Friday, 9 March 2018

असफलताका सुत्रहरु

दर्शन उल्टो कि म उल्टो?
दुनियाँ सही कि म गलत?
दुनियाँ बाठो कि म लाटो?
बुझ्नै सकिएन!

सुनेको थिएँ कि-एउटा ढोका बन्द भए अर्को ढोका खुल्छ।
दौडेर जाँदा-जाँदै ढोका बन्द भयो।
अर्को ढोका खुलिहाल्छ नि भनेर ढुक्क भएँ।
अर्को ढोकाको तलास गर्दैगर्दा अचानक पुरानै ढोका खुल्यो।नयाँ ढोकाबाट जानु भन्ने आदेश मनमा गाढा भएर गढिरह्यो।
ट्वाल्ल परेर हेरिरहेँ।खुलेको पुरानो ढोका झ्याप्प बन्द भो।
अर्को ढोका कहिले खुल्ला कुन्नि!

जमाना लाइनको छ।चाहे कुनै कार्यलयको अगाडि होस् या ग्याँसको।
चाहे तरुनीलाई मार्ने लाइन नै किन नहोस्।
लाइनकै फेसन चलिसकेको छ।
नेपालीको भाग्यमा लाइन बस्न लेखेको रहेछ।
कार्यलयको अगाडि लाइन नदेखे कर्मचारीलाई खानै रुच्दैन।रुचिहाले पनि पच्दैन।हात चल्दैन।घरमा गएर निद्रा लाग्दैन,किन कि लाइन नहुँदा कार्यलयमै निद्रा पुर्याउँछन्।

एकदिन कामकै शिलशिलामा लाइनमा बस्नुपर्यो।
लाइन यति लामो थियो कि पालो आउनु भन्दा अगावै कार्यलयको समय सकेर काम रोकियो।म लगायत अगाडिका धेरै जना मारमा परे।

"लाइन जहाँ खत्तम हुन्छ,त्यहींबाट शुरु हुन्छ।"
कुनै विद्धानको कथनलाई मनन गर्दै हिजोकै ठाउँमा लाइन बसें।
म भन्दा पछि आएकाहरु समेत मेरो अगाडि उभिए।सबैभन्दा शुरुमा आएर पनि अन्त्यतिर मात्र पालो आयो।

आँखा झिमिक्क नगरी
धेरैबेरसम्म नियालिरहें
आँखा दुखेर हुरुक्क हुन थालिसकें
आँसु बग्न थाल्यो
मरिगए पनि सियोको टुप्पोमा केही देखिन
कतिबेला देखिएला र हेर्न पाइएला भनेर कत्रो आश थियो
पल्लोघरकी आम्मैले दिदीलाई भन्नुभएको थियो-"छोरीमान्छेको इज्जत सियोको टुप्पोमा हुन्छ"
कति झूट बोल्छन् यार!

"काम साँचे आफूलाई,खाना साँचे अर्कालाई।"
यी दुई वाक्यहरुको संश्लेषणलाई विग्रह गरेर छुट्टाछुट्टै प्रयोग गर्न मन लाग्यो।
विभिन्न बहाना बनाएर आमाले घरमा अह्राएको कुनै पनि काम गरिन।
निकै दिनसम्म अह्राएको काम नगर्दा उहाँले अह्राउनै छोड्नुभयो।नतिजा ठ्याक्कै विपरीत निस्क्यो।हामीले नगरेको काम अरुले गर्ने रहेछ।
एकदिन आफूलाई पस्केको भात लगेर थपक्क दराजमा राखें।
तीन दिनपछि हेर्दा खाना त्यहीं थियो।
कसैले खाएका थिएनन्।
बरु डुङ्डुङ्ती गन्हाएको थियो।
यहाँ पनि नतिजा विपरीत निस्क्यो।
खाना साँचेर कसैको पनि नहुनेरहेछ।

