मनलाई भूमरी बनाइदिने
बैशको हुन्डरीको सामना गरी
मुटुमा प्रतिक्षाको खम्बा गाडेर
म आउने बाटोमा
आँखाहरु बिछ्याइदिए पुग्छ।
ए मेरी पुष्पा!
मेरो अनुपस्थितीको फाइदा उठाउन
तिम्रो वरिपरि भन्किने भमराहरुलाई
काँडा बनेर घोचिदिए पुग्छ।
तिम्रो यौवनको उर्वर-भूमीमा
पिरतीको खेती गर्न खोज्ने कृषकलाई
पत्थरै पत्थरको बगर बनेर
चोटिलो जवाफ दिए पुग्छ।
सकेसम्म दिलको ढोकामा
स्थिरताको बलियो ताल्चा लाएर
चाबी मलाई पठाए पुग्छ।
तिम्रो छातीको पर्खाल नाघेर
तिम्रो मनको बाटो हुँदै
मुटुमा सुटुक्क पस्न खोज्ने चोरलाई
लात मारेर भगाए पुग्छ।
म दूर देशबाट
सपनाहरुको अटैंची भरेर
चाहनाको जहाज चढेर आउँदा
तिमीले मनको बिमानस्थलमा
मायाको माला लाएर
स्वागत गरिदिए पुग्छ।
मेरो हातमा तानेर समीप लगी
बर्षौं देखि जतन गरी राखिएको
अमूल्य उपहार थमाइदिए पुग्छ
बश अरु केही चाहिएन
त्यही उपहारले म सम्पन्न हुनेछु।
No comments:
Post a Comment