Wednesday, 15 March 2017

आनी-३

                       भाग-३

           आफ्नो कर्तव्य र गन्तब्यलाई डगमगाउने खालका निर्जलाको म्यासेज आउन छोडेकोमा आनी सुखको सास फेर्न थालिन्।कलह र कचकच सहेर जिउनु भन्दा शान्तिपूर्ण वातावरणमा बिना तनाव जिउनुमै आनीले सर्वोत्कृष्ट जीवन देखिन्।हुन पनि सबै नारीहरुले चाहेको जिन्दगी पनि शान्तिपूर्ण नै हो।शान्तिपूर्ण पथमा लम्किँदै गर्दा आइपरेका बाधा,अड्चन र चुनौतीहरुलाई स्वविवेकले  सजिलै सामना गर्न सकेकोमा आनी कहिल्यै नभएको खुशी भईन्।अरुबेला र अरुदिन झैं दिनको सर्व नित्यकर्महरुको समापन पश्चात् निद्रादेवीको काखमा विश्राम गर्न लागेकी थिई।उत्तिनै बेला धेरै दिनपछि निर्जलाको म्यासेज आयो।
"आनी!फेसबुक आउ।च्याट गरौं एकछिन।"
उनले म्यासेजको उत्तर नदिइकन मोबाईलको डाटा अन गरेर म्यासेन्जर खोलिन्।
"टसिदिले आनी!"
आज बिल्कुलै नौलो र पृथक ढंगले सम्मानजनक सम्बोधन गरेकोले आनी हर्षबिभोर हुँदै बोल्न थालिन्।
"टसिदिले,टसिदिले निर्जला!आज बाटो बिरायौ कि कसो?"
"तिमीले नसम्झेपनि मैले सधैं सम्झेकी छु नि आनी।"
"ल ल भैगो,मैले पनि बिर्सेकी चाहिँ छैन है।"
"आनी!नरिसाउने भए म तिमीसँग एउटा महत्वपूर्ण कुरा गर्न चाहन्छु।मुख्य कुरो म तिमीसंग माफी माग्न चाहन्छु।"
अनायासै निर्जलाको अनौठो कुरा सुनेर आनी एकछिन अलमल्ल परिन्।पाँच मिनेट जति सोचिरहिन् तर कुराको सार पत्ता लाउन सकिनन्।धेरै सोचेर समय खेर फाल्नु भन्दा सत्य-तथ्य उनैबाट बुझ्न चाहिन् उनले।
"के कुरा हो र त्यस्तो भनिहाल न निर्जला।माफी माग्नैपर्ने त्यस्तो के गल्ती गरेकी छ्यौ र तिमीले?"
"मलाई माफी दिन्छ्यौ भने मात्र भन्छु,नत्र भन्दिन।पहिले मलाई बाचा गर,माफ गर्छ्यौ भनेर।"
"ल बाचा भयो,यदि तिमीबाट गल्ती भएको रहेछ भने माफ गर्नेछु।"
"आनी! म बाघको खोल ओढेर हिंड्ने स्याल हुँ।मेरो बाहिरी रुप एउटा र भित्री अर्को छ।वास्तवमा म कायर हुँ।लाछी हुँ।पानीमरुवा हुँ।मुटु नभएको मुसा हुँ।मेरो हैसियत र औकात शून्य छ।नायकको मुखौटा लाएर हिंड्ने खलनायक हुँ।समग्रमा भन्नुपर्दा म नामर्द हुँ।"
"निर्जला,यो के भन्दैछ्यौ तिमी?तिमी एउटा नारी हौ,अनि कसरी मर्द हुन सक्छ त?मैले अझै कुरा बुझिन।गहिरो र घुमाउरो कुरा म बुझ्दिन हेर।सीधा-सीधा भन।"
