Friday, 14 October 2016

आरोह अवरोह-२३

             मुटुको टुक्राबाट छुट्टिने घडी आइसकेको थियो।नानीको स्कूल १० बजे।मेरो उडान १२ बजे।उडानको समय भन्दा ३ घण्टा अगावै निस्किनुपर्ने बाध्यता।हामी बस्ने घरदेखि केही परको  पिच रोडमा मनोजले ट्याक्सी तयारी अवस्थामा राखिसकेको रहेछ।२०/३० पाइला हिंडेरै ट्याक्सीसम्म जानुपर्ने थियो।प्रभातको ९ बजे।मैले आफ्नो ब्याग र मनोजले मेरो कपडा भएको झोला बोकेर कोठाबाट बाहिर निस्क्यौं।नानी,भाइ र नन्दले पनि बाहिरसम्म साथ दिए।नानीले रातो-पिरो अनुहार बनाईन्।नजानु भनेर अनुनय-बिनय गरेझैं लाग्थ्यो।हातमा ५० रुपियाँको नोट थमाएर उनको खुशी र मुस्कान खरिद गरें।बच्चा त हो।पैसा देखेपछि एकछिनको लागि फुरुङ्ग हुँदै आफ्नो खुशीलाई ५० रुपियाँमा साटी।आफ्नो आमा बिदेश जाँदै गरेको थाहा पाए होली तर बिदेश कहाँ/कति टाढा छ,त्यो बच्चीलाई कसरी ज्ञान हुनु?केही दिनमै फर्किने बाचा सम्झेर उनलाई लागे होला खाडी भनेको मेरो माइतीघर जत्तिकै टाढा छ।हामी ट्याक्सीतर्फ बढ्दै गर्दा उनको नजर हामीतिरै थियो।नयनमा थियो-अश्रुभेल। 
"ल है दाइहरु,बहिनी,आन्टीहरु!सबैजना राम्रोसँग बस्नु है।म चाहिँ लागें परदेशतिर।"-बाहिर भएका सबैलाई एकैमुष्टमा समेटें।
"ल ल बहिनी!शुभयात्रा।फेरि भेटौंला।"
"लु त दिदी!बिदेशमा गएर पैसा टन्नै कमाएपछि हामीलाई नबिर्सनु।कहिलेकाही सम्झिंदै गर्नुहोला।"
"तिमीले चिन्ता लिनु पर्दैन नानी!यहाँ हामी रेखदेख गर्छौं नि नातिनीको।"
यस्तै वाक्यहरु कानसम्म आएर ठोक्किए।थप सवाल/जवाफ/अन्तरकृया गर्न मन भएपनि समय काफी थिएन।ट्याक्सीमा चढ्नु पूर्व नानी लगायत सबैलाई बिदाइको हात हल्लाएँ।उनीहरुले पनि सोही तरीकाले प्रतिकृया जनाए।नानीको सामू आँशु रोक्न सप्तकोशी थुनेर राख्नु भन्दा कम गाह्रो भएन।ट्याक्सी चढ्ने बित्तिकै आँखाको साराङकोटबाट घनाघोर अश्रुवर्षा हुन थाल्यो।मेरो दयनीय अवस्थालाई मध्यनजर गर्दै मनोजले हात समाएर मुसार्यो।
             हेर्दाहेर्दै ट्याक्सी गन्तव्यलाई निशाना बनाएर गुड्न थाल्यो।५ बर्षकी सानी नानी आफ्नो जननीबाट दूर भईन्।कति दिन/महिना/बर्षको लागि हो भगवान जानून्।नानीको हालत देखेर/सम्झेर मेरो लक्ष्य बीचैमा बिचलित हुन खोज्यो।बिदेश जाउँ कि नजाउँ?के गर्ने-कसो गर्ने?दोसाँधमा गएर टक्क उभिदियो मन।धन र सन्तान मध्ये एक रोज्न भगवानले पनि परीक्षा लिए झैं लाग्यो।म विवश/लाचार थिएँ।आफू भन्दा हजारौं गुणा प्यारी छोरीबाट केही समयको लागि टाढिएर धनको पछि दौडिन बाध्य थिईन्-ओमु।एक नेपाली नारी।एक श्रीमती।एक आमा।
               रंगमञ्च जस्तै स्थान।कहालीलाग्दो दृश्य।मर्मस्पर्शी अभिनय जस्तो।वरिपरि दर्शकझैं टुलुटुलु हेरिरहेका थिए।लाजिम्पाटको शिखर म्यानपावर।राहदानी,टिकट र शिखर म्यानपावर लेखिएको क्याप लिएर सोही ट्याक्सीबाट एयरपोर्ट गयौं।एउटै म्यानपावरबाट एकै कम्पनीका लागि हामी चारजना केटीहरु एकसाथ जाँदै।त्रिभुवन विमानस्थलमा पुगेपछि मेरो नजर  आगमन कक्षतिर गयो।ओठमा हाँसो,मुहारमा हर्षको चमक र मनमा उमंग/उत्साह/जोश/जाँगर लिएर आइरहेका।उदेश्य र सपना पूर्ण गरेर आफ्नो मातृभूमिमा पाइला टेकेका होलान्।हामी भने सपना/उदेश्य लिएर कछुवाको गतिमा घसृरहेका थियौं।प्रस्थान कक्षको गेटबाट भित्र छिर्यौं।बायाँ काँधमा राहदानी-टिकट र श्रम स्वीकृतिको कागजपत्र सहितको ब्याग।दायाँ हातमा लगेज लिएर लाइनमा उभ्यौं।हामी जति-जति माथि-माथि सर्दै थियौं,उति-उति मेरो मुटु खरायोको गतिमा बुर्कुसी मार्न थाल्यो।मनको कृष्णभीरबाट पीर/चिन्ता/निराशा मिश्रित बाढी/पहिरो जान थाल्यो।पीडाहरुको ज्वाला दन्केर,डढेलो लागेर क्षत-बिक्षत भएको छातीमा सुख,शान्ति र हर्षको पालुवा पलाउन बषौं पनि काफी थिएन।सुनेकी थिएँ-बिदेश त सधैं झिलिमिली/रमाइलो हुन्छ।तर त्यतिनै बेला मेरो जिन्दगीमा भने लोडसेडिङ भएर अन्धकारले छायो।कतिबेला लोडसेडिङमुक्त हुने हो,केही अवगत भएन।
