Wednesday, 5 October 2016

आरोह अवरोह-१९

            नभन्दै दुई महिना भित्रै हरियो राहदानी च्यापी एकलाख ऋणको टीका लाएर तेन्जी भाइ कतार उड्यो।कतार पुगेर तीन दिनसम्म बिना काम बस्यो।एजेन्टले कतारमा काम खोजिरहेको र काम पाए पश्चात् फोन गर्ने कुरा गर्यो भाइले।हप्ता दिनपछि तेन्जी भाइको फोन आयो।
"दिदी!म त कतारको लागि भनेर आएको थिएँ।तर साउदी अरब पो पुगेको छु।कतारको एजेन्टले पैसा लिएर साउदीमा बेचिदिएको रहेछ।ऊँट हेर्ने काममा फसेको छु।चारैतिर बालुवै-बालुवाको मरुभूमि छ।बोटबिरुवा र घरको नाममा एउटा पनि देखिंदैन।शहरदेखि कोशौं टाढा बालुवाको दलदलमा फसेको छु।खानाको नाममा खबुस अर्थात सुख्खा रोटी मात्र खान पाईन्छ।ऊँटलाई घाँसपानी खुवाउनुपर्छ।प्रचण्ड गर्मीले गर्दा उडिरहेको चरा समेत फ्याट्ट जमिनमा खस्छ।सुत्न/हिंडडुल समेत गर्न धेरै मुस्कििल छ।भतभती पोल्छ।काम गर्न सक्तिन।जसरी भएपनि मलाई नेपालमा निकाल्नुस्।मलाई पठाउने म्यानपावर कम्पनीमा तुरुन्तै गएर प्रकृया थाल्नुस्।म त नर्कमै छु दिदी।न बिजुली बत्ती छ, न कुनै सुविधा नै।चौबिसै घण्टा पसिनाले भिजेर निथ्रुक्कै हुन्छ शरीर।दिउँसो अत्याधिक गर्मीले बलुवा तातिएर खुट्टा समेत भत्भती पोल्छ।"
विलाप गर्दै भन्यो भाइले।
भाइको कुराले मेरो होसहवासै उड्यो।बल्लतल्ल एसएलसी उतीर्ण गरेर १७ बर्षमा प्रवेश गरेको प्यारो भाइको हालत सुनेर  भावविह्वल/मर्माहत भएँ।उच्च शिक्षा हासिल गर्नुपर्ने उमेर।घरमा बाबा-आमालाई ऋणको भारीले थिचेर कच्याककुच्युक पारेकोले सो भारबाट जननीलाई मुक्त गर्ने दौडानमा बिदेशिनु परेको थियो-भाइ।
            छाती पिटेर रुँदा-रुँदा/कराउँदा/चिच्याउँदा मुर्छित भएँ।मरुभूमिमा फसेर दु:ख-पीडा भाइले भोग्दै थियो।तर उसलाई भन्दा बढी दर्द मेरो मुटुमा भयो।त्यो कुरा बाबा-आमालाई भन्न सकिने स्थिति थिएन।आफ्नो कान्छो छोरो खाडीको मरुभूमिमा ऊँट चराउन फसेको कुरा थाहा पाउने बित्तिकै हृदयघात हुन सक्थ्यो।मुर्छा पर्न सक्नुहुन्थ्यो।स्वर्गमा बसाइँ सर्न पनि सक्नुहुन्थ्यो।दिउँसोको एक बजे मेरो पेट खाली भएपनि भोकको अनुभव भएन।
             "आइते दाइ!तेन्जी भाइ त कतारको लागि भनेर गएको थियो।साउदीमा ऊँट चराउनमा फसेछ।भाइको साथीको नम्बर तपाईंलाई म्यासेजमा पठाउछु।फोन गरेर बुझ्नुहोला दाइ।"
साउदीमा भएको दाइलाई फोन गरेर जानकारी दिएँ।मनोजलाई नम्बर पठाइदिएँ।
"तिमीले कुनै पीर लिनु पर्दैन।गर्न सकिने कुरा हामीले गर्नेछौं।उसलाई फोन गरेर आशा/भरोसा दिलाउँछौं।"
"भाइ,तिमीले कुनै चिन्ता लिनुपर्दैन।यहाँबाट गर्न सकिने कोसिस कुनै कसर बाँकी नराखी गर्छु।मनोज र दाइलाई पनि तिम्रो सम्पर्क नम्बर दिएकी छु।उहाँहरुले पनि सम्पर्क गर्नुहुनेछ।सकेसम्म काम गर्न सक्तिन भनेर बस।साहुलाई कसरी हुन्छ सम्झाउ/बुझाउ।फर्किने कोसिस गर।तिमीलाई फसाउने म्यानपावरमा केही आफन्तजन लिएर जाँदैछु।"
तेन्जी भाइलाई भरोसा दिलाएँ।