"आनी!म कुनै स्त्री नभएर पुरुष हुँ।म फूल हैन,काँडा हुँ।नौनी हैन पत्थर हुँ।म धोकेबाज हुँ।म पाखन्डी हुँ।"
निर्जलाको कुराले उनको मनमा भयावह आघात पुग्यो।छातीमा चट्याङ बज्रे झैं लाग्यो।हृदयघात होला जस्तै भयो उनलाई।संसार फनफनी घुमे झैं लाग्यो।मस्तिष्क शून्य नै भयो।केही सोच्नै सकिनन्।तत्काल उनले निर्जलालाई जवाफ फर्काउनै सकिनन्।स्त्रीको खोल ओढेर नजिकिन खोज्ने पुरुषहरु वास्तवमै नपुंसक र नामर्द हुन् झैं लाग्यो उनलाई पनि।तर किन र कुन अभिष्ट पूर्ण गर्नलाई उसले त्यसो गर्यो भन्ने कुराको भेउ पाउन फलामको चिउरा चपाए जतिको कठिन मात्र भएन,असम्भव नै भयो।
"एउटी आनीसंग बोल्नलाई किन झूटकै साहारा लिनुपर्यो त?के उसले मलाई बुद्ध धर्म र दर्शनबाट अलग्याएर वैवाहिक सम्बन्धमा बाँध्न खोजेकै थियो त?कपाल खौरेर गेरुबस्त्र धारण गरेकी आनी उसलाई मन परेकै थियो र?"
आनीको मनको समुद्रबाट यस्तै-यस्तै कौतुहलताका छालहरु सल्बलाइरहेका थिए।तर ती छालहरु किनारासम्म भने आइपुग्न सकेनन्।तर मनलाई नियन्त्रण गर्न सक्षम आनीले एकैछिनमा त्यो बिषयलाई मनको एउटा कुनामा थन्काएर निद्रादेवीको काखमा मस्त निदाईन्।
       अर्को दिनको नित्यकर्मको समाप्तिपछि उनले हिजोको घटनालाई मानसपटलमा ताजकी बनाउन थालिन्।
"गल्ती भनेको मान्छेबाट भैरहने कुरा हो।गल्ती गर्नेलाई माफी दिन सक्नु नै महानता हो।यदि संसारमा गल्ती नै नहुने भए माफीको महत्व नै कहाँ हुन्छ र?पाप नहुने भए धर्मको पनि महत्व पनि कमै हुन्छ।त्यसैले यहाँ नकारात्मक र सकारात्मक पक्षहरुको सन्तुलन भैरहेको हुन्छ।मित्र त त्यतिकै पनि मित्र भैहाले नि,शत्रुलाई क्षमा दिन सक्ने नै संसारमा महान हुन्छन्।त्यसैले मैले महानता देखाउनै पर्छ।हृदयलाई संकुचित नभई फराकिलो बनाउनुपर्छ।मैले एकपल्ट निर्जला नामको पुरुषलाई माफ गर्नैपर्छ।"
यस्तै कुराहरु मनमा खेलाउँदै उनले उसलाई म्यासेज पठाइन्।
"ए निर्जला!किन तिमीले केटी बनेर प्रस्तुत हुनुपर्यो?ठिकै छ,जे हुनु भैगयो।बेलैमा तिम्रो बुद्धिको बिर्को खुलेछ र यथार्थ कुरा मलाई भन्यौ।ढिला गरेको भए म तिमीलाई कहिल्यै माफ गर्ने थिईन,बुझ्यौ?आखिर तिमी को हौ?तिमी मबाट के चाहन्छौ?तिम्रो वास्तविक नाम के हो?"
