ढोग गरें बाबा,आमा!
सञ्चै-सुबिस्तै हुनुहुन्छ?
के समस्या छ हजुरहरुको?
यसपालि म मेयरमा उठेको छु
कृपा गरेर एक-एक भोट दिनुहोला
म गाउँ झलल पार्छु
हजुरकै आँगनबाट गाडी गुड्ने बनाउँछु
पल्लो खोल्सामा झुलुङ्गे पुल हाल्छु
हाम्रो ठाउँलाई स्वर्ग बनाउँछु कसम!
ए!को पर्यो तिमीहरू?
मैले त चिनिन त!
ए गाउँकै पो?
धेरै भो कि नभेटेको
त्यही भएर ठम्याउनै सकिन
क्यानम तिमीहरुको भोट खेर गाथ्यो क्यारे
मलाई देउ भन्दा दिएनौ
आश्वासन मात्र दियौ
भोट दिएनौ
अब क्यारम त नि
भोट देको भए
छोरानातिलाई जागिर मिलाउँथे नि
तिमीहरुको बुद्धिमा बिर्को लाग्यो
मैले के गरुँ?
बरु यसो गर
अर्को पल्ट मलाई नै देउ है भोट
अनि हेरौंला
अहिलेलाई मेरो प्रतिद्वन्द्वी छ नि
उसंग मद्धत माग न है?
त्यसो नभन्नु न सर
भोट हजुरलाई नै देका हौं
धरोधर्म,किन ढाँट्नु र
ढाँटे मरिजाम
ठूलो आशा लिएर आछम क्यारे
हजुरले कृपा गरेर
छोरो लाई जागिर मिलाइदिनु
बिन्ती छ हजुर
साहुबाट ऋण लिएर
बी ए सम्म पढायौं
बेकामको भएर बस्याछ मोरो
बरु लिनुस् यो कुराउनी हजुरको लागि।
आहा!मीठो पो पकाएछौ त
साह्रै मनपर्छ भन्या
अर्कोपल्ट पनि ल्याओ है
ल अहिलेलाई जाओ
मलाई उद्धाटनमा जान चटारो छ
ए साँच्ची!एउटा कुरा बल्ल सम्झें
तिमीहरुको भोट त बदर भएछ नि
कतै नछुने गरी बीचमा हान्नुपर्छ नि
इ लेउ ५०० रुपियाँ
नुनतेल किनेर लैजाउ
तर अर्कोपल्ट चाहिं भोट मलाई है?
तेरीमा डाका हो
हाम्लाई भिखारी सोच्याछस्?
अर्कोपटक गाउँ आउँलास्
ईश..तँलाई भोट
तेरो ५०० तैं राख
मेरो आँगनमा पाइला टेकिस् भने
नातिलाई भनेर
गुलेलीले आँखा फुटाउन लाउँछु।
जा,गैहाल!
पुलिस बोलाउँ कि आफैं मुन्टिन्छौ?
तेरीमा पाखे हो!
मलाई चिनेका छौ?
म मेयर हुँ यो नगरपालिकाको!
दिमाग छैन भेडाहरुको!