"दिदी!यहाँ त काम गर्ने कुनै निश्चित अवधि नै छैन।कहिलेकाहीँ त १५/१६ घण्टासम्म जोतिनुपर्छ।गधाले भन्दा पनि बढ्ता।मेरो ज्यान गलेर हायलकायल भएको छ दिदी।यस्तै हो भने मर्छु कि बाँच्छु,कुनै ग्यारेन्टी छैन।मलाई नर्कमा फसाउने दलाललाई कुनै पनि हालतमा उम्कन नदिनु दिदी।यो ठाउँ यति कहालीलाग्दो/उराठलाग्दो छ कि सज्जन मान्छे पनि दुई दिनमा बहुलाउँछन्।जमिनमुनिबाट निकालिएको नुनपानी पिउनुपर्छ।साथीहरुको भनाइ अनुसार दुईतीन बर्ष यस्तो पानी पिउँदा पछि पत्थरी हुन्छ रे।अविवाहित पुरुषहरूको त बच्चा पनि नहुने समस्या हुन्छ रे।"
                फोनमा कुरा गर्ने भन्दा पनि रुने काम धेरै हुन्थ्यो।फोनमा पैसा सकेर स्वत: काटिन्थ्यो।मनोज र आइते दाइले रिचार्ज हालिदिएको हुँदा मलाई उसैले फोन गर्थ्यो।मैले सकेसम्म सम्झाउँथें।हिम्मत जगाएर उर्जा भरिदिने काम गर्थें।तर आफ्नो आँखाबाट भने अश्रुधारा छुटिरहन्थ्यो।भाइलाई सम्झाउन जति सजिलो,आफूलाई सझाउन भने उत्ति नै गाह्रो।एउटी नारीको लागि सबैभन्दा कठिन काम सुत्केरी हुनु हो।तर त्यो भन्दा कठिन काम आफ्नो मनलाई सम्झाउन/नियन्त्रण गर्न लाग्यो।भाइले दिनै दस-पन्ध्र पल्ट फोन गरेर रोईकराई गर्न थाल्यो।उसको फोन आएको दिनदेखि मेरो चैन/भोक/निंद्रा सब हरण भए।
              दिनदिनै आफन्तहरु लिएर जाँदै थर्कायौं/करायौं।
"कि मेरो मान्छे यहाँ निकाल।कि त भनेकै काममा लगाऊ।कतार लगेर मान्छे बेच्छौ दलाल हो?"
म्यानपावरका एजेन्टहरुलाई खान/बस्नै दिएनौं।
"हुन्छ,हुन्छ बहिनी!पीर मान्नुपर्दैन।मेरो मान्छेले उसको लागि कतारमा काम खोज्दैछ।काम पाउने बित्तिकै कतारमै फिर्ता ल्याउँछौं।"
यस्तै भनेर झूटो आश्वासन दिए उनीहरुले।
"ठिकै छ।दुईदिन भित्रमा काम कुराको टुंगो नलागे भाइलाई नेपाल फिर्ता गर्नुस्।नत्र राम्रो हुने छैन।"
मैले धम्कीको भाषा बोलें।
             "तेन्जी भाइ त हामीले नामै नसुनेको जंगलमा रहेछ।साउदीको राजधानी रियाद देखि दुईहजार किलोमिटर टाढा छ।भेट्न जान पनि असम्भव छ।नजिक भए भेटेरै प्रत्यक्ष कुरा गर्न हुन्थ्यो।सकेसम्म मैले सम्झाउँदै छु- बेला-बेलामा।"
आइते दाइले फोनमा भन्नुभयो।
"खै त दाइ?१५ दिन भैसक्यो।अर्काको बच्चा इन्तु न चिन्तु भैसकेको छ।जीवन/मरणको दोसाँधमा उभिएको छ।त्यस्तो टिसलाग्दो जंगलमा कसरी जीवन गुजार्दै होला बिचरा।"
मैले रुँदै भनें।
आइते दाइसंग फोन सम्पर्क टुटेको केही मिनेटमै मनोजको फोन आयो।
"ओमु!भाइ त मदेखि पनि कहाँ हो कहाँ टाढा रहेछ।गाडीमा पनि एकदिन ठ्याक्कै लाग्नेरहेछ।भने जस्तो मेरो पनि छुट्टी मिल्दैन।फेरि उसको साहुले नमानेसम्म हामीले पनि केही गर्न सक्दैनौं-यो परदेशमा।सकेसम्म मैले उसलाई तरीका सिकाएको छु,साहुलाई कसरी फकाउने भनेर।शुरुको जस्तो रोई-
कराई गरेको छैन।आजभोलि बानी परेर हो या हिम्मत हारेर हो।"
"यदि उसको साहुले नेपाल जान दियो भने त्यहाँबाट टिकट काटेर पठाइदिनु है त?"
