Friday, 31 March 2017

बचनबाण

        करिश्मा,राजेश र म भुवन बिद्यालय देखि कलेजसम्मका असल साथी थियौं।शुरुमा करिश्मा र राजेश खुबै मिल्थे ।राजेशकै माध्यमबाट म पनि करिश्माको नजिकको साथी भएको थिएँ।हामी एक-अर्कालाई परेका जस्तोसुकै समस्या पनि सजिलैसँग हल गर्ने गर्थ्यौं।राजेशले करिश्मालाई मन पराउँथ्यो र मैले पनि।उसको र मेरो प्रेम दौडमा मैले ओभरटेक गरेर जितें।उनलाई शुरुमा मैले प्रेम प्रस्ताव राखेर मनाउन सफल भएँ।करिश्मा र मैले संगै जिउने-मर्ने कसम खाइसकेका थियौं।तर राजेशसंगको उनको मित्रताले मलाई जलाइरहन्थ्यो।
         एकदिन मेरो मनमा अचानक के सवार भो,त्यो कहालीलाग्दो क्षण सम्झिंदा त्यसै-त्यसै बिरक्त लाग्छ।मैले बिहानै उठेर करिश्मालाई म्यासेज पठाएँ।
"तिमीलाई म भन्दा राजेश नै प्यारो भयो हैन?ठिकै छ,आजदेखि हाम्रो बीचमा कुनै सन्बन्ध रहने छैन।उसैलाई आफ्नो जीवन साथी बनाउनु।तिम्रो मुख मलाई कहिल्यै नदेखाउनु।"
          साँझतिर किन-किन करिश्मालाई भेट्न मन लाग्यो।दुई किलोमिटर हिंडेर उनको घर गएँ।मानिसहरूको जमघट थियोे।कौतुहल हुँदै उनको घरमा पुगें।
कोही भन्दै थिए-"बिचरी!सानै उमेरमा संसारबाट बिदा भई।"
भित्र जाँदा कसैलाई कात्रो ओढाइएको रहेछ।करिश्मा नै हुन् भनेर छुट्याउन गाह्रो भएन।उनका बाबा-आमा बिलौना गरेर रोइरहेका थिए।उनकी आमाले मलाई एउटा पेपर थमाईन्।
"भुवन,म तिम्रो थिएँ र सयौं जूनीसम्म हुनेछु।तर तिम्रो बचनबाण मैले सहन सकिन।सके अर्को जूनीमा भेटौंला।राजेश र म असल साथी मात्र थियौं।"
"नाइँ करिश्मा,तिमी मलाई छोडेर जान पाउँदिनौ।उठ करिश्मा,उठ।अप्रिल फूल मनाउन पाउँदिनौ मैले जस्तै।"
छेउमा भएको बिषको शिशी त मैले उठाएँ,तर उनी कहिल्यै उठिनन्।

अप्रिल फूल

केही जना मिलेर अप्रिल फूल मनाए।

एकजना लाई काँडा बिझेर शख्त घाइते।

Thursday, 30 March 2017

डिस्को र बार

कहिले डिस्को र कहिले बारमा हराउँछन्
टाटु खोपी मुन्द्री लाकोलाई मन पराउँछन्
गरीबका छोरीहरु बाख्रा चराउँदा गाउँमा
धनीका छोरीहरु शहरमा कुकुर चराउँछन्।

फेरि

जनता जनतामा टकराव हुँदैछ फेरि
असल नेताहरुको अभाव हुँदैछ फेरि
चोर नेतालाई सिंढी बनाएर चढाउने
नेपालमा स्थानीय चुनाव हुँदैछ फेरि।

रुप राम्रो

रुप राम्रो लाग्छ उनको,बानी पनि राम्रो लाग्छ
उनको साथमा दिउँसो र राती पनि राम्रो लाग्छ
लाग्दै लाग्दैन भनेको हजुर नराम्रो त केही पनि
मन परेको मान्छेको त आछी पनि राम्रो लाग्छ।

मान या नमान

मेरो कुरा मान या नमान,मज्जा नै लाग्छ
सुन्दरीको नजिक जान मज्जा नै लाग्छ
मनमा सजाइसकेको मान्छेको हातबाट
अरु के भनुँ,कुटाई खान,मज्जा नै लाग्छ।

लुकिरहन्छन्

नाजायज हर्कत गर्दै लुकिरहन्छन्
अमूल्य निर्णय गर्न चुकिरहन्छन्
गर्नेहरु चुपचाप चढ्दछन् शिखर
केही गर्न नसक्नेहरु भुकिरहन्छन्।

पानी भएर

पानी भएर तिमीलाई चिनी बनाउँछु
बाघ भएर तिमीलाई बघिनी बनाउँछु
मलाई माया गर्ने कोसिस नगर तिमी
नत्र म कृष्ण भएर गोपिनी बनाउँछु।

