पहिलो प्रहरको जम्काभेटमा
आँखाहरु विपरीत दिशामा ठोक्किँदा
मेरो होस-हवास दुर्घटनाग्रस्त भई
उछिट्टिएर ढल्न खोज्छ।
रुपको रापले मनमा डढेलो सल्काउँदा
पसिनाको अघोर वर्षातले
मेरो तन निथ्रुक्कै रुझ्दछ
निधारबाट बाढी-पहिरो जाँदा
मन नै बगाउँला झैं गर्छ।
देब्रे छातीभित्र
मृगको चालमा बुर्कुसी मार्छ-मुटु
रक्तनली हुँदै तेज बहन्छ रगत
मानौं-चाँडै महासागरमा पुग्नुछ नदीलाई
श्वासप्रश्वास झन तीव्र हुन्छ
मानौं-गाडीको चाकबाट धुँवा निस्किँदैछ।
ओठको सुन्दरताको पहाड चढेर
तिम्रो जिन्दगीको क्षितिज निहार्न खोज्छु।
नाकको भर्याङ उक्लेर
आँखी-झ्यालबाट सुटुक्क छिर्छु-
तिम्रो मुटुमा प्रेमको साम्राज्य जमाउन।
त्यतिबेला प्रत्यक्षदर्शीहरु
आश्चर्यताको मैदानमा
हृदयघात भएर पछारिन्छन्।
नझुक्किनु होला मित्रहरु!
माथिका कुरुप हरफहरु
एउटा झिंगाको आत्मकथाबाट
उद्धृत गरिएको हो!
No comments:
Post a Comment