मेरो जवानीको ज्वालामुखी बिस्फोट भई
उत्पन्न भएको प्रेमिल म्याग्मा
तिम्रो जीवनको सतहसम्म आएर
स्वर्णिम स्पर्श गर्दा
मेरा रहरहरु तिम्रो तनमा छरपस्ट बग्दा
तिम्रो चाहनाले पराकाष्ठा नाघी
अन्ततः घटेका हुन् स्वादिलो घटना।
जसरी समुद्रको छाल उठ्दा
सुन्दर तरंगहरु लहरिंदै
किनारको बगरलाई भिजाएर
धेरै दिनको तृष्णालाई तृप्त गराएर फर्कन्छन्
त्यसैगरी तिमीलाई प्रेमको तरंगले भिजाएर
म एउटा यात्री आफ्नो बाटो लागेको हुँ
कदापि मलाई स्वार्थी नसम्झनु
फेरि कुनै दिन अवश्य फर्किनेछु।
संयोगवश मैले छरेको प्रेमको बिज
तिम्रो गर्भको हावापानीमा-अंकुरित भई
दिन-प्रतिदिन सूक्ष्म बिरुवा
हुर्किंदै गरेको खबर
मेरो कानमा ठोक्किन पुग्यो
जसलाई यो समाजले
पापको पोको भनिरहेको छ
धैर्य गर्नु
समाजलाई चुनौती दिन पक्का आउनेछु।
तिमीले संकटको सामना गर्नुपूर्व
हाम्रो प्रेमको निशानीले
संसार देख्नु अगावै
भयंकर सवालहरु खडा हुनु अगाडि नै
सवाल गर्ने मुखहरु टाल्न
समयको ठिक घडी र पलामा
म ठिक त्यही ठाउँमा पुग्नेछु
जहाँ हामी एक भएर
दुनियाँलाई भुलेका थियौं।
संसारको आँखालाई दिग्भ्रमित पार्न
कालो जंगलको बीचबाट बगिरहेको
तिम्रो सेती नदी जस्तै सिउँदोमा
मेरो नामको सिन्दूरले रंगाइदेउ।
कसैले सोधे भनिदिनु
"म केही दिन माइतीघर आएकी छु"
"मलाई लिन श्रीमान् केहीदिनमा आउनेछ"
बा-आमाले सोधे भनिदिनु
"हजुरहरुको ज्वाइँ अवश्य आउनेछ"।
हाम्रो प्रेमको निशानी माथि
कसैको कुदृष्टि लाग्न नदिनु
कसैले लाउने धृष्टता गरे
ती पापी आँखाहरु फुटाइदिनु
हाम्रो मुटुको टुक्रालाई
लुकाइराख्नु/जोगाइराख्नु।
भीर,पहरा छिचोलेर
छहरो झैं झरेर
खोंच र पत्थरहरुसंग लड्दै
बाधा र अड्चनहरु तोड्दै
खहरे खोला झैं उर्लेर आउनेछु।
म हराउने छैन,पलायन हुने छैन
आँधी-तुफानको गतिमा आएर
तिम्रो हात थाम्नेछु
इज्जत बचाउनेछु
सानो मान्छेलाई
नयाँ मान्छेलाई
भव्यताका साथ स्वागत गर्न
उसलाई सगौरव पहिचान दिन
म अवश्य आउनेछु।
No comments:
Post a Comment