सम्झाउँदा

सम्झाउँदा पनि नमाने ठोक्न नपरोस्
चल्दै गरेको त्यो सास रोक्न नपरोस्
कलमको लडाइँ लाई दबाउन खोजेमा
बदला लिनलाई बन्दुक बोक्न नपरोस्।

Wednesday, 29 March 2017

तरकारीवाली

तरकारीवाली लाई चर्चित बनाए
उनैको बारेमा कविता,गीत बनाए
आज फेरि सुन साइँली भनिरहँदा
मनुष्यले मलाई अचम्मित बनाए।

धेरै घृणा

धेरै घृणा र थोरै प्यार बोकेका हुन्छन्
थोरै जीत र धेरै  हार बोकेका हुन्छन्
कतिपय मान्छे मुहारमा मुस्कान लिई
मनमा धारिलो हतियार बोकेका हुन्छन्।

एकीन

धेरै अध्ययन पश्चात एकीन भएको छ
मान्छे आजभोलि मुटुविहीन भएको छ
परिचालित हुँदा स्वार्थ र पैसाको लागि
मानव मानव नभएर मेशीन भएको छ।

प्रहार

प्रहार गर्यौ केही दिन मौन बस्नेछु
पर्ख कुनै दिन तिम्रै शीरमा खस्नेछु
घाइते बनाई छोड्यौ यो दुनियाँमा
अवश्य बिषालु सर्प भएर डस्नेछु।

माथिबाट

माथिबाट तलसम्म झार्न खोज्छन्
सकेसम्म खाल्डोमा पार्न खोज्छन्
निर्धो लाई भेट्टाए यहाँ मान्छे हरु
घरी-घरी तड्पाएर मार्न खोज्छन्।

हराएको छैन

हराएको छैन अझ फैलिँदै छु
प्रगतिको मार्गमा लम्किँदै छु
केही गरी देखाउन दुश्मनलाई
समयभन्दा अगाडि दौडिंदै छु।

गोमन

गोमन सर्प भई शब्दलाई डसेका छन्
भाषालाई खसाएर आफू खसेका छन्
बिडम्बनाको कुरा, अचेल साहित्यमा
खतरनाक भाइरसहरु नै पसेका छन्।

गाडीमा

नेताहरु चिल्ला गाडीमा
देश हिमाली र पहाडीमा
देश बिकास कसले गर्ने
नौजवान जति खाडीमा।

काखी च्याप्नेहरु

कसैको सुखमा काखी च्याप्नेहरु
पछाडी भने उसै लाई सराप्नेहरु
दुनियाँमा यतिसम्म स्वार्थी देखें
अरुको घर बालेर आगो ताप्नेहरु।

बाँचेसम्म

बाँचे सम्म दुनियाँ पछि पर्छन्
कर्मशील हातमा एसिड छर्छन्
दैव संजोग संसार छोडेर गए
असल थियो भनेर कुरा गर्छन्।

बातहरु

गरेर खुट्टा तान्ने बात हरु
गर्छन् मान्छे यहाँ घात हरु
देखाएर बन्दुक अनि बारुद
रोक्छन् सृजनशील हात हरु।

Tuesday, 28 March 2017

देखियो

सबैजना बिकास आउने आशामा देखियो
एकजुट नभई आ-आफ्नै पारामा देखियो।

वा वा र उ उ गरेर हान्छन् हिपहप र र्याप
गीतको मज्जा त लोक भाकामा देखियो

फूल-फूल भनेर पछाडि पर्छन् मान्छे हरु
यो बुझेनन्, उसको प्रेम काँडामा देखियो।

अचेल प्रेमी प्रेमिकाले कहाँ लुकाउँछन् प्रेम
न त मुटुमा देखियो न त आँखामा देखियो।

पिज्जा,बर्गर र के एफ सी मा के स्वाद छ र
असली स्वाद त नेपाली खानामा देखियो।

Monday, 27 March 2017

मार्नुपर्छ

नकारात्मक बिचारलाई पक्का मार्नुपर्छ
सम्झाएर पनि नमानेमा धक्का मार्नुपर्छ
आफू हिंड्ने मार्गमा बाधा बनेर उभिएमा
त्यस्ता लाई मैदानबाट छक्का मार्नुपर्छ।

Sunday, 26 March 2017

हिमाली पाखैमा

चेर्दुङ हिमाली पाखैमा
लाएर गाजल आँखैमा
कम्मर भाँचेर नाच्दछ्यौ
सेलो र नादिङ भाकैमा।

स्याउ झैं रातो गालामा
स्पर्श गर्दा पवनले
बेस्सरी जलन भएर
सहन सकेन यो मनले।
मोहनी मुस्कान छर्किंदा
मुर्छित भएँ मातले
मोहनी लायो मलाई त
मायाको मीठो बातले।

चाँप र गुराँस फक्रे झैं
फक्रेको तिम्रो जवानी
कान्छा र कान्छी मिलेर
लेखौं मायाको कहानी
जिन्दगी संगै बितौंला
चौंरी र भेडी चराउँदै
सुख र दु:ख बाँडौंला
स्वर्गझैं ठाउँमा हराउँदौ।