"भैहाल्छ नि।यदि उसको साहु राजी भयो भने।टिकट जाबो काट्न त के गाह्रो भो र?"
            "दिदी!मैले सबै कुराहरु यहाँका पुराना साथीहरुलाई भनेर साहुलाई उल्था गराएँ।साहुले मेरो कुरा मान्ला जस्तो छ। मेरो कलिलो ज्यान देखेर दया पलाउँला जस्तो छ।एकदुई हप्तामा पठाउने कुरा त भएको छ।खै हेरौं के हुन्छ।"
भाइको फोनले  मेरो मुहारमा अलि-अलि हर्षको किरण दगुर्न थाल्यो।मर्न लागेको आशाको मुना पलाएको महसुस भयो।तैपनि एजेन्टहरुलाई भने थर्काउन छाडेकी थिईन।
"मेरो मान्छेको हालत के कस्तो छ?कतारमा कहिले फर्कन्छ?एजेन्टले काम खोज्यो कि खोजेन?"
"बहिनी!भाइ अहिलेसम्म त साउदीमै छ।मेरो मान्छेले उसको लागि एकदमै राम्रो कामको व्यवस्था गरिसकेको छ।अबको दुईदिन भित्रै भाइलाई कतारमा फर्काइन्छ।"
उसको आश्वासन एउटा खुंखार दलालको आश्वासन अथवा राजनैतिक नेताको भन्दा भिन्न थिएन।पत्याइहाल्नुपर्ने कुनै आधार थिएन।हुन्छ-हुन्छ भनेको धेरै दिन भैसकेको थियो।
               भाइले नेपाल छोडेको पच्चीसौं दिनमा पनि अरु दिन झैं फोन गर्यो।
"दिदी!मेरो हालत देख्न नसकेर होला नेपाल पठाउने लगभग पक्कापक्की भयो।भोलि नै सीधा नेपाल आउँदैछु।साहुले टिकट/राहदानी हातमा सुम्पिसक्यो।कुनै दलाललाई नभन्नु।पुग्नेबित्तिकै पैसा असुल्नुपर्छ।भोलि विहानै साहु आफैंले एयरपोर्टमा छोड्ने रे।
"तिमीलाई हरामी दलालले बेचेको रहेछ।दया लागेर उद्धार गर्दैछु।त्यो दलाललाई केही जानकारी नदिनु।नत्र फेरि बेच्नेछ।मानवीय धर्म निभाउँदै नेपाल पठाउँदैछु।"
साहुले मलाई यस्तै भन्यो।हवस् दिदी!भोलि भेटेरै गरौंला बाँकी भलाकुसारी।"
" ल ल भाइ।पहिले नेपाल आइपुग।एयरपोर्टमा पुग्नेबित्तिकै मलाई फोन गर।अनि के-के गर्नुपर्ने हो,गरौंला।"
खुशीको खबर सुनेर खुट्टा भुईंमा थिएनन्।मरुभूमिको नर्कबाट बल्लतल्ल उम्केर आउँदै थियो-भाइ।
               नीलगगनमा शित्तल हावाको झोक्कासंगै पखेटा फट्फटाउँदै।बादलुको लहरीसित मीत लाउँदै।सुरम्य प्राकृतिक छटातिर नजर लाउँदै।स्वछन्दरुपमा कुनै पंक्षीले नृत्य गरेझैं नृत्य गर्न थाल्यो उत्तेजित मन।धेरै दिनदेखि रुझिएका नयन ओभाउन थाले।खाली पेटले अन्न-पानीको माग गर्यो।महिनौं देखिको अनिंदो नयनले विश्राम लिन खोजे।खुशीको पलको भरपूर उपयोग गर्दै खसीको मासु-भात पकाएँ।सोचे अनुरुप मुखबाट छिरेन।अत्याधिक पीडामा जस्तै अत्याधिक खुशीमा पनि त्यसै अघाइने रहेछ।
                 राती नौं बजे सुतेको मान्छे विहानको ११ बजे फोनको घण्टी बज्दा मात्र ब्युँझें।उठाउन नसक्दा नानी पनि स्कुल नगएर मसंगै मस्त सुतिरहेकी थिईन्।
