Tuesday, 27 March 2018

बेरोजगार-७

            रामे
जसरी हुन्छ बिदेश जान्छु,उचित दाममा
मिलाई दिनुस्,आम्दानी राम्रो हुनेनै काममा
योग्यता ठिकै,दक्षता राम्रो भएको मान्छे हुँ
मुग्लान जानु पर्नेनै भयो,तथापि खुशी छु।

          एजेन्ट
नगर चिन्ता,पसल भित्र,बस्ने नै काम छ
तलब राम्रो,सुबिधाजन्य हुनेछ गजब
अमीर शीघ्र हुनेछौ तिमी गर है विश्वास
सपना तिम्रो हुनेछ पूर्ण,बन्नेछ निवास।

            रामे
आफन्त सम्झी हजुर लाई विश्वास गर्याछु
विरानो ठाउँ,तैपनि तिम्रो भरमा पर्याछु
बिर्सने छैन, लाएको गुण,यो जिन्दगानीमा
साहुको ऋण लिएको पैसा नजाओस् पानीमा।

          एजेन्ट
झिलि र मिली शहर राम्रो साउदी अरब
कहिले पनि नदेख्या ठाउँ,पुग्नेछौ जन्नत
गगनचुम्बी महल भित्र बसाई हुनेछ
सोचेको भन्दा सफलताले शिखर छुनेछौ।

                   रामे
भनेको जस्तो कम्पनी राम्रो नभए सुबिधा
हरेक मास,पाइन भने तलब र बिदा
टिकट काटी तुरुन्त आफू फर्केर आइन्छ
लागेको जति रकम पनि खुरुक्क लिइन्छ।

                 एजेन्ट
भरोसा राख,हुँदैन दु:ख,हुनेछ कमाई
फर्कन्छौ तिमी अधिक पैसा गोजीमा जमाई
घचेट्ने मन पटक्कै छैन कसम दु:खमा
सम्झने गर मलाई बरु भएमा सुखमा।

                रामे
विश्वास गरी हजुर लाई पास्पोर्ट पेशेको
था'छैन हेर्नुस् भविष्य मेरो छैन नि देखेको
पिलेन चढी, स्वदेश छोडी,बिदेश म गए
सम्झने छु म कुभलो मेरो चिता'को नभए।

              एजेन्ट
अहिले जानुस्,घरमा गई बस्नुहोस् ढुक्कले
सुखको दिन फिर्नेछ तिम्रो,छोड्नेछ दु:खले
महिना लाग्छ,आउन भिसा,तयारी गर्नुहोस्
भनेको बेला जसरी हुन्छ रकम भर्नुहोस्।

             रामे
हजुर जदौ,अहिले लाग्छु,भेटौंला हजुर
नगर्नु चिन्ता,आउँछु लिई,रकम जरुर
खुशीको कुरा श्रीमती संग बाँडेर आउँछु
समय हुँदा निर्मला सित भेटेर आउँछु।

                दृश्य चित्रण
बालुवा चाल्ने,छोडेर कर्म,गाउँमा लाग्दछ
सपना मीठो सजाई रामे तुरुन्त भाग्दछ
पहाड जाने मार्गमा पर्छन् उकालो ओरालो
प्रकृतिसंग साइनो गाँस्छ,हालेर अंगालो।

सुस्केरा हाल्दै हावाले पनि आउँछ छेकेर
हिमालहरु हाँसेका हुन्छन् ,उस्लाई देखेर
छोडेर नर्क,पुगेको स्वर्ग,आभास मिल्दछ
गाउँछन् चरी,मुनाल,डाँफे,नाच्दछ बादल।

भक्कानो फुटी आउँछ त्यसै देखेर गाउँ नै
बढेर फूर्ति, भुइँमा हुन्न ,रामेको पाउ नै
पछुतो लाग्छ,बिदेश जाने निर्णय लिएर
बसुँकी क्या हो, गाउँमै बरु जिन्दगी जिएर।

सोच्दछ फेरि-मायाले हाम्रो संसार थाम्दैन
नभए पैसा,अभावसंगै,जिन्दगी चल्दैन
गरिब हुँदा,बिरामी हुँदा,हेर्दैनन् कसैले
जिन्दगी-भार उचाल्नुपर्छ,आँटेर आफैंले।

गौरीशंकर हिमाल भन्छ मुग्लान नजाउ
शैलुङ्गे डाँडा कहन्छ बरु मलाई सताउ
चेर्दुङ पिक मास्तिर बाट नयन जुधाउँछ
साइनो गाढा प्रकृतिसंग बसेर रुवाउँछ।

हिया नै भारी भएर आयो बिचरा रामेको
फुट्यो कि भनी एक्फेर छाती सुस्तरी छामेको
हे भगवान!सजाय किन दिएको यसरी
जिन्दगी संग खेलवाड गर्न जानेको कसरी।

अनेक सोच्दा पुगेको घर,भएन थाहा नै
संघार नाघ्दा बोल्दछे तब उसको जहानै
श्रीमान देख्दा हर्षित हुँदै पाउमा पर्दछे
विभोर हुँदै रामेको न्यानो अंगालो भर्दछे।

