Sunday, 14 May 2017

आनी-८

                  भाग-८
          कालो रातलाई निस्तेज पार्दै पूर्वी उषाको किरणले क्षितिजलाई लाल बनाइसकेका थिए।सारा प्राणी जगतले थकाइ मेटेर आँखा खोलिसकेका थिए।पशुपंक्षीहरु बाँच्नको लागि संघर्षको मैदानतिर चिच्याउँदै प्रस्थान गरिरहेका थिए।गुम्बाको मुलढोकामा सबै आनी र लामा गुरु गेरुबस्त्रमा जम्मा भए।सबै जना गुन-गुन गर्दै एक प्रकारको कोलाहलमा ब्यस्त थिए।प्रायः सबै आक्रोशित र क्रोधित देखिन्थे।
"हरे बुद्ध भगवान!कसले गर्यो यस्तो महापाप?"
"ॐ माने पेमे हुँ!कस्तो पापी रहेछ!"
"बर्बादै भयो नि गुरु!अब के गर्ने?कहाँ खोज्ने?कसलाई समाउने?"
"केही न केही उपाय होला नि गुरु समस्याको समाधान गर्ने!"
उपस्थित प्रायः सबै आनीहरु मुर्मुरिँदै थिए।भेटिएमा खाउँला झैं गरेर मुहार लाल बनाइसकेका थिए।ओठ र मुख बिगारिरहेका थिए।
"शान्त!शान्त!शान्त!यसरी क्रोधित भएर समस्याको समाधान हुन्न मेरा चेलाहरु!हामीले संयमित भएर विवेक प्रयोग गर्नुपर्छ।हतोत्साहित भएर त भएको दिमाग पनि विलीन भएर जान्छ।बरु माथि गएर आनी डोल्मालाई उठाएर ल्याउ त!केही जरो पत्ता लागिहाल्छ कि।"
लामा गुरुले सबै जनालाई बडो शालिन भएर नम्र भाषामा सम्झाए।३ जना आनीहरु गएर आनी डोल्माको ढोकामा ढकढक्याउन थाले।
"आनी डोल्मा!आनी डोल्मा!तुरुन्तै तल आउनु रे लामा गुरुले।"
आनी डोल्मा हतोत्साहित भएर आँतिएर जुरुक्क उठेर ढोका खोल्न लागिन्।
"के भयो बिहान-बिहानै आरामले सुत्न नदिने?"-आनी डोल्माले सबैको नजरमा नजर मिलाउँदै प्रश्न तेर्स्याइन्।
"तल आउनु न सबै ऐना झैं छर्लङ्ग भैहाल्छ नि।"
यति भनेर आनीहरुले आनी डोल्माको हातमा समाएर गुम्बातिर लगे।सबै आनीहरु लगायत लामा गुरुलाई गुम्बाको ढोका अगाडि धर्ना दिइरहेको अवस्थामा देखेर आनी डोल्मा छाँगाबाट खसे झैं भई।एकछिन त उनी अक्क न बक्क भएर त्यो अनौठो दृश्य हेरिरहिन्।गुम्बाको ढोला खुल्ला अवस्थामा थियो तर कोही पनि भित्र थिएनन्।
"के भयो लामा गुरु?यति बिहानै के समस्या आइपर्यो र यस्तो?"-आनी डोल्माले बिनम्र भएर सोधिन्।
"के चाहिँ भएन भन न आनी?आकाश खस्यो!जमिन भास्यो!हिमाल पग्ल्यो!बिहानै सूर्यास्त भयो!बुद्ध माथि आक्रमण भयो।बौद्ध दर्शनको बेईज्जती भयो।गुम्बा माथि संघातिक हमला भयो।बुद्ध धर्ममाथि प्रहार भयो।बर्बाद भयो।आनी!बर्बाद भयो।"-लामा गुरु बर्बाराउन थाले।
"खै के भयो र?म त सबै शकुसलै देख्छु।"-अझै पनि अनबिज्ञ भएर आनी डोल्माले प्रश्न सोधिन्।
"ल भित्र आउ!सबै देख्नेछ्यौ।ल हेर।आँखा च्यातेर हेर।"
लामा गुरुले आनी डोल्मालाई हातमा समाएर भित्र लगेर भित्रको दृश्य देखाउन थाले।आनी डोल्मा आश्चर्यचकित भएर दृश्य अवलोकन गर्न थालिन्।उनले अझै पनि सबै ठिकठाकै देखेर मुसुक्क मुस्कुराउँदै प्रतिप्रश्न गरिन्।
"लामा गुरु!हजुरलाई के भयो?सञ्चै त हुनुहुन्छ?"
