Saturday, 31 March 2018

अक्षरहरुको चिराग

अक्षरहरुका चिराग बल्न थालेका छन्
शब्दका रापले पत्थर गल्न थालेका छन्
अराजकता र बर्बरताको सामना गर्न
कलमहरुले बारुद ओकल्न थालेका छन्।

Friday, 30 March 2018

अचेल नर-नारीहरु

पर्दा पछाडि अर्कै हुन सक्छन् आज्ञाकारीहरु
बाहिरीबाट चिन्न गाह्रो हुन्छ नकावधारीहरु
त्रेतायुग ,सत्ययुग त त्यस्ता,कलिको के कुरा
कृष्ण,द्रोपदी भन्दा के कम,अचेल नर-नारीहरु!

चुकाउनुपर्ला

मायाको चोखो बन्धन फुकाउनुपर्ला
भित्र-भित्रै पीडाहरु लुकाउनुपर्ला
बिचार गरी बोल्ने गरौं जो कोहीसंग
नत्र भने ठूलो मूल्य चुकाउनुपर्ला।

मौलिक

गाजलु अनि टीका,मौलिक छैन अचेल
पछ्याई अमेरिका,मौलिक छन अचेल
रहनसहन,भेषभूषा मात्र हैन नेपालमा
क्रीडा गर्ने तरीका,मौलिक छैन अचेल।

Thursday, 29 March 2018

यो जिन्दगानीमा

खिचेर राख्छु तस्वीर तिम्रो आँखाको नानीमा
सम्झना आए पल्टाई हेर्छु यो जिन्दगानीमा।

जति नै दूर गए नि तिमी मुटुमै हुनेछ्यौ
कुनै त दिन सम्झेर तिमी पक्कानै रुनेछ्यौ
यो मन मेरो अल्झिनै सक्यो त्यो तिम्रो बानीमा
नपाए तिमी तपस्या बस्छु यो जिन्दगानीमा।

यो छाती भित्र ढुक्ढुक गर्ने हृदय चलुन्जेल
तिम्लाई मैले बिर्सने छैन ब्रम्हाण्ड रहुन्जेल
काँ पुग्ने होला बगेर प्यारी आँखाको पानीमा
मिलन हाम्रो होला नहोला यो जिन्दगानीमा।

मुहार तिम्रो

मुहार तिम्रो जूनेली रहेछ
नयन तिम्रो गाजली रहेछ
आखिर जस्तो भए पनि
तिमी मलाई सुहाउनी रहेछ।

एकान्त ठाउँमा टोलाउने भएँ पहिले भेटमै
सन्देश तिम्रो आउँला कि भनी हेर्दछु नेटमै
ज्यान तिम्रो पातली रहेछ
कम्मर तिम्रो बारुली रहेछ
आखिर जस्तो भए पनि
तिमी मलाई सुहाउनी रहेछ।

कुन् ग्रह बाट आएकी तिमी भनिदेउ ठेगाना
तड्पाए यादले,आउने छु म,सुनाउन बेदना
अलि अलि नक्कली रहेछ
र अलि अलि सोझी रहेछ
आखिर जस्तो भए पनि
तिमी मलाई सुहाउनी रहेछ।

थाहै नपाई मुटुमा कतिखेर बसिदिन्छ
पीडा बनी आँखाबाट तप्पतप्प खसिदिन्छ
माया मार्दा निष्ठुरीले
छोडी जाँदा निष्ठुरीले।

राष्ट्रिय चिन्हहरु

दुई शब्द
------------------------------------------------------
राष्ट्रिय झण्डा: चन्द्र-सूर्य अंकित नेपालको झण्डा
राष्ट्रिय चिन्ह: नेपालको निशान छाप
राष्ट्रिय पंक्षी: डाँफे
राष्ट्रिय जनावर: गाई
राष्ट्रिय गान: "सयौं थुँगा फूलका हामी...
बाणी: "जननी जन्मभूमिश्च स्वर्गदपी गरियसी"
फूल: लाली गुराँस
खेल: डन्डी बियो
भाषा: नेपाली
पोशाक: दौरा सुरूवाल
रङ्ग: सिम्रिक

*अब कुरा गरौं राष्ट्रियगानको।पहिले "श्रीमान गम्भीर" भन्ने थियो।अहिले सय थुंगा भन्ने छ।किन फेरियो-मनन गरौं।सबैलाई स्वीकार छ कि छैन?उत्तर-छ।अब यो गानको भविष्य सुनिश्चित छ कि छैन?समयानुकूल फेरिन्छ कि यथावत रहन्छ?

