मेरो अस्थिर मनको गगन
केही पलको लागि मात्र नील हुन्छ
सफा र शान्त हुन्छ
क्षणिक सुखको आलोकले
जीवनलाई आलोकित बनाउँछ।
किन्तु केही पलमै
दु:खको मेघ चल्मलाउन थाल्छ
निस्पट्ट बनाइदिन्छ जीवन
जसरी खग्रास ग्रहणले धर्तीलाई बनाउँछ।
पीडाका वाष्प-कणहरु
नयनका हिमपर्वतमा ठक्कर खाएर
हुन थाल्छ अश्रुबर्षा
उर्लन थाल्छन् कारुणिक बाढीहरु।
उसैबेला
रोदनको चट्याङ गर्जिँदै
मुटुका भित्ताहरु चर्काउँछन्
चिरा-चिरा पार्छन्
जसलाई सहजै जोड्न सकिन्न।
परन्तु त्यतिनै बेला
तिमी धरा बनेर रोमाञ्चित हुन्छ्यौ
मेरो अश्रु तिम्रो आवश्यकता बन्छ
तिम्रो मनको पाटो सिञ्चित भएर
अंग-अंगहरुमा सुखद पालुवा पलाउँछन्
समग्र जिन्दगीमा बसन्ती बहार आउँछ।
हो त्यतिनै बेला
तिम्रो घना जंगलको बोटहरुमा
मुस्कानहरु बग्रेल्ती फुल्दछन्
अभावका काँडाहरु छेउ लाग्छन्।
त्यसैले त
दु:खका असिनाहरुले चुटे पनि
ललाटबाट पसिनाको मूल फुटे पनि
भौतिक सुखहरु दूर छुटे पनि
हाँसी-हाँसी बाँच्न सकेको छु
केवल तिम्रो लागि।
No comments:
Post a Comment