"ए!तिमीले केही देखिनौ उसो भए?हाम्रो गुम्बामा भएको सबैभन्दा अमूल्य बुद्धको मूर्ति खै?करोडौं पर्ने सुन र हिरा जडित मूर्ति देख्छ्यौ तिमीले?"-लामा गुरुले सबै राज खोलिदिए।
आनी डोल्मा आँतिएर बुद्धका मूर्तिहरुतिर नजर लाउँदै ढलेर बेहोस भई।संसारमै सम्भवत सबैभन्दा महंगो बुद्धको मूर्ति चोरी भैसकेको थियो।कसले चोर्यो केही यकिन गर्न सकिएन।झलमल्ल गुम्बामा औंसी लागेको थियो।सबैजना उदास देखिएका थिए।सो मूर्ति कसले चोरे भनेर अनुत्तरित प्रश्न तेर्सिएको थियो।लामा गुरुले चिसो पानी छर्केर आनी डोल्मालाई होसमा ल्याए।उनी जुरुक्क उठेर यताउता हेर्न थालिन्।अमूल्य बुद्धको मूर्ति भएको स्थान रिक्त देखेर फेरि पनि उनी ढल्न खोज्दै थिई तर दुई जना आनीहरुले उनलाई सम्हाले।
"तिमीलाई कसैमाथि शंका छ आनी?"
लामा गुरुले आनी डोल्मालाई प्रश्न गरे।तर आनी डोल्माले।केही सोच्नै सकिनन्।बोल्नै सकिनन्।उनले शीर हल्लाएर आफू अनबिज्ञ भएको जनाउ दिइन्।
"तिम्रो दाइ लाई उठाएर ल्याउ पाहुना कोठाबाट।"
लामा गुरुको आदेश सुनेर उनी एकपटक जोडले झस्किन्।उनले त यो पनि बिर्सिसकेकी रहिछन् कि उनको साथी किशोर पनि त्यही पाहुना कोठामा बसेका थिए भन्ने कुरा।उनले दुई जना आनीहरुलाई आफूसँगै आउने संकेत दिँदै पाहुना कोठातर्फ प्रस्थान गरिन्।किशोर बसेको कोठामा चुकुल मात्र लाएका थिए।उनीहरू चुकुल खोलेर भित्र प्रबेश गरे तर त्यहाँ किशोर थिएन।आफ्नो दाइ भनेर ढाँटी किशोरलाई त्यहाँ बास दिएर ठूलै गल्ती गरेको महसुस गरिन्।किशोर सुतेको बेडमाथि लामाको पोशाक अर्थात गेरुबस्त्र मात्र थिए।उनले किशोरको मोबाइलमा सम्पर्क गर्ने कोसिस गरिन् तर मोबाइल सम्पर्कबिहीन थियो।आनी डोल्माको मनमा चिसो पस्यो-"कतै मूर्ति चोर्ने किशोर त हैन?"