"दिदी!म एयरपोर्टमा आइपुगें।ट्याक्सीमा त्यहीं आउँछु है?पैसा सुक्को छैन।"
"हैन भाइ।यहाँ किन आउने?हामीनै ट्याक्सी लिएर आउँछौं।अरु आफन्त पनि लिएर आउँछु।सिधै म्यानपावरमा जानुपर्छ।"
दुईजना दाइहरु सहित ट्याक्सी लिएर एयरपोर्टमा गयौं।भाइलाई लिएर सिधै म्यानपावरमा पुग्यौं।भाइलाई बाहिर राखेर हामी मात्र भित्र प्रवेश गर्यौं।
                 "सर!मेरो भाइ कहाँ छ अहिले?मसंग सम्पर्क नभएको दुईदिन भैसक्यो।कुनै अत्तोपत्तो छैन।अहिले ऊ साउदीमा छ कि कतारमा छ?काममा लाग्यो कि नाइँ?हामी यहाँ सरसल्लाह गर्न आएका।हाम्रो मान्छेले पनि कतारमा भाइको लागि काम खोजेर तम्तयार छ।तपाईंको मान्छेले पनि खोज्दैछ भन्नुहुन्छ।जुन काम राम्रो छ,त्यसैमा हाल्नु पर्यो।"
"अरे बहिनी!भाइहरु!हामीलाई पनि भाइको उत्तिकै चिन्ता छ।दिनरात ज्यान दिएर लागिपरेका छौं।तपाईंहरुको मात्र भाइ नभएर हाम्रो पनि त आफ्नै भाइ जस्तो हो नि।भाइको लागि हाम्रो तर्फबाट सक्दो सहयोग हुनेछ।तपाईंको भाइ आजकै दिन ठ्याक्कै कतार पुग्ने कुरा छ।पुग्ने बित्तिकै काममा लगाइन्छ।काम पनि एकदम तयार छ।महिनाको ५०/६० हजार कमाइ हुनेछ।सायद भोलिदेखिनै काम लाग्छ होला।जे होस्,भाइ साह्रै भाग्यमानी रहेछ।ढुक्कसँग बस्नुभए हुन्छ तपाईंहरु।हामी छौं नि।चिन्ता नलिनुहोस्।"
त्यो कर्मचारीले लट्ठै बनाउने तवरले मीठो भाषण छाँट्यो।मेरो पारो तात्यो।केही देखिन।भर्खरै एयरपोर्टबाट आएको भाइलाई हातमा तानेर उनीहरुको सामू पेश गरें।
"यो के हो?तिमीहरुको कतार यही हो?यो मान्छे आज कतारमा पुग्दैछ रे?ढाँट्नु र छलकपट गर्नुको पनि सीमा हुन्छ नि।"
भाइलाई सामुन्ने देखेर उनीहरुको सातोपुत्लो उड्यो।तीनछक्क परेर जिल्लिंदै ट्वाँ भए।मुख राता-पिरा भए।बोली आकस्मत बन्द भयो।मुखमा बुजो लागे।शून्यता छायो।भाइले उनीहरुको मस्तिष्कमा हजार भोल्टको झट्का दियोे।शरीरमा करेन्ट लागे झैं कम्पन पैदा भए।
"ए,भाइ आउनुभएछ खुशी लाग्यो।"
अघि बाघ झैं गर्जिने मान्छे बिरालो झैं म्याउँ गर्यो।
"कति सजिलै भन्छौ,खुशी लाग्यो भनेर।खुशी/भलाइ चाहने शुभचिन्तक नभई गरिब/निमुखालाई ठग्ने ठगमारा हौ तिमीहरू! दिउँसै लुट्ने लुटेरा हौ!मान्छे बेच्ने खुंखार दलाल हौ!पसिना/रगत चुस्ने जुगा हौ तिमीहरू!लाखौं नेपालीहरुको सपनाको हत्या गर्ने हत्यारा हौ!नेपाल आमाका सन्ततिको जीवनमाथि खेलवाड गर्ने खेलाडी हौ।अपराधी हौ!मानवीय बेचविखनमा संलग्न भएका तस्कर हौ!गिरोह हौ।तिमीहरू जस्ता दानवहरु मानवजातिको नाममा कलंक हौ!दुष्ट/पापी हौ!तिमीहरुको भलो क्षणिक होला तर चीरकालसम्म हुने छैन।कुनै यस्तो पनि दिन आउनेछ जुनबेला तिमीहरू जस्ता गद्दारीहरुले धर्तीमा पाइला टेक्नका लागि कुनै ठाउँ हुने छैन।यही जूनीमा तिमीहरुको नर्कबास हुनेछ।"