              आफूसित भएको नेपाली मुद्रा मनोजलाई जिम्मा लगाएँ।मेरो जिन्दगीमा आएको आँधी-तुफानलाई नियन्त्रण गर्दै मनोजले भन्यो।
"ओमु,मैले त तिमीलाई सकेसम्म नजाऊ भनेकै हो नि तर तिमी मानिनौ।तिमीलाई बिदेशतिर धकेल्ने धोको मेरो कहाँ थियो र?म त अझैपनि भन्छु-यहीँबाट फर्क।
"मनोज!मेरो बारेमा चिन्ता लिनुपर्दैन।नगएर पनि के गर्नु?हामीसित दोस्रो विकल्प पनि त छैन।"
"दुबई पुग्नेबित्तिकै साथीको मोबाइलबाट फोन गर है।नत्र मिसकल मात्र हाने पनि हुन्छ।म यहीँबाट फोन गर्नेछु।काम के कस्तो छ,तुरुन्तै जानकारी देऊ।कथंकदाचित काम गार्हो/नराम्रो पर्यो भने यथाशीघ्र फर्केर आऊ।म पनि सकेसम्म दुबई आउने कोसिस गर्छु।"
उसले यतिमात्र के भनेको थियो,मेरा नयनबाट अश्रुधारा छुटे।मोती झैं चम्किला दानाहरु तप्प-तप्प राहदानीमा खस्न पुगे।मैले आफूलाई सम्हाल्नै नसकिन।गर्ल्याम्मै अँगालो हालें।निकैबेरसम्म सुक्सुकाउँदै पीडा बिसाएँ।उसका हातहरु मेरा हातहरुसंग सल्बलिए।जिन्दगीमा कहिल्यै नभोगेको ठूलो दु:ख/पीडा/दर्द भोग्दै थिएँ।सिंगै पृथ्वी छातीमाथि बज्रेसरी भारी महसुस गरें।नियति कठोर बनिदियो।हामी दुवै धरधरी रोयौं।एक-अर्काको अँगालोमा बेरिएर।आकुलव्याकुल हुँदै आँतिएर चुम्यौं।चुमिरह्यौं निकैबेरसम्म।बाध्यताको चपेटामा परेर जाँदै गरेका सयौंजना दिदीबहिनी/दाजुभाइहरु,विमानस्थल र समय हाम्रो बिछोडको प्रत्यक्षदर्शी/साक्षी थिए।फेरि मुना-मदनको कथा दोहोरिंदै थियो।मुना/मदनको बिछोड हुँदै थियो।तर यसपटक कथामा मदन नुन लिनलाई भोट नगएर मुना पैसा लिनलाई खाडी जाँदै थिईन्।स्थान,समय र पात्र फरक थिए।व्यथा फरक थिएन।आँसु उस्तै।बिरह/दु:ख/पीडा/वेदना सब उस्तै।
"मनोज!अब म जानुपर्छ।जाँदैछु धेरै टाढा।तर जति टाढा गए पनि मेरो मन/माया तिमीसंगै हुनेछ।नमरे बाँचे,भाग्यले साथ दिए फेरि भेट्ने बाचाका साथ बिदा हुन चाहन्छु।प्यारा!के हाम्रो भेट फेरि होला त?पुनर्मिलन होला त?किन मलाई लाग्दैछ कि यो भेट नै हाम्रो अन्तिम भेट हो?के यो मनले सधैं सत्य बोल्छ ?यदि हाम्रो यो भेट नै अन्तिम भेट रहेछ भने,कथंकदाचित म फर्केर आईन भने आफू अनि छोरीलाई सम्हाल्नु ल! उनलाई कहिल्यै आमाको अभाव हुन नदिनु।मेरो यादमा तड्पेर समय खेर नफाल्नु।बरु यथाशीघ्र एउटीलाई खोजेर आफ्नो आवश्यकता पूरा गर्नु।छोरीलाई पनि आमाको माया दिलाउनु।यदि भाग्यबस हाम्रो भेट भैहाल्यो भने त्यो भन्दा खुशीको क्षण कहिल्यै हुनेछैन।"
"हैट,ओमु!यस्तो कुरा पनि गर्छ्यौ तिमी?मलाई जिउँदै मार्यौ तिमीले।के तिमी बिना मेरो जीवन पूर्ण/सार्थक होला र?तिमी बाहेक अरुको बारेमा कसरी कल्पना गर्न सक्छु म?मलाई परस्त्रीको आवश्यक्ता छैन।आवश्यकता केको लागि?के सम्भोग नै सबथोक हो?बिना सम्भोग कसैको यादमा जीवन ब्यतित गर्न सकिन्न?अशुभ नबोल तिमी।मनबाट यस्तो नकारात्मक कुरा निकाल्न सक्तिनौ भने यहीँबाट फर्क।न बिछोड हुन्छ,न कुनै तनाव।खोले-फाँडो खाएर संगै जिउँला।म त्यसैमा सन्तुष्ट हुनेछु। जाऔं हिंड।"
यति भन्दै मेरो हात तानेर उतै फर्काउन खोज्यो।
"नाइँ मनोज।मेरो मतलब त्यो होइन।म जानैपर्छ।पाइला रोकिने छैनन्।"
यति भनेर अगि बढ्न थालें।प्रेमी-प्रेमिका/श्रीमान-श्रीमती/ दुई तनहरुको बिछोड हुँदै थियो।तर मन/मुटु उसैको मन/मुटुसंग जोडिएकोले असह्य पीडा भयो।मेरो मुटु ऊसंगै छोडेर जाँदैथिएँ।मसंग मेरै मुटु थिएन।थियो त केवल २५० ग्राम तौलको मासुको डल्ला।