सबैजना मिलेर किशोरलाई ट्वाइलेट,बगैँचा र निकै परसम्म खोजे तर भेट्टाउन असफल भए।सबैको मुहारमा ग्रहण लागे झैं देखिए।आनी डोल्मा धुरुधुरु रुन थालिन्।
"गुरु!हामीले आनी डोल्माको दाइलाई कतै भेटाएनौं।अब के गर्ने होला?"
आनीहरुको प्रश्न नसुने झैं गरेर लामा गुरु झोक्राएर बसे।गुरुले केहीबेरमा निकै ठूलो र कठोर निर्णय गरे।
"हेल्लो पुलिस स्टेसन!आनी गुम्बा चोरी भयो।करोडौं पर्ने बुद्धको मूर्ति गायव छ।तुरुन्त आएर छानबिन गर्नुहोला।"
लामा गुरुले बौद्ध चौकीमा फोन गरेर जानकारी दिए लगत्तै एकातिर सबैमा अन्योलता छायो भने अर्कोतिर सबैजना शशंकित भए-कसलाई चोरीको आरोप लाग्ने हुन् र कसलाई पक्राउ गरेर लैजाने हुन् भनेर।प्रायः सबैको नजर आनी डोल्मातिर थियो।आनी डोल्माको मिलेमतोमा उनको दाइले नै बुद्धको मूर्ति चोरेका हुन् भन्ने अनुमान गर्न भ्याइसकेका थिए।आनी डोल्मा भने घोसेमुन्टो लाएर बस्न बिबश थिई।किशोरले पहिले निर्जला बनेर धोका दिएको थियो।तर अहिले बुद्धको मूर्ति नै चोरेर त्यो भन्दा हजारौं गुणा भिमकाय गल्ती गरेको कुरा आनीले मनमनै सोचिरहिन्।केहीबेरको मौनता पछि प्रहरीको हर्न बज्यो।प्रहरी अधिकृतले पालैपालो सबैलाई प्रश्न गरे।
"तपाइँहरुको शंका कोमाथि छ?"
"आनी डोल्मा र उनको दाइ।"
प्रहरी अधिकृतको प्रश्नको उतरमा सबैले एकै स्वरमा उत्तर दिए।
"अहिले केही भन्न सकिन्न सर।त्यसैले त सरहरुलाई बोलाएका हौं छानबिनको लागि।मैले त केही ठम्याउनै सकिन-यसमा कसको हात छ भनेर।आनी डोल्माको दाइ पाहुना भएर आएको थियो तर बिहान उठ्दा उनको दाइ पनि गायब र मूर्ति पनि।त्यसैले थोरै शंका आनी डोल्मा र उनको दाइ माथि भएको मात्र हो।त्यो त तपाइँहरुकै छानबिनले पुष्टि होला।"-लामा गुरुले लामो सुस्केरा हाल्दै बयान दियो।
"तिम्रो दाइको नाम के हो?कहाँबाट केको लागि आएको थियो?खै उ सुतेको कोठा देखाउ।"-प्रहरी अधिकृतले सोधपुछ गर्यो।
"सर!खास उ मेरो दाइ नभएर साथी मात्र हो।उसको नाम किशोर लामा हो।घर सिन्धुपाल्चोक भन्दै थियो।"-आनी डोल्माले बयान दिई।
अधिकृत,गुरु र आनीहरु अघिल्लो रात किशोर सुतेको कोठामा प्रवेश गरे।केही प्रमाणको खोजीमा यताउता ओल्टाइ-पल्टाइ हेर्यो तर उसले लामाको गेरुबस्त्र बाहेक केही भेट्टाएन।
"यो ड्रेस चाहिँ किन छोडे होला त उसले?"