मेरो घरदेखि निकै पर एउटा घर छ।
त्यो घरमा एउटी सुन्दरी छे।
हामी एउटै कलेजमा एउटै कक्षामा पढ्छौं।
"म तिमीलाई असाध्यै मनपराउँछु।"
"म तिमीलाई आफूलाई भन्दा बढी माया गर्छु।"
उनको यस्ता तर्कहरुलाई म एउटै छोटो वाक्यले खण्डन गर्थें-"मजाक नगर न यार"।
"अरु जेसुकै भन म सहमत छु तर तिम्रा यी कुरामा सहमत हुन सक्दिन।"
मेरो यस्तो कुरा सुनेर उनले भनिन्-"त्यसो भए हामी होटलमा जाऔं।"
उनको पछिल्लो आग्रहलाई नकार्न सकिन।
होटल गयौं।खाना खायौं।गफ गर्यौं।
अन्तमा बीचमा सिरानी राखेर एउटै बेडमा सुत्यौं।
न उनले बोर्डर क्रस गरिन्,न मैले नै क्रस गरें।
यत्तिकैमा दिवाकरले झक्झकाएर उठाइसकेछ।
"आजको भेट कस्तो खल्लो है?"-उनले भनिन्।
"चकलेट खाने?"-मैले सोधें।
"धत लाटा!"-उनले झपारिन्।
पर-स्त्री अर्थात प...र को स्त्रीलाई खराब नजरले हेर्नुहुन्न भनेर आमाले दिनदिनै दिनुभएको नैतिक शिक्षाको नतिजा थियो-त्यो।
उनले अचेल नयाँ साथी बनाएकी छिन्।
मलाई त टेढो आँखाले पनि हेर्दिनन्।

मान्छेहरुको भीडमा आँखा जुधे।
उनी मुस्कुराइन्।म पनि मुस्कुराएँ।
"मुस्कान प्रेमको पहिलो खुड्किला हो।"
यही उक्ति सम्झेर झन मुस्कुराएँ।
खुशीको आलोकसंग साक्षात्कार भएर मनको पाटोमा प्रेम अंकुराउन थाल्यो।
"मामु!"भन्दै एउटी कोपिलाले धोतीको फेरो समाएको देखेर नराम्रोसंग झस्किएँ।

अहिलेसम्म जिन्दगीको कुनै पनि परिक्षामा उतीर्ण भएको छैन।यसको एउटा बेग्लै कहानी छ।

म मान्छे खुबै जेहेन्दार र मिहिनेती पनि।
कक्षामा ध्यान दिएर सुन्छु।घरमा मन लगाएर पढ्छु।जाँच आउँछ।नतिजामा फेल हुन्छु।
"बाबु!दयाँबायाँ गर्नहुन्न।मात्र ध्यान दिएर पढ्नुपर्छ।"
बा-आमा र शिक्षक/शिक्षिकाले मलाई यही अर्ती दिए।
त्यसैले परिक्षामा पनि नलेखेर प्रश्नपत्र पढेर मात्र बस्छु।

दर्शन र दिव्योपदेशलाई आत्मसात गर्दागर्दै आज म कहाँ छु,आफैंलाई थाहा छैन।
"हिंडिरहनुपर्छ।पाइला बढाइरहनुपर्छ।एकदिन अवश्य लक्ष्यमा पुगिन्छ।"
यही दर्शनको पछि-पछि लागेर म निरन्तर हिंडिरहेछु।कदम चालिरहेछु।तर आजसम्म मैले लक्ष्य भेटेको छैन।म अनकन्टार जंगलमा हराइरहेछु।

बल्लतल्ल मेरो चेत खुलेको छ।
दुनियाँको वाहियात कुराको पछाडि लाग्दिन भनेर कसम खाइसकेको छु।तर बिडम्बना "दुनियाँ" नै कहाँ छ भनेर ठम्याउन सकिरहेको छैन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...