य गर्दा र धेरै चर्को बोल्दा भने फेरि दुख्न खोज्थ्यो।जे होस शल्यक्रिया गरेर ठूलै उपलब्धि हासिल गरें।त्यसपछिका दिनहरु मनोजसँगको भेटघाट,भलाकुसारी र सुख-दु:खको साटासाट गरेरै बित्न थाले।हामी एक अर्कालाई खुशी राख्न तल्लीन भयौं ।एक अर्कामा समर्पित भयौं।एकले अर्कालाई गर्ने मायामा हामीले जिन्दगीको खुशी,यथार्थता र सार भेट्टायौं।हामी बीचको जस्तो आस्था,समझदारी,प्रगाढ सम्बन्ध र अगाध माया सायद अरुको छैन होला भन्ने ठान्थ्यौं।सायद हामी गलत पो थियौं कि।ती सबै समाज र संसारले मूल्यांकन गर्ने कुरा थिए। कम्पनीको कार्य भन्नेकुरा आफ्नो ठाउँमा कायमै थियो।अनि एकदिन फेरि एउटा ठूलो खुसीको क्षण हाम्रो सामू आएर खडा भयो।हाम्रो प्रेमको अर्को सानो नमूना,अथवा भनौं सानो बिरुवा फेरि मेरो गर्भमा हुर्किंदै थियो।प्रेमको सबैभन्दा ठूलो उपहार अथवा निशाना हामीले प्राप्त गर्दै थियौं।फेरि हामी दोश्रो सन्तानको बाबा-आमा हुँदै थियौं।अथवा यसरी बुझौं कि हामीले पुनः एउटा जीवात्मालाई पूर्ण जीवन दिन गैरहेका थियौं।तर एउटा कुरामा भने हामी अनबिज्ञ नै थियौं।त्यो रहस्यमय बिषय थियो-छोरा या छोरी।छोरा या छोरी के थियो भन्ने कुरामा हामी अन्यौलमै थियौं।छोरा-छोरी जे भएपनि हामीलाई स्वीकार्य थियो।सायद मनोजलाई पनि त्यो बिषयले फरक नपर्ला भन्ने सोचेकी थिएँ।धेरैजसो बाबा-आमाको भित्री ईच्छा र चाहना भनेको एउटा छोरा र अर्की छोरी भएको मैले समाजमा देख्दै आएकी थिएँ।एकाइसौं शताब्दीमा आएर पनि छोराछोरीमा भेदभाव हुने त कुरै आउँदैन,किन कि दुबै आफ्नै रगत हुन् र सुत्केरीमा दुवैलाई जन्माउँदा आमाले उत्तिकै प्रसवको पीडा भोगेकी हुन्छे।त्यसैले हामी छोरा या छोरी जे भए पनि हाम्रो अमूल्य प्रेम-उपहारलाई हाँसी-हाँसी स्वीकार्ने पक्षमा थियौं।तर आजको यो बिकसित बैज्ञानिक युगमा सबै आमा-बाबाको खुल्दुली र उत्सुकता हुन्छ-अस्पतालमा गएर लिंगको बारेमा अवगत हुने।आफ्नो छोराछोरीको लिंग बारे जानकारी हासिल गर्नु कुनै अप्राकृतिक र अस्वाभाविक कार्य होइन,कुनै अपराध हैन।जे भएपनि हाम्रो खुशीको सिमाना अचानक फराकिलो भएको थियो।हर्षले हाम्रो पाउ भु-धरातलमा थिएनन्।हामी हर्षको सगरमाथामा उक्लिसकेर पनि त्यो भन्दा धेरै उचाइमा थियौं।खुशीको आकाशमा उडिरहेका थियौं।३ महिना भन्दा पूर्व त डाक्टरले पनि लिंगभेदन गर्न नसक्ने भएकोले हामीलाई त्यो समय र पलसम्म प्रतिक्षा गर्न बहुत गाह्रो भैरहेको थियो।प्रतिक्षा गर्नु जस्तो कठिन अर्को कार्य संसारमा सायदै होला।एकदिन हामी छुट्टी सँगै मिलाएर दुबई इन्टरनेशनल सिटीमा अवस्थित ड्र्यागनमर्ट मलमा भेट्यौं।त्यहाँको एउटा फूडकोर्टमा बसेर हामी अन्तर्कृयामा ब्यस्त भयौं।केही क्षणमा हामीले मगाएको चिकेन बिर्यानी आयो।दुइटा सेभेन अप पनि मगायौं।बिर्यानीको स्वादसँगै शुरु भयो हाम्रो वार्तालाप।
"मनोज,हिजो राती सपनामा मैले हँसियाले घाँस काट्दै गरेको देखें।सपनामा हँसिया चलाएको देखियो भने छोरी पाउँछ रे।"
"खै,सपनाको त के ठेगान हुन्छ र!मैले त सपनामा थरी-थरीका फलफूल र आलु टनक्कै देख्छु त।खै यो कस्तो खाले सपना हो?"