कारण

      सुवासको इमान्दारिता, लगनशीलता,र बिचार देखेर म प्रभावित भएकी थिएँ।कलेजमा टप भएर पनि उसमा कुनै अहं थिएन।उसलाई मैले मनपराइसकेकी थिएँ।आफ्नो सपनाको  राजकुमारको स्वरुप सुवासमा देख्न थालेकी थिएँ।बिस्तारै हाम्रो मित्रता प्रगाढ भयो।मित्रताले एक बर्ष पार गरिसक्दा पनि हामीले एक-अर्कालाई मनको कुरा भन्न सकेका थिएनौं।अरु दिन झैं त्यो दिन पनि रेस्टुरेन्टमा गएर खाजा खाइसकेपछि उसले मलाई एक्कासी भन्यो-
"सबिना!म तिमीलाई हृदयदेखि नै माया गर्छु।के तिमी मलाई माया गर्छ्यौ?"
एकछिन केही भन्नै सकिन।अरुबेला कसरी आफ्नो मनको कुरा उसलाई भनुँ झैं लाग्थ्यो तर त्यो पल मेरो मस्तिष्क शून्यतामा फस्यो।
"मलाई केही सोच्न देउ न सुवास!"
"ठिकै छ नि सबिना।बरु चौबीस घण्टाभित्र आफ्नो निर्णय सुनाउ है?"-उसले हतास हुँदै भन्यो।
मैले शीर हल्लाएर समर्थन जनाएँ।एकछिन स्थिती साम्य भयो।
       सधैं उसले खुवाएको चिया-नास्ता खाँदा म लज्जित भैसकेकी थिएँ।मैले तिर्छु भनेपनि उसले कहिल्यै तिर्न दिएको थिएन।त्यो दिन भने मैले कसरी हुन्छ पैसा तिर्छु भन्ने लाग्यो।पैसा तिर्नु अगावै मैले उसको पर्स खोसिदिएँ।उसले आफ्नो पर्स फिर्ता लिने प्रयास गर्यो तर मैले गोप्य ठाउँमा लुकाएर दिईन।खाजा खाएको पैसा मेरै पाकेटबाट तिरें।पैसा तिर्न पाउँदा ठूलै युद्ध जिते झैं लाग्यो।
"लौ बाबा,तिम्रै जीत भयो,अब त मेरो पर्स देउ।"
"नाइँ दिन्न।आज मसंगै होस।"
उसलाई झनै सताउन मन लाग्यो।निकैबेरको प्रयत्न पश्चात् पनि पर्स नपाएर उ दिक्दार भैसकेको थियो।मलाई भने खुब रमाइलो लाग्दै थियो।उ लामो सुस्केरा हाल्दै ट्वाइलेट गयो।सधैं आफैं मात्र तिर्न खोज्ने उसको पैसा कति रहेछ हेर्न मन लाग्यो।उसको पर्स हेरेर पैसाको भन्दा पनि मलाई अर्कै कुरामा चासो बढ्यो।तत्कालै मैले एउटा महत्वपूर्ण निर्णय लिएँ।त्यो निर्णय सुवासलाई सुनाउनु थियो।उ ट्वाइलेटबाट आयो।
"सुवास!मलाई माफ गर,म तिमीलाई माया गर्न सक्तिन।"
"मैले त चौबीस घण्टाको समयसीमा दिएको थिएँ।किन हतारमा निर्णय लियौ?के भयो तिमीलाई अहिलेको अहिल्यै?के म तिम्रो लायकको छैन र?के कुरामा कमजोर छु म?"
"कमजोर छैनौ।सक्षम रहेछौ।"
"एकाएक मेरो प्रस्तावलाइ अस्वीकार गर्नुको कारण?"
"यही हो कारण।"
मैले उसको पर्समा भएको कन्डम देखाउँदै भनें।
        

Friday, 24 March 2017

अरवको नुनपानीले

अरबको नुनपानीले केश सबै फुलिसक्यो
हितैको मायालुलाई भेट्ने चाह चुलिसक्यो।

सयपत्री,सुनाखरी,चाँप फुलिसक्यो अरे
साथी,संगी,आफन्तले पनि भुलिसक्यो अरे
खेतबारीमा गहुँ,धान लह-लह झुलिसक्यो
हितैको मायालुलाई भेट्ने चाह चुलिसक्यो।

पिजा,बर्गर,के एफ सी खाएर नि अघाईन
ढिंडो,सिस्नु,गुन्द्रुकको स्वाद कतै भेटाईन
बन्द थिए आँखाहरु,हन्डरले खुलिसक्यो
हितैको मायालुलाई भेट्ने चाह चुलिसक्यो।

अस्तित्व

मरुभूमिमा फुलेका फूलहरु।

पानीको अभावमा ओइलिए।

भमराको चुम्बन बिना अस्तित्व समाप्त।

Thursday, 23 March 2017

अलपत्र

"भोलिको तपाईंको छुट्टी रद्ध भयो,अफिस  आउनुहोला।"

"नाइँ सर,मलाई जसरी पनि छुट्टी चाहिन्छ।"

"किन र,महत्वपूर्ण काम के छ र?"