                   म अन्तिम द्धारमा पुगिसकेकी थिएँ।त्यहाँदेखि भित्र प्रवेश गर्न राहदानी/भिषा/टिकट चाहिन्थ्यो।ऊबाट ओझेल पर्दै थिएँ।कसैका साथी,कसैका बाबा-आमा,कसैका प्रेमी,कसैका प्रेमिका र कसैका आफन्त छोड्न आएका थिए।बिदाइका हस्तहरु हल्लाइरहेका थिए।सबैका मुहारमा उस्तै कहरका भाव छचल्किरहेका थिए।दायाँ हातमा राहदानी लिएर अन्तिमपल्ट हात हल्लाएँ।राहदानीका पानाहरु एक-आपसमा ठोक्किएर फररर-फररर आवाज आयो।क्रमश: ऊबाट अदृश्य भएँ।केही कदम अगाडि गएपछि पुनः शीर फर्काएर हेर्ने धृष्टता गरें।तर असमर्थ भएँ।
              जो आफन्तहरु बिदाइका हातहरु हल्लाउँदै थिए,उनीहरुले के-के देखे होलान्?उनीहरुले आफ्ना मान्छेलाई मात्र देखेनन्।धेरै जनालाई देखे।धेरै कुरा देखे।कोहीले रहर देखे।कोहीले कहर देखे।कोहीले अश्रु।कोहीले गरिबी।कोहीले ऐनाझैं छर्लङ्ग देखे-देशको अनुहार।अनि देशको वास्तविक स्थिति।बामे सर्दै गरेको विकास।म जस्ता नारीहरुको बाध्यता कसैले देखे या देखेनन्?त्यो मलाई थाहा भएन।
              बोर्डिङ पास लिएर सिधै प्रतिक्षालयमा गएर बसें।संसारका विभिन्न मुलुकलाई गन्तव्य बनाएका यात्रुहरुको चापले गर्दा थोरैले मात्र बस्ने कुर्ची पाए।धेरै जसो उभिएरै प्रतिक्षारत भए।
"म जस्ता धेरै युवा-युवतीहरु बिदेशलाई अस्थायी कर्मथलो बनाउन लागिपरेका छन्।यिनीहरुका पनि आफ्नै कथा-व्यथा होलान्।मेरो जस्तै।दु:खको महासागरमा डुबेका धेरै रहेछन्।म मात्र रहेनछु।त्यसैले मैले मात्र किन चिन्ता लिने?चिन्ता लिएर मात्रै समस्याको समाधान हुने पनि होइन।पीर/चिन्ता रद्दीको टोकरीमा फालेर जाग केटी अब!"
एकमनले मलाई यसरी सन्झायो। गाउँघर,भाडामा लिइएको सानो कोठा,बाबा-आमा,आफन्त,इष्टमित्र,छोरी र मनोजलाई चटक्कै छोडेर खाडीमा भासिनुको पीडाले मनलाई अस्थिर बनायो।उथलपुथल बनाइरह्यो।जसरी भूमरीले झारपात/धुलाका कणहरुलाई नचाउँछ।
"दुबई जाने यात्रु महानुभावहरु!कृपया तीन नम्बर गेटबाट प्रस्थान गर्नुहोला।"
एकजना महिला कर्मचारीले माइक्रोफोनबाट जानकारी दिईन्।म लगायतका यात्रुहरु हतार-हतार गेटबाट विमानस्थलको खुल्ला क्षेत्रमा पुग्यौं।त्यहाँबाट एयरबसले एयर अरेबियाको विमानसम्म पुर्यायो।प्रायः सबै यात्रुहरु उपस्थित भैसकेका थिए।
"आदरणीय यात्रु महानुभावहरु!प्राविधिक घट्बढीको कारण १२:१५ मा उडान हुने भनिएको विमान १२:५५ मा मात्र उडान हुनेछ।ढिलाइको लागि क्षमा याचना गर्दछौं।"-विमानभित्रबाट अचानक उद्घोष भयो।
एकछिन हर्षबिभोर भएँ।४० मिनेट भएपनि नेपाली आमाको धरातलमा रहन पाउनेभएँ।
"अझै केही दिनको लागि ढिलाइ गर्न मिल्दैन विमानलाई?मिल्ने भए क्या गज्जब!"
मनले यस्तै सोच्यो ।तर त्यसो गर्नु/हुनु सम्भव थिएन।कसैको बाउको तागत थिएन विमानलाई रोक्ने।सायद भगवानले पनि रोकेर राख्न सक्ने थिएन।
               हेर्दाहेर्दै विमान उड्ने समय हुँदै थियो।४० मिनेट पनि कति द्रुतगतिमा सकिएछ बरै!४० सेकेन्ड जस्तो।कसैले समयको सुई रोकेर राखे कति जाती हुन्थ्यो।समयको आफ्नै गति छ।यसमा कसैको नियन्त्रण,अधीन र बस छैन।यति शक्तिशाली समय कसले बनायो होला?आखिर समय आएरै छाड्यो।अरबी भाषामा एकजना पुरुषले उद्घोष गर्यो।मैले केही बुझिन।तत्कालै नेपालीमा उल्था गरेर भन्यो।
"उडानको समय हुनै लागेकोले कृपया सबै यात्रुहरुले आ-आफ्नो सिटबेल्ट बाँध्नुहोला-धन्यवाद।"
