चन्द्र-सूर्य अंकित झण्डा बिर्सेर
तिमीहरु कसैले सूर्यमात्र बोकेका छौ
कसैले रुख मात्र बोकेका छौ
र कसैले हँसिया-हतौडा
सपनामा झैं बर्बराएका छौ।
अरुबेला मुख देख्नै गाह्रो
भेट्न खोज्दा पनि परिचय खोज्थ्यौ
आज भने घरदैलो कार्यक्रमको नाममा
आफ्नो परिचय दिँदै हिँडेका छौ
हामीले नचिनेका हौं र?
धेरै दिनपछि गाउँ छिर्दा कस्तो लाग्यो?
तिमीले बनाउछु भनेको पुल
तिमीले बनाउछु भनेको सडक
ल्याउँछु बनेको बिजुली बत्ती
खै कहाँ सम्म पुग्यो?
बिना सवारीसाधन
घण्टौं हिँडेर आउँदा
नदी तरेर आउँदा
कस्तो महसुस भयो?
हिजो तिमीले दिएकै आश्वासनले
तिमीलाई गिज्याएको भान भएन र?
एकपल्ट स्मरण गर त महोदय
बर्षौं पहिले पनि
आश्वासनको बीउ छर्दै
झूटको खेती गर्दै
भोटको फल टिपेको
जनलाई थाङ्नामा सुताएको
के बिर्स्यौ र तिमीले?
हामीले त सम्झिरहेका छौं।
हाम्रो केश कालो थियो
आज सफेद भैसक्यो
तर उस्तै छ गाउँबस्ती
उस्तै छन् गोरेटो
अनि उस्तै छन् पहाड
चुम्न सकेको छैन उज्यालोले
छेड्न सकेको छैन पक्की सडकले
हुनुपर्ने परिवर्तन केही भएनन्
तर परिवर्तन भैसके हाम्रो मन।
छातीमा हात राखेर
नढाँटीकन भन त
महलबाट झुप्रै झुप्राहरुको बस्तीमा छिर्दा
के देख्यौ तिमीले?
जनताको भत्केको सपना र
चुहिने छाना बाहेक?
जुन दिन
भुकम्पले भत्काएको घर बन्छ
चुहिने छानो टालिन्छ
राहदानीको सट्टा रोजगार थमाइन्छ
गाउँबस्ती झलमल्ल हुन्छ
गाडीको हर्न बज्छ
हो त्यही दिन
दिउँला तिमीहरुलाई एक-एक भोट।
No comments:
Post a Comment