"कति दु:खले मिलाएको बोतल अलपत्र हुने भो।"

हरियाली

हरियाली पाखा हरु उजाड लाग्न थाले सबै
डाँफेमुनाल नाच्ने वन शुन्य लाग्न थाले सबै
रुन थाल्यो मेरो मन कोइलीको गीत संगै
तिमी लाई खोज्ने गर्छु देखिंदैन तर कतै।

तामाकोशी,सुनकोशी सरी आँसु बगी दिन्छ
मुग्लान गाको मेरो मान्छे कठै कैले फर्किन्छ
अन्धकार लाग्नथाल्यो हिमाल भएपनि सेतै
यो जूनीमा तिमी संग हुन्न क्यारे मेरो भेटै।

झर्झर झर्ने झरनाहरु चुपचाप बसेका छन्
आँखाबाट ढिकाहरु संझनामा खसेका छन्
मायालुको पर्खाइमै जीवन जान्छ होला खेरै
आइ देउ प्रिय छिट्टै पर्खन्न म अब धेरै।

Wednesday, 22 March 2017

पुनर्जन्म

मेरी प्यारी!
तिमीलाई पृथ्वीबाट पत्र लेख्दैछु
अकालमै जानुपर्दा धेरै रोयौ होला
तर वर्तमान अस्तित्वको संसारमा
तिमी निकै हर्षित छ्यौ होला
तिम्रो बसाइँसराइको केही दिन
धेरै बिलौना गरें,खेद प्रकट गरें
तर गएकोमा गुनासो छैन
आज पनि म कहाँ खुशी छु र?
म बाँचेको संसार भन्दा
तिम्रै संसार स्वर्गतुल्य होला
किन कि त्यहाँ कुनै भय छैन
त्यहाँ कुनै रोग र शोक छैन
न त टि.बी.,न कुनै क्यान्सर
त्यहाँ त्यस्तो हुँदा-हुँदै
के तिमी पुनर्जन्म लिएर
पृथ्वीमा पाइला टेक्न चाहन्छ्यौ?

उन्नतिका नाममा खुलेका कारखाना
सुबिधाजन्य यातायातका साधन
प्रगतिका नाममा चुलिएका आकांक्षाले
फ्याँकिरहेका छन् प्रदुषित ग्याँस
गाह्रो परेको छ हामीलाई श्वास फेर्न
यस्तो कठिन परिस्थिति देखेर
के तिमी पुनर्जन्म लिएर
पृथ्वीमा पाइला टेक्न चाहन्छ्यौ?

बिकासका नाममा बनाइएका सडकहरु
दुई दिनमै भत्किएर अलपत्र हुन्छन्
धुलो उडेर वायुमण्डल ढाकिँदा
लाग्छ,घनाघोर बर्षाको लागि
कालो मेघ मडारिएको छ गगनमा,
अक्सिजन लिने प्रयासमा हामी
कार्बनडाइअक्साइड लिइरहेका छौं
धुवाँ र धुलाका कणहरु खाइरहेका छौं
यस्तो रमिता देख्दा-देख्दै
के तिमी पुनर्जन्म लिएर
पृथ्वीमा पाइला टेक्न चाहन्छ्यौ?

सोझा,गरीब किसानलाई सिकाइएको छ
बिषादी बिना फुल्दैन फूल
लाग्दैन गतिलो फल
बढाउन सकिन्न आम्दानी
उन्नत जातको अन्न र फलफूलको नाममा
निलिरहेका छौं हामी मन्द बिष
घटाइरहेका छौं आफ्नै आयु
बिष पिउनलाई आउँछ्यौ तिमी पनि?
पुनः अल्प आयुमै मृत्युु स्वीकार्न
के तिमी पुनर्जन्म लिएर
पृथ्वीमा पाइला टेक्न चाहन्छ्यौ?

बैज्ञानिकहरु यतिसम्म सक्षम भए की
आफू जन्मेको धरातल ध्वस्त पार्न
बनाएका छन् आणविक अस्त्र
शक्ति प्रदर्शनको होडबाजी चलेको छ
संचार-माध्यममा आउन थाले-
फलानो देशले क्षेप्यास्त्र बनाए
फलानो देशको एटम बम बनाए
फलानो देश शक्तिशाली भए
धम्की आउन थालेको छ-
दुई मिनेटमा विश्व सिध्याउँछु
आँखा बेचेर चश्मा किन्नलाई
के तिमी पुनर्जन्म लिएर
पृथ्वीमा पाइला टेक्न चाहन्छ्यौ?

धेरै दिनदेखि बैज्ञानिकहरु
बडो लगनशील भएका छन्
बडो अध्ययनशील भएका छन्
धेरै नयाँ ग्रह पत्ता लगाए रे
सुन्दैछु,केही दिन पश्चात
पठाउँदैछन् रे क्षेप्यास्त्र
स्वर्गलाई हानेर खसाल्न
मेरी प्यारी!होसियार है!
अब तिमी कहाँ जान्छ्यौ भागेर?
स्वर्गको संसार छोडेर
के तिमी पुनर्जन्म लिएर
पृथ्वीमा पाइला टेक्न चाहन्छ्यौ?