                   सानी
काँ थियौ नाथ!दर्शन दियौ,बहुत दिनमा
मलाई सदा सम्झना तिम्रो छिनको छिनमा
समाइरहुँ जस्तोनै लाग्थ्यो प्याराको हातमा
खाएको जस्तो भएन तिमी नहुँदा साथमा।

                 रामे
भैदिंदा एक्लो अलग भई त्यो कान्तिपुरमा
छुटेझैं लाग्थ्यो अन्यत्रै हियो रहँदा दूरमा
शित्तल भयो यो मन मेरो मायालु भेटेर
बटुवा तृप्त जसरी हुन्छ धारामा पिएर।

             दृश्य चित्रण
निर्मला छोरी खुरुरु कुदी लबेदा समाइन्
देखेर बाबा घरमा आज अधिक रमाइन्
हर्षको सीमा रहेन बरै झुपडी घरमा
पूर्णिमा सरी मुहार हुन्छ परेर भरमा।

             निर्मला
आएर बाबा चक्लेट मीठो खाएर खुशी छु
सम्झेर कष्ट बाबाले पा'को अत्यन्त दु:खी छु
कपडा नयाँ ल्याउनु भयो आहा छ क्या दामी
टनक्कै पाएँ आज त मैले कलम र कापी।

             रामे
छोरीको लागि बाबाले यति गर्न नसकुँला?
खुशीको लागि जत्तिनै दु:ख कष्टनै सहुँला
तिमीनै मेरो मुटुको टुक्रा तिमी हौ जिन्दगी
खट्नेछु छोरी!प्रचण्ड घाम र पानी नभनी।

                छोरी
हजुर मेरो देउता,बाबा,नायक,सर्वस्व
अहिले बल्ल गिदीमा घुस्यो बाबाको महत्व
डरले पनि टेक्दछ घुँडा हजुर देखेर
मनको बाघ सुइँकुच्च ठोक्छ हतार गरेर।

                सानी
भरोसा तिमी,हिम्मत तिमी,तिमीनै रक्षक
नजानु फेरि हाम्लाई छोडी पटक-पटक
मुश्किल हुन्छ पियारा बिना जिन्दगी जिउन
आउन्न कोही फाटेको मन प्रेमले सिउन।

                   रामे
छाडिदे कुरा,जे गरे पनि गर्नुछ आफैंले
थापिदे गला,सुनको सिक्री ल्याएको छु मैले
चिम्लेर आँखा,खपेर दु:ख,बगाई पसिना
कमाएँ केही,खटेर धेरै बर्ष र महिना।

                    सानी
गहना किन चाहियो प्यारा,मायानै काफी छ
खाएर तातो,जलेको किन,समय बाँकी छ
मरेर रामे,बाँचेकी सानी,बेकार छ हेर
बाँचौंला बरु,दु:खमा हाँसी,अभाव सहेर।

                 दृश्य चित्रण
यलुङ खोला उर्लेको सरी उर्लिन्छ आँखामा
छट्पटी हुन्छ,तपस्या हुन्छ,निश्छल मायामा
विश्वास गाढा,सम्मान भए,सम्बन्ध टिक्दछ
खरानी हुन्छ,स्वप्नको घर,जो यहाँ बिक्दछ।

अतीत सामू आएर नाच्छ रामेको झल्झली
पैसाको लागि बेचेको रक्त निकाली खल्खली
थापेको थियो प्रत्येक मास पचास हजार
बेरोजगारी भएर थियो अँध्यारो संसार।

मुस्कान आधा,रोदन आधा,पारेर मुहार
हेर्दछ स्वामी भावुक हुँदै गलाको जुहार
सानीले थाहा पाएको भए के हुन्थिन् बिचरी
हाँसेर मृत्यु अँगाल्थिन् होली बिचारै नगरी।

अभाव यस्तो जहर रैछ मनुष्य पगाल्ने
गरिबी यौटा रहेछ तत्व उचाली पछार्ने
मनले मात्र नपुग्दो रैछ जिन्दगी गुजार्न
योग्यता मात्र अपुग हुन्छ जिन्दगी सुधार्न।

गरिब मान्छे समाज भित्र,भैदिन्छ तमासा
अहिले यहाँ,भविष्य कहाँ,हुँदैन ठेगाना
कुकुर बरु गनिन्छ होला मनुष्य गनिन्न
ऐश्वर्य बिना कसैको पनि आँखामा परिन्न।

धनीकै पूजा,धनीकै जय,समाज यस्तो छ
पाउको धूलो समान ठान्छन्,गरिब सस्तो छ
परिवर्तन देशमा कुन्नि कहिले आउँछ
गरिब ढुक्क भैदिने दिन कहिले आउँछ।

जतिनै श्रम गरेर पनि पुग्दैन पैसाले
सम्पन्न हुन सकिन्न यहाँ कृषिको पेशाले
उमारे अन्न,फलाए फल,बजार अभाव
दलालहरु फाइदा लुट्छन्,कृषक तनाव।