उनले म्यासेज पठाउने बित्तिकै जवाफ आएन।उसको जवाफको प्रतिक्षामा हप्तादिन बित्यो तर कुनै प्रतिकृया आएन।आठौं दिनमा उसको जवाफ आयो।
"आनी!मुरीका मुरी धन्यवाद तिमीलाई।के तिमीले मलाई साँच्चिकै माफ गर्यौ त?वास्तवमा तिमी जतिको महान नारी यो संसारमा अरु नहोलान्।आज म अत्यन्तै खुशी छु आनी।म तिम्रो फ्यान भएँ आजदेखि।म तिम्रो चरणमा पर्न चाहन्छु आनी।तिमी मेरो लागि देवी समान छ्यौ।तिमीलाई झुक्याएर पूर्ति गर्नुपर्ने मेरो कुनै पनि उदेश्य र अभिष्ट थिएन आनी।कसम!धरोधर्म।कुनै स्वार्थ थिएन ममा।यदि मैले पाप चिताएको भए अहिल्यै मरिजाउँ।यो दुनियाँमा सबै नारीको हृदय तिम्रो जस्तै विशाल भए कति जाती हुन्थ्यो हगि?के म तिम्रो साथी बनिरहन सक्छु?के तिमीले मेरो कर्तुतलाई सधैंको लागि मनबाट निष्कासन गरिसक्यौ?तिम्रो साथी भैरहन पाए म धन्य हुने थिएँ।मेरो जीवन सार्थक हुने थियो।मेरो नाम सोधेर लज्जित नबनाउ न आनी!मलाई 'पापी'को नामले चिन्दा र बोलाउँदा हुन्छ आजदेखि।निर्जला नामलाई सधैंको लागि बिर्सिदेउ आनी।आज आफ्नो असली नाम भन्ने हिम्मत ममा छैन।तैपनि मैले भन्नैपर्छ।मेरो नाम किशोर लामा हो आनी।घटिया किशोर,नामर्द किशोर,कहिल्यै उठ्न नसकिने गरी गिरेको किशोर।"
किशोरको म्यासेज देखेर आनी मन्द-मन्द मुस्कुराईन्।गल्ती जानेर गरोस् या अन्जानमा,तर कसैले आफूले गल्ती गरेको महसुस गरेर माफ माग्छ भने किन माफी नदिने?यही सिद्धान्तलाई मुलमन्त्र ठान्ने आनी आल्हादित नहुने कुरै भएन।निर्जलासंगको वार्तालाप सम्झेर एकछिन उनी कल्पनाको संसारमा अलपत्र परिन्।कारण-आनीले आफ्नो मनका सबै कुराहरु निर्जलालाई भनिसकेकी थिइन् जुन पुरुषलाई भन्न मिल्दैनथ्यो।भनिहाल्दैमा आकाश खस्ने र पातल दबिने पक्कै हैन तर एउटी नारीले अर्को पुरुषलाई भन्न असहज हुने बिषयबस्तु पनि हुन्छन्।आफूलाई मानसिक रुपले शक्तिशाली बनाउँदै आनीले ती सब अतीत बिर्सने प्रण गरिन्।दिउँसोको समय भएकोले शरिरिक र मानसिक स्फुर्ती ल्याउन एकछिन बाहिर निस्केर गुम्बदेखि तल्लो डाँडामा एक्लै टोलाउन थालिन्।
वसन्त ॠतुले धर्तीलाई हरियाली बनाइसकेको थियो।शिशिरले उजाड बनाएका रुखका हाँगाहरु बैशले चंचल भैसकेका थिए।कोइलीको कुहु-कुहु,चरीहरुको चिर्विर र ढुकुरहरुको ढुकुर-ढुकुर ध्वनिले वातावरण संगीगमय बनाएको थियो।सूर्यले दिएको पारिलो किरणले धरातल गर्मिएको थियो।गगन स्वच्छ र सफा थियो।कतै पनि बादलको एक टुक्रोसम्म देखिँदैनथ्यो।