खेतीयोग्य जमिन अतिक्रमण गरेर
गगनचुम्बी महल ठड्याएका छन्
उहिले झैं धान,आलु फल्दैनन्
स्वच्छ र निश्चल नदीहरुमा
दुर्गन्धित ढल जोडेका छन्
वाग्मती डम्पिङसाइड भएको छ
जलचरको अस्तित्वमा खेलवाड भए
यस्तै-यस्तै अन्याय हेर्नलाई
के तिमी पुनर्जन्म लिएर
पृथ्वीमा पाइला टेक्न चाहन्छ्यौ?

वनजंगल फडानी गरेर
बस्ती बसालेका छन्
मानवजातिले सिर्फ आफ्नो
स्वार्थ सिद्ध गरेका छन्
नाजायज हर्कतहरु बढिरहेछन्
वन्यजन्तुको अधिकार हनन भए
पंक्षीहरु उडेर बेपत्ता भए
हरियाली पाखा,पखेरु अचेल
क्रमश:उजाडिंदै छन्
बिरक्त लाग्दा भएका छन्
मरुभूमि जस्तै देखिन्छन्
यस्तै-यस्तै बिजोग हेर्न
के तिमी पुनर्जन्म लिएर
पृथ्वीमा पाइला टेक्न चाहन्छ्यौ?

हो प्रिया,अचेल पृथ्वीमा
यस्तै कृयाकलाप बढिरहेका छन्
प्लास्टिकको दुरुपयोग
अव्यवस्थित शहरीकरण
अव्यवस्थित औधोगिकरण र
थोत्रा सवारीसाधनको प्रयोगले
वायुमण्डल प्रदुषित हुँदैछ
पृथ्वीको तापक्रम वृद्धि भैरहेको छ
वर्षा हुन छोडेको छ
हिउँ पर्न छोडेको छ
हिमाल पग्लिन थालेका छन्
समग्रमा सिंगो पृथ्वी नै
नर्क तर्फ उन्मुख हुँदैछ
स्वर्ग छोडेर नर्कमा निस्सासिन
के तिमी पुनर्जन्म लिएर
पृथ्वीमा पाइला टेक्न चाहन्छ्यौ?

अचेलका मनुष्य अति शिक्षित छन्
अति विवेकशील र ज्ञानी छन्
खै कसरी पढाउन सक्छु र मैले
खै कसरी सिकाउन सक्छु र मैले
जति सुनाए पनि सुन्दैनन्
जति देखाए पनि देख्दैनन्
देखेर पनि नदेखे झैं गर्छन्
सुनेर पनि नसुने झैं गर्छन्
बुझेर पनि बुझ पचाउँछन्
मेरी प्यारी!
के तिमी सिकाउन सक्छ्यौ र?
के तिमी देखाउन सक्छ्यौ र?
के तिमी बुझाउन सक्छ्यौ र?
यी मनुष्यलाई सवक सिकाउन
के तिमी पुनर्जन्म लिएर
पृथ्वीमा पाइला टेक्न चाहन्छ्यौ?

Tuesday, 21 March 2017

संयुक्त गजल

एम्बुस थाप्यौ तिमीले जीवन धरापमा छ
जीवन भन्दा धेरै मेरो यो मन धरापमा छ
- माङ दोर्जे शेर्पा

तिमीले भन्छौ मलाई आफ्नो बनाउ भनी,
गरिबीले आज भोलि धड्कन धरापमा छ!
- दिनेश विकल्प

पूर्वाधारको विकाससँगै अघि बढ्ला भन्दा
विचरा यो मेरो देश त, झनझन धरापमा छ
- पूर्ण

तिम्रो झुटो कसममा आज मेरो जिन्दगी
संग-संगै अरु सारा बन्धन धराप मा छ
निर्जला
मन्द मन्द मुस्काउदै मुटु कैद पार्यो प्रिय
कसरी बाचु अब हाम्रो मिलन धरापमा छ।
सनम