"खै मनोज,अब हेरौं न तिमीसँग छोरा छ कि छैन।"-मैले मजाकमा भनें।
"एउटा,दुईटा सन्तान पाउँदैमा कहाँ थाहा हुन्छ र छोरा छ कि छैन भनेर।"-मनोजले पनि उस्तै पाराले भन्यो।
"अनि कतिवटा जन्माएपश्चात थाहा हुन्छ त?"
"नपत्याए तिम्रो सानीमाकै हेर न।सातौं नम्बरमा बल्ल छोराको पालो आयो।कहाँ लुकेर बस्ने हुन् यी छोराका जातहरु?"-मनोजले आफ्नो कमजोरी लुकाउदै भन्यो।
"मनोज,त्यो त ठिकै छ ।तर फेरि छोरी भएको खण्डमा अर्को पाउने कि नपाउने?"
"दुई सन्तान ईश्वरको बरदान भनेको थाहा छैन?फेरि छोरा-छोरी समान भएपछि किन अर्को पाउनुपर्यो?जन्माउँदैमा बाबा-आमाको जिम्मेवारी सकिँदैन,अझ बढ्छ।जन्माइसकेपछि उनीहरूलाई उचित खाना,लाउन,शिक्षा-दिक्षा र संस्कार दिनु हरेक बाबा-आमाको उत्तरदायित्व हो।यस्तो महंगीको जमानामा अर्को पाएर आफ्नै खुट्टामा बन्चरो हान्नुछ र?"
मनोजको कुरा सुनेर म निकै हर्षित भएँ र मनमनै सोचें-
"कमसेकम छोरा पाएन भनेर आफ्नो श्रीमतिलाई कचकच गर्ने,थर्काउने र यातना दिने अन्धबिस्वासी र रुढीबादी श्रीमानको फेला त परिन।यदि त्यस्तो खाले घटिया सोचको श्रीमान भएको भए मेरो के हाल हुन्थ्यो?धन्य छ प्रभु!मलाई एउटा समझदार श्रीमान दिनुभएकोमा!"
"तिम्रो शाखा-सन्तानमा छोराको कमी छ।खै,छोरा होला जस्तो आशा चाहिँ लाग्दैन है"-मैले उसलाई ठट्टामा उडाएँ।
"ओमु,तिमीलाई छोरा नै चाहिएको हो र?तिम्रो प्रत्येक वाक्यमा छोरा किन उच्चारण भैरहेको छ?जति छोरा पाएर खुशी र सुखी भईन्छ नि उत्तिकै छोरी पाएर पनि भईन्छ र हुनुपर्छ।मैले कतिपल्ट भनिसकें कि मेरो लागि छोरा र छोरी समान हुन्।तर तिम्रो मनमा खोट देख्छु है!जमाना कहाँदेखि कहाँ पुगिसक्यो,तिमी अझै छोरामै अल्झिएर बस।"-यसपटक मनोज निकै आक्रमक भएर बोल्यो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...