*नेपालको राष्ट्रिय फूल लालीगुराँस हो।तर लालीगुराँसका रुखहरु काटेर किन दाउरा बालिन्छ?संरक्षण गर्नुपर्ने होइन र?लालीगुराँस काट्नेलाई अहिलेसम्म के कति दण्ड दिएको छ सरकारले?उत्तर-छैन।

*डण्डीबियोको कुरा गरौं।यो खेलको हालत कुन अवस्थामा छ?क-कसले खेलेका थिए,छन् ?खेल्नेछन्?यसको भविष्य के?कोसंग छ उत्तर?

*राष्ट्रिय भाषा नेपाली हो।तर अंग्रेजी र हिन्दी बोल्नेहरु यहाँ शिक्षित र माथिल्लास्तरका हुन्छन्।सरकारी विद्यालयमा समेत अब अंग्रेजी माध्यममा पढाइ हुनुपर्छ भनेर कुर्लिनेहरु धेरै छन्?दिनप्रतिदिन नेपाली भाषा अतिक्रमित हुँदैछ।अंग्रेजी र हिन्दी बोलेर सान देखाउनेलाई कुनै कारबाही हुन्छ कि हुन्न?नेपाली भाषा मार्नेलाई कति बर्षको जेल सजाय छ?

*राष्ट्रिय पोशाक-दौरासुरुवालको हालत कस्तो छ?किन बिस्थापित भयो?संसदमा दौरासुरुवाल नलगाई टाइसुटमा ठाँट्टिएर हिंड्ने सांसदहरूलाई कसले कारबाही गर्ने?हामी कति जनाले राष्ट्रिय पोशाक लाउँछौं?दौरासुरुवाल लाउनेहरुलाई किन पाखेको दर्ज दिएर अपमान गरिन्छ?

*राष्ट्रिय रंग सिम्रीकसंग हामी कति परिचित छौं?प्रयोजन के छ?कसैले कुल्चेर हिंड्दा पनि कसैलाई आपत्ति छैन।रंगलाई सम्मान छैन।

*राष्ट्रिय पंक्षी डाँफे कतिको सुरक्षित छ?सिकारीले पाए के बाँकी राख्लान् र?पाए डाँफेको मासु नखाने कुनै माइकालाल नहोलान्।

*राष्ट्रिय छाप-निशानछाप संग कति परिचित छौं?निशान छाप भएका कागजहरु बिना हिच्किचाहट च्यातिन्छ,जलाईन्छ।खै कहाँ छ इज्जत?

*राष्ट्रिय झण्डा चन्द्र सूर्य अंकित छ।नेपालको झण्डालाई भने सबैले सम्मान गरेका छन्।गर्वको कुरा हो।

नेपालको राष्ट्रिय जनावर गाई हो।हिन्दुहरुको आमा हो।तिहारमा एक दिन पूजा गरेर के गर्नु?अरुबेला दूध दुहेर उपभोग गर्छन्।दूध नदिंदा हेला गर्छन्।घाँसपात पनि राम्रो दिंदैनन्।त्यही गाइले ब्याएका बाछालाई हेला गरेर आफ्नै आमाको दूध चुस्ने अधिकारलाई हनन गर्छन्।गाई बृद्धावस्थामा पुगेपछि छाडा छोड्छन्।आफ्नै बा-आमालाई वृद्धाश्रममा छोड्नु र बृद्ध गाइलाई छाडा छोड्नुमा केनै अन्तर रह्यो र?गाइलाई आमा मान्छौं-कारण-दूध दिएर।दूध नदिने भएर गोरुलाई बाउ मान्दैनौं।किन जोत्छौं?हामी यतिसम्म स्वार्थी छौं र पनि धर्मात्मा भएको ढोङ रच्छौं।धर्मको नाममा हजारौं पशुपंक्षीलाई बलि चढाउँछौं।घरमा ल्याएर रक्सीको साथी सितन बनाउँछौं।रोस्ट बनाउँछौं।सुकुटी बनाउँछौं।

*अन्तमा
गाईको बारेमा धेरै बहस गर्नुभन्दा आ-आफ्नो हर्कतहरुको बारेमा मनन गरौं।हामीले कति  धर्म गरेका रहेछौं आत्मसमिक्षा गरौं।

Wednesday, 28 March 2018

प्रेमको साम्राज्य

पहिलो प्रहरको जम्काभेटमा
आँखाहरु विपरीत दिशामा ठोक्किँदा
मेरो होस-हवास दुर्घटनाग्रस्त भई
उछिट्टिएर ढल्न खोज्छ।