विमान गुड्न थाल्यो।एकैछिनमा भू-धरातल छोडेर आकाशमै उड्यो।मेरो छातीको देब्रे पाटोमा असह्य दर्द हुनथाल्यो।लाग्यो- रामले रावणको वध गर्दाको भन्दा असंख्य धारिला वाणहरु छातीमै गढिंदैछन्।पृथ्वी छोडेर अर्कै ग्रहको अनिश्चितकालीन यात्रामा निस्किंदै थिएँ।कहिल्यै फर्केर आउने छैन।मानौं म यमलोकको भ्रमणमा निस्केकी छु।नेपाल आमाको काख छोड्दा एउटी बालिकाले आफ्नो आमाको न्यानो काख छोडेको क्षण भन्दा कम विरक्तिलो थिएन।'आमा!भनेर चिच्याउन मन लाग्यो।तत्कालै आफूलाई नियन्त्रण गरें।मातृभूमिबाट टाढिएर अलपत्र भएझैं देखिन्थे-भित्रको दृश्य।फाट्टफुट्ट बिदेशी अनुहार बाहेक धेरैजना उदास/भावुक मुहारमा देखिन्थे।विमानले एकपटक पशुपति र बौद्धको क्षेत्रलाई सर्लक्कै परिक्रमा गर्यो।त्यसपछि आफ्नो गन्तव्यतिर उन्मुख भयो।
"समय,परिस्थिति र भाग्यले साथ दिएर जीवित भएमा केही पैसा कमाएर ल्याउनेछु।साहुको ॠण तिर्नेछु।झुपडीमा टीनको छाना छाउनेछु।बाँकी पैसाले काठमाडौंमा सानो पसल राखेर गुजारा चलाउनेछु।परिवारसंगै बसेर सामान्य जीवन यापन गर्नेछु।"
एकैछिनमा निकै मीठो सपना बुनिसकेछु।मेरो नजरमा पर्ने सबैले पशुपति र बौद्धलाई दायाँ हातले दर्शन गरेर जीवन रक्षाको लागि अपिल गरे,जसरी मैले गरें।नेपाली दाजुभाइ/दिदीबहिनीहरुको सपना/लक्ष्य/उदेश्य बोकेर निर्दयी विमान नीलगगनको गहिराइमा निर्धक्क उडिरह्यो।तर मेरो मन भने निर्धक्क हुनै सकेन।
              आहा!हरियाली वनजंगल।सुन्दर पहाड-पर्वत।सेताम्य फुलेका हिम-टाकुराहरु!माथिबाट नियाल्दा नेपाल साँच्चिकै सुन्दर रहेछ।त्यो भन्दा पहिले स्वदेशकै प्राकृतिक छटाहरुको दृश्य त्यसरी कहिल्यै अवलोकन गर्ने अवसर मिलेको थिएन।थाहा थिएन,स्वर्ग जस्तो ठाउँ छोडेर कहाँ/कस्तो ठाउँमा जाँदैथिएँ।कर्म गरेर फर्केकाहरुले दुबईलाई युरोपको संज्ञा दिन्थे।तर मेरो काल्पनिक स्टेजमा मनोज र तेन्जी भाइ फसेका मरुभूमि मात्र नाचे।जे जस्तो भएपनि केही मीठा सपनाहरु रोप्न दुबई जाँदै थिएँ।फलाएर ल्याउनु थियो परिवारको सुखद भविष्य।नर्कलाई स्वर्ग सोचेर अंकमाल गर्नु थियो।बिषलाई अमृत सम्झेर घुटुघुटु पिउनु थियो।
              क्रमशः विमान धेरै माथि पुग्यो।तल कालो बादल बाहेक अरु केही देखिएन।यस्तो अनुभूति भयो।मानौं हामी पृथ्वी नभएर अरु कुनै ग्रह/उपग्रहमा पुग्यौं।फेरि विमानले आफ्नो उचाइ घटायो।मरुभूमिको माथि-माथि जाँदै थियौं।करीब दुई घण्टाको हवाइ-यात्रा पश्चात् आकाश/जमिन एउटै देखिन थाल्यो।तल-माथि दुबै निलो।त्यो दृश्य हेर्न मनाह गरे होस्टेजहरुले।हामी सामुद्रीक क्षेत्रमा थियौं।आँतिएर हतोत्साहित होलान् भनेर खिर्की बन्द गर्ने आदेश दिए।
                एउटै सीटमा परेर पनि छेउमा बस्ने दाइसंग परिचय/बोलचाल सम्म भएको थिएन।आवश्यकतानुसार मात्र बोल्ने स्वभाव रहेछ-उसको।मेरो पनि मूड नभएकोले बोलेकी थिईन।वार्तालापको श्रीगणेश मैले नै गर्नुपर्यो।
"दाइ!तपाइँको घर कता पर्यो?दुबई जाने हो कि अन्तै?कति बर्ष भयो बिदेशको बसाईं?"
एकैपटक बहुप्रश्न सोधें।
"म पदम गुरुङ।घर पोखरा।तर शहर नभएर अलि गाउँ साइडमा पर्छ।म शारजाह जाने हो।सेक्युरिटी कम्पनीमा कार्यरत भएको ९ सालै भयो।सोचेजस्तो आम्दानी छैन।बालबच्चा पढाउँदा,घरखर्च गर्दा ठिक्क हुन्छ।परिवारलाई बजारमा राखेको छु।"
"ए दाइ!अनि यो शारजाह भनेको चाहिँ कुन देश हो र?पहिलोपटक सुन्दैछु।"
"शारजाह,दुबई,फुजेराह,रास अल खेमा,अल यन,अबुधाबी र अज्मान सबै युएईका राज्यहरु हुन्।खै तपाईंको टिकट देखाउनु त।ए तपाईं पनि शारजाह सम्मै रहेछ।तपाईंलाई कम्पनीको स्टाफ त्यहीं लिन आउँछन् होला।"
"ए,अनि कस्तो छ त दुबई?म त दुबईको लागि भनेर आएकी त।पहिलोचोटि जाँदैछु।केएफसी कम्पनी भनेर पठाए।खै काम कस्तो हुने हो!"
"केएफसी कम्पनीमा त राम्रै हुन्छ।धेरै ठाउँमा खोलेका छन् शाखाहरु।अनि बहिनी!किन जान लागेकी बिदेशमा?आफ्नो श्रीमानलाई पठाउँदा हुन्छ नि।छोरीमान्छे भएर किन आउनुपर्यो?"