उपस्थित कर्मचारीहरु घोसेमुन्टो लाएर गाली सुनिमात्र रहे।कुनै प्रतिकृया जनाएनन्।फेरि आफ्नो कुरालाई निरन्तरता दिएँ।
"ऊ कतार जाँदा लागत एकलाख पाँच हजार रुपियाँ।फर्किंदा टिकट काट्न लागेको पच्चीस हजार।उता काम गरेको एक महिनाको तलब।एकलाख पाँच हजारको एकमहिनाको ब्याज।कुल डेढ लाख रुपियाँ आजको आजै तुरुन्त चाहियो।"
" हो-हो चाहियो।अझै उसले पाएको दु:ख/कष्टको पनि हिसाब गर्ने हो भने यति रकम पनि कम हुन्छ।शारीरिक,मानसिक र आर्थिक सबै क्षतिको पूर्ती हुनुपर्छ।"
मैले पेश गरेको यथार्थ विवरणलाई सहमति जनाउँदै मेरा आफन्तहरुले स्वरमा स्वर थपे।
"ठिकै छ बहिनी।खर्च भए जति सबै रकमको साँवा-ब्याज हिसाब गरेर चुक्ता गर्न हामी तयार छौं।तर पैसा भन्ने चीज तत्कालै निकाल्न सकिन्न।त्यसैले हामीलाई तीन दिनको समय सिमा दिनुपर्यो।"
एकजना कर्मचारीले फुरुङ्ग पार्दै मीठो भाषामा बोल्यो।
"तीन दिन हैन एक दिनको समय दिन्छौं।भोलि यही समयमा हिसाब चुक्ता चाहिन्छ।तर त्यसको लागि लिखित रुपमा ग्यारेन्टी दिनुपर्छ।"
मैले उग्र हुँदै भनें।
"हैन बहिनी।तपाईंलाई पनि अवगत भएकै कुरा हो।आजको भोलि कहाँबाट निकाल्न सकिन्छ?"
अर्को कर्मचारीले भन्यो।
"मलाई थाहा छैन कहाँबाट आउँछ।पैसा लिंदा जति सजिलोसँग लियौ,दिने बेला पनि त्यसरी नै देऊ।लिंदा खुशी,दिंदा हात काँप्ने?त्यो तिमीहरुको समस्या हो कसरी रकम जुटाउने भन्ने।"
कुटिल हाँसो हाँस्दै भनें।
"दलाली गरेर पैसा खाने।काम कुरा छिन्नभिन्न बनाउने दलाल कतारको एजेन्ट हो।हामीले उसको घरमा गएर पैसा असुल्नुपर्ने हुन्छ।वास्तवमा भाइको पैसाबाट हामीलाई सुक्को फाइदा छैन।"
"त्यो हामीलाई थाहा भएन।मैले त मेरै हातले खनखनी गनेर पैसा यहीँ बुझाएकी थिएँ।पैसा तुरुन्तै निकाल्ने कि नाइँ?के हाम्रो पैसा सित्तैमा आएको थियो?हामीले पनि सयकडा तीन ब्याजदरमा ऋण काढेर बुझाएका हौं।"
क्रोधले मुर्मुरिंदै मोटरसाइकलको हेल्मेटले टेबुल ठट्टाएँ।टेबुलमा भएका सामानहरु छर्पष्ट पारिदिएँ।कम्प्युटरलाई पनि धक्का मारें।
"प्लीज दिदी!आवेगमा नआइदिनुस् न।यसरी पनि पैसा निस्किन्छ र?बसेरै राम्रोसँग वार्ता गरौं न।उग्र भएर अहिल्यै पैसा कहाँबाट आउँछ?"
एकजना कर्मचारीले बिन्ती बिसाउँदै नम्रतापूर्वक भन्यो।
"भाइ!तपाइँ मसित एकछिन यता आउनुस् त।"
म्यानेजरले एकजना आफन्तलाई एकान्तमा लगेर कान फुक्यो।
केहीबेरमा त्यो आफन्त आएर भन्यो
"बहिनी!उहाँहरुको कुरा पनि ठिकै हो।पैसाको मामिला हो।झ्याप्पै कहाँ निकाल्न सकिन्छ र?"