रुपको रापले मनमा डढेलो सल्काउँदा
पसिनाको अघोर वर्षातले
मेरो तन निथ्रुक्कै रुझ्दछ
निधारबाट बाढी-पहिरो जाँदा
मन नै बगाउँला झैं गर्छ।

देब्रे छातीभित्र
मृगको चालमा बुर्कुसी मार्छ-मुटु
रक्तनली हुँदै तेज बहन्छ रगत
मानौं-चाँडै महासागरमा पुग्नुछ नदीलाई
श्वासप्रश्वास झन तीव्र हुन्छ
मानौं-गाडीको चाकबाट धुँवा निस्किँदैछ।

ओठको सुन्दरताको पहाड चढेर
तिम्रो जिन्दगीको क्षितिज निहार्न खोज्छु।

नाकको भर्याङ उक्लेर
आँखी-झ्यालबाट सुटुक्क छिर्छु-
तिम्रो मुटुमा प्रेमको साम्राज्य जमाउन।

त्यतिबेला प्रत्यक्षदर्शीहरु
आश्चर्यताको मैदानमा
हृदयघात भएर पछारिन्छन्।

नझुक्किनु होला मित्रहरु!
माथिका कुरुप हरफहरु
एउटा झिंगाको आत्मकथाबाट
उद्धृत गरिएको हो!

Tuesday, 27 March 2018

बेरोजगार-७

            रामे
जसरी हुन्छ बिदेश जान्छु,उचित दाममा
मिलाई दिनुस्,आम्दानी राम्रो हुनेनै काममा
योग्यता ठिकै,दक्षता राम्रो भएको मान्छे हुँ
मुग्लान जानु पर्नेनै भयो,तथापि खुशी छु।

          एजेन्ट
नगर चिन्ता,पसल भित्र,बस्ने नै काम छ
तलब राम्रो,सुबिधाजन्य हुनेछ गजब
अमीर शीघ्र हुनेछौ तिमी गर है विश्वास
सपना तिम्रो हुनेछ पूर्ण,बन्नेछ निवास।

            रामे
आफन्त सम्झी हजुर लाई विश्वास गर्याछु
विरानो ठाउँ,तैपनि तिम्रो भरमा पर्याछु
बिर्सने छैन, लाएको गुण,यो जिन्दगानीमा
साहुको ऋण लिएको पैसा नजाओस् पानीमा।

          एजेन्ट
झिलि र मिली शहर राम्रो साउदी अरब
कहिले पनि नदेख्या ठाउँ,पुग्नेछौ जन्नत
गगनचुम्बी महल भित्र बसाई हुनेछ
सोचेको भन्दा सफलताले शिखर छुनेछौ।

                   रामे
भनेको जस्तो कम्पनी राम्रो नभए सुबिधा
हरेक मास,पाइन भने तलब र बिदा
टिकट काटी तुरुन्त आफू फर्केर आइन्छ
लागेको जति रकम पनि खुरुक्क लिइन्छ।

                 एजेन्ट
भरोसा राख,हुँदैन दु:ख,हुनेछ कमाई
फर्कन्छौ तिमी अधिक पैसा गोजीमा जमाई
घचेट्ने मन पटक्कै छैन कसम दु:खमा
सम्झने गर मलाई बरु भएमा सुखमा।

                रामे
विश्वास गरी हजुर लाई पास्पोर्ट पेशेको
था'छैन हेर्नुस् भविष्य मेरो छैन नि देखेको
पिलेन चढी, स्वदेश छोडी,बिदेश म गए
सम्झने छु म कुभलो मेरो चिता'को नभए।

              एजेन्ट
अहिले जानुस्,घरमा गई बस्नुहोस् ढुक्कले
सुखको दिन फिर्नेछ तिम्रो,छोड्नेछ दु:खले
महिना लाग्छ,आउन भिसा,तयारी गर्नुहोस्
भनेको बेला जसरी हुन्छ रकम भर्नुहोस्।

             रामे
हजुर जदौ,अहिले लाग्छु,भेटौंला हजुर
नगर्नु चिन्ता,आउँछु लिई,रकम जरुर
खुशीको कुरा श्रीमती संग बाँडेर आउँछु
समय हुँदा निर्मला सित भेटेर आउँछु।

