बर्षौंदेखि
कानूनको गमलामा
निर्धक्क फुलाउँदै आएको थियो
एक इमान्दार मालीले
न्यायको सुन्दर गुलाब।
रविको स्पर्स्श संगै
समीरको चुम्बन संगै
मलजल गरिन्थ्यो
सुकेको हाँगा काटिन्थ्यो
झरेका पात हटाइन्थ्यो
र त मौलाइरहेथ्यो बिरुवा।
बेलाबखत
किटाणु प्रबेश गरी
जरा,कान्ड र पात खाँदा
बिरामी पर्दा बिरुवा
उपचार गरेको थियो
त्यही मालीले
किटनाशक औषधि छिटेर।
कल्कलाउँदो फूल फुल्दा
सुवास आएकै थियो
युवतीको केशमा झैं
सिउरिएको थियो
देशको छानोमा।
केही भमरा र माहुरी
केही चरा र मान्छे
छाएका थिए वरिपरि
चुसेका थिए रस
लिएका थिए बास्ना।
रस चुस्ने क्रममा
फूल टिप्ने क्रममा
काँडाले घोच्दा
आक्रोशित भए कोही
गाली गरे मालीलाई
"किन फूलको सट्टा काँडा फुलाइस्?"
रिसको झोकमा
माहुरी र भमरा खनिए
विवेकशील भनौंदा मान्छेले
पत्थर प्रहार गरे गमलातिर
राजनैतिक हतियारले
छिनाले ती फूल फुलाउने हातहरु
पूर्ण गरे निहित स्वार्थ
बिरुवाका उपचार गर्ने हातहरु
उपचारको खोजीमा भौतारिए।
टुक्रा-टुक्रा भए गमला
हत्या भए कोपिलाहरुको
खतरनाक किटाणुहरु सकृय भए।
केही खेलाडीहरु मिलेर
संकलन गरे हस्ताक्षर
लगाए महाअभियोग
रहेनन् ती साहसी हात
ती खेलाडीहरु उत्सव मनाउँदै
आफूलाई बिजेता घोषणा गर्दै
नृत्य गर्न थाले
घाइते गमलाको वरिपरि।
No comments:
Post a Comment