"किन कि उ थर मात्रको लामा हो,वास्तविक लामा हैन।"
अधिकृतको सवालको जवाफमा उनले भनिन्।
"ए उसो भए तिमीहरु दुबै मिलेर मूर्ति चोरेका हौ।नाटक गर्नुपर्दैन बढी।जाउँ हिंड प्रहरी चौकीमा।उतै गएर बिस्तृतमा कुरा गरौंला।हात कडी लाउनुस् हवाल्दार साब।"
प्रहरी अधिकृतको आदेशमा हवाल्दारले आनी डोल्मालाई हातकडी लाएर भ्यानमा हाले।उनी फर्की-फर्की अरु आनी र गुरुलाई हेर्दै थिइन् तर एकैछिनमा भ्यान ओरालो झर्न थाल्यो।आनी गुम्बामा रुवाबासी चल्यो।आनी डोल्माको गिरफ्तार संगै गुम्बाको मर्यादा र प्रतिष्ठामा आँच आयो।एउटी आनीमाथि मूर्ति चोरीको आरोप लाग्नु भनेको सिंगो बुद्ध धर्म र गुम्बामाथि नै कालो धब्बा लाग्नु थियो।त्यो घटनाले आनीहरुको चरित्रमाथि नै तीखो ब्यंग्य प्रहार गर्यो।उनीहरुमाथि विश्वासको आधार रहेन।आनी नै चोर भएपछि गुम्बा कसरी सुरक्षित रहन सक्छ भन्ने प्रश्न उब्जिन थाल्यो।यस्तो प्रकृतिको घटना सम्भवत पहिलो नै थियो।
         प्रहरीको भ्यान आरुबारीको ओरालोमा हुईंकिन थाल्यो।भत्केको सडकको खाल्डाखुल्डीमा चक्का पर्दा गाडी चाकाचुली झैं लचक-लचक हुन थाल्यो।एक ठाउँमा चालकले घ्याच्च ब्रेक मार्दा एकजना प्रहरी हुत्तिएर आनीको शरीरसंग ठक्कर खान पुग्यो।उसका दुई हातहरु आनीको छातीमा पुगे।आनीलाई खासै केही असर परेन।तर त्यो प्रहरी कुखुरा खाएर पल्केको स्याल झैं पुनः आनीको छातीमा गिद्धेनजर लाउन थाले।आनीले उसलाई टेढो नजरले हेरिन्।प्रहरीले आनीको भाषा बुझेर नजर अन्तै मोड्यो।तर बेलाबेलामा चोरी-चोरी हेर्न पछि परेन।उसको मुखमा र्याल आइरहेको थियो।
"ए आनी!ल भन किन मूर्ति चोर्यौ तिम्रो दाइसित मिलेर?सत्य-सत्य भन हामी तिमीलाई सकेसम्म कम सजाय दिलाउनेछौं।"-अगाडिको सिटबाट इन्सपेक्टरले पछाडि नहेरीकन भन्यो।
तर आनीले कुनै प्रतिकृया जनाइनन्।आनीको होस अन्तै गायब थियो,सायद क्षितिज भन्दा धेरै दूर।नसुने झैं गरेर उनी टसका मस भइनन्।
"कानी छ्यौ कि क्या हो?खै मेरो कुराको जवाफ दिएकी?"-पछाडितिर फर्केर इन्सपेक्टरले चिच्यायो।
अझैपनि आनीको ध्यान अन्तैतिर केन्द्रित थियो।उनले इन्सपेक्टरतिर फर्केर पनि हेरिनन्।
"चुप लागेर तिम्रो जीत हैन हार हुनेछ आनी।मौनता नै समस्याको समाधान हैन।यदि प्रेममा हो भने मौनता स्वीकृतिको लक्षण हुन्थ्यो।तर तिमी त प्रहरी चौकीमा जाँदैछ्यौ,बुझ्यौ हैन?तिम्रो चोर दाइ कहाँ छ?बुद्धको मूर्ति खुरुक्क फिर्ता लिएर आउ भन।हामी तिमीहरुलाई शकुशल छोडिदिन्छौं।आजै फोन गरेर बोलाउ।म प्रतिज्ञा गर्छु-तिमीहरुलाई कुनै सजाय हुनेछैन।"
फेरि पनि आफ्नो कुरालाई वेवास्ता गरेको देखेर इन्सपेक्टर क्रोधले आगो भयो।उसले  पेस्तोल निकालेर आनीको कन्चटमा ताक्यो।
"भन छिटो।नत्र उडाइदिन्छु।"
तैपनि आनी भयभीत र हतोत्साहित भएको देखिएन।बरु उनी शिशाबाट बाहिराको दृश्यमा लीन थिइन्।प्रहरीको भ्यान भन्दा अगाडिको बसले उडाएको धुलोले वायुमण्डल बिक्षिप्त भएको थियो जसरी युद्धस्थलमा अश्रुग्यास छोड्दा वातावरण अदृश्य हुन्छ।सायद आनीको मनमा पनि त्यस्तै धुलो मडारिरहेको थियो।तर उनको हालत र मुहार देखेर उनको मनमा के बितिरहेको थियो-अनुमान लाउन हम्मेहम्मे नै थियो।
"ए भोटिनी!किन बोल्दिनौ हाँ?आँखा देख्दिनौ?कान सुन्दिनौ?"