                दृश्य चित्रण
बालुवा चाल्ने,छोडेर कर्म,गाउँमा लाग्दछ
सपना मीठो सजाई रामे तुरुन्त भाग्दछ
पहाड जाने मार्गमा पर्छन् उकालो ओरालो
प्रकृतिसंग साइनो गाँस्छ,हालेर अंगालो।

सुस्केरा हाल्दै हावाले पनि आउँछ छेकेर
हिमालहरु हाँसेका हुन्छन् ,उस्लाई देखेर
छोडेर नर्क,पुगेको स्वर्ग,आभास मिल्दछ
गाउँछन् चरी,मुनाल,डाँफे,नाच्दछ बादल।

भक्कानो फुटी आउँछ त्यसै देखेर गाउँ नै
बढेर फूर्ति, भुइँमा हुन्न ,रामेको पाउ नै
पछुतो लाग्छ,बिदेश जाने निर्णय लिएर
बसुँकी क्या हो, गाउँमै बरु जिन्दगी जिएर।

सोच्दछ फेरि-मायाले हाम्रो संसार थाम्दैन
नभए पैसा,अभावसंगै,जिन्दगी चल्दैन
गरिब हुँदा,बिरामी हुँदा,हेर्दैनन् कसैले
जिन्दगी-भार उचाल्नुपर्छ,आँटेर आफैंले।

गौरीशंकर हिमाल भन्छ मुग्लान नजाउ
शैलुङ्गे डाँडा कहन्छ बरु मलाई सताउ
चेर्दुङ पिक मास्तिर बाट नयन जुधाउँछ
साइनो गाढा प्रकृतिसंग बसेर रुवाउँछ।

हिया नै भारी भएर आयो बिचरा रामेको
फुट्यो कि भनी एक्फेर छाती सुस्तरी छामेको
हे भगवान!सजाय किन दिएको यसरी
जिन्दगी संग खेलवाड गर्न जानेको कसरी।

अनेक सोच्दा पुगेको घर,भएन थाहा नै
संघार नाघ्दा बोल्दछे तब उसको जहानै
श्रीमान देख्दा हर्षित हुँदै पाउमा पर्दछे
विभोर हुँदै रामेको न्यानो अंगालो भर्दछे।

                   सानी
काँ थियौ नाथ!दर्शन दियौ,बहुत दिनमा
मलाई सदा सम्झना तिम्रो छिनको छिनमा
समाइरहुँ जस्तोनै लाग्थ्यो प्याराको हातमा
खाएको जस्तो भएन तिमी नहुँदा साथमा।

                 रामे
भैदिंदा एक्लो अलग भई त्यो कान्तिपुरमा
छुटेझैं लाग्थ्यो अन्यत्रै हियो रहँदा दूरमा
शित्तल भयो यो मन मेरो मायालु भेटेर
बटुवा तृप्त जसरी हुन्छ धारामा पिएर।

             दृश्य चित्रण
निर्मला छोरी खुरुरु कुदी लबेदा समाइन्
देखेर बाबा घरमा आज अधिक रमाइन्
हर्षको सीमा रहेन बरै झुपडी घरमा
पूर्णिमा सरी मुहार हुन्छ परेर भरमा।

             निर्मला
आएर बाबा चक्लेट मीठो खाएर खुशी छु
सम्झेर कष्ट बाबाले पा'को अत्यन्त दु:खी छु
कपडा नयाँ ल्याउनु भयो आहा छ क्या दामी
टनक्कै पाएँ आज त मैले कलम र कापी।

             रामे
छोरीको लागि बाबाले यति गर्न नसकुँला?
खुशीको लागि जत्तिनै दु:ख कष्टनै सहुँला
तिमीनै मेरो मुटुको टुक्रा तिमी हौ जिन्दगी
खट्नेछु छोरी!प्रचण्ड घाम र पानी नभनी।

                छोरी
हजुर मेरो देउता,बाबा,नायक,सर्वस्व
अहिले बल्ल गिदीमा घुस्यो बाबाको महत्व
डरले पनि टेक्दछ घुँडा हजुर देखेर
मनको बाघ सुइँकुच्च ठोक्छ हतार गरेर।

                सानी
भरोसा तिमी,हिम्मत तिमी,तिमीनै रक्षक
नजानु फेरि हाम्लाई छोडी पटक-पटक
मुश्किल हुन्छ पियारा बिना जिन्दगी जिउन
आउन्न कोही फाटेको मन प्रेमले सिउन।

                   रामे
छाडिदे कुरा,जे गरे पनि गर्नुछ आफैंले
थापिदे गला,सुनको सिक्री ल्याएको छु मैले
चिम्लेर आँखा,खपेर दु:ख,बगाई पसिना
कमाएँ केही,खटेर धेरै बर्ष र महिना।