"के गर्नु दाइ,श्रीमानले पनि सकभर गर्नै खोजेका हुन् नि।साउदी अरबमा साँढे-तीन साल बसेर केही उन्नति भएन।अर्को देशको लागि प्रयत्न गर्नुभयो तर असफल हुनुभयो।घर -व्यवहार चलाउन पनि बिदेश जानैपर्यो।समयको दास भएर जाँदैछु।रहरले पक्कै हैन।फेरि श्रीमान/श्रीमती भनेका एउटै रथका दुई पाङ्ग्रा हुन्।एक बिना रथको अस्तित्व रहँन्न।आ-आफ्नो तर्फबाट सक्दो कोसिस गरेर परिवारलाई सुखमय बनाउनु दुबैको कर्तव्य हो।श्रीमानको मात्र भर परिरहने पद्धतिको अन्त्य गर्न चाहन्छु।हामी नारी पनि कम्जोर पक्कै छैनौं।आइपरेको खण्डमा जस्तोसुकै समस्याको सामना गरेर अगि बढ्न सक्छौं।घरको चुलोचौकामा सिमित नभएर देश-बिदेशमा गएर पाखुरी खियाउन पछि पर्नुहुन्न भन्ने मेरो सिद्धान्त हो।लोग्नेमान्छे सिन्का समेत नभाँचेर स्वास्नीमान्छेलाई दासी बनाएर मोजमस्ती गरेर हिंड्छ,परस्त्रीसंग सल्किन्छ र घरमा आएर आफ्नो पत्नीलाई दुर्व्यवहार गर्छ भने प्रतिशोधको राँको ओकल्न तयार हुनुपर्छ।तर कोही लोग्नेमान्छे आफ्नो परिवारको खातिर लागि पर्दा पनि उसलाई नियतिले ठग्छ।त्यतिखेर स्वास्नीमान्छे दर्शक भएर हेरिरहनुको अर्थ हुँदैन।त्यतिखेर नारी पनि उसको सहयोगी/सहयात्री भएर साथ दिनुपर्छ।त्यसैले आज म यहाँ छु।मेरो श्रीमानले मुश्किलले अनुमति दिएका हुन् बिदेश जानलाई।अप्ठ्यारो परेको बेला साथ दिनुनै पत्नीको धर्म हो।कहिले आफ्नो पतिले कमाएर ल्याउँला र घर चलाउँला भनेर पर्खिने खालको पत्नीको दर्जामा म परिन।थाहा छैन,मैले सही गरें या गलत।मनले जे चाह्यो त्यही गरें।मलाई बिदेशिनु पर्दा कुनै गुनासो छैन।"
"सबैका श्रीमती तिमी जस्तै भए जिन्दगी कति सुन्दर/सार्थक/सुखमय हुन्थ्यो होला!तर खै,आफ्नो त भाग्य नै त्यस्तै भएर होला।"
"किन दाइ?भाउजू हुनुहुन्न?के भयो? तपाईँको जीवनमा केही त्यस्तो घटना घट्यो?"
"के भन्नु र बहिनी!घटना सम्झिंदा मुटु त्यसै दुखेर आउँछ।छाती चिरा-चिरा हुन्छ।हाम्रो वैवाहिक जीवनको शुरूवातका दिन/रातहरु कति प्रेमिल थिए।संसार झलमल थियो-तारामण्डल झैं।हाम्रो माया धेरै गाढा थियो।त्यस्तो गाढा कुनै चीज हुन्न।त्यो माया जोख्ने सक्ने कुनै तराजु थिएन।एक-अर्का बिना एकरत्ति बाँच्न नसकिने अवस्था।
"तपाईंलाई केही भैहाल्यो भने तपाईंको चितासंगै सती जान्छु।कि आत्माहत्या गर्छु।"
यस्तै भनेर अपार माया देखाउँथिन् मेरी प्यारीले।भारतको गोवामा हनिमून मनाएर फर्किंदा मेरो जागिर चट भैसकेको थियो।जतिसुकै बिन्ती बिसाए पनि त्यो प्राइभेट कम्पनीको मालिकले काम दिएन।त्यसपछि म बेरोजगार भएँ।आर्थिक हैसियत क्रमशः कमजोर हुँदै गयो।घर-व्यवहार समेत चलाउन धौधौ भयो।दुर्भाग्यबश बिदेशिनुपर्यो।दुईचार साल राम्रै चल्दै थियो।तर पछि उनको आनीबानी/व्यवहारमा अप्रत्याशित ढंगले परिवर्तन आयो।बिदेशमा दु:ख गरेर,रगत-पसिना बगाएर पाँच बर्षमा कमाएको सबै पैसा उनलाई पठाएँ।भएभरका गर-गहना र पैसा लिएर अर्कैसंग टाप कसिन्।मलाई घर न घाटको पारेर गईन्।तीनबर्षे अवोध बालकको जिन्दगीमाथि खेलवाड गरेर गईन्।सुखद घरमा आगो झोसेर गईन्।एक मनले त भन्यो-आत्माहत्या गर।तर अर्को मनले-छोराको जिन्दगीलाई अझ नर्क नबनाऊ भन्यो।त्यही निर्दोष छोराको मुख हेरेर आजसम्म बाँचेको छु।नत्र आज तिमीसंग यसरी दु:ख/सुखको भावना साट्ने मौका पाउने थिईन।छोराको बिजोग देख्न नसकेर बाबा-आमा बजार आएर बसे।बल्ल शारीरिक प्रणालीहरुले काम गर्न थाले।पछि सुन्नमा आयो-उनी तीन बालबच्चाको बाउसित सौतामा गएकी रहिछे।नारीको मन-दैवले जानून भन्थे।साँच्चिकै मैले उनको मनलाई बुझ्न सकिन।कि त बुझाउन सकिन।अबको उदेश्य छोरालाई उचित शिक्षा/संस्कार दिनुनै हुनेछ।फेरि वैवाहिक बन्धनमा बाँधिन चाहन्न।भयो/पुग्यो।समयले ठूलो पाठ सिकाएर गयो।त्यस्तै गल्ती मबाट हुनेछैन।"
"हो दाइ!तपाईंको जस्तै यथार्थ/दु:खद घटनाहरु प्रत्यक्ष देखेको छु।खै के भनौं र दाइ!समय/परिस्थितिलाई दोष दिउँ कि मान्छेलाई?दोष जसको भएपनि ती सब घटना घट्नुमा गरिबी/बेरोजगारी/अभाव र यौन जस्ता कुराहरु जिम्मेवार छन्।जो अभावको सामना गर्न नसकेर भाग्छन्,उनैबाट यस्तो घटना घट्ने गर्छ।आर्थिक रुपमा सवल भएपनि मनुष्यलाई अत्यावश्यक यौनको परिपूर्ति नहुँदा पनि यस्ता घटना घट्छन्।"
               कर्मचारीले विमान अवतरण हुन गैरहेको जानकारी दियो।हामीले फेरि एकपल्ट आ-आफ्नो सिटबेल्ट कस्यौं।विमान अवतरण हुने क्रममा माथिबाटै ठूल्ठूला गगनचुम्बी महलहरु प्रष्टै देखिए।विमान शारजाह विमानस्थलमा अवतरण भयो।ईमिग्रेसनको काम सकिएपछि हामी चारजना केटीहरु कम्पनीको पर्खाइमा बाहिर पर्ख्यौं।कर्मचारीले नचिन्ला भनेर शिखर म्यानपावर लेखिएको टोपी लगायौं।केहीबेरमा कसैले केएफसी लेखिएको बोर्ड देखायो।
सायद शीरको टोपीले हाम्रो परिचय दिँदै थियो।
"केएफसी?"