देशमा कानुन छैन बलात्कारीलाई फासी
त्यसैले यहाँ जवानीको कन्चन धरापमा छ

मणि अन्जान

इतिहास

काँडा र पत्रदलको बीचमा
निर्धक्क फुलेको फूल झैं
कति सुन्दर र कामूक
कति कल्कलाउँदो र लोभलाग्दो
हो,त्यही फूल झैं गमक्क फुलेकी म
भमराहरु तछाडमछाड गरिरहेका
जवानीको प्रबेशद्धारमा थिएँ म
अनायासै लोचनहरु खुले
अहा!कति मीठो सपना
बिपनीमा आएकोमा पछुताएँ
सराप्न थालें बिहानीलाई
धिक्कार्न थालें यथार्थतालाई
खुरुरु दौडेर हेर्न थालें
ऐनाभित्र आफ्नै वास्तविकता
मुजा-मुजा परेको आकृति
गडिएका लोचनहरु
चाउरिएका स्तनहरु
पातलिएका गाला
अग्लिएका दुई डाँडा
सक्किएको बैँश
यी सब माथि नजर परेसी
डढेलो लाग्यो आशाको मुनामा
उजाड लाग्यो मनको जंगल
मुटुको कुनाहरुबाट
बिरहको ज्वारभारभाटा उम्लेर
छातीको धरातललाई बिस्फोट गरायो
दुई तलाउबाट निस्केका पानी
दुई डाँडा माथिबाट
झर्न थाले झर्नाको रुपमा
हतोत्साहित हुँदै भनें
"सक्किएछ जवानी"
"सक्किएछ जीवन"
"केही बाँकी रहेन
दुई मुठ्ठी सास बाहेक"
दुई थोपा रक्त बाहेक
हो,केही बाँकी रहेन।
अचानक अतीतका घटनाक्रम
मानसपटलमा छाउन थाले
इतिहासका पाना पल्टिए
महत्वपूर्ण घटना सम्झिन थालें
अविस्मरणीय क्षण खोज्न थालें
तर इतिहासका ती पानाहरु
खाली-खाली भेट्टाएँ
सम्झन लायकको केही भेटिएन
मैले त केही गरेकै रहेनछु
मैले सोचेको थिएँ-जीवन सक्यो
तर जीवन त शुरु भएकै रहेनछ
यही सोचेर म मुस्कुराएँ
मनमा खुशीको संचार भयो
दृढ अठोट लिएर मनमा
भन्न थालें-केही गरेर देखाउँछु
इतिहास लेखेर छोड्नेछु
पसलमा गएर किनें-कापी र कलम
लेख्न थालें-कविता।

Monday, 20 March 2017

मुस्का


        स्कुलबाट शुरु भएको हाम्रो प्रेम कलेजमा पुग्दा अझ बढी झ्याँगिन पुग्यो।हामी एक-अर्काका लागि परिपूरक नै भैसकेका थियौं।सुमिना र मेरो परिवारले समेत हाम्रो प्रेम सम्बन्धलाई स्वीकारेका थिए।एउटै कलेजमा संगै पढ्दा पढाईलाई बाधा पुग्ने ठहर गर्दै बी ए को पढाइको लागि हामीले क्याम्पस बदल्यौं।शनिबारको दिन मात्र हाम्रो भेटघाट हुन थाल्यो।भौगोलिक हिसाबले टाढा भएपनि हामी मनको एकदमै नजिक थियौं।मैले उनलाई मनको सिंहासनमा रानी बनाएर बसाइसकेको थिएँ।करीब एक महिना जति भैसकेको थियो हाम्रो साक्षात्कार नभएको।एकैचोटि प्रणय दिवसको दिन भेटेर एकले अर्कालाई झट्का दिने सल्लाह गरेका थियौं।मेरो योजना उनलाई बिहेको प्रस्ताव राख्नु नै थियो।नभन्दै प्रणय दिवस एकदिन मात्र बाँकी थियो।फोन गरेर लब स्टेशनमा भेट्ने सल्लाह गर्यौं।हामी भेटघाटका लागि आतुर थियौं।उनले मेरो बिहेको प्रस्ताव स्वीकार्नेमा निश्चिन्त हुँदै मस्त निंदाएँ।
         शहरका गाडीहरुको हर्नसंगै मेरा आँखा खुले।उनलाई सदाको लागि आफ्नो बनाउने सपना सजाउँदै तोकिएको समय भन्दा एकघण्टा पहिल्यै लब स्टेशनमा पुगें।उनको बाटो हेर्दाहेर्दै १० बजेको त पत्तै भएन तर त्यसपछिको एक-एक सेकेन्ड भारी हुँदै थियो मेरो लागि।सेकेन्ड,मिनेट र घण्टा हुँदै दिन बित्यो तर उनी आईनन्।फोन गरें तर लागेन।अन्य सामाजिक संजालमा पनि सम्पर्क हुन सकेन।पानी बिनाको माछा झैं तड्पिंदै रातको बाह्र बजे घर फर्कें।उनले मलाई धोका दिई।आफू भन्दा बढी माया गरेको मान्छेले धोका दिएपछि जिइरहनुको अर्थ देखिन।आत्माहत्या गर्ने निर्णय गरें।तर जन्म दिने बाबा-आमाको मायाले मलाई रोक्यो।जीवन नयाँ तरीकाले जिउन थालें।उनको यादलाई पूर्णरुपमा मनबाट निष्कासन गर्न सफल भएँ।
          हाम्रो बिछोड भएको एक बर्षपछि बाबा-आमाले बिहेको लागि जोड दिन थाल्नुभयो।बिहेको मिति तय भयो।कार्ड छापिए।कार्ड लिएर म आफन्त र छिमेकीहरुको घर धाउन थालें।धोकै दिएपनि सुमिनाको घर छुट्याउनु उचित नठानेर उनको घरमा गएँ।उनकी आमा आँगनमै हुनुहुन्थ्यो।
"आन्टी!मेरो बिहेको कार्ड लिनुस्।जसरी पनि आउनुपर्छ नि।"-मैले भनें।
"चिया पिएर जाउ न बाबु,धेरै दिनपछि आयौ त।आउ भित्रै।"- यति भनेर हातमा समाएर भित्र लानुभयो।
भित्र पुग्ने बित्तिकै मेरो छातीको बायाँ पाटो चस्केर आयो र हृदयघात भएर भुइँमा लडें।सुमिना भने भित्ताको एउटा फ्रेमभित्र बाट फूलको माला लाएर मुस्कुराउँदै मलाई नै हेर्दै थिइन्।