"तपाईं चुप लागेर बस्नुस्।अहिले छोडेर भोलि यिनीहरू भागे भने पैसा तपाइँले दिनुहुन्छ?जिम्मेवारी लिन सक्नुहुन्छ तपाईंले?"
आक्रोशित हुँदै आफन्तलाई पनि थर्काएपछि उहाँ मौन बस्नुभयो।
"दाइ!तपाईं यता आउनु त एकछिन।"
अर्को आफन्तलाई पनि एकान्तमा लिएर जान खोज्यो।
"खबरदार! के कुरा छ?यहीँ प्रष्ट भन।सबैको सामू।एकाएक मेरो मान्छेलाई फकाउने कोसिस नगर।"
रिसले थरथर काम्दै भनें।
"के हुँदै छ यहाँ?कुन पैसाको कुरा हुँदैछ?तपाइँको पैसा लिएको/दिएको के प्रमाण छ?कसले कहाँ पैसा लियो, मलाई केही थाहा छैन।मेरो म्यानपावरलाई व्यर्थै मुछ्न पाउनुहुन्न।यो मेरो म्यानपावर हो।"
म्यानपावर कम्पनीको मालिक आएर थर्कायो।
"मैले सडकमा पैसा बुझाएकी हुँ र?पैसा यहीँ बुझाएपछि यहाँ नखोजेर कहाँ खोज्ने?तपाईंको म्यानपावर नमुछिएर कसको मुछिन्छ?"
दाँत किट्दै भनें।
"हैन बहिनी।आवेगमा नआउनुस्।पैसाको जिम्मेवारी म लिन्छु।तपाईंको पैसा भोलि पाउनुहुनेछ।यो म्यानपावर भागेर कतै जाँदैन।लाखौं-करोडौंको व्यापार छ हाम्रो।"
यति भनेर म्यानेजरले सम्झाएपछि मेरो पारोको उचाइ बिस्तारै घट्यो।केही हदसम्म सेलाएँ।
"ठिकै छ।आजको लागि हामी जान्छौं।तर भोलि कुनै पनि हालतमा पैसा भएन भने मैले जानेकी छु।जाऔं दाइहरु अहिले।भोलि ठिक दश बजे आउनेछौं।लौ भाइ हिंड।"
                  ईराकमा १२ जना नेपालीहरूको निर्मम हत्या पश्चात् म्यानपावरहरुमा के हङ्गामा मच्चिएको थियो?त्यो भन्दा बबाल हङ्गामा मच्चाएँ।आँधीबेहरी भई उथलपुथल मच्चाएर फर्क्यौं।
आखिरमा खाडीको दलदलबाट उम्केर मातृभूमिमा आइसकेको थियो-तेन्जी भाइ।म वेहद आल्हादित भएँ।कार्गिलको लडाइँबाट आफ्नो भाइ बचेर आउँदा एउटी चेली त्यति खुशी हुँदिन होली।छोरा बचेर आउँदा आमा त्यतिको खुशी हुँदिन होली।त्यो भन्दा लाखौं गुणा उत्साहित/पुलकित थिएँ।भाइलाई नेपाल निकाल्ने दौडधुपमा सायद मैले सास फेर्न पनि बिर्सेकी थिएँ।कोठामा पुगेर लामो सास तानें।थकित शरीरलाई विश्राम दिएँ।भाइसित भलाकुसारी गर्न थालें।
"दिदी!खाडीमा गएर ऊँट चराउनु भन्दा त बरु आफ्नै गाउँघरको खेतबारीमा हलो जोत्नु,कुटो-कोदालो चलाउनु बेश लाग्यो।जन्मेदेखि बिदेश जानुअघिसम्म जति रोएको थिएँ,त्यो भन्दा दोब्बर त्यतिखेर रोएँ।अनि त्यो भन्दा लाखौं गुणा शरीरबाट पसिना बग्यो।त्यो पसिना जम्मा गर्ने हो भने एउटा सानोतिनो ताल नै बन्थ्यो होला।स्वीमिङ पुल नै बन्थ्यो।साउदीको त्यो मरुभूमिको जंगल।त्यो प्रचण्ड गर्मी।ती ऊँटहरु।पछि-पछि दौडिरहेको बिचरा-म।हैट!सम्झिंदा अझै पनि मुटु कटक्कै खान्छ दिदी!"