सोचेर रामे,आँखामा ज्यादै छल्किन्छ सागर
सुनौला स्वप्न,आकांक्षा,इच्छा,ढल्किन्छन् रहर
चकित पर्छन् निर्मला,सानी आँखामा हेरेर
ओसिला हुन्छन् तिनका आँखा,हालत देखेर।

                सानी
पीडित देखें,एक्कासी आज,के भयो हजुर
अवश्य पनि दु:खमा पर्नु भयो कि जरुर
नभने सम्म कसरी देख्नु यथार्थ दुखाइ
नराख्नु होला जसरी पनि मनमा लुकाई।

                  रामे
दु:खको आँसु होइन प्यारी,आँसु हो खुशीको
लुकाए पनि ,सकेन लुक्न,छल्केर पोखियो
कसरी भन्नु ,नभए पछि,खेदको बिषय
तर्स्यौ त तिमी,आएको जस्तो,अजङ प्रलय।

               सानी
संगत गरी हजुर सित ,छु धेरै बुझेको
यो भन्दा अघि,हालत यस्तो,थिइन देखेको
अवश्य पनि,भएको होला,मुटुको जलन
होइन राम्रो,मनको पीडा,लुकाउने चलन।

               निर्मला
भएको होला,केही न केही,भन्नु न ए बाबा!
निर्मला लाई नजिक ठान्नु,नसोच्नु है टाढा
समस्या भए,हामीले केही गर्न पो सक्छौं कि
घाउमा थोरै,ओखती-मूलो गर्न पो सक्छौं कि।

              रामे(मनमनै)
बिगत सम्झी यो मन मेरो,रुँदैछ बेसरी
यथार्थ कुरा खुलस्त पारी भनुँ म कसरी?
बेचेको खुन,किनेको सुन,घटना भन्दिन
घटिया हुन्छु,सबैको सामू,कदापि खोल्दिन।

                  सानी
सिएर मुख,भएर मौन,चल्दैन हे स्वामी
खुरुक्क भन्नुस्,कुरोको चुरो,अप्ठ्यारो नमानी
दु:खको पोको,खोल्दिनु अब,नठानी पराई
लाग्दैछ-स्वामी,बस्दिनु भा'छ,डराइ-डराइ।

                    रामे
नसोधीकन,निर्णय लिएँ,एउटा गम्भीर
बिदेश जानु लेखेको रै'छ,यो मेरो तक्दीर
छोडेर आएँ,जागिर पनि,पास्पोर्ट पेशेर
सकिन बस्न,वचन खस्रो,साहुको सहेर।

                    सानी
नभनीकन,लियौ त किन,कठोर निर्णय
पास्पोर्ट फिर्ता,निकाली आउ,अझै छ समय
निर्मला छोरी,मलाई छोडी,जाने हो कसरी
हजुर बिना,गाउँमा हामी,बाँच्ने हो के गरी?

                      रामे
गरिदे माफ,पास्पोर्ट अब,निकाल्न मिल्दैन
निकाल्न खोजे,एजेन्ट पनि,राजी नै हुँदैन
आएमा भिसा,एक्चोटी गई,अवश्य आउनेछु
कमाई पैसा,जहानलाई,सुखमा राख्नेछु।

                      निर्मला
हुँदैन बाबा,हजुर गए,सबैले हेप्नेछन्
नाजुक देखी आफ्नाले पनि,शीरमा टेक्नेछ
बाबा नै साथी,बाबा नै शक्ति,बाबा नै तागत
गाउँमै बसी, आमा र मेरो,गर्नुहोस् मद्धत।

                     रामे
छोडेर जाने रहर,इच्छा,चाहना थिएन
तक्दीर खोटो भएर संगै रहनै दिएन
गएर बाबा,बिदेश तिर,नगद कमाउँछु
चक्लेट मीठो,कपडा नयाँ,खेलौना ल्याउँछु।

                    निर्मला
बालिका भएँ भन्दैमा बाबा!छकाउनु पर्दैन
अनेक लोभ देखाइकन,फकाउनु पर्दैन
हजुर भए,चाहिन्न नाना,चाहिन्न गुडिया
गएमा टाढा,रुनेछौं हामी,हाँस्नेछन् दुनियाँ।

                       सानी
राख्दिनु मन,मान्दिनु नाथ!नानुले भनेको
टुहुरा हुन्छौं,हजुर बिना,खै कुरो बुझेको
सम्पत्ति ठूलो होइन हेर्नुस्,सन्तुष्टि ठूलो हो
सदैब संगै हाँसेर बाँच्ने,सानीको धोको हो।

                     रामे
परेछ रात,लाग्या छ भोक,जाऔं न भान्छामा
बोलौंला भोलि,अहिले बरु,के पाक्छ खानामा
कोदोको ढिंडो,मोहीको झोल,रुच्दछ मलाई
नभए रायो,पकाए हुन्छ,आलु नि मिसाई।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...