यति भन्दै इन्सपेक्टरले लठ्ठी निकालेर उनको संवेदनशील अंगतिर घोच्न थाल्यो।सायद दर्द भएरै होला,उनले दुबै हातको झट्काले हतकडी चुँडाल्न खोजिन् तर सफल हुने कुनै भएन।हतकडीमा टोकेर छिनाल्न खोजिन्।दाँतबाट रगत बग्न थाल्यो।
"यिनी आनी हुन् कि जनावर हुन् हाँ?"
इन्सपेक्टर झन क्रोधित भएर मुर्मुरिन थाल्यो।
"यो भोटिनीलाई मैले जान्या छु।छिटो गाडी कुदाउ साला!यसको बाउको बिहे देखाउनुपर्छ आज।"
गाडी तुफानको गतिमा गुड्न थाल्यो।
"हवाल्दार!गाडी बौद्ध गेटमा लगेर रोक।यसलाई सवक सिकाउनुछ।आनीको भेषमा बौद्ध धर्म र संस्कृतिमाथि कुठाराघात गर्ने मुकुन्डोधारीलाई सार्बजनिकरुपमा नंग्याउनुपर्छ,ताकी भोलि यस्ता खराब आचरणका अरु आनी नजन्मिउन्।"-इन्सपेक्टर झनै कड्किन थाल्यो।
हवाल्दारले गाडी लगेर बौद्ध गेटमा लगेर रोकिदियो।इन्सपेक्टर र केही प्रहरी जवानहरुले आनीलाई हत्कडी र आनीकै भेषमा लिएर बौद्धभित्र प्रबेश गरे।आनीले नतमस्तक हुँदै आफ्नो शरीरलाई बौद्धको चरणमा सुम्पिदिइन्।
"ॐ माने पेमे हुँ.......।"
"उठ साला मूर्ति चोर!धर्मकर्मको नाटक गर्छेस्?तँ आनीको नाममा कलंक होस्।बौद्धलाई नमन गर्ने नैतिक अधिकार पनि छैन तेरो।"
हतकडीमा समाई आनीलाई जुरुक्क उठाएर बौद्धको वरिपरि परिक्रमा गराए।बौद्धको दर्शनार्थ आएका बौद्ध धर्मावलम्बी तथा अन्य बिदेशी दर्शनार्थीहरु आनीलाई नियाल्न तँछाडमछाड गर्न थाले,मानौं त्यहाँ रंगमञ्च चलिरहेको थियो।प्रहरी र आनी दमदार अभिनय गरिरहेका थिए।मुख्य अभिनेत्री आनी र अभिनेता इन्सपेक्टर थिए।त्यो दृश्य देखेर कोही कोही भावुक र कोही रोमाञ्चित देखिन्थे।कोही खेद प्रकट गरिरहेका र कोही जिब्रो काढिरहेका।समग्रमा त्यहाँ उपस्थित आम दर्शकको नजर आनीमाथि थियो।तर आनीको नजरमा कुनै भावुकता वा चमकता थिएन।उनको शालिनता,स्थिरता र संयमता देखेर कसैले भने उनी मूर्तिचोर हुन् भनेर बिश्वास र यकिन समेत गरेनन्।
"ॐ माने पेमे हुँ।"-आनीले मन्त्र जप्न थालिन्।
"मन्त्र जपेर पाप काट्न खोजेकी होलिन्।"
"हे बुद्ध भगवान!आनी भएर पनि कस्तो पाप गर्न सकेकी?"
