कल्पना,सपना र बिपना जस्ता कुराहरु बिल्कुल फरक कुरा हुन्।सोचेको अर्थात कल्पना गरेको कुरा यथार्थ जीवनमा पाउन पनि सक्छ र नपाउन पनि सक्छ।त्यस्तै सपनामा खीर खाएर न त जिब्रोले स्वाद पाउँछ न पेट नै अघाउँछ।सपना केवल सपना मात्र हो, र यसको बिपनासंग कुनै सम्बन्ध हुँदैन भन्नेहरु पनि धेरै छन्।एकाइसौं शताब्दीको बिज्ञान तथा प्रविधिको युगमा सपनासंग बिपनाको तुलना गर्नु मुर्खता नै ठानिन्छ।तर मैले देखेको सपनाले यथार्थ र सार्थक रुप लिँदै आएको थियो।शुरुमा त मैले पनि सपनालाई केवल भ्रामक कल्पनाको रुपमा लिने गर्थें तर पछि पछि मैले जे सपना देखें बिपनामा पनि त्यस्तै घट्ना घट्न थाल्यो।यसको यकिन मैले म १५ बर्षको हुँदा देखि नै गरेको थिएँ तर कसैलाई जानकारी दिएको थिईन।
एक रात मैले सपनामा गाउँको स्कुलमा सेना र माओवादी लडाकुहरु बीच दोहोरो भिडन्त हुँदा ७ जना लडाकु र ५ जना सेनाको घटनास्थलमै मृत्यु भएको सपना देखेको थिएँ।त्यो सपना सम्झेर म हप्तादिनसम्म डराइरहें।सपना देखेको ठिक १०औं दिनमा यथार्थमा पनि उस्तै घटना घट्यो र उतिनै संख्यामा मान्छेहरु मरे।
"ओइ उमेश,मैले १० दिन पहिले भिडन्त भएको सपना देखेको थिएँ।ठ्याक्कै त्यस्तै भयो।"-मैले मेरो साथी उमेशलाई सुनाएँ।
"नचाहिने कुरा नगरेस्।उल्लु बनाउन खुब जानेको छस्।"
मेरो कुरालाई मेरै असल साथीले नपत्याएपछि अरु कसैलाई सुनाईन।अरुको नजरमा पागल हुनु थिएन मलाई।
गृहयुद्धले देश अशान्त र अक्रान्त भैसकेको थियो।भौतिक संरचनाहरु ध्वस्त हुँदै थिए।२०५८ सालको बैशाख १ गतेको रात मैले पुनः उस्तै भयंकर सपना देखें।युवराज दिपेन्द्रकै अनुहार गरेको एक जना र अरु फरक-फरक अनुहारका मुखुण्डोधारीहरु नारायणहिटी राजदरबारमा प्रबेश गरेर एके-४७ चलाएर राजपरिवारका सबै सदस्यहरुलाई एकैछिनमा भुटिदिए।निद्राबाट झल्याँस्स ब्युझिंदा मुटु जोड-जोडले उफ्रिरहेको थियोे।त्यस्तो अनिस्टको संकेत गर्ने खतरनाक सपना देखेपछि राजा वीरेन्द्र लाई भेट्न दरबार गएँ तर भेट्न दिइएन।
"राजपरिवार खतरामा छ।मलाई एकपटक महाराजसंग भेट्न दिनुस्।"
मैले बिन्ती गरें तर सुरक्षाकर्मीले हाँसेर खिल्ली उडाए।निराश भएर फर्कें।पछि जेठ १९ गतेको दिन राजपरिवारको हत्या भए।संकेत त मैले पहिल्यै पाइसकेको थिएँ तर मेरो कुरा कसले पत्याइदिने?फलस्वरूप देशमा ठूलो अनिस्ट भयो।चाहेर पनि मैले केही गर्न सकिन।देश शोकमग्न भयो।रगतको खोलो बगिसकेको थियो।इतिहासको पाना रगतले रंगिसकेको थियो।