                    सानी
गहना किन चाहियो प्यारा,मायानै काफी छ
खाएर तातो,जलेको किन,समय बाँकी छ
मरेर रामे,बाँचेकी सानी,बेकार छ हेर
बाँचौंला बरु,दु:खमा हाँसी,अभाव सहेर।

                 दृश्य चित्रण
यलुङ खोला उर्लेको सरी उर्लिन्छ आँखामा
छट्पटी हुन्छ,तपस्या हुन्छ,निश्छल मायामा
विश्वास गाढा,सम्मान भए,सम्बन्ध टिक्दछ
खरानी हुन्छ,स्वप्नको घर,जो यहाँ बिक्दछ।

अतीत सामू आएर नाच्छ रामेको झल्झली
पैसाको लागि बेचेको रक्त निकाली खल्खली
थापेको थियो प्रत्येक मास पचास हजार
बेरोजगारी भएर थियो अँध्यारो संसार।

मुस्कान आधा,रोदन आधा,पारेर मुहार
हेर्दछ स्वामी भावुक हुँदै गलाको जुहार
सानीले थाहा पाएको भए के हुन्थिन् बिचरी
हाँसेर मृत्यु अँगाल्थिन् होली बिचारै नगरी।

अभाव यस्तो जहर रैछ मनुष्य पगाल्ने
गरिबी यौटा रहेछ तत्व उचाली पछार्ने
मनले मात्र नपुग्दो रैछ जिन्दगी गुजार्न
योग्यता मात्र अपुग हुन्छ जिन्दगी सुधार्न।

गरिब मान्छे समाज भित्र,भैदिन्छ तमासा
अहिले यहाँ,भविष्य कहाँ,हुँदैन ठेगाना
कुकुर बरु गनिन्छ होला मनुष्य गनिन्न
ऐश्वर्य बिना कसैको पनि आँखामा परिन्न।

धनीकै पूजा,धनीकै जय,समाज यस्तो छ
पाउको धूलो समान ठान्छन्,गरिब सस्तो छ
परिवर्तन देशमा कुन्नि कहिले आउँछ
गरिब ढुक्क भैदिने दिन कहिले आउँछ।

जतिनै श्रम गरेर पनि पुग्दैन पैसाले
सम्पन्न हुन सकिन्न यहाँ कृषिको पेशाले
उमारे अन्न,फलाए फल,बजार अभाव
दलालहरु फाइदा लुट्छन्,कृषक तनाव।

सोचेर रामे,आँखामा ज्यादै छल्किन्छ सागर
सुनौला स्वप्न,आकांक्षा,इच्छा,ढल्किन्छन् रहर
चकित पर्छन् निर्मला,सानी आँखामा हेरेर
ओसिला हुन्छन् तिनका आँखा,हालत देखेर।

                सानी
पीडित देखें,एक्कासी आज,के भयो हजुर
अवश्य पनि दु:खमा पर्नु भयो कि जरुर
नभने सम्म कसरी देख्नु यथार्थ दुखाइ
नराख्नु होला जसरी पनि मनमा लुकाई।

                  रामे
दु:खको आँसु होइन प्यारी,आँसु हो खुशीको
लुकाए पनि ,सकेन लुक्न,छल्केर पोखियो
कसरी भन्नु ,नभए पछि,खेदको बिषय
तर्स्यौ त तिमी,आएको जस्तो,अजङ प्रलय।

               सानी
संगत गरी हजुर सित ,छु धेरै बुझेको
यो भन्दा अघि,हालत यस्तो,थिइन देखेको
अवश्य पनि,भएको होला,मुटुको जलन
होइन राम्रो,मनको पीडा,लुकाउने चलन।

               निर्मला
भएको होला,केही न केही,भन्नु न ए बाबा!
निर्मला लाई नजिक ठान्नु,नसोच्नु है टाढा
समस्या भए,हामीले केही गर्न पो सक्छौं कि
घाउमा थोरै,ओखती-मूलो गर्न पो सक्छौं कि।

              रामे(मनमनै)
बिगत सम्झी यो मन मेरो,रुँदैछ बेसरी
यथार्थ कुरा खुलस्त पारी भनुँ म कसरी?
बेचेको खुन,किनेको सुन,घटना भन्दिन
घटिया हुन्छु,सबैको सामू,कदापि खोल्दिन।