"एस,केएफसी।"-हामीले एकै स्वरमा जवाफ दियौं।
"आओ,बैठो गाडीमे।"
आदेश पालन गर्दै हामी उसको गाडीमा बस्यौं।खुल्ला,फराकिलो र चिल्लो सडकको बाटो हुँदै केएफसीको मुख्य कार्यलयमा लिएर गयो।
          ड्राइभरले कार्यलयभित्र पुगेपश्चात हाम्रो परिचय दियो।हामीले भने चुपचाप सुन्यौं मात्र।कार्यलयको कर्मचारीले भनेपछि हामीले खुरुखुरु आ-आफ्नो राहदानी बुझायौं।हामी फेरि उही ड्राइभरको गाडीमा चढ्यौं।उसले शारजाहको क्याम्पमा छोड्यो।ड्राइभर आफ्नै बाटो लाग्यो।संगै गएका मध्ये दुईजना एउटै कोठामा परे।बाँकी हामी दुईजना छुट्टा-छुट्टै कोठामा पर्यौं।म त्यस्तो कोठामा परें जहाँ अरु कुनै नेपाली केटी साथीहरु थिएनन्।मात्र फिलिपिनी।शुरु-शुरुमा उनीहरुको बोल्ने शैली बुझ्न निकै गाह्रो भयो।अंग्रेजी भाषा विद्यालयमा सिकेपनि व्यवहारमा कहिल्यै बोल्ने आवश्यकता परेको थिएन।तसर्थ शुरुमा अंग्रेजी बोल्न धेरै सकस भयो।शब्दहरुको ज्ञान भएपनि मिलाएर वाक्यमा फरर बोल्नु फलामको चिउरा चपाए सरह थियो।कुनै सजिलो काम थिएन।ठूलै चुनौती थियोे।ठुट्टे अंग्रेजी बोलेरै काम चलाएँ।फिलिपिनी साथीसंग  कम्पनीको बारेमा सोधेर जानकारी बटुलें।कम्पनी राम्रै भएको र चिन्ता लिनुपर्ने ठाउँ नभएको बुझें।
                 साँझ झमक्क पर्न लागेको थियोे।भित्रको एसी कता-कता नमिठो लागेर आयो।स्वदेशमा प्राकृतिक एसी खाएको बानीले बन्द कोठाको कृत्रिम हावा कसरी जाती लाग्थ्यो र?शरीर त्यसै छट्पटिएर आयो।उकुसमुकुस भएँ।अक्सिजनको कमी भएको महसुस गरें।मातृभूमि र घर-परिवारको यादले सताउन थाल्यो।नेपाल कता पर्छ होला भनेर मन कौतुहल/उत्साहित/उत्सुक बन्यो।छतमा निस्केर चिहाएँ।अनुमान लगाएँ।केही ठम्याउन सकिन।मन आँतिन थाल्यो।फोक्सोले श्वासप्रश्वास प्रकृयामा भाग लिन छोडे जस्तो।मुटुले रक्तसंचार गर्न छोडे जस्तो।शिथिल भएँ।आँखा रसाए।रिंगटा चलेर आयो।चिसो सिमेन्टमा थचक्क बसें।
             चारैतिर गगनचुम्बी महल।झिलिमिली बत्ती।चौडा/चिल्ला सडक।चिल्ला गाडीहरु।व्यस्त मानिसहरुको चहलपहल।तथापि सब मेरा लागि व्यर्थ।अर्थहीन।एकरत्ति पनि मन लागेन त्यहाँ बस्न।फेरि सम्झें आफ्नो घरको अभाव/गरिबी/तनाव।अस्तव्यस्त/लथालिङ्ग भाडाको कोठा।बाबा-आमालाई थिचिएको ऋणको भारी।आफूलाई सक्दो सम्हालें।रमाउन खोजें त्यो बिरानो शहरमा।
            सरासर कोठामा गएर जेनीसंग मोबाइल मागेर नेपालमा फोन गरें।
"मनोज!के छ त्यहाँको हालखबर?म राम्रैसँग शारजाह भन्ने ठाउँमा आइपुगें।मेडिकल पश्चात् दुबई लैजाने कुरा छ।म राम्रै ठाउँ र कम्पनीमा आएछु।कुनै पीर/चिन्ता लिनुपर्दैन।तिमी पनि सकभर मिलाएर यतै आउनु।बरु जतिसुकै समय लागेपनि लागोस्।यो मेरो साथीको नम्बर यो।उनीसित जहिल्यै संगै नहुन सक्छु।अर्को नम्बर बाट फोन/मिसकल हान्नेछु।"
"ए हो र ओमु?साँच्चिकै राम्रो छ?हैन होला।ढाँटेकी त छैनौ नि?तिमी कस्तो ठाउँमा पर्ने होला भनेर एकदमै पीर लागेको थियो।अझैपनि ढुक्क हुन सकेको छैन।हुन्छ, मपनि त्यतै आउने सक्दो कोसिस गर्नेछु।तिमी पनि यसो दुईचार महिना बिचार गर।काम सोचेजस्तो भए गर।नत्र फर्केर आऊ।नानीलाई ठिकै छ।हिजो दिनभरी त यताउता घुम्दा/खेल्दा खासै पीर मानेकी थिईन।तर राती सुत्ने बेलामा चाहिँ 'मम्मी जाने' भनेर रुन तयार भएकी थिई।मैले माथि निमाको आमा र अन्य बालबच्चाहरुको उदाहरण दिएर सम्झाएँ।बल्ल चुप लागेर बसी।ल नानीसंगै बोल।"
"मम्मी!तपाईं कहाँ हो?कहिले आउने?छिटो आउनुस् न ल?म युकेजीमा पढ्दा आउनु है?"
