Thursday, 1 March 2018

होली

गरिबीको रापले
मनका बुट्यानहरु सुकाएकै बेला
अभावको मुस्लोले डढेलो सल्काउँदा
चाहनाहरु भस्म भई
सपना कालो भएको क्षण
कसरी रंगीन हुन्छ झुपडीको रंग?

दु:खको पसिनाले
सुखका रंगहरु पखालेर
मन फिक्का-फिक्का हुँदा
कसरी रंगीन हुन्छ जिन्दगीको रंग?

नेपाल आमा माथि हातपात भई
अंग-अंगहरु लुछिएको बेला
यौनपिपासुबाट बलात्कृत भई
रक्तस्रावको महाकाली बग्दा
इज्जत धरापमा परेको बेला
कसरी रंगीन हुन्छ स्वाभिमानको रंग?

जबसम्म बिधुवाको पहिरनमा
परिवर्तनका रंगहरु छ्यापिंदैनन्
कसरी रंगीन होला रीति र संस्कृतिका रंग?
कसरी रंगीन हुन्छ नारीको रंग?

चार जात छत्तीस जातको फूलबारी
बाहिरबाट जति सुन्दर देखेपनि
भित्र-भित्रै विभक्त छन् एकताका गराहरु
विभेदका रंगहरुले
चिरा-चिरा पारेका छन् पाटाहरु
फुल्नै नपाई झरिरहेछन् कोपिलाहरु
अनि कसरी रंगीन हुन्छ फूलबारीको रंग?

छेपारोले रंग फेरे झैं
नेतृत्ववर्गले फेरिरहेछन् रंगहरु
फेरिरहेछन् हिंड्ने बाटाहरु
फेरिरहन्छन् सिद्धान्तहरु
अनि कसरी रंगीन हुन्छ जनताको रंग?

देशलाई रंगीन बनाउँछु भन्नेले
स्वार्थको झोली भरेपछि
पारीको आशीर्वाद थाप्न खोली तरेपछि
देशकै दुश्मनको पाउमा परेपछि
कसरी रंगीन हुन्छ देशको रंग?

त्यसैले आजको होलीमा
सद्भावको रंग दलौं
प्रेमको रंग दलौं
राष्ट्रियताको रंग दलौं
हैन भने-होली सोली खेलिंदैन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...