मैले त्यो सपनाको बारेमा धेरै जनालाई भनें तर उनीहरुले मेरो मानसिक स्थिति माथि प्रश्न गरे।कतिले त मानसिक अस्पताल जाने सल्लाह समेत दिए।मैले हार मानें।सपना प्रति वेवास्ता गर्न थालें।ज्ञानेन्द्रले राजगद्दी सम्हालिसकेका थिए।जनताको अधिकार खोसेर अराजक भैसकेका थिए।२०६१ साल असार महिनाको कुनै रात मैले देशमा राजसंस्था ढलेर गणतन्त्र आएको,माओवादीहरु शान्ति सम्झौतामा आएको र चुनाब भएर प्रचण्ड प्रधानमन्त्री भएको सपना देखेको थिएँ।कसैलाई सुनाउनुपर्ने आवश्यकता थिएन।समयको प्रतिक्षामा दिन बिताइरहें।नभन्दै ६२/६३ सालमा जनसागर उर्लिए।जनआन्दोलन भयो।मैले देखेको सपना विपनामा परिणत भयो।
२०७१ साल सकेर २०७२ सालको पहिलो रातको प्रहर थियो।जिन्दगीमा कहिल्यै नदेखेको भिमकाय र डरलाग्दो सपना देखें।धर्तीमा अचानक हलचल शुरु भयो।गाइबस्तुहरु बाँ-बाँ कराउन थाले।चराचुरुङ्गीहरु चिर्बिर गर्दै उड्न थाले।गाउँघरका ढुंगामाटाले बनेका घरहरु गर्ल्यामगुर्लुम ढल्न थाले।मान्छेहरु 'गुहार!गुहार' भन्दै चिच्याउन थाले।हजारौं मान्छेहरु पुरिए।त्यस्तै शहरका घरहरु पनि उस्तै किसिमले हल्लिन थाले।कच्ची घरहरु भत्केर मुश्लो निस्किन थाले।धरहरा चढेका मान्छेहरु धरहरासंगै तल खसे।त्यसपछि कोही भागेर टुँडिखेलमा र कोही खेतमा सुत्न थाले।ब्युँझिंदा मेरो मुटु फुट्ला जस्तै गरी धड्किरहेको थियो।
"हे भगवान!आज मैले जस्तो खतरनाक सपना देखें।अहिलेसम्म देखेको सपना पूरा भयो तर यो सपना पूरा नहोस् हे भगवान।कहिल्यै पूरा नहोस्।"
पूरै रात भगवान पुकार्दै ठिक्क भयो।सुत्नै सकिन।मलाई डर त यो कुरामा थियो कि कतै त्यही रात पृथ्वीमा हलचल आउँछ कि।धन्न त्यो रात कुनै भुकम्प आएन।भोलिपल्ट सबेरै उठेर मैले त्यो सपना घर परिवारलाई सुनाएँ।सबै त्राही-त्राही भए।त्यही दिनै मैले घरको तल्लोपट्टी एउटा सानो गोठ जस्तो छाप्रो बनाएँ र सबै जना त्यही सुत्न थाल्यौं।गाउँलेहरुलाई पनि मैले 'ठूलो भुकम्प आउने वालामा छ' भनेर सजक गराएँ।कसैले पत्याए र कसैले पत्याएनन्।उल्टै मेरो खिल्ली उडाए।५ परिवारले भने मेरो कुरा पत्याएर छाप्रो हालेर सुत्न थालेका थिए।कतिपयले त मेरो नामै "बहुला" राखेका थिए रे,मैले अरुको मुखबाट सुनेको थिएँ।भीरमा जाने गोरुलाई राम-राम मात्र भन्न सकिन्थ्यो,काँध हाल्न सकिन्नथ्यो।बिचराहरुको व्यबहार देखेर मलाई दया लाग्न थालेको थियो।कतै पहिलेको झैं मेरो सपना साँचो भैहालेमा उनीहरूको खैरियत थिएन।तैपनि अरुको भलो नै चाहन्थें र सकेसम्म धेरै जनालाई सम्झाएँ,जनचेतना जगाएँ।मुख्य कुरा त म गरिब र बेरोजगार थिएँ।त्यसैले मेरो कुरामा कमैले ध्यान दिन्थे।मलाई देखेर मान्छेहरु बिनाकारण पनि हाँस्थे र उडाउँथे।