"ल ल नानी!मम्मी सकेसम्म छिटो आउँछु नि।कुनै पीर नलिउ है?यदि तिमीले मलाई सम्झेर रोयौ भने यहाँ मपनि पीर लिएर रुन्छु के।अनि म नानीलाई धेरै पैसा कमाएर पठाइदिन्छु।के-के सामान र गुडियाहरु पठाइदिन्छु।राम्रो-राम्रो नाना ल्याइदिन्छु है त?"
"ल ल हुन्छ मम्मी,म पीर लिएर रुन्न।बरु तपाईंले पीर लिनुहुन्छ होला।रुनुहुन्न है मम्मी,ज्ञानी बन्नुपर्छ है?"
यति वार्तालाप भएपछि फोनमा पैसा सकिएर काटियो।भर्खरै त बिदेशमा पुगेकी थिएँ।तर नानीको 'कहिले आउने' भन्ने प्रश्नले मलाई बेहाल बनायो।हायल-कायल बनायो।नानीको मधुर बोलीले मुटुमा घारिलो वाणले झैं घोच्यो।अश्रुका नदीहरु मुखतिर गन्तव्य बनाएर बगिरहे।मुखभित्र सागर बन्यो।मुख नुनिलो भयो।तत्काल नेपाल गई नानीलाई अँगालोमा कसुँ झैं लाग्यो।तर हामीलाई छुट्याउने बाध्यता बीचमा विशाल पर्खाल भएर खडा भयो।
"के गर्नु छोरी!यति सानैमा चटक्कै छोडेर बिदेशिने रहर कहाँ थियो र?कहरले नै हो।विवशताको हुरीले हुत्याएर खाडीतिर पुर्यायो।मिल्ने भए तिमीलाई पनि मसंगै लिएर आउने थिएँ।तिम्रो निर्दोष मुटुसंग खेलवाड गर्ने चाहना कहाँ थियो र?"
"अनि मनोज!आफ्नी प्यारी श्रीमतीलाई बिदेशको मरुभूमिमा पठाउनुपर्यो भनेर हीनताबोध/आत्मग्लानीको महसुस गर्नुपर्दैन।दु:ख-सुखमा एकले अर्कोलाई साथ दिनु हाम्रो कर्तव्य हो।आ-आफ्नो दायित्व/जिम्मेवारी वहन गरेर हातमा हात/काँधमा काँध मिलाएर अगि बढ्नुमै परिवारको भलाइ छ।घर/परिवारको बारेमा सोच्दा तिमीले पनि त साउदीमा भयंकर दु:ख/कष्ट/सास्ती झेल्नुपरेको थियो।अब मलाई पनि केही गर्न देऊ।तिम्रो दु:ख/सुखमा साथ दिने अवसर मिलेको छ।यसमा मलाई कुनै गुनासो छैन।"
यी कुराहरू भन्नु अगावै मोबाईलमा पैसा सकियो।वार्तालाप काटियो।तर मनको कुरा सकिएन।अनेकौं कल्पनाको महासागरमा डुबुल्की मार्न पुगेछु।
              दिनले बिदाइ गरी रातले स्वागत गरिसकेको अवस्था।
"माई फ्रेंन्द!दिस पिज्जा ईज फर यु।"-जेनीले खानेकुराको पार्सल दिंदै भनी।
"ओमु!दिस ईज फर यु।"-म्यारीले केएफसीको पार्सल दिंदै भनी।
मेरा लागि फिलिपिनी साथीहरुले आफू काम गर्ने स्टोरबाट खाना ल्याइदिए।त्यो रात खाना किन्नु परेन।आधा-आधा खाएर त्यतिकै फालिदिएँ।जतिसुकै मीठो खानेकुरा भएपनि घर-परिवारको यादमा हराउँदा खानेकुराको स्वाद छुट्याउन सकिन।दिउँसो सुतेकोले राती राम्रोसँग निद्रा आएन।फेरि पनि यादको मिसाइल आएर छातीलाई क्षत-बिक्षत बनाइदियो।मेरो जिन्दगीनै यादलाई सारथी बनाएर जिउनुपर्ने होला।तीतो यथार्थले मनमा क्षण-क्षणमा भुईंचालो ल्याइदियो।अर्ध-निद्रामै रात छर्लङ्ग गुज्रियो।
                 घरबाट आउँदा जम्मा २५ डलर साटेर ल्याएकी थिएँ।त्यही डलर साटेको पैसा मध्ये एक धिरामको चिया र एक धिरामको पराट्ठा लिएँ।दुई धिरामले ब्रेकफास्ट पुर्याएँ।फेरि साँझमा साथीहरूले ल्याइदिए।मसंग यथेष्ट पैसा थिएन।काममा पनि लागिसकेको थिईन।साथीहरुकै मोबाइलबाट नेपालमा मनोजलाई मिसकल गर्थें।उतैबाट फोन गर्थ्यो।शारजाह आएको तेश्रो दिन मेडिकल जाँच भयो।अर्को दिन आरामै गरियो।राती अबेरसम्म निदाउन सकिन।विहान ९ बजेसम्म सुतेछु।
              बाहिरबाट कसैले ढोका ढक्ढक्यायो।हतार-हतार कपडा फेरेर ढोका उघारें।क्याम्प बोस रहेछ।
"बेहेनजी!आप जल्दी तयार हो जाइये।आपका ड्युटी दुबईमे है।अभि-अभि जाना होगा।"-क्याम्प बोसले अचानक निर्णय सुनायो।
लत्ताकपडा झोलामा पोको पारियो।चार दिनको बसाईंमा शारजाहकै क्याम्प रमाइलो लाग्न थालेको थियो।त्यहाँका साथीहरु मनपर्न थालेका थिए।नजिकिएका साथीहरुबाट बिछोडिनु परदेशको पीडादायक पक्ष रहेछ।अचानक छोडेर जानुपर्दा बिस्मात लागेर आयो।क्षण-क्षणमा बसाइँ सर्नुपर्ने यो कस्तो जिन्दगी?उफ!