                  सानी
सिएर मुख,भएर मौन,चल्दैन हे स्वामी
खुरुक्क भन्नुस्,कुरोको चुरो,अप्ठ्यारो नमानी
दु:खको पोको,खोल्दिनु अब,नठानी पराई
लाग्दैछ-स्वामी,बस्दिनु भा'छ,डराइ-डराइ।

                    रामे
नसोधीकन,निर्णय लिएँ,एउटा गम्भीर
बिदेश जानु लेखेको रै'छ,यो मेरो तक्दीर
छोडेर आएँ,जागिर पनि,पास्पोर्ट पेशेर
सकिन बस्न,वचन खस्रो,साहुको सहेर।

                    सानी
नभनीकन,लियौ त किन,कठोर निर्णय
पास्पोर्ट फिर्ता,निकाली आउ,अझै छ समय
निर्मला छोरी,मलाई छोडी,जाने हो कसरी
हजुर बिना,गाउँमा हामी,बाँच्ने हो के गरी?

                      रामे
गरिदे माफ,पास्पोर्ट अब,निकाल्न मिल्दैन
निकाल्न खोजे,एजेन्ट पनि,राजी नै हुँदैन
आएमा भिसा,एक्चोटी गई,अवश्य आउनेछु
कमाई पैसा,जहानलाई,सुखमा राख्नेछु।

                      निर्मला
हुँदैन बाबा,हजुर गए,सबैले हेप्नेछन्
नाजुक देखी आफ्नाले पनि,शीरमा टेक्नेछ
बाबा नै साथी,बाबा नै शक्ति,बाबा नै तागत
गाउँमै बसी, आमा र मेरो,गर्नुहोस् मद्धत।

                     रामे
छोडेर जाने रहर,इच्छा,चाहना थिएन
तक्दीर खोटो भएर संगै रहनै दिएन
गएर बाबा,बिदेश तिर,नगद कमाउँछु
चक्लेट मीठो,कपडा नयाँ,खेलौना ल्याउँछु।

                    निर्मला
बालिका भएँ भन्दैमा बाबा!छकाउनु पर्दैन
अनेक लोभ देखाइकन,फकाउनु पर्दैन
हजुर भए,चाहिन्न नाना,चाहिन्न गुडिया
गएमा टाढा,रुनेछौं हामी,हाँस्नेछन् दुनियाँ।

                       सानी
राख्दिनु मन,मान्दिनु नाथ!नानुले भनेको
टुहुरा हुन्छौं,हजुर बिना,खै कुरो बुझेको
सम्पत्ति ठूलो होइन हेर्नुस्,सन्तुष्टि ठूलो हो
सदैब संगै हाँसेर बाँच्ने,सानीको धोको हो।

                     रामे
परेछ रात,लाग्या छ भोक,जाऔं न भान्छामा
बोलौंला भोलि,अहिले बरु,के पाक्छ खानामा
कोदोको ढिंडो,मोहीको झोल,रुच्दछ मलाई
नभए रायो,पकाए हुन्छ,आलु नि मिसाई।

परिधि

मेरो मनको गोरेटो त्यसरी मोडेर
अविस्मरणीय रहने स्मृति छोडेर
पत्थरको मुटु बनाई कसरी गएकी
चुरा-पोते,सिन्दूरको परिधि तोडेर।

कागहरुको

सफेद भन्दा पनि काला दागहरुको
हरिया भन्दा पनि पहेंला सागहरुको
दुर्गन्ध फैलिने भए जनसंख्या बढ्दा
कोइली भन्दा पनि चतुर कागहरुको।

Monday, 26 March 2018

बलात्कारी

स्टाइल पारी-पारी ,घुम्छन् निर्धक्क
टार्गेट गरीकन नारी,घुम्छन् निर्धक्क
पशुबध गर्दैमा निरीह पस्छन् जेलमा
लौ हेर्नुस् बलात्कारी,घुम्छन् निर्धक्क।

जलवायु

छेपारोको जस्तै बदन,बुझ्नै सकिएन
बद्लिरहने उस्तै मन, बुझ्नै सकिएन
कुन उपनामले संबोधन गरौं तिम्लाई
जलवायु झैं परिवर्तन,बुझ्नै सकिएन।

अभियोग

खै आजभोलि कस्तो अचम्मको रोग लागेको छ
आफ्नै जिन्दगी पनि अति बिजोग लागेको छ
लप्पन-छप्पन नजान्ने सोझो भमरा लाई पनि
फूलको अस्मिता लुटेको अभियोग लागेको छ।