मैले भावी दिनमा आउन सक्ने भुकम्पको बारेमा छिमेकी जिल्ला सिन्धुपाल्चोक,रामेछाप र काभ्रेपलान्चोक तिर पनि जनचेतना जगाउँदै हिंडें।कतिले मनन गरे या गरेनन्,थाहा भएन।"हाम्रो गाउँको पागल त उता पनि पुगे रे" भनेर मनोरञ्जन लिन्थे रे।तर अरुले जेसुकै भनेपनि मलाई केही फरक परेन।म आफ्नो धर्म निभाउनमै ब्यस्त भएँ।म छिमेकी जिल्ला घुमेर आउँदा कसैले मेरो परिवारलाई भड्काइसकेको रहेछ।उनीहरू घरमै सुत्न थालेका थिए।मैले कराएर,थर्काएर पुनः छाप्रोमै सुत्न लगाएँ।
"घरको लोग्नेमान्छे सद्धे नभएपछि दु:ख पाइदोरहेछ बुहारी!कहाँ बाट यस्तो कुलांगारलाई जन्म दिएछु।"
मैले नसुन्ने गरी मेरी आमाले मेरी श्रीमतीसंग भन्दै हुनुहुन्थ्यो।मैले सुनिहालें तर प्रतिकृया दिईन।आमाले जे भने पनि मान्य थियो मलाई।बश म त सबैको भलो चाहन्थें।दिनहरु सामन्य तवरले बितिरहेका थिए।बैशाखको १२ गतेको दिन मध्यान्हको ठीक १२ बजेको थियो।धर्तीमा हलचल हुन थाल्यो।मेरो घर त एकै मिनेटको कम्पनले गर्ल्याम्मै ढलिहाल्यो।अरु २ जना छिमेकीहरुको घर पनि उत्तिनै बेला ढले।धन्न मान्छेलाई केही भएन।त्यसपछि त पटकपटक पराकम्पन आउन थाले।क्रमशः घरहरु चर्किन थाले,भत्किन थाले।सबैजना पालमा बस्न थाले।महिनौं दिनसम्म यस्तै प्रकृया चलिरह्यो।पराकम्पन नआएको बेला खतरा मोलेर सबैले खानेकुरा र भाँडाकुँडा निकाल्न भ्याए।दाउरा बटुलेर खान पकाएर जीवन गुजार्न थाले।नपाउनु दु:ख पाए।सास्ती बेहोरे।बिस्तारै मान्छेहरुले मेरो बारेमा सकारात्मक टिप्पणी गर्न थाले।इज्जत गर्न थाले।कतिपय त मेरो हालखबर सोध्न आए।गाली गर्नेहरुले नमस्कार गर्न थाले।
रामेछाप र सिन्धुपाल्चोकमा धेरै जनधनको क्षेती भएको खबर आयो।देशभरिमा जम्मा १५ हजार भन्दा बढी मान्छे भुकम्पमा परेर मरेको समाचार प्रसारण भयो।ती दु:ख र पीडाहरुको माझमा मैले खुशीको समाचार पनि सुनें।मैले गर्दा कतिपयको जिन्दगी जोगिएका रहेछन्।म धन्यवादको पात्र भएँ।भुकम्प प्रभावित जिल्लाको लागि भनेर धेरै बिदेशी राष्ट्रहरुले सहयोग गर्ने प्रतिबद्धता जनाए।धेरै आर्थिक सहयोग देशमा भित्रियो।पीडितहरु खुशी भए।घाउमा मलमको काम गर्यो राहतको उद्धोषले।तर सरकारको कार्यशैली कछुवाको गतिमा बढेकोले पीडितले कुनै राहत पाएनन्।किस्ताबन्दीको नाउँमा जनताले सास्ती खेपे।राहतको आशा मरिसकेको थियो।आफ्नै खर्चले स-साना घर बनाएर काम चलाउन थाले।