त्यो प्राकृतिक दृश्यको अवलोकन गर्दा लाग्थ्यो-स्वर्ग त्यही हो।एकहुल भंगेराहरु होहल्ला गर्दै बाँस झ्याङमा प्रवेश गरे।ती हुल भंगेरामध्ये केही उडेर आनीको समिपमा आए।ती केही भंगेरामध्ये एक जोडाले संभोग गरेर आफ्नो चर्तिकला देखाए।आनीको मुहारमा शरमका धर्साहरु प्रष्टै देखिए।दश सेकेन्ड जतिमा आफ्नो काम तमाम गरेर उनीहरू पनि बाँस झ्याङतिरै मिसिए।चरीहरु खुशी देखेर आनी पनि पुलकित हुँदै प्राकृतिक दृश्यबाट मनोरञ्जन लिईन्।करीब आधा घण्टाको बसाइँ पछि मौसममा अप्रत्याशित फेरबदल आउन थाल्यो।अचानक कालो बादल गगनमा मडारिन थाल्यो।बतासको गति बढ्न थाल्यो।प्रचण्ड ताप फ्याँकिरहेको सूर्यलाई बादलले छोपिसकेको थियो।चराचुरुङ्गीहरु भुरुरु उडेर झ्याङतिर सुरक्षित भए।आकाशमा बिजुली चम्किन थाल्यो।गड्याङगुडुङ आवाजले आनीको कानको जाली फुटाउनै खोज्यो।एकैछिनमा बररर थोपाहरु झर्न थाले।हेर्दाहेर्दै बर्षाले आफ्नो गति तेज बनायो।आँधीबेहेरी चल्न थाल्यो।आनीले आफूलाई बचाउन हतास हुँदै कदम बढाउन थालिन्।भारी बर्षाको सामू आनीले हार मानिन्।गेरुबस्त्र पूर्णरुपमा भिजेर रंग परिवर्तन भैसकेको थियो।मुसा पानीमा चोबालेको जस्तो शरीर लिएर गुम्बाभित्र प्रबेश गरिन्।सहयात्रीहरु उनलाई देखेर तीनछक्क पर्दै सोधे-
"आनी कहाँ गएकी थियौ तिमी?हामीले कति खोजेका।एक्लै निथ्रुक्कै भिजेर आउँदैछ्यौ त!"
आनीसंग उनीहरूको प्रश्नको कुनै जवाफ थिएन।उनी केवल मुसु-मुसु हाँस्दै आफ्नो बस्त्र फेर्न गईन्।कोठामा पुगेर बस्त्र फेरिसकेपछि उनले आफ्नो जिन्दगीलाई पनि मौसमसंग तुलना गरिन्।आफ्नो जिन्दगीका मोडहरु पनि मौसम जस्तै परिवर्तन भएको कुरा उनले सहजै स्वीकारिन्।
           निर्जला नै किशोर वा किशोर नै निर्जला भनेर एउटा रहस्यको पोका त खुल्यो।तर जति निर्जलासंग खुलेर कुरा गरिन्थ्यो,अब त्यसको सिमाना साँगुरिएको थियो।स्त्री र पुरुष बीच हुने एक प्रकारको सीमारेखा कोरिएको थियो।आनीका सबै गोप्य कुराहरु किशोरलाई अवगत भैसकेकै थियो  तर वर्तमानले बिगतका कुराहरुलाई बिस्मृत तुल्याउनै पर्ने थियोे।कतिपय सवालहरुमा बिगत चटक्कै भुलेर वर्तमानलाई अंगाल्नुमा नै सबैको हीत हुन्छ।आनीको जीवनमा पनि त्यस्तै भैदियो।हुनैपर्ने भयो।नत्र भने बिगतलाई सम्झेर लाज-शरमले जिउनुको कुनै मज्जा थिएन।निर्जलाको लिंग परिवर्तन संगै परिचय फेरियो।आनीसंगको सम्बन्ध फेरियो।सोच्ने शैली फेरियो।बोल्ने कुरा फेरिए।मित्रताको स्वरुप फेरियो।किशोरलाई गरिने सम्बोधन फेरियो।तर वास्तविकता जे थियो,त्यो फेरिएन,जस्ताको तस्तै रह्यो।अर्को दिनदेखि उनीहरुको बीचमा पहिलेको जस्तो र जतिको वार्तालाप भएन।एकले अर्कोसंग केही बिषयबस्तुमा छलफल गर्नुपर्दा धेरैपटक सोचेर मात्र बोल्नुपर्ने भयो।घनिष्ठ मित्रहरुको वार्तालाप दिनप्रतिदिन पातलिंदै गयो।तीन दिनको मौनतालाई भंग गर्दै किशोरले आनीलाई म्यासेज पठायो।