यति भन्दै भाइ फेरि डाँको छोडेर रोयो।भाइको रुवाइमा मैले पनि साथ दिएँ।मेरी छोरी भने आमा/मामालाई टुलुटुलु हेरिरहिन्।हेर्दाहेर्दै नानीको आँखा वरिपरि कालो बादल मडारिन थाल्यो।बर्षनलाई तम्तयार भयो-घनाघोर वर्षा।भाइलाई इशारा गरेर नरोउ भनें।आफूलाई पनि नियन्त्रण गरें।त्यो रात कसरी बित्यो थाहै भएन।
                भोलिपल्ट केही आफन्तहरु सहित पैसा असुल्न म्यानपावरमा पुग्यौं।एकजना रिसेप्सनिस्ट बाहेक अरु कोही पनि थिएनन्।
"अरु सरहरु कहाँ जानुभयो?पैसा लिन बोलाएर टाप कस्न पाइन्छ?"
निकै चर्केर सोधें।
"खै दिदी,मलाई केही थाहा भएन।अब एकछिनपछि आउनुहुन्छ होला।पर्खिंदै गर्नुस् न है।"
बस्ने कुर्सी देखाउँदै भन्यो।
कहाँ गएर कसलाई समाउने?रकम कसरी असुल्ने?कुनै निर्णय/योजना सोच्न सकेनौं।दुई घण्टा अनवरत प्रतिक्षा गर्दा पनि सम्बन्धित कोही कर्मचारी देखिएनन्।सबै आ-आफ्ना जिम्मेवारीबाट पन्छिसकेका थिए।
"हामीलाई म्यानपावरमा पुर्याउने आफ्नै भेना पर्नेले हो।उहाँ पनि सामेल हुनुभएकोले छोड्न मिल्दैन।आफन्त भनेर हुँदैन।पैसाको मामला छ।हामीले पनि चर्को ब्याजदरमा लिएर बुझाएको पैसा हो।दाइहरु!अब भेनाकै कोठामा जाऔं।अन्तिम अस्त्र भनेकै भेना मात्र हो।अरु कुनै विकल्प छैन।"
              आफन्तहरुलाई कोटेश्वर स्थित भेनाको कोठामा लिएर गएँ।हामी त्यहाँ पुग्दा कोठामा दिदी र बच्चा मात्र थिए।१२ जनाको टोली गुटुङ्टुङ भित्र प्रवेश गर्दा दिदी ट्वाल्ल/अकमक्क परेर हेरिमात्र रहनुभयो।स्तब्ध र अचम्मित हुनुभयो।
"के छ हो गाउँले हो हालखबर?हामी त सेना-मेना/दलबल सहित आयौं है।बास पाईन्छ कि नाइँ।"-एकजना भाइले ठट्यौली पारामा हाँस्दै भन्यो।
"हामी किन आएका भन्ने कुरा त भेनाले हिजो भाइको बारेमा भन्नुभएबाटै प्रष्ट भयो होला।हामी त्यै बिषयसंग सम्बन्धित भएर आउनुपरेको हो।नत्र भने यहाँसम्म आएर दिदी भेनालाई दु:ख दिने उदेश्य थिएन।पैसाले आफन्त नभन्ने रहेछ दिदी!मेरो ठाउँमा तपाईं उभिएर हेर्नुस् त।के गर्नुहुन्थ्यो?आज हामीले यतै बास बस्ने निर्णय गर्यौं।"
"खै,मलाई त केही थाहा छैन।तिम्रै भेनालाई थाहा होला।"
"यस्तै बहानामा त चेलीबेटीहरुसित भेटघाट भैरहन्छ नि।नत्र नाक-मुखै देखिने हैन।आज त माइती चेलीको घरमा आएको छ।खै के-के पाक्ने हुन्!"