तर अब देख्ने सपना मैले निकै रोमाञ्चक र रचनात्मक देख्न थालेको थिएँ।प्रत्येक रात मैले एकै खालको सपना देख्न थालें।मेरो सपना अनुसार मैले मोटरसाइकलको इन्जिन प्रयोग गरेर आकाशमा उड्ने एक प्रकारको वायुयान बनाउँथें।त्यो यानमा १० जना मान्छे लिएर कहिले सगरमाथा,कहिले धौलागिरी त कहिले माछापुच्छ्रे र कंचनजंघा हिमालतिर घुम्न जान्थें।शुरुमा ५ लिटर पेट्रोल हालेपछि माथि निकै उचाइमा पुगेपछि हावाको सहयताले चल्थ्यो।खाना र पानी बोकेर गएपछि जति घण्टा पनि स्वतन्त्रपूर्वक चल्थ्यो।शुरुका दिनहरुमा सपनाको बारेमा खासै वास्ता गरिन किन कि त्यो सपना पूरा हुने कुनै सम्भावना देखेको थिईन।तर पछि-पछि भने त्यस्तै खालको वायुयान बनाउने इच्छा र उत्सुकता जाग्यो।सपनालाई साकार पार्न डेढ लाख पर्ने मोटरसाइकल किनेर ल्याएँ।केही दिन चलाएर रहर पुगेपछि मोटरसाइकलको बाहिरी आवरण निकालेर फालें।मेरो अनौठो हर्कत देखेर फेरि एकपटक मान्छेहरूले मलाई खुस्केको मान्छे नामाकरण गरे।पागलको बिल्ला भिरेर बानी परेको मलाई के नै फरक पर्थ्यो र!सपनामा बनाएको तरीकाले यान बनाउन थालें।
"आँखा बेचेर चश्मा किन्ने मान्छे।"
"कि यो मान्छे महान हो,कि महापागल हो।"
"यसले केही गर्ला जस्तो छ।"
"ऋण काढेर मोटरसाइकल किन्यो,दुई दिनमै थोत्रो बनायो।"
मेरो कार्य देखेर मान्छेहरु मेरो वरिपरि झुम्मिएर अनेक प्रतिकृया र टिकाटिप्पणी गर्न थालेका थिए।उनीहरूको कुरा एउटा कानले सुनेर अर्को कानले उडाउँथें।हरेक रात उस्तै सपना देख्ने भएकोले यान बनाउनमा मलाई कुनै गाह्रो भएन।मुख्य समस्या भनेको यान उड्ला कि नउड्ला भन्ने थियो।लगातार छ महिनाको मिहिनेतले यान त बनाएँ तर आकाशमा उडाउनलाई शुरुमा ५ लिटर डिजेल चाहिएकोले बजार गएर किनेर ल्याएँ।यानमा डिजेल भरेर पूजापाठ गरें।त्यो दिन छिमेकी गा.बि.स. र जिल्लाहरुबाट पनि हेर्न आएका थिए।
"जाबो एस एल सी त उतीर्ण नगरेको मान्छेले बनाएको यान खै के उड्ला र?"
"मलाई चाहिँ यो यान उड्ला जस्तो लाग्दैन।"
"नपत्याउने खोलाले बगाउँछ है साथी हो।"
"उडे पनि एकदुई मिनेट उड्ला।त्यसपछि यो मान्छे खसेर मर्छ।"
मान्छेहरु भीडबाट विभिन्न थरीका तर्क गरिरहेका थिए।सकारात्मक भन्दा नकारात्मक तर्क गर्नेहरूको जमात थियो।सफल या असफल जे भएपनि मलाई मतलब थिएन।मैले आफ्नो सन्तुष्टि र आत्माबिश्वासको कारण त्यो यान बनाएको थिएँ।उडाउन नसकेपनि मेरो डेढ लाख रुपैयाँ र छ महिनाको परिश्रम त खेर जाने थियो।त्यो भन्दा बढ्ता घाटा थिएन।पीर लिनुपर्ने कुनै कारण थिएन।बरु मेरो हिम्मत र आत्माबिश्वास बढिरहेको थियो।यानलाई ढोगेर भित्र पसें।
"मसंग उड्ने कोही हुनुहुन्छ?"-मैले भीडतिर प्रश्न तेर्स्याएँ।
"अकालमा मर्नु छ र?"
"पहिले तिमीले उडाएर देखाउ अनि हेरौंला।"
"रेबिज लागेको कुकुरले टोकेको छ र हामीलाई?"