"अनुहार हेर्दा त चोर जस्ती नै छैनन् त।"
"मान्छेको बाहिरी आवरण हेरेर भित्री आचरण चिन्न र देख्न नसकिंदोरहेछ।"
"चोर नै भएपनि किन यसलाई बौद्ध घुमाउनुपर्यो?ज्यानमारा त स्वतन्त्र घुम्छन् हाम्रो देशमा,यसले त मूर्ति न चोरेकी हुन्!"
"बिचरी आनी!साँच्चिकै चोर हुन् कि होइनन्,बेईज्जती चाहिँ मज्जाले सहनुपर्यो।"
"चोरहरुको भेष पनि बिचित्रका हुनेरहेछन् बाई यो संसारमा!"
भीडमा यस्तै मिश्रित प्रतिकृयाहरु सुनिए र बाँकी कुराहरु कोलाहलमै बिलाए।बिदेशी गोराहरु भने बडो उत्सुकताका साथ दृश्य अवलोकन गर्न थाले।कसैले तस्वीर निकाले र कसैले कौतुहल भएर त्यहाँको घटनाबारे प्रश्न तेर्स्याए।त्यो दृश्यलाई आधार बनाएर सिएनएनका पत्रकारले प्रत्यक्ष प्रसारण गरे।अन्तरास्ट्रिय मिडियामै आनीको नाम आउनाले बौद्ध धर्ममाथि नै मान्छेहरुले प्रश्न चिन्ह खडा गरे।कोही-कोहीले यस घटनालाई बौद्ध धर्मलाई संसारबाट च्युत गर्नको लागि रचिएको गम्भीर षडयन्त्रको रुपमा लिए।आनीले आफ्नो गल्ती नस्वीकारिसकेको अवस्थामा पनि उनी मूर्तिचोर नामले संसारमै परिचित भइन्।यदि आनी निर्दोष सावित भएको खण्डमा सिंगो प्रहरी संगठनको नियत,अस्तित्व र औचित्यमाथि प्रश्न उठ्ने निश्चितप्राय:थियो।तर त्यो पाटोको बारेमा कसैले पनि ध्यान दिइएको र बिरोध गरेको पाइएन।बिन लादेनको हत्या हुँदा,अमेरिकाको ट्वीनटावर ध्वस्त पार्दा,सद्धाम हुसेनलाई फाँसीमा लड्काउँदा बरु त्यतिको सनसनी फैलिएको थिएन।भाइरल भएको थिएन।आनीको मुद्दाले भुइँचालो ल्याएर उथलपुथल पार्यो।हंगामा मच्चायो।संसारलाई चकित र अचम्मित बनायो।आनीलाई लगेर बौद्धको चौकीमा बन्दी बनाइयो।आनी र उनको आपराधिक संजाल बृहत् हुनसक्ने सम्भावनाको मध्यनजर गर्दै उनलाई तत्कालै अदालतमा पेश गर्नुको सट्टा हनुमानढोकाको केन्द्रिय कारागारमा सारियो।आनीको बर्षौंदेखिको त्याग,तपस्या,दर्शन र धर्म एकैछिनमा खरानी भए।उनले आफूलाई सपना,चाहना र उदेश्यहरुको हत्यारा घोषित गरिन्।हनुमानढोकामा उनलाई भेट्न र सहानुभूति दिन कोही आएनन्।न त लामा गुरु आए न उनका सहयात्रीहरु नै आए।उनले गुम्बामा रहुन्जेल आफूलाई एक शसक्त आदर्श आनी मात्र नभई आदर्श नारीको उदाहरण दिएकी थिइन्।तर आज उनको आदर्शले एकाएक हावा खायो।आफन्त पनि सबै पराइ भए।तैपनि उनले हार मानिनन्।बयान लिन प्रहरी इन्सपेक्टर आयो।