"एउटा फूल फुलाएर वयस्क बनाउनमा कति धेरै कुराहरुको लगानी हुन्छ थाहा छ आनी?शुरुमा त बोट जमिनमा रोप्नुपर्यो।मलजल र घाम पाउनुपर्यो।गोडमेल र स्याहार गर्ने माली चाहियो।उचित समयको पर्खाइपछि बल्ल कोपिला लागेर बिस्तारै फुल्दछ।वास्तवमा फूल प्रकृतिको एउटा सुन्दर र अमूल्य उपहार मात्र नभई ठूलो देन र सम्पत्ति पनि हो।यति धेरै परिश्रम,मलजल,हावा र घामको लगानी परिसकेपछि एउटा फूल अकालमा ब्यर्थै ओइलिँदा प्रकृतिमा अतुलनीय क्षति पुग्ने निश्चित प्रायः छ।वास्तवमा प्राकृतिक नियमलाई बिगार्न र बिथोल्न हुन्न।यदि कसैले सो नियमलाई बिगार्ने दुस्साहस गर्छ भने उसको पतन पनि अप्राकृतिक तरीकाले हुनेछ।हुन त अहिलेको एकाइसौं शताब्दीको बैज्ञानिक युगमा बैज्ञानिक हरुले प्रकृतिको बिपक्ष र बिरुद्धमा धेरै उपलब्धिहरु हासिल गरेका छन्।चन्द्रमा देखि लिएर मंगलग्रहमा पनि पाइला टेकेका छन्।एकै मिनेटमा विश्व नै ध्वस्त पार्ने आणविक अस्त्रहरुको आविष्कार गरेका छन्।एक देशबाट अर्को देश सिध्याउने मिसाइलहरु निर्माण गरेका छन्।प्रकृतिको नियम बिपरित जतिसुकै सफलता हासिल गरेपनि सब मानव लगायतका प्राणीहरुको लागि हानिकारक र बाधक अबश्य छन्।आँखा बेचेर चश्मा किन्नुको कुनै औचित्य छैन।घर जलाएर आगो ताप्नुमा कुनै फाइदा छैन,कुनै भलाई छैन।त्यस्तै मानव जातिका स्त्री र पुरुष पनि प्रकृतिकै देन हो,उपहार हो।सृष्टिकर्ताले उनीहरुलाई एक-अर्काका लागि निर्माण गरेका हुन्।उनीहरू एक-अर्काका परिपूरक हुन्।एउटै सिक्काका दुई पाटा जस्तै हुन्।एउटै रथका पांग्राहरु जस्तै हुन्।एक बिना अर्कोको अस्तित्व असम्भव प्रायः छ।एक-अर्का बिना बाँच्नै नसकिने त हैन तर बांच्नुको सार्थकता छैन।श्वास फेर्दैमा,धड्कन चल्दैमा र चलमल गर्न सक्नु नै जीवित भएको प्रमाण हैन।जीवित हुन त सार्थक ढंगले बाँचेको हुनुपर्छ।प्रकृतिले दिएको उपहार लाई हाँसीहाँसी उपयोग गर्न सकेको हुनुपर्छ।संसारमा सबैभन्दा अविकसित प्राणी-कीराफट्यांग्राहरुमा त सहवास हुन्छ भने मानव जातिको लागि कति महत्वपूर्ण र अर्थपूर्ण होला,तिमी आफैं ठन्डा दिमागले सोच त आनी!"