केही मान्छेले यस्तै-यस्तै बोले र प्रायः जसो मौन बसे।
मैले यानलाई रनवे मा कुदाएँ।मेरो आफ्नै बिबेक प्रयोग गरेर बनाएको गेयरमा राखें।एकै झट्कामा यान १० मिटर माथि पुग्यो।सबैले हात हलाएर बिदाइ गरिरहेका थिए।मैले पनि प्रत्युत्तरमा हात हल्लाएँ।फेरि अर्को गेयरमा राखें।वायुयान झनझन माथि-माथि उड्न थाल्यो।लगभग ५०० मिटरको उचाइमा पुग्दा सबै जना होहल्ला गर्न थाले।मान्छे र घरहरू स-साना देख्न थालें।दुई किलोमिटरको उचाइमा पुगेपछि डिजेलको श्रोत बन्द गरें।इन्जिन हल्का भयो।यान चील जस्तै उड्न थाल्यो।सबै खिर्की स्वचालित बटनबाट बन्द गरें।मेरो खुशीको सीमा नै थिएन।मैले आफूलाई बैज्ञानिक ठानें।सपनामा देखे जस्तै शुरुमा सगरमाथाको सफरमा निस्कें।सगरमाथा लाई चार पाँच फन्को मारें।त्यो भन्दा पहिले सगरमाथा गएको र देखेको थिइन।मज्जाले दृश्य अवलोकन गरेर अघाएँ।त्यसपछि सीधै धौलागिरीको यात्रामा लागें।बिना इन्धन हावाको सहयताले इन्जिन चलिरहेको थियो।धौलागिरी लाई पनि ५ फन्को मारेर माछापुच्छ्रे र कंचनजंघातिर प्रस्थान गरें।ती हिमालहरुको काखबाट पोखराको दृश्य हेर्दा म स्वर्गमै पुगेको भान भयो।धेरै जस्तो समय मैले त्यही बिताएँ।साँझको ५ बजिसकेको थियो।मोबाइल बाट त्यहाँको दृश्य कैद गरें।प्रमाणस्वरुप केही सेल्फीहरु खिचें।जसरी पनि अँध्यारो हुनु अगावै घर फर्किनु थियो।नौलो उमंग लिएर दोलखातर्फ लागें।घर पुग्नु पहिले गौरीशंकर हिमालको परिक्रमा गरें र पुनः आफ्नो गन्तव्यतिर उड्न थालें।नभन्दै साँझ झमक्क पर्दा गृह-आकाशमा पुगें।गेयर परिवर्तन गर्दै गएँ।घर र मान्छेहरु देखिन थाले।तल-तल झर्दै गएँ।सपना साकार हुँदै थियो।सपना जस्तै लागिरहेको थियो।रनवेमा यानलाई सुरक्षित अवतरण गरें।मान्छेको भीड पहिलेको भन्दा दोब्बर भैसकेको रहेछ।यानको गति घटाउँदै लगें र अन्ततः ब्रेक लाएर रोकें।संसार नै जितेको आभास भयो।बिश्व युद्धमा सामेल भएर फर्के झैं लाग्यो।सबैजना फूलमाला लिएर म तर्फ बढे।फूलमाला र खादाले मेरो गला भरियो।गहबाट खुशीको आँसु बर्सिन थाल्यो।सबैजना संग खुशी साट्न लागें।मेरो सफलता र जीतको खुशीयालीमा भोजको भव्य आयोजना भयो।खानपान सकेपछि जोड-तोडले नाचगान भयो।अन्ततः मेरो सपना साकार भयो।सपना साँचो भयो।मेरो सफलताको समाचार देशभरी फैलियो।संचारका विभिन्न माध्यममा अन्तर्वार्ता दिएँ।एकाएक म सेलिबृटी भएँ।चर्चाको शिखर चुम्न सफल भएँ।म कहाँ वायुयान बनाउने तालिम लिन हजारौं मान्छेहरु आउन थाले।लाखौं जनाले यान बनाए।सडकमा गुड्ने सवारी साधनहरु ओझेलमा परे।