"आनी!म तिमीलाई चोरको संज्ञा दिन चाहन्न,किनकी अहिलेसम्म चोरीको प्रमाणित भैसकेको छैन।सम्मानका साथ बयान लिन चाहन्छु।सीधा-सीधा भन-खास के भएको थियो?मूर्ति कसरी चोरी भयो?यसमा तिम्रो हात छ कि छैन?यदि छैन भने कसरी प्रमाणित गर्न सक्छ्यौ?तिम्रो दाइ किशोर कहाँ छ?यदि उसले मूर्ति लगेको भए तुरुन्त बोलाउ।यसैमा तिमीहरु दुबैको भलाइ छ।"
आनीले एक शब्द पनि मुखबाट चुहाइनन्।मौनतामै बयान तुहियो।
"साफ-साफ भन्छ्यौ कि भन्दिनौ?कोर्‍रा लाउनुपर्यो तिमीलाई?"
इन्सपेक्टरको चिच्याइले कारागार गुञ्जायमान भयो।तर आनीलाई केही फरकै परेन।एकोहोरो लाटी झैं झोक्र्याएर बसिन्।
"तिमीलाई यो आनीको गेरुबस्त्र सुहाएन।तिम्रो दुष्चरित्र र खराब आचरणले गेरुबस्त्रको अपमान गरिरहेकोछ।बलात्कार गरिरहेछ।फुकाल यो वस्त्र।ए जगते!यसको लागि एकजोर ट्राउजर र टीसर्ट ल्याओ त।"
केहीबेरमा जगतेले एकसेट ट्राउजर र टिसर्ट ल्याएर आनीलाई दियो।
"कैदीलाई सुहाउने वस्त्र इ यस्तो हुन्छ।छिटो लाएर तयार भएर बस कोर्‍रा खानलाई।"
यति भनेर इन्सपेटर ताला लाएर त्यहाँबाट ओझेल पर्यो।गेरुवस्त्र फुकाल्नुपर्दा आनीलाई कहिल्यै नभएको बहुत पीडा भयो।धेरै समयपछि फेरि उनको आँखामा टिलपिल अश्रुधारा चम्क्यो।प्रहरी प्रशासनले बलात्कार गरेको आभास भयो उनलाई।श्रीमानको देहान्तपछि कुनै नारीले सिन्दूर,चुरा,पोते र रातो सारी फुकाल्दा जति पीडा हुन्छ,त्यो भन्दा बढी भयो।त्यही पीडाले गर्दा उनको देब्रे पाटोमा चसक्क चस्क्यो।हृदयघात भए झैं भयो।
"हे बुद्ध!आजबाट म तिम्रो दर्शन र तिमीले देखाएको मार्गबाट बिमुख हुँदैछु।मैले हारें बुद्ध भगवान!मैले हारें।मेरो सिद्धान्तले हार्यो।मेरो प्रेमले हार्यो।मेरो इमानले हार्यो।मेरो सोझोपनले हार्यो।म जस्तो निष्ठावान अनुयायीले हार्नु तिम्रोले पनि हार्नु नै हो।मलाई माफ गर बुद्ध!"
