ए गाइने-दाइ!
फेरि नगाइदेउ बिरहको गीत
यो देशको छाती चस्किन्छ
यो देशको आँखाबाट
रक्तिम महाकाली बग्छ
रक्तिम कर्णाली बग्छ।
तिम्रो शब्द-शब्दले सम्झाइदिन्छ
तिम्रो लयले झस्काइदिन्छ
बिस्तारवादीले नेपालका पाउहरु छाम्दै
हातहरु अतिक्रमण गरेर
स्तनहरु निमोठ्दै
दिनदहाडै बलात्कार गरेको त्यो क्षण।
आमाको क्रन्दन जस्तै लाग्छ
तिम्रो गीतको राग।
नेपाल आमाको मृत्युमा
न्याउली चरीले शोकको सुरमा
बिछोडको ध्वनि गुनगुनाएको आभास हुन्छ
हृदयको हिमाल द्रवित भएर
बग्न थाल्छ अश्रुको हिमनदी।
खुंखार हत्याराले
पल्लाघरे साइँला-दाइको जुल्फी अँठ्याई
धारिलो छुराले गला रेटेझैं लाग्छ तिमीले सारंगी रेट्दा।
हो गाइने-दाइ!
ठ्याक्कै त्यही जघन्य अपराधको झल्को
आँखाको स्टेजमा नाचिरहन्छ अझै
रक्त-धारा बगिरहेछ स्मृतिमा ताजै।
उसलाई बचाउन असमर्थ भएकोमा
हीनताको चिरागले
हरपल जलाइरहन्छ मन-मुटु।
तिम्रो काखको अबोध सारंगी देख्दा यस्तो लाग्छ
माथ्लाघरे साइँली-दिदी देश र जनताको खातिर
नाबालक छोरा काखी च्यापेर
बन्दुक बोकेर जंगल पसेकै दिन
दोहोरो भिडन्तमा परी जीवन उत्सर्ग गरे पनि
देहमा सास नरहेपनि
छोरालाई ममताका साथ समाइरहेछिन्
जसरी शालिकले तरवार समाउँछ।
तिम्रा हात सारंगीमा सल्बलाउँदा लाग्छ
तमाम नेपालीका बुढा बाउहरु
चिरा-चिरा परेका,ठेला उठेका हत्केला अनि
थर्थराएका जीर्ण शरीर लिएर
प्लास्टर गरिरहेका छन्-निर्माणाधीन भवनका कच्चा भित्ताहरु।
पुरानो टोपी शीरमा सजाएर
फाटेको दौरा-सुरुवाल पहिरिएर
ललाटमा पसिनाका टाटा बोकेर
गरिबीका आवाजहरु ओकल्दैमा
गरिबका कथा-व्यथाहरु कहँदैमा
श्रमजीवीहरुको प्रतिनिधित्व गर्दैमा
कसैले तिम्रो आवाज सुन्ने छैनन्
सुने पनि अर्को कानले उडाइदिनेछन्
त्यसैले गाइने-दाइ!
अब गाउनुपर्दैन तिमीले-चेतनाका भाकाहरु
सुनाउनु पर्दैन-मर्मस्पर्शी धूनहरु!
एकाइसौं शताब्दीको अत्याधुनिक युगमा
र्याप,पप र हिपहपमा रम्छन् तन्नेरी मनहरु
डिस्को तिर बहलाईन्छन् दिलहरु
उडाउनुपर्ने उतै उडाउँछन्
दयाको हीन पात्र भएर
एक-दुईका सिक्काहरु बटुल्नु पर्दैन
युगको भीरबाट खस्दै गरेको परम्परालाई
जोगाउनु पर्दैन
जगेर्ना गर्नुपर्दैन-आदिम संगीत
बर्बराउनुपर्दैन- लोकको सुरम्य गीत।
तिम्रो हालत देखेर
हालत आफैं भक्कानिन्छ
त्यसैले तिम्रो मनभित्रै थन्क्याएर राख
अजीव कहानीहरु!
हेर गाइने-दाइ!
अचेल हामीलाई शान्ति मनपर्दैन
हामी त क्रान्तिकारी पो त!
हामीलाई क्रान्तिको ताल मनपर्छ
हामीलाई चक्काजामको हाल मनपर्छ
हामीलाई तोडफोडको चाल मनपर्छ
सारंगीको धून हैन
जिन्दावाद र मूर्दावादको गुञ्जन मनपर्छ
हामीलाई युद्ध मनपर्छ
हामीलाई परिवर्तन मनपर्छ
विकास भन्दा विनास मनपर्छ
तसर्थ सारंगीलाई रद्धीको टोकरीमा फाली
आउ हामी सबै मिली अस्त्र उठाएर
हुर्किंदै गरेको अशान्तिको विरुवालाई
थप मलजल र गोडमेल गरौं।
No comments:
Post a Comment