भाडा तिरेर कमैले यात्रा गरे।ठाउँ-ठाउँमा बिमानस्थलहरु बने।हवाइजहाजलाई जस्तो ठूलो क्षेतफल नचाहिने भएकोले सानो क्षेत्रफलमा पनि बिमानस्थलहरु बने।स्वदेशी तथा बिदेशी पर्यटकहरु सजिलैसँग घुमघाम गर्न थाले।राम्रो कदम भएकोले यान बनाउन सरकारबाट कुनै रोकतोक भएन बरु प्रोत्साहन मिल्यो।मेरो नाम बिदेशमा समेत चर्चित भयो।अमेरिकाले मलाई भिसा दिने भयो तर मैले स्वदेशमै रहेर देश बिकासमा ईँटा थप्ने प्रतिबद्धता जनाएँ।अरु देशहरुमा पनि मेरो माग बढ्यो।कहिलेकाही समय मिलाएर जापान,कोरिया,चीन र बेलायतमा गएर तालिम दिएँ।मेरो यानले अत्याधुनिक हवाइजहाजलाई समेत टक्कर दियो।मैले "संग्राम वायुयान" नामक कम्पनी खोलेर लाखौं जनालाई रोजगार दिएँ।केही सालमै म बिश्वको दशौं धनी ब्यक्तिहरुमा पर्न सफल भएँ।संग्राम वायुयानले अन्तरास्ट्रिय उडान समेत भर्ने मौका पायो।सस्तो र सुलभ भएकोले सबैले रुचाए।हेर्दाहेर्दै नेपालले प्रविधिको क्षेत्रमा छलाङ मार्यो।प्रत्येक घरपरिवारमा एउटा यान राख्न शुरु भयो।यातायातको क्षेत्रमा गर्ने लगानी र मेरो कम्पनीबाट भएको मुनाफा बिजुली र अन्य बिकासमा गरियो।यानको आविष्कार भएको दुई बर्षमा नेपाल स्वीट्जरल्यान्ड जतिकै विकसित भयो।कलकारखाना र उध्योगहरु खोलिए।नेपालीहरुले स्वदेशमै रोजगार पाए।कोही पनि रोजीरोटीको लागि बिदेशिन बाध्य भएनन्।विकसित देशहरुबाट समेत मान्छेहरु रोजगारको लागि नेपाल आउन थाले।
अन्तरास्ट्रिय रुपमा ख्याती कमाए संगै मैले सपना पनि अन्तरास्ट्रिय नै देख्न थालें।एकरात अमेरिकाले सिरियामा हमला गरेको सपना देखें।केही दिनपछि हमला गरेरै छाडे।बिषालु रासायनिक ग्याँसले धेरै जना मरे।राष्ट्रिय सपना देख्दा त मैले खतराबाट बचाउन सक्थें तर अन्तर्राष्ट्रिय खतराबाट बचाउन सम्भव थिएन।
केही साल मैले त्यस्तो भयंकर सपना देख्न छोडेको थिएँ।उतिबेला विश्वमै त्यस्तो कुनै अप्रत्याशित घटना घटेन।संसारमै शान्ति र अमनचयन कायम हुँदै थियो।तर सुखको दिन धेरै टिक्न सकेन।एकरात मैले संसारकै र जिन्दगीकै सबैभन्दा भिमकाय र भयावह सपना देखें जुन सपनाले संसार नै ध्वस्त हुनेतर्फ संकेत गर्थ्यो।त्यो सपना थियो-तेश्रो विश्वयुद्धको।अमेरिका र उत्तर कोरिया बीच शुरु भएको विवाद अन्ततः विश्वयुद्धमा परिणत भयो।संसारका देशहरु दुई खेमामा बिभाजित भए।धेरै देशले अत्याधुनिक आणविक हतियार प्रयोग गरेर विकसित र नामी शहरहरु ध्वस्त पार्न थाले।अमेरिकाले आफूसँग भएको शक्तिशाली अस्त्र प्रयोग गर्यो।पृथ्वीमा भ्वाङ पर्यो।उतर कोरियाले पनि आफ्नो शक्तिशाली अस्त्र प्रयोग गर्दा अर्को भ्वाङ पर्यो।