Saturday, 24 March 2018

फट्यांग्रो र कमिला

कसैले मेचीबाट घचेटेका छन्
कसैले महाकालीबाट तानेका छन्
कसैले कर्णालीबाट टोकिरहेका छन्
कसैले लुम्बिनीबाट थिचेका छन्
कसैले धौलागिरीबाट लुछेका छन्
कसैले तलबाट उचालेका छन् र
कसैले माथिबाट पक्डिरहेका छन्।

ऊ छट्पटाइरहेको छ
चिच्याइरहेकोछ
गुहार मागिरहेको छ
रगतम्य शरीर लिएर
फुत्किने यत्न गरिरहेको छ।

एउटा लामो फट्यांग्रो जस्तो देशलाई
भोका कमिलाहरुले
मुख मिठ्याउँदै,रसाउँदै
एउटा भयानक दुलोमा हालिरहेका छन्।

Thursday, 22 March 2018

बम र आतंककारी

पूर्ण-चन्द्रमा आफ्नो जवानी प्रदर्शन गर्दै
कामुक हाँसो हाँसिरहेछ
ग्यालेक्सीको स्टेजमा
बिना गीत-संगीत शून्यतामा
ताराहरु नाङ्गै नाचिरहेको बेला
बादल लज्जित भएर कतै लुकिसकेका छन्
हावा ताराहरुको लागि गीत गाउँछ
तर निरीह ध्वनि बाटोमै बिलाएर
लक्ष्यमा पुग्नै सक्दैन।

मध्यरातको सुनसान क्षणमा
भूगोलको एक बिन्दुमा-जहाँ घना बस्ती छ
एउटा ठूलो आवाज आउँछ
लाग्छ त्यहाँ शक्तिशाली बम पड्केको छ
पूर्णिमाको चहक भन्दा बढ्ता प्रकाश
क्षितिजसम्म पुगेर बिलाउँछ।

धेरैको निद्रा भंग..
कैयौं जोडीहरुको क्रीडामा बाधा..
भयले सिंगो बस्ती तनावग्रस्त..।

प्रहरीको साइरनले
भयको सेन्टिमिटर छोटिन्छ
निकै ठूलो राहतको झुल्का लिएर
सर्वसाधारणको भीड जम्मा भएको छ
लामो प्रश्नोतर चलेपछि
सम्भावनाको नजिक पुग्ने मुचुल्का उठ्छ।

अनुमानित जवाफहरु तयार छन्
प्रभातकालीन समाचारको निचोड
-"आतंककारीको हात "
पत्रकारहरु सकृय भएर
स्थानीय संग अन्तर्वार्ता लिन्छन्
प्रहरीहरु अतिरिक्त अनुसन्धान गर्छन्
जनताद्धारा शान्ति-सुरक्षाको लागि
सरकारसँग जोड-तोड माग।

सत्ताको सुरा पिएर
चीरनिद्रामा सुतेको कुम्भकर्णे-सरकार
बल्लतल्ल ब्युँझेर उत्सुक भई
जागाराम बसेको छ।

घटनाको बारेमा प्रहरीलाई जानकारी दिने
एउटा पात्रले स्याबासी पाएको छ
सचेत नागरिकमा दर्ज छ उसको नाम
मानौं उसले ठूलै कार्य सम्पन्न गरेको छ
जस्तो कि ग्रेटवाल बनाउने काम
जस्तो कि सगरमाथा चढ्ने काम।

किन्तु,परन्तु
घटनाको घटकलाई पक्रन सकिएको छैन
सायद यो काम मुश्किल छ
सायद अब त असम्भव प्रायः
किनकि घटनाको घटक अरु कोही नभएर
म स्वयं हुँ
स्याबासीको पात्र पनि मै हुँ।
सित्तैमा तलब भत्ता पचाउनेहरुलाई
निष्क्रिय कर्मचारी/पत्रकारहरुलाई
झक्झक्याएर सानो काम दिएर
सकृय बनाउनु मात्र थियो
कसैलाई चोट पुर्याउने ध्येय थिएन
बश सबैलाई सवक सिकाउनु थियो।
-------------------------------------------------
लेखक:-माङ संग्राम

Wednesday, 21 March 2018

श्रवण मुकारुङ
----------
मान्छेसित रिसाएका चराहरू
क्रुद्ध सैनिकझैँ
गीतको बन्दुक बोकेर हिँडे– चितुवाजस्तो पहाड खोज्दै ।

आकाशभरि हाहाकार...
ताराहरूको भागाभाग...
बतासको बिचल्ली...

