जसरी धेरै कुरा हरु पनि एउटै बुँदाले भन्छ
कुनै मान्छेको चरित्र पनि उसको कुराले भन्छ।
खुल्ला गगनमा उडेको पंक्षीले के देख्यो होला खै
मैले संसार देखेको छु" पिंजडाको सुगाले भन्छ।
धेरै दिनसम्म साथ दिन सक्दिन म तिमीलाई
महिनौं देखि च्यात्तिएको मेरो थोत्रो जुत्ताले भन्छ।
ठेस लागे,ब्यवधान आए,भुमरीमा फसे पनि
उठ,हिँड अनि दौड,लर्खराएको खुट्टाले भन्छ।
मै हुँ भन्ने महान खेलाडीले पनि खेल बुझ्दैनन्
एकपल्ट जिते कैयौंपल्ट हराउँछु,जुवाले भन्छ।
भाग्य हत्केलाको रेखामा हुँदैन,हुन्छ पाखुरीमा
चाहे अनुसारको भाँडा बनाउँछु,कुमाले भन्छ।
No comments:
Post a Comment