Saturday, 18 March 2017

५ सुत्रकथाहरु

सुत्रकथा-१:बुख्याँचा

पारीबाट सिकारी वारि आएर बाघको सिकार गरे।

महाकाली रंगियो।

बुख्याँचाहरु बीचमा ठिङ्ग उभिएका छन्।

सुत्रकथा-२:सहिद

धनाढ्या ब्यापारीमाथि कसैले गुद्धेनजर लाएर घर चोरेर भाग्ने क्रममा दुर्घटनामा परी चोरको मृत्यु।

हत्यारालाई कार्बाही र शहिद घोषणा गर्नुपर्छ भनेर आन्दोलन चर्काए।

अन्ततः सरकारले आन्दोलनकारीको सामू घुँडा टेकेर मृत ब्यक्तिलाई शहिद घोषणा गरी क्षतिपूर्ति स्वरुप दस लाख रुपियाँ दिने निर्णय।

सुत्रकथा-३:बिषबृक्ष

बिषबृक्ष रोपियो।

बिषफल फल्यो।

रोप्नेले अमृतको खोजी गर्यो।

सुत्रकथा-४:संग्राम

बाघ र चितुवाको महासंग्राम।

घटनास्थलमै बाघ ठहरै।

कारण:बाघ पिंजडाबाट उम्किएको थियो जो सिकार गर्न सक्षम थिएन।

सुत्रकथा-५:आगलागी

जवानीमा आगलागी भयो।

दमकल बोलाइयो।

त्यसपछि बोलाउनै परेन,आफैं आउन थाल्यो।

(माङ दोर्जे शेर्पा)