एकजना दाइले मजाक गर्दै भन्नुभयो।
"सकेसम्म खीर,नत्र दालभात त पक्का।"
अर्कोले थप्नुभयो।
रमाइलो कुराकानीले तनावग्रस्त वातावरणलाई रोमाञ्चक बनाइरह्यो।खाना पकाउने भन्दा पनि दिदीले चिया/पाउरोटीले स्वागत गर्नुभयो।रातको नौं बजेतिर एजेन्टरुपी भेना लखर-लखर आइपुगे।पैसा निकाल्ने त कुरै गरेनन्।हामीले पनि धर्ना दिएर रात कटाउन थाल्यौं।मध्यराततिर मात्र खाना ख्वाए।कोही सुते।कोहीले तास खेलेर रात छर्लङ्गै काटे।
            विहान हुँदै हामीले भेनालाई यताउता आफन्तहरुलाई फोन गरेर पैसा खोज्न लगायौं।तर बाहिर भने जान दिएनौं।दिदी-भेना आफ्नै कोठामा बन्दी भए।
"खाइदिएन भने दिदी-भेना रिसाउनु हुन्छ होला।रिसाएर माइतमा आउनुभएन भने फेरि फसाद।"
एकजना दाइले हिजोको जस्तै मजाक गर्न छोडेको थिएन।
विहान पनि उस्तै किसिमले पाहुनाको सत्कार गरे दिदी/भेनाले।सबैले मुख मिठ्याइ-मिठ्याइ चेलीले पस्केको खाना खाए।दिन गज्जबले बित्दै थियोे।मानौं -दिदी-भेना र हामी बीच कुनै समस्या नै भएको थिएन।उनीहरुले हामीलाई कुनै चाडबाडमा खाना खान बोलाए जस्तो।
                 भाइ तेन्जीले साउदीमा भोगेको भोगाइलाई बेलीबिस्तार लगाएपछि उनीहरू पनि भावुक भए।दिउँसोको तीन बजेतिर उसको मान्छे एकलाख बीस हजार रुपियाँ लिएर उपस्थित भयो।
"साली!अहिले यति लानु।बाँकी तीस हजार चाहिँ भोलि हामी आफैं पुर्याउन आउँछौं।जतिसक्दो कोसिस गरेपनि आज यति मात्र जुटाउन सफल भएँ।"
दिनभरी सिकारको खोजीमा भौतारिएको भोको स्याल झैं निन्याउरो मुख लाएर भेनाले भन्यो।त्यति पैसा लिएर बाँकी अर्को दिन लेनदेन गर्ने शर्तमा त्यहाँबाट बिदा भयौं।
                   अर्कोदिन पैसा लिन बोलाएकोले दुईचार जना आफन्त साथमा लिएर गएँ।यसरी भाइ कतार जाँदा फसेको पैसा ब्याज सहित असुल्यौं।
"लागत भन्दा पनि बढी पैसा असुलेर उल्टै फाइदा लुट्यो नि।"
यस्तै भन्दै थिए कोही।तर मेरो भाइले एक महिना कसरी नारकीय जीवन ब्यतीत गर्यो भनेर उसले सोधेन/सोचेन।
                  खाडीको एकमहिना बसाइँले भाइ टन्नकै अघाएको थियो।जीवन भरीलाई पुग्ने गरी।"अबदेखि कहिल्यै बिदेश जान्न दिदी" भन्थ्यो।तर गरिबी,अभाव,बाध्यता र ऋणको सामू घुँडा टेकेर बिदेश जानुको कुनै विकल्प थिएन।भाइ गाउँतिर गएर बस्न थाल्यो।करीब-करीब समस्याहरुबाट मुक्त भैसकेकी थिएँ।मनोजको दु:ख/पीडा यथास्थानमा छँदै थियो।तर उसको दु:ख भाइको जतिको पक्कै थिएन होला।के थाहा?न उसको पीडा पनि भाइको जस्तै थियोे कि!प्रत्यक्ष देख्न सकिने भए पो।जे भएपनि अनिश्चितकालको लागि भने तनावमुक्त नै भएँ।जिन्दगीको आकाशबाट कालो बादल छर्लङ्ग हटेर उज्ज्वल वातावरणको सृजना भयो।जिन्दगीमा आएको बाढी/पहिरो समथर भु-धरातलमा गएर बिलायो।रुन छोडेर हाँस्न थालें।वसन्तमा कोपिला फक्रेर फुलेको फूलझैं मन्द-मन्द मुस्कुराउन थालें।जीवनप्रति मोह जाग्न थाल्यो।हरेक पाइलाहरुमा उत्साह थपिए।समग्रमा जिन्दगी बल्ल जिन्दगी जस्तो हुन थाल्यो।तर हाँसो/मुस्कान धेरै दिनसम्म टिक्न सकेनन्।एकदिन फेरि जिन्दगीमा तुफान आएर सबै खुशी/हाँसोलाई उडाएर लग्यो।निमिट्यान्न पार्यो।हरे दैव!के मेरो यो धर्तीमा हाँस्ने-रमाउने अधिकार छैन?के दु:ख मेरै भागमा मात्र परेको थियो?सुख-दु:खको बाँडफाँड गर्दा?तुरुन्तै आजै/अहिल्यै जवाफ देउ भगवान!के यस्तो पक्षपात गर्न पाइन्छ?के तिमीसंग न्याय जोख्ने तराजु छैन?कि खिया लागेर बिग्रेको थोत्रो तराजु छ र तिमीसंग पनि?"

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...