रसियाले सबैभन्दा खतरनाक क्षेप्यास्त्र फाल्यो र पृथ्वी पूर्णरूपमा ध्वस्त भयो।संसारका भौतिक संरचनाहरु तहसनहस भए।पृथ्वीमा मानवीय अस्तित्व समाप्त भयो।सपनाबाट ब्युँझेपछि एकछिन त मेरो होसै उड्यो।रोएँ,चिच्याएँ तर मैले केनै गर्न सक्थें र!त्यतिबेला सम्मको तथ्यांक र रेकर्ड अनुसार देखेका सबै सपना साँचो भएका थिए।त्यो सपना पनि साँचो हुन्छ भन्ने लाग्यो।मैले पत्रकार सम्मेलन गरेर पृथ्वीमा अनिष्ट हुँदैछ भनेर मन्तव्य ब्यक्त गरें।मलाई संसारमा धेरैले बैज्ञानिक भनेर चिन्दारहेछन्।कतिले बिश्वास गरे र कतिले गरेनन्।तर मैले नेपालीहरुलाई भने बिश्वास्त पारिसकेको थिएँ।सबै सजक भएर रहन थाले।घरमा सुत्न छोडेर मान्छेहरु "संग्राम वायुयान"भित्रै सुत्न थाले।नभन्दै केही दिनमै अमेरिका र उतर कोरियाको बीचमा झगडा शुरु भयो।मैले देखेको सपनाकै शैलीमा विश्वयुद्ध शुरु भयो।सबै नेपालीहरू संग्राम यानमा चढेर पृथ्वीको धरातल छोडे।युद्धको दोश्रो दिनै पृथ्वी ध्वस्त भयो।हामीहरु आकाशमै उडिरहेका थियौं।पृथ्वीमा धुवाँ र धुलो बाहेक केही देखिएनन्।हावाको माध्यमबाट चल्ने भएकोले यान जतिदिन पनि आकाशमा रहन सक्थ्यो।५ दिन भैसकेको थियो हामी उडेको।खाना र पानी सकिसकेको थियो।भोकले प्याकप्याक भयौं।नेपालीहरु उड्दै-उड्दै कहाँ-कहाँ पुगे-पुगे।हामीले फाट्टफुट्ट बिदेशीहरु पनि देख्यौं जो "संग्राम वायुयान"मै चढेका थिए।तलतिर हेर्दा बिस्तारै धुवाँ-धुलो कम हुँदै गयो।ढुंगा र माटोको समिश्रणबाट अर्को नयाँ ग्रहको उत्पति भयो।माथि उडेर पनि बाँच्न नसकिने स्थिति देखेर हामी तलतिर झर्न थाल्यौं।निकै तल झर्दा पनि कुनै घर र भौतिक संरचना हरु देखिएनन्।सम्म परेको धरातलमा अवतरण गरियो।ढुंगा-माटो राम्रोसँग नजमेको कारण पृथ्वी मरुभूमि जस्तै थियोे।कुनै जीवजन्तु र बोटबिरुवा बाँकी थिएनन्।कतै-कतै भाँचिएका बोटबिरुवा थिए र त अक्सिजन थोरै भएपनि बाँकी थियो।श्वासप्रश्वास गर्न निकै कठिन थियो।अवतरण गर्ने बित्तिकै पानीको खोजीमा लाग्यौं।अरु पनि धेरै जना अवतरण गरिसकेका थिए।निकै गहिरो खाडल खनेपछि अलिअलि पानी भेट्टायौं।कपडा च्यातेर चालेर पियौं।बिरुवाका जरा खोजेर रोप्यौं।खानाको अभावमा धेरै दिन बालुवा खाएरै बाँच्यौं।बिस्तारै खेतीपातीमा संलग्न भयौं।नेपालीहरू बिश्वमै छरिएर बस्न थाले।सिंगो पृथ्वी नै नेपालीको बस्ती भयो।विश्व नै नेपालीहरुको घर भयो।हामीले पृथ्वीको नाम फेरेर नेपाल राख्यौं।चारैतिर एउटै नारा गुञ्जियो-
"जय नेपाल!"
No comments:
Post a Comment