Friday, 17 March 2017

संग्राम

बाघ र चितुवाको महासंग्राम।

घटनास्थलमै बाघ ठहरै।

कारण:बाघ पिंजडाबाट उम्किएको थियो जो सिकार गर्न सक्षम थिएन।

धर्म परिवर्तनका कारण र रोकथाम

एकाइसौं शताब्दीको यो बैज्ञानिक युगमा कति त आस्तिक नभई नास्तिक भैसके।कतिले आफ्नो धर्म छोडेर अर्को धर्म मान्न थाले।आफ्नो संस्कृति र रितिरिवाज छोडेर बिदेशी संस्कृतिमा लिप्त हुन थाले।नेपालको नयाँ बर्ष बैशाख १ गते भन्दा अंग्रेजी नयाँ बर्ष जनवरी १ मान्न थाले।राणाकालको अन्त्यपछि बहुदलीय प्रजातन्त्र आएपनि देशमा उल्लेखनीय बिकास र परिवर्तन आउन सकेनन्।२०६२/६३ को जनाआन्दोलन २ पश्चात् नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्युदय भयो।यति धेरै परिवर्तन आइपछि नेपालको संबिधान २०७२ पनि जारी भैसकेको छ।धर्मनिरपेक्ष भनिएपनि धर्म परिवर्तन गर्न नपाउने भनेर स्पष्ट किटान गरिएको छ।तथापि धर्म मान्ने-नमान्ने र कुन धर्म मान्ने भन्ने कुरा बैक्तिक स्वतन्त्रता अन्तर्गत परे पनि धर्म परिवर्तनले समाजमा नकारात्मक असर पर्ने निश्चित छँदैछ।मुख्यत ४ कारणले गर्दा धर्म परिवर्तन तीव्र गतिमा अगाडि बढिरहेको छ।
(१)गरिबी
(२)अशिक्षा
(३)बेरोजगार
(४)देखासिकी
       गरीब हुनु अभिशाप पक्कै हैन।अथक मिहिनेत र लगनले पक्कै पनि गरिबीलाई भगाउन नसकिने हैन।तर मान्छे परिस्थितिको दास हुन्छ, आवश्यकताले मान्छेलाई स्वभाविकरुपले लालची बनाउँछ र पैसा देखेपछि महादेवको तीन नेत्र भने झैं लालचमा फसिहाल्छन्।पैसाको लागि मान्छेले हत्याहिंसा जे पनि गर्न पछि पर्दैनन्।बेश्यबृति यसको एउटा पारदर्शी उदाहरण हो।यस्तै बाध्यता र परिस्थितिको मूल्यांकन र प्रयोग गरेरै बिदेशीहरु पैसाको आडमा आफ्ना धर्म प्रचार गरिरहेका हुन्छन्।
      अशिक्षाले मान्छेलाई अन्धकार बनाउँछ।दुई आँखाहरु छर्लङ्ग देखिने भएपनि उसका भित्री अर्थात तेश्रो आँखा बिल्कुल बन्द जस्तै हुन्छ।कालो पट्टी बाँधेर बरु देख्न सकिएला,अशिक्षाले निस्पट्टता मात्र देख्न सकिन्छ।सही र गलत छुट्याउन सक्ने ल्याकतको अभाव खड्किएको हुन्छ।कुनै शिक्षित ब्यक्तिले देखाएको बाटोमै उनीहरू हिंड्न बाध्य हुन्छन्।यही अज्ञानताको फाइदा लुट्दै खुंखार र चलाख धर्म प्रचारकहरुले त्यस्ता ब्यक्तिलाई आफ्नो धर्ममा तान्न सफल हुन्छन्।
          मान्छे शिक्षित मात्र भएर उसका आधारभूत आवश्यकताहरु सहजै परिपूर्ति हुँदैनन्।ती आवश्यकता पूर्ण गर्न अर्थ अर्थात पैसा चाहिन्छ।पैसा कमाउन रोजगार चाहिन्छ।यस्तै बेरोजगार जनशक्तिको उपयोग गरेर धर्म प्रचारकहरु उनीहरूलाई केही तलब र भत्ता दिएर सजिलै आफ्ना सिंढी चढ्न सफल हुन्छन्।
       हाम्रो समाजमा देखासिकी एउटा महामारी रोग जस्तै द्रुतगतिमा बढिरहेको छ।एउटाले केही गरेर नाम र दाम कमायो भने अरु पनि त्यही गर्न खोज्छन्।एक जनाले नयाँ डिजाइनको घर बनायो भने अर्कोले सिकिहाल्छ।एक जना कलाकार भयो भने अरु पनि हचुवा तालमा हामफाल्छन्।त्यतिकै नेताले जनतालाई भेडा भनेका हैनन्।सही कुराको नक्कल र सिको गर्नु केही हदसम्म सकारात्मक भए पनि आफ्नो बाटो नै बिराउने गरेर दौडिनु एकदमै घातक र हानिकारक हुन्छ।त्यसरी नै एक जना चिनजानको मान्छे प्रलोभनमा परेर धर्म परिवर्तन गरेर जीवनशैली हाइफाइ देखेपछि अरु पनि त्यही धर्ममा हाम्फालिहाल्छन्।
    यी त भए धर्म परिवर्तन हुन सक्ने सम्भावित प्रकृयाहरु।संविधानको हिसाबले बैयक्तिक स्वतन्त्रताको कुरा आएपनि धर्म परिवर्तन नेपाली समाजको लागि घातक सिद्ध हुन सक्छ।बुद्धको प्रबचन इतिहासमा सिमित हुनेछन्।बौद्ध धर्म मात्र धरापमा नपरी हिन्दुहरुको रामायण र महाभारत कहानीमा सिमित हुनेछन्।बौद्ध धर्मका बुद्ध,हिन्दुका राम,कृष्ण,महादेव र पार्वती जस्ता नामहरु एकादेशका कथा हुनेछन्।धर्म परिवर्तनका कारणहरु त मैले उल्लेख गरिसकें।तर धर्म परिवर्तन लाई रोक्न निम्न तरीकाहरु अपनाउन सकिन्छ।
(१)सर्वप्रथम धर्म संग सम्बन्धित अक्षयकोष खडा गर्ने।
(२)गरीब तथा जेहन्दार बिद्यार्थीहरुलाई आवश्यकता अनुसार छात्रवृत्ति प्रदान गर्ने।
(३)बौद्ध धर्मको सवालमा सम्बन्धित धर्म मान्ने समाजमा बौद्ध बिद्यालयहरु खोल्ने।भाषा,कला,संस्कृति र धर्मको बारेमा शिक्षा दिने।
(४)बेला-बेलामा सभा-सम्मेलन गरेर आफ्नो धर्मको बारेमा प्रशिक्षण दिने र जनचेतना जगाउने।
(५)बेरोजगारहरुलाई लक्षित गरी केही सीपमूलक उद्योग र कलकारखाना खोलेर रोजगारको सिर्जना गर्ने।
(६)दैनिकरुपरुपमा आफ्नो भाषा र भेषभुसालाई प्रयोग गर्ने।
(७)धर्म परिवर्तनले क्षणिक खुशी दिए पनि दीर्घकालीन खुशी दिन सक्तैन भन्ने कुराको ज्ञान दिलाउने।
(८)धर्म परिवर्तन गरिसकेका सिमित ब्यक्तिहरुलाई समाजमा अपहेलना र घृणाको नजरले नहेरिकन सही र गलतको फरक बुझाइदिने।

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...