            १० बजेतिर दुबईको अलकोजमा अवस्थित अर्को क्याम्पमा छोडियो।चारतल्ले ठूलो भवन।अरु तल्लाहरुमा केटा,तेश्रो तल्लामा केटीहरु  राखिएका थिए।बिना लिफ्टको भवनमा माथिल्लो तल्लामा पुग्न निकै कष्टकर थियो।म जानुपूर्व कोठामा तीनजना नेपालीहरु थिए।म सहित चार भयौं।तर त्यतिखेर एकजना दिदी मात्र थिइन्।अरु सबै मेलोतिर लागिसकेका थिए।
"दिदी,तपाईंको घर कता पर्यो?कम्पनीमा कति बर्ष भयो?"
"म शोभा गुरुङ।घर पोखरा।कम्पनीमा तीन बर्ष हुँदैछ।
यतिकैमा क्याम्पबोसको प्रवेश।
"कल से आपका ड्युटी करामामे होगा।सुवह सात बजे गाडी जाएगा।"
"ओके सर।"-शीर हल्लाउँदै यति मात्र भनें।
आफ्नो दायित्व पूरा भएको ठानेर ऊ सरासर बाहिरियो।शोभा दिदीको त्यो दिन छुट्टी रहेछ। फेरि सुख-दु:खका कुराहरु साटासाट गर्न थाल्यौं।
"अनि शोभा दिदी!बिहे त गर्नुभएकै होला।बालबच्चा कति छन्?श्रीमान् कता हुनुहुन्छ?"
"बिहे गरेको छैन बहिनी अहिलेसम्म।परिस्थिति र बाध्यताले परदेश लागियो।घर-परिवारलाई हेर्दै ठिक्क छ।साउदी अरबमा ८ बर्ष काम गरें।फेरि यता आइयो।घरखर्च मेरै भरमा चलेको छ।भाइबहिनी सानै छन्।भर्खर पढ्दै छन्।सानो छँदै बाबा बित्नुभयो।धेरैपल्ट हात माग्न लायक/धनी केटाहरु आए। तर मैले चासो देखाईन।मैले बिहे गरेर जाँदा परिवार बेसहारा हुन्छ।लट्ठी भाँचिन्छ।अपाङ्ग हुन्छ।म एकजनाको बलिदानीबाट धेरैको जिन्दगी सार्थक बन्छ भने किन बलिदान नदिने?सबैको लागि सोच्दा-सोच्दै आफैंलाई बिर्सें।उमेरले नेटो काटेको थाहै भएन।"
"परिस्थितिको जाँतोमुनि पिसिएर हामी जस्तै लाखौं युवा/युवतीहरु दिनहुँ परदेशी भूमिमा रगत-पसिनासंग पैसा साट्न विवश छन्।यस्तै लहर चलिरहने हो भने निकट भविष्यमै जवान युवाहरु सबै बिदेशिएर स्वदेशमा जिउँदा जन्ती,मर्दा मलामी पनि रहने छैनन्।रहनेछन् त केवल अशक्त बुढापाका र अपांगहरु।देशमा यस्तो नाजुक अवस्था सिर्जना हुनुमा कुन तत्व जिम्मेवार छ?म त केही सोच्नै सक्दिन।उच्च शिक्षा हासिल गरेपनि रोजगारको अभावमा शिक्षित/जुझारु युवाहरु पराई भूमिमा पलायन हुन बाध्य छन्।बुझेर/नबुझेर या त बुझ पचाएर लाखौं युवाहरू आम हडताल,बन्द र चक्काजाम जस्ता कृयाकलापमा समय बर्बाद गरिरहेका छन्।किसानले आफ्नो उत्पादन समयमा बजारमा पुर्याउन नसक्दा टाँठ पल्टेर बिदेशिन्छन्।जागिरेहरु विविध दबाबमा हात धोएर हिंड्नुपरेको अवस्था छ।कोही देखासिकीमा लागेर त्यो भन्दा उल्का कमाउने उदेश्यले बिदेशिन्छन्।बिस्तारै पढाइको महत्व घट्न थालेको छ।फेल भैहालेमा बिदेश गएर पैसा कमाउछु भन्ने गलत नजिर बसेको छ- विद्यार्थीहरुमा।कोही रहरले त कोही कहरले।गरिखान खोज्नेलाई पनि हेप्ने,दबाउने र खिल्ली उडाउने हर्कत भैरहेको छ।श्रमको सम्मान भैरहेको छैन।एसएलसी उतीर्ण गरेपछि युवाहरु खेत खन्न-जोत्न धक मान्छन्।लजाउँछन्।हल्लिएर हिंड्छन्।विभिन्न बहानामा सोझा र गरिबहरु दिनै लुटिन्छन्/कुटिन्छन्।हाम्रो मात्र नभई यो आम नेपालीको कथा-व्यथा बनेको छ,शोभा दिदी!शिक्षित र अनापढहरुको स्तरमा कुनै भिन्नता देखिंदैन।पढ्दै नपढेका र बीए पढेकाहरु बिदेशमा गएर उही तलबमा एउटै कार्य गर्छन्।हामी जस्ता विकल्पै नभएर बिदेशिएकाहरुको त झन के कुरा गर्नु।"
सही/गलत के बोलें,थाहा भएन।तर जे देखें/भोगें,त्यही बोलें।
दिदीले शीर हल्लाएर मौन सहमति जनाईन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...