लुगलुग काँप्दै शीतको झ्याल आधा खोलेर
कुहिरोको झुप्रोबाट फूलहरूले चियाए
चराहरू मनपरी बन्दुक चलाइरहेका थिए–

सा रे ग म प ध नि सा
सा नि ध प म ग रे सा

देवता बन्ने सपना देखिरहेको युवक ढुङ्गाको छातीमा गोली 
लाग्यो
भाङ्ग्राको टोपीमा यौवन बुनिरहेकी युवती खोलाको हातै भाँचियोभ
तपस्यामा लीन आर्य रुखको आँखा फुट्यो
क्रीडामग्न मङ्गोल दहको कोखाबाट काँचो रगत भलभलियो
पहाडलाई केही थाहा भएन
चराहरू झनै आक्रोशिए–

सा ग प नि रे म ध सा
सा ध म रे नि प ग सा

गोलीले– अथाह भविष्य बोकेको बालक आगोमाथि बूढो पानी 
खस्यो
गोलीले– अनन्त रहर साँचेकी बालिका पातमाथि बूढी पात खसी 
फेरि पनि पहाडलाई केही भएन

सैनिक चराहरू थाके !
चितुवाजस्तो पहाड उठ्यो र मुस्कुरायो–
ओम मणि पद्मे हुँ !

श्रवण मुकारुङ
------------------
थाहा छ तिमी हतारमा छौ-
तिमीलाई धेरै टाढा पुग्नु छ
तर नबिर्स!
यो धर्तीमा हिँड्न
हामीले बनाएका हौं- बाटो!
थाहा छ ब्रह्माण्डलाई-
हतारमा छ पृथ्वी
प्रार्थनारत छन् नानीहरू
भागिरहेको बेलुनबाहिर
कमिला हतारमा छ
अम्बा, निबुवा र सुन्तला वरिपरि
हतारमा छ झुसिलकीरा
संयोगले हामी जन्मियौं यस माटोमा
सँगै उभियौं युद्धका असंख्य मोर्चाहरूमा
प्रत्येक युद्धमा हामीलाई बँचाउने
यी हिमाल, पहाड, जङ्गल, नदी र मैदानहरू
अहिले भेट्न चाहन्छन् तिमीलाई
तर तिमी हतारमा छौ
प्रत्येक क्षण हामीलाई स्याहार्ने
यी सहर, सडक, चोक, र गल्लीहरू अहिले
छुन चाहन्छन् तिमीलाई
तर तिमी हतारमा छौ
ए अतिथि!
ए यो समयका अन्तिम व्यस्त वैज्ञानिक!
हेर! तिम्रो पृथ्वी
माइक्रोस्कोपभित्र हल्लिरहेको एउटा बिन्दु
चलिरहेको अमिबा वा अक्टोपसको एउटा कोश
त्यो हो तिम्रो देश-
त्यहाँ तिमी हतारमा छौ ।
यस्तो हतारबीच
फूल दियौं तिमीलाई
नसम्झ! देवता मान्यौं हामीले
अबिर लगाइदियौं तिमीलाई
नसम्झ! बिजेता ठान्यौं हामीले
हात जोड्यौं-
नसम्झ! शासक सम्झ्यौं
शिर झुकायौं-
नसम्झ! सपना सुम्पियौं
ए अतिथि! ए अतिथि!!
सतीदेवीको मृत शरीर होइन हाम्रो सपना
र, होइनौ तिमी दुर्लभ महादेव
मात्रै स्वागत गर्नु छ तिमीलाई
किनकि-
तिमी हतारमा छौ-
तिमीलाई धेरै टाढा पुग्नु छ ।
तिमी गइसकेपछि...
तिम्रो तस्बिर सुम्सुम्याएर भावुक हुने छैनौं हामी
तिम्रो श्रव्य-दृष्य वा वृत्तचित्र हेरेर उत्तेजित हुने छैनौं हामी
तिम्रा आविष्कारहरू/तिम्रा महावाणिहरू
ऋचा, मन्त्र वा मुन्धुम केही हुने छैनन् हाम्रा लागि
कुनै सम्झिनुपर्ने दिन हुनेछैन तिम्रो मृत्यु
सती जाने छैन कुनै उज्यालो झन्डा तिम्रो चितामाथि
तर हामी-
फेरि भेला हुनेछौं यहीँ/यही समारोहमा
र गर्नेछौं गम्भीर बहस-
'के तिमी साँच्चै हतारमा थियौ...?
कि बिदा गर्न तिमीलाई
हामी हतारमा थियौं??'

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...