यति भन्दै उनले गेरुवस्त्र फुकालेर साधारण ट्राउजर र टिसर्ट लगाइन्।गेरुवस्त्र्लाई प्लास्टिकमा पोको पारेर ढोगिन्।
"हे बुद्ध!आजदेखि र अहिलेदेखि नै म आनी रहिन!म आनी डोल्मा रहिन।सिर्फ डोल्मा मात्र।आवश्यकता अनुसार म पुनः तिम्रो शरण र चरणमा आउनेछु।यदि आउन सकिन भने मलाई जे सजाय दिनुछ देउ।"
केहीबेरमा इन्सपेक्टर निकै क्रोधित मुद्रामा उपस्थित भयो।
"ल अब भन जे जे भन्नुछ।नत्र तिम्रो खैरियत छैन।तिमी अब आनी रहिनौ।जे जे गरेपनि पाप लाग्दैन हामीलाई।सत्य कुरा भनिनौ भने बलात्कार गर्न पनि पछि हट्दिन बुझ्यौ?"
आनीले छातीमा हातले छोपेर इज्जत जोगाए झैं गरिन्।तर उसले स्पर्श भने गरिसकेको थिएन।
"सत्य कुरा भन्छेस् कि नाई?"
लट्ठीले पाखुरा र ढाडमा प्रहार गरियो।
"साला चोर!भन्दिनस्?मर्ने बिचार छ?"
दया-माया नराखीकन हत्केला र पैतालामा प्रहार गरियो।अत्याधिक पिटाइले उनलाई दुख्नै छोड्यो।नाकबाट खुन र आँखाबाट आँसुको बर्षात भयो।तैपनि इन्सपेक्टरले प्रहार गर्न छोडेन।अब उनलाई असाह्य भयो।मार खानु भन्दा बरु चोरीको आरोप स्वीकार्नु नै बेश लाग्यो।चुप लागेर समस्या सुल्झिने स्थिति देखिएन।
"हो हो हो।म चोर हुँ।मूर्ति चोर हुँ।बुद्धको अमूल्य मूर्ति मेरै अग्रसरता र सहयोगमा मेरो दाइले चोरेको हो।अहिले उ मूर्ति बेच्न बिदेश गएको छ।तर कुन देशमा गएको त्यो चाहिँ थाहा छैन।"
आनीले आफ्नै बिरुद्धमा गल्ती सहर्ष स्वीकार्दै बयान दिइन्।इन्सपेक्टले कुट्न छोडेर खुशीले गदगद हुँदै निकै ठूलो सफलता हात लागे झैं गर्दै बयान नोट गर्न थाल्यो।
"तिम्रो दाइको पूरा नाम?"
"किशोर लामा।"
"तिम्रो नाम डोल्मा शेर्पा,उसको नाम किशोर लामा कसरी मिल्यो?"
"किन हुन सक्दैन?"-आनी डोल्माले उल्टै प्रश्न गरिन्।
"किन चोरेको मूर्ति?"
"पैसा कमाउन।"
"पैसा कमाउन मूर्ति नै किन चोर्नुपर्यो?बेश्याबृति गरे त भैहाल्यो नि?"
"त्यो तिम्रो सरोकारको बिषय हैन।मूर्ती चोरीको जे सजाय छ,भोग्न तयार छु।मेरो ब्यक्तिगत बिषयमा दख्खल नदेउ।मलाई तँ जस्तो दानवसित कुरा गर्नु छैन।"
"साला बढ्ता बोल्छेस्?फेरि चिउरा दिनुपर्यो?जो चोर उसैको ठूलो स्वर?"
"सक्छ्स् भने मलाई गोली ठोकेर मार।मेरो छाती खुल्ला छ गोली थाप्न।हिम्मत छ?साला कुकुर!धेरै भुक्नुपर्दैन मेरो सामू।राक्षसको बध गर्न राक्षस नै बन्नुपर्ने रहेछ।"

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...