         किशोरको म्यासेज पढेर आनीको पारोको लेभल ह्वात्तै बढेर आयो।उनको रक्त उम्लेर पोखिनै लाग्यो।ब्यक्तिगत जीवनमा हस्तक्षेप गरेको देखेर उनले बुद्धको आदर्श र दर्शन नै बिर्सन पुगिन्।शालीन र नतमस्तक भएर रहनै सकिनन्।उनमा प्रतिशोधको भावना पैदा भयो।नेताले जस्तै भाषण छाँटेको उनलाई पटक्कै मन परेन।आनी जस्तो मान्छेलाई उपदेश दिएको देखेर मुर्मुरिन थालिन्।आखिर मनुष्य नै त हुन्,उनमा पनि त्यस्तो संवेदना प्रकट हुनु नौलो कुरा थिएन।उनले तत्कालै किशोरलाई म्यासेज पठाईन्।
"हरेक प्राणीको आ-आफ्नै जीवनशैली हुन्छ।मान्छे भैसकेपछि त झन कसरी जिउने भनेर कसैले सिकाउनु पर्दैन।तिमीलाई जसरी जिउन मन लाग्छ,त्यसरी जिए हुन्छ तर मेरो बैयक्तिक स्वतन्त्रता माथि धावा बोल्ने दुष्प्रयास नगर।बिहे एउटा बन्धन हो,जन्जीर हो।म कुनै पनि हालतमा त्यस्तो बन्धनमा बाँधिन चाहन्न।मैले अरु कसैलाई आफ्नो जीवनशैलीमा समाहित गर्न खोजेकी छैन।मलाई जे सही लाग्छ,मैले त्यही गरें।मलाई कसैको गुलाम बन्नु छैन।चुलो र चौका पोत्नु छैन।कसैलाई सुगा झैं पिंजडामा राख्नु छैन र आफू पनि बस्नु छैन।दु:ख,पीडा र आम समस्याहरुबाट मुक्त हुन चाहन्छु।स्वतन्त्र हुन चाहन्छु।बिहे गरेर यौन सुख प्राप्त गर्न सकिएला तर त्यो त क्षणिक मात्र हो।सपना जस्तै हो।मलाई दीर्घकालीन सुख चाहिन्छ।मलाई प्रेम र विवाहको खोल ओढेर फोहोरी खेल खेल्नु छैन।भमराले रस चुसेर फालिएको फूल झैं हुन चाहन्न।चाहिने बेला देखावटी चुम्बन दिने र प्रयोग पश्चात मूल्यहीन बस्तु झैं ठान्ने पुरुषहरूको चंगुलमा फस्न चाहन्न।बाहिर अर्कीसंग रासलिला मच्चाउने र घरमा आएर श्रीमतीको छाला काढ्ने पुरुषहरूको लागि एउटा गतिलो पाठ सिकाउन चाहन्छु।अनि देखाउन चाहन्छु कि पुरुष बिना नारी जिउन सक्छन् भनेर।यो मेरो एउटा महासंग्रम हो,जुन अरुसंग नभएर आफैंसंग लक्षित छ।अर्को अर्थमा यो एउटा महान र अनिश्चितकालीन यात्रा हो।यसको कुनै गन्तव्य छैन।मैले इहलिला त्यागेको दिन नै मेरो यात्राको समापन हुनेछ।मेरो यात्रामा कसैले बाधा पुर्‍याउन खोजे बैकल्पिक मार्ग खोजिनेछ,जुन भयंकर हुन पनि सक्छ।बाधकतत्वले ठूलो मूल्य पनि चुकाउनुपर्नेछ।अत:होसियार!मेरो मार्गमा तगारो बनेर उभिने चेष्टा नगर।म त्यस्तो आँधीबेहेरी पनि हुन सक्छु,जसले संसारलाई उथलपुथल बनाउन पनि सक्छ।त्यस्तो खाले सुनामी हुँ,जसको हर्कत थाहै होला।शक्तिशाली भुकम्प हुँ,जसले तिमीहरू जस्ता पुरुषहरूको मनमा दरार पैदा गर्न सक्छ।मलाई आनी भनेर कमजोर नसम्झ किशोर,चाहेको खण्डमा म धारिलो हतियार भएर तिम्रो घाँटी रेट्न सक्छु।मलाई मेरो हालमा छोड।शान्तिपूर्ण पथमा हिंड्न देउ मलाई,ताकि म हिंस्रक हुन नपरोस्।कुरा बुझ्यौ हैन?"
          आनीले गाली गरेर म्यासेज पठाएको दुई दिन भयो तर जवाफ आएन।उनी जवाफको लागि प्रतिक्षारत रहिन् तर आएन।किशोरको प्रोफाइल तस्वीर संगै आनीको मन पनि बद्लिसकेको थियो।किशोरको तस्वीर नै त्यस्तै थियोे,जो कसैलाई मोहित र मन्त्रमुग्ध पार्ने खालको।करीब ५ फिट ७ ईन्च जतिको उचाइ,गोरो,पातलो र हँसिलो उसको फूल साइजको फोटोले आनीको रिस मारिसकेको थियोे।पहिले नै निर्जला बनेर किशोरले धोका दिएपनि आखिर एउटी नारीको मन न हो,त्यो धोका बिर्सिहालिन्।आज मात्र पहिलोपटक आनी बन्न आएकी एक जना १० बर्षकी केटी आनीको आनीबानी र व्यवहार देखेर छक्क परेकी थिई।
"आनी!तपाईं आनी जस्तो मान्छे यसरी केटाको फोटो किन हेरिरहनु हुन्छ?के यसो गर्नु पाप हैन र?"
"हैन-हैन आनी याङ्जी,मैले त्यस्तो कुनै पाप गरे जस्तो त लाग्दैन।यदि पाप गरेको भए माफी पाउँ।"
लज्जित भएर नयाँ आनीलाई अपूर्ण जवाफ दिनुपरेको थियो।बिचरी बालिकाले उनको कुरा फटाफट पत्याएकी थिई।बच्ची याङ्जी आनी कोठामा बस्न थालेपछि उनलाई पहिलेको झैं अलार्म राख्नुपर्ने झन्झट नै भएन।स्वयं आनी याङ्जी नै अलार्म बनेर उदाएकी थिई।उनको बानी राती छिटो सुतेर बिहान पनि सबेरै उठ्ने खालको थियो।आनी डोल्माले गर्दै आएको दैनिक कार्यतालिका अब आनी याङ्जीतिर सरेको थियो।लामा गुरुलाई चिया देखि खानासम्म टक्र्याउने कार्यभार उनैलाई हस्तान्तरण गरिएको थियो।त्यसैले पनि अब आनी डोल्मा पहिलेको तुलनामा स्वतन्त्र भैसकेकी थिई।आनी याङ्जी यति सुन्दर थिई कि कुनै फूलको दर्शन गर्न बगैंचामा जानै परेन।कोठा पनि पहिलेको जस्तो अन्धकार नभई पूर्णिमा झैं लाग्न थालेको थियो।अर्थात एउटा पूर्ण चन्द्रमा आनी डोल्माको कोठामा उदाएको थियो।अचेल आनीले दोब्बर खुशी पाएकी छिन्।पहिलो किशोरको प्रोफाइल तस्वीर र दोश्रो-आनी याङ्जीको मुस्कान।
"आनी याङ्जी!तिमी मेरो मनको आकाशमा उदाए देखि ग्रहण लागेको छैन।तिमी सधैं यसरी नै उदाइरहनु,कहिल्यै नअस्ताउनु ल!"
"यो भनेको के हो आनी?"
बिचरीले आनी डोल्माको कुरा बुझिसक्नु थिएन।यता अचानक आनी डोल्माको मनमा आनी याङ्जी जस्तै सुन्दर छोरी जन्माउने चाहना पलाउन थाल्यो।किशोरलाई मनमनै मनपराउन थालिन्।
"किशोर नै सही थियोे र म गलत।किशोर!मलाई माफ गर।"
उनले आफैंलाई गलत ठान्न थालिन्।तर आफ्नो एकोहोरो बालहठले किशोर रिसाएको होला भन्ठानेर पश्चातापको आगोमा दनदनी जल्न थालिन्।किशोरको जवाफको प